Friday, September 12, 2014

राप्रपा नेपालका अध्यक्षले भने–“म पनि क्रिश्चियन बन्छु !”

September 12
पाँचथर/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मौवा गाउँ समितिका अध्यक्ष तथा गाँउ स्तरीय शान्ति समितिका संयोजक नरमान थापाले क्रिश्चियन धर्मावलम्बीहरु इमान्दार, राष्ट्रप्रेमी र समाजसेवी भएको देख्दा आफु पनि क्रिश्चियन बन्न मन लागेको बताएका छन् । 

भदौं २१ गते मौवा–३ औंशी डाँडामा जिवित परमेश्वरको मण्डली भवन समर्पण कार्यक्रममा अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पाष्टर गजबहादुर रसाइलीको अध्इक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (एमाले) पाँचथर २ नं. क्षेत्रीय सचिव अशोक राईले धर्म निरपेक्षता ठूलो आन्दोलन पछि प्राप्त भएकोले क्रिश्चियनहरु पनि राजनीतिक पार्टीमा सक्रिय हुनुपर्ने बताए । त्यसैगरी एनेकपा (माओवादी)का मौवा अध्यक्ष नत्रेप्रसाद थापाले आफु हिन्दु धर्म मान्ने व्यक्ति भए पनि धर्मका आधारमा कसैलाई भेदभाव गर्न नहुने बताए । उनले भने–‘यो देश धेरै जाति, धेरै, धर्म, संस्कार र संस्कृति भएको देश हो । राज्यले एउटा धर्मलाई आधार मानेर अन्य समुदायाई हेप्नु हुँदैन । क्रिश्चियनहरुले देशको भौतिक पूर्वाधार निर्माणमा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अत्यन्तै ठूलो लगानी गरेका छन् । स्वइच्छाले मेरा छोराछोरी क्रिश्चियन बन्छु भन्छन् भने म उनीहरुलाई हौसला दिन्छु ।’

कार्यक्रममा नेपाली काँग्रेसका सभापति अविरजंग मङ्लाक लिम्बूले एकल हिन्दु धर्मले नेपालका अन्य धर्मावलम्बीहरुलाई दबाएर राखेको भन्दै किरात, मुस्लिम, बुद्धिष्ट, लगायतले राजतन्त्रको अन्त्यसँगै धार्मिक स्वतन्त्रता पाएको बताए । उनले अहिले केही अतिहिन्दुवादीहरुले धार्मिक सद्भावमा खलल पुर्‍याउन क्रिश्चियनहरुलाई उचालेको भन्दै स्थिर रहन आग्रह गरे । 

त्यसैगरी सोही कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका राजन लाओती, इन्द्राणी उमाविका प्रधानाध्यापक युद्धनारायण थापा, पाँचथर उद्योग वाणिज्य संघका खेम खत्री, इलाका प्रहरी कार्यालय मौवाका इन्चार्ज राजकुमार वि.क., इभरग्रीन इङ्गलिस बोर्डिङ्ग स्कूलका भाइस प्रिन्सिपल बि.बि. वान्तवा लगायत दर्जनौं संघ संस्थाका प्रमुख व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । वक्ताहरुले क्रिश्चियनहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नव निर्मित भवनमा सबै व्यक्तिहरु आउन र प्रार्थना गर्न पाउनु पर्ने बताएका थिए । उनीहरुले धार्मिक सद्भावमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन गिदोन लामिछानेले गरेका थिएभने साउदी अरबबाट पाष्टर जोन फिलिप प्रमुख वक्ताका रुपमा रहेका थिए । भारतको क्यारेलाबाट पाष्टर सुजित के समुएल र पश्चिम नेपालको कैलालीबाट पाष्टर केवी साउद पनि विशेष अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा मण्डलीका कोषाध्यक्ष दिपक रसाइलीले स्वागत मन्तव्य प्रस्तुत गरे भने सचिव ज्योतेन्द्र रसाइलीले धन्यवाद ज्ञापन गरेका थिए ।

No comments: