Wednesday, August 27, 2014

मोदीलाई ‘थ्रेट’ दिने थुनामा

modi pasupatiकाठमाडौं, १० भदौ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न दुईजना बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ । १९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरू अझै प्रहरी हिरासतमै छन् ।

मोदी पशुपति मन्दिरको दर्शनमा गएका वेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्वय हसाइम इस्लाम र रियल मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मुस्लिम धर्मावलम्बी भए पनि हिन्दूधर्मको पर्चा बाँडिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा इस्लाम र मियाँ बंगलादेशी नागरिक भएको खुलेको थियो । उनीहरूले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी स्रोतका अनुसार बाँकेको कटरकुइया गाविस–४ बाट उनीहरूले नेपाली नागरिकता लिएका थिए । काठमाडौं प्रहरीले नागरिकतासम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाही गर्न उनीहरूलाई बाँके प्रहरीमा पठाएको छ ।

स्रोतका अनुसार इस्लामले जाहिर अली साई र मियाँले असगा अली साईको नाममा नागरिकता लिएका हुन् । कर्मचारीहरूकै मिलेमतोमा उनीहरूले नागरिकता लिएको स्रोत बताउँछ । दुईजनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र एक–दुई दिनमा मुद्दा दायर हुने बाँके जिल्लाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

इस्लाम र मियाँ हिन्दू धर्मावलम्बीको भेषमा मोदीले पूजा गर्ने वेला पशुपति मन्दिरमा पुगेका थिए । उनीहरू कुनै अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भएको हुनसक्ने आशंका गरिएको छ । उनीहरूबारे प्रहरीले विस्तृत विवरण गोप्य राखेको छ । नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले पनि उनीहरूमाथि छानबिन गरेको छ ।

बंगलादेशीलाई नागरिकताको सिफारिस गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । विदेशीलाई नागरिकता दिने प्रशासनका कर्मचारीमाथि समेत छानबिन भएको छैन ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा प्रहरीले सुरक्षा व्यवस्था निकै कडा गरेको थियो । उनी आवतजावत गर्ने सडक एक घन्टासम्म खाली गराइएको थियो । सुरक्षा संवेदनशीलताकै आधारमा भारतबाटै बुलेटप्रुफ गाडी ल्याइएको थियो । १८ साउनमा नेपाल आएका उनी १९ साउनमा स्वदेश फर्किएका थिए ।

No comments: