खेल्कुद

मेसीको दुई गोलमा बार्सिलोनाको सुरुआत

मेसीको दुई गोलमा बार्सिलोनाको सुरुआत

मड्रिड– हाभियर मास्चेरानोले पहिलो हाफमा रातो कार्ड सामना गरेको खेलमा लियोनेल मेसीले दुई गोल गरेपछि आइतबार इल्चेमाथि ३–० को नतिजा निकाल्दै लुइस इनरिकेले बार्सिलोना प्रशिक्षकका रुपमा विजयी सुरुआत गरे।

विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुनुको पीडाबाट मुक्त भइनसकेका मेसीले ४२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेट नवित्दै मास्चेरानोले रातो कार्ड सामना गरेपछि बार्सिलोना १० जनामा सीमित भयो। एक खेलाडी कम भए पनि १८ वर्षे मुनिर अल हादादीले दोस्रो हाफको पहिलो मिनेटमा गोल थपेर बार्सिलोनाको अग्रता सहज बनाए। जहाँ मेसीले ६४ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै टोलीको जित पक्का गरे।

‘सिजनको यस्तो सुरुआतबाट म खुसी हुनुपर्छ। इल्चे रक्षात्मक रुपमा निकै संगठित टोली भएकाले सुरुआतमा हामीलाई अवसर सिर्जना गर्न निकै गाह्रो भयो,' बार्सिलोनाका प्रशिक्षक इनरिकेले भने, ‘तर हामीले विस्तारै खाली ठाउँ खोज्ने र अवसर सिर्जना गर्ने काम गर्यौंर।'

विश्वकपले थकित भए पनि मेसीले पूरा ९० मिनेटमा गरेको प्रदर्शन र गोलबाट आफू प्रभावित भएको इनरिकेले बताए। मेसीलाई विश्वको सर्वोत्कृष्ट खेलाडी भन्दै इनरिकेले थपे, ‘उनी मैदानमा रहँदा गोलको सम्भावना जहिले पनि रहन्छ। उनी विश्वको सर्बोत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका छैन। उनीजस्तो खेलाडी पाउनु एउटा प्रशिक्षकको नाताले मेरा लागि भाग्यको कुरा हो।'

घाइते नेइमार र प्रतिवन्धित लुइस स्वारेजको अनुपस्थितीमा सिनियर टोलीबाट डेव्यु पाउन मुनिरले सोमबार प्रिसिजनको अन्तिम मैत्रीपूर्ण खेलमा गरेको दुई गोल पर्याप्त भयो। मेक्सिकन टोली लियोनविरुद्ध दुई गोल गर्दै किशोर फरवार्डले प्रशिक्षकलाई प्रभावित पारेका थिए। त्यहीअनुसारको प्रदर्शनलाई आइतबार पनि निरन्तरता दिने क्रममा उनले एक गोल गर्नुका साथै विपक्षी पोष्टमा अर्को पटक कडा प्रहार गरेका थिए। २२ औं मिनेटमा उनले साँघुरो एंगलबाट प्रहार गरेको बल पोष्टमा लागेर फर्केको थियो।

आइतबारै चाढोगरी सम्पन्न खेलमा इबारले ला लिगामा पहिलो सिजनको सुरुआत गर्ने क्रममा रियाल सोसिडाडमाथि १–० को जित दर्ता गरायो। बस्कका दुई टोलीबीचको खेल इबारको ५ हजार २ सय दर्शक क्षमताको रंगशालामा भएको थियो। जहाँ हाभी लाराले फ्रि–किकमा घरेलु टोलीका लागि एकमात्र विजयी गोल गरेका थिए।

बार्सिलोनाका प्रशिक्षक इनरिकेको पूर्व टोली सेल्टा भिगोले पनि नयाँ सिजनको विजयी सुरुआत गर्ने क्रममा गेटाफेलाई ३–१ को नतिजामा निराश पार्योग। नोलिटोले २० औं मिनेटमा अग्रता दिलाएको सेल्टाका लागि फाबियन ओरेलानाले ५६ औं मिनेटमा दोस्रो गोल गरे। ६३ औं मिनेटमा समिरले एक गोल फर्काउँदै गेटाफेको खेलमा फर्कने सम्भावना जीवित राखेका थिए। तर समय सकिन २० मिनेट बाँकी रहँदा सेल्टाका जोवाक्विन लारिभेले टोलीको तेस्रो गोल गर्दै जित पक्का गरे।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा भिलारिएलले लेभान्टेलाई २–० को नतिजामा हरायो। भिलारिएलका लागि इकेचुक्वु उचे र डेनिस चेरिशेभले गोल गरेका थिए।

काठमाडौं– मलेसियामा अघिल्लो हप्ता एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिता जितेको नेपाली टोलीका सदस्यहरु जितेन्द्रसिंह ठकुरी र आशिष पोखरेललाई ल्याबोरेटरी स्कुल कीर्तिपुरले सम्मानस्वरुप प्लस टुका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

स्कुलका प्रिन्सिपल लाक्पा शेर्पाले छात्रवृत्ति घोषणा गर्दै भने, ‘हाम्रो स्कुलले जितेन्द्र र आशिषलाई पूरै छात्रवृत्ति प्रदान गर्नेछ, उनीहरु अरु कलेजमा पढ्न चाहे पनि हामी सवै खर्च बेहोरिदिने छौं।'

जितेन्द्र ल्याबोरेटरी स्कुलमा १० कक्षमा पढछन्। आशिषले यही स्कुलबाट एसएलसी पास गरेका थिए। तर एसएलसीपछि आशिष पूर्ण छात्रवृत्तिमा लिभरपुल कलेजमा भर्ना भइसकेका छन्। शेर्पाले यी खेलाडीका लागि स्कुलको ल्याब क्रिकेट एकेडेमी निशुल्क गर्ने बताए।

अफ स्पिनर जितेन्द्र सर्वाधिक १५ विकेट लिदैं प्रतियोगिताको उत्कृष्ट बलर भएका थिए। उनले थाइल्यान्डसँगको पहिलो खेलमै ५ विकेट लिएका थिए। देव्रेहाते स्पिनर भए पनि मलेसियामा नेपालले खेलेका सवै खेलमा नयाँ बल लिएका आशिषले ४ विकेट लिए। नेपाल सवै ५ खेल जिती पहिलो पटक एसिसी यु–१६ को विजेता बन्यो।

स्कुलले आफ्ना पूर्व विद्यार्थी तथा टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातलाई पनि सम्मान गरेको छ।

दुबई– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जनवरी १७ देखि २४ सम्म नामिबियामा विश्व क्रिकेट लिग डिभिजन २ गर्ने सोमबार जनाएको छ।

प्रतियोगितामा आयोजक नामिबियासहित क्यानाडा, केन्या र नेदरल्यान्ड्सको सहभागिता रहने छ। अक्टोबरमा अर्को अफ्रिकी राष्ट्र युगान्डामा हुने डिभिजन ३ को शीर्ष २ टोलीले नामिबियामा खेल्न पाउने छन्। नामिबियाले सन् २००७ मा यसअघि डिभिजन २ गरेको थियो।

डिभिजन ३ मा नेपाल र आयोजक युगान्डासँगैं अमेरिका, बर्मुडा तथा डिभिजन ४ बाट बढुवा भएका सिंगापुर र मलेसिया छन्। शीर्ष २ टोली डिभिजन २ मा उक्लने छन्। ६ टोलीले प्रतिस्पर्धा गर्ने डिभिजन २ बाट शीर्ष दुई टोली अन्तरमहादेशीय कपका लागि छनोट हुनेछन्।

जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि नेपाल रेलिगेसनमा परेको थियो। अघिल्लो वर्ष युगान्डामा भएको डिभिजन ३ जित्दै नेपाल न्युजिल्यान्डको प्रतियोगितालाई छनोट भएको थियो।

अल्जियर्स– अल्बर्ट इबोसेको सम्झनामा अल्जेरियाले यो हप्ता हुने सबै फुटबल गतिविधी निलम्बन गरेको छ। लिग १ को खेलमा दर्शकले ढुंगा प्रहार गर्दा क्यामरुनका स्ट्राइकर इबोसेको शनिबार मृत्यु भएको थियो।

अल्जेरिया फुटबल संघले सवैखाले प्रतिबन्धको बारेमा बिचार गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ। त्यसमा इबोसेको क्लब जेएस काबिलीलाई सवै खाले गतिविधिबाट प्रतिबन्ध लगाउन सक्ने समेत उल्लेख छ।

युएसएम अल्जरसँगको खेलमा २–१ ले पराजित भएपछि चेन्जिङ रुम फर्किनेक्रममा इबोसेलाई उनकै टोलीका समर्थकले फालेको ढुंगा टाउकोमा लागेको थियो। सो खेलमा उनले गोल पनि गरेका थिए।

जेएस काबिलीले क्लबको आधिकारिक वेभसाइटमा इबोसेको मृत्यु भएको जनाए पनि मृत्युको कारण खुलाएको थिएन्। अल्जेरिया फुटबल संघले रंगशालाभित्रको उत्शृंखल गतिविधिको विरोधमा यो हप्ताका सवै खेल स्थगित गरिएको जनाएको छ।

फुटबल संघ र जेएस काबिलीले तत्कालका लागि इबोसेको परिवारलाई १ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको र क्लबमा उनको सम्झौता अवधिको सवै रकम भुक्तानी गर्ने जनाएको थियो।

यसअघि मलेसियामा खेलेका २४ वर्षे इबोसे १७ गोलका साथ गत सिजनमा अल्जेरियन लिगका उच्च गोलकर्ता थिए।

मलेसियामा एसिसि यू–१६ प्रिमियर लिगको उपाधी जिताएर घर फर्केका महेन्द्रनगर रवी चन्दलाई सोमवार नगरपरिक्रमा गराइदै। तस्बिर : विक्रम गिरी

महेन्द्रनगर– मलेसियामा सम्पन्न एसिसि यू–१६ प्रिमियर लिगको उपाधी जित्ने नेपाली टिमका सदस्य रवि चन्दलाई सोमवार महेन्द्रनगरमा भव्य नागरिक अभिनन्दन गरिएको छ।

रविलाई उनकै स्कुल ग्लाल्लेक माविको अगुवाईमा अविरजात्रासहित नगर परिक्रमा गराइएको थियो। विद्यालयका शिक्षक र सहपाठीहरुले अविर लगाई बधाई दिएपछि महेन्द्रनगर वजारमा व्याण्ड वाजासहित नगर परिक्रमा गराइयो। नगर परिक्रमामा हजार हाराहारीमा सहभागि थिए।

रवि ग्वाल्लेक माविमा कक्षा १० मा पढछन्। ‘रविका कारण स्कुलले नाम कमाउन सफल भयो' ग्वाल्लेकका प्रिन्सिपल दिपेन्द्र चन्दले भने।

मेलेसियाबाट फर्केपछि उनी सोमबार राजधानीवाट महेन्द्रनगर पुगेका हुन्। कञ्चनपुरका क्रिकेट खेलाडीले उनको उपनाम ‘मालिङ्गा' राखिदिएका छन्। उनी पहिलो पटक उमेर समूहको राष्ट्रिय टिममा परेका हुन्। नेपालले मलेसियामा उपाधि जित्दा महेन्द्रनगरका रवि नेपाली टिमका महत्वपूर्ण खेलाडी थिए।


मैत्रीपूर्ण खेल्न युवा टोली बंगलादेश

सोमबार बिदाइपछि यु-२३ टोली (माथि) र यु-१६ टोली सामूहिक तस्बिरमा । तस्बिर : नागरिककाठमाडौं– दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारीलाई यु–२३ टोली मैत्रीपूर्ण खेल खेल्न सोमबार बंगलादेश गएको छ। बंगलादेश गएको यु–२३ तथा एएफसी यु–१६ च्याम्पियनसिपको यु–१६ टोली विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने तयारीमा रहेको फुटबल टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा) ले संयुक्त रुपमा बिदाई गरे।

सोमबारै बंलादेश गएको नेपाली यु-२३ टोलीले बंगलादेशको यु–२३ टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्ने तय गरिएको एन्फाका प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए। सोमबार बंगलादेश गएको नेपाली टोलीले पहिलो खेल मंगलबार र दोस्रो खेल शुक्रबार खेल्नेछ।

सेप्टेम्बर १९ देखी कोरियामा सुरु हुने एसियाली खेलकुदमा सागर थापाको कप्तानीमा नेपालले प्रतिस्पर्धा गर्नेछ। कप्तानले एसियाली खेलकुद अघिको मैत्रीपूर्ण खेलले टोलीको समन्वयमा सुधार ल्याउने बताए। ‘मैत्रीपूर्ण खेल भए पनि बंगलादेशलाई हराउने प्रयास गर्छौ। अहिले टोलीमा धेरै नयाँ खेलाडी भए पनि समन्वय मिल्दै गएको छ,' विदाईपछि सागरले भने, ‘सबै खेलाडीले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। अब उनीहरुले राष्ट्रिय टोलीबाट क्षमता देखाउने अवसर आएको छ। नयाँ खेलाडी राम्रा छन्। उनीहरुले उत्कृष्ट प्रर्दशन गर्ने विश्वास छ।'

एसियाली खेलकुदमा २३ वर्षमुनिको टोली सहभागि हुनुपर्ने व्यवस्था छ। तर टोलीमा पाँच २३ वर्षमाथिका खेलाडी राख्न पाउने र तीन खेलाउन पाउने व्यवस्थाअनुसार सागरसँगै सन्दिप राई र विक्रम लामा खेल्ने गरी टोलीमा समेटिएका छन्। यसैगरी उमेर कटे पनि यु–२३ टोलीमा राखिएकामा भोलानाथ सिलवाल र विराज महर्जन हुन्।

मन्त्री पौडेलले सोमबार नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिचान बनाउन प्रयास गर्नु पर्ने बताए। उनले भने, ‘नेपाली खेलकुदमा राज्यको लगानी ज्यादै कम छ। हाम्रा खेलाडीले सुविधाले खेल्ने होइन। नेपाली खेलाडीले सधै उत्साह, जोस र राष्ट्रियताका लागि खेल्दै आएका छन। यु–१६ टोली र यु–२३ टोलीले राम्रो प्रर्दशन गर्ने विश्वास छ।'

‘तपाईहरुमा अन्तर्राष्ट्रिय उपाधि जित्ने क्षमता छ। हामीलाई विश्वास छ, तपाईहरुले यु–१६ च्याम्पियनसिपमा राम्रो खेल्नु हुनेछ। हामीले काठमाडौंमा भदौंभित्र एउटा रंगशाला निमार्णका लागि जग्गा खोज्ने काम सक्ने कोसिस गरिरहेका छौं,' यु–१६ टोलीतर्फ लक्षित गदै मन्त्री पौडेले थपे, ‘तपाईहरुले जितेर आएपछि हामीलाई रंगशाला बनाउने काममा अझ उत्साह थपिनेछ।'

भदौं २१ देखी सुरु हुने एएफसी च्याम्पियनसिपका लागि सोमबार थाइल्यान्ड जाने तय भएको बताइए पनि यु–१६ टोली बुधबार जाने भएको छ।

प्राविधिक कारणले सोमबार जाने कार्यक्रम रद्ध गरिएको यु–१६ टोलीका व्यवस्थापक दिनेश ब्यञ्जनकारले बताए। शुक्रबार थाइल्यान्ड यु–१६ टोलीसँग मैत्रीपुर्ण खेल खेल्ने तयारी भैरहेको ब्यञ्जनकारले जानकारी गराए। एन्फा अध्यक्ष गणेश थापाले एसियाली खेलकुद र एएफसी यु–१६ च्याम्पियनसिपले अर्को वर्ष हुने साफ च्याम्पियनसिपको तयारीलाई फाइदा पुग्ने बताए। उनले भने, ‘अहिले नेपालले खेलेका सबै प्रतियोगिताले साफ च्याम्पियनसिपका लागि उत्कृष्ट टिम तयार पार्न सहयोग गर्नेछ।'

यु–१६ टोली थाइल्यान्डमा सहभागि हुनमात्र नभई यु–१७ विश्वकप खेल्ने लक्ष्य सहित जान लागेको थापाले बताए।

च्याम्पियनसिपको समूह ‘सी' मा रहेको नेपालले मुआङथाङ युनाइटेड रंगशालामा भदौं २२ गते उज्वेकिस्तानसँग खेल्नेछ। पहिलो खेलमा नेपालले कप्तान विमल घर्ती विना नै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा दुई पँहेलो कार्ड पाएका कारण विमलले पहिलो खेल प्रतिवन्धमा गुमाउनेछन्। विमलको अनुपस्थितीमा अनन्त तामाङले टोलीको नेतृत्व गर्ने यु–१६ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। नेपालले मुआङथाङमा भदौं २४ गते कुवेतसँग र भदौं २६ गते उत्तर कोरियासँग राजमानगाला रंगशालामा समूह चरणको अन्तिम खेल खेल्नेछ।

भान हालको प्रतिक्षा कायम

भान हालको प्रतिक्षा कायमलन्डन– म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक लुइस भान हालको नेतृत्वमा प्रिमियर लिगमा आइतबार पहिलो अंक जोडे पनि पहिलो प्रतिस्पर्धात्मक जितका लागि डच प्रशिक्षकको प्रतिक्षा भने कायम रहेको छ।

अवे मैदानमा सुरुमा अग्रता लिए पनि सन्डरल्यान्डसँग युनाइटेडले १–१ को बराबरीमा चित्त बुझाउनु परेको थियो। अघिल्लो सप्ताहन्तमा ओल्ड ट्राफोर्डमा जारी सिजनको पहिलो प्रिमियर लिगका लागि स्वान्सीलाई निम्त्याउँदा भान हालको टोली २–१ ले स्तव्ध भएको थियो। प्रिमियर लिगअघि प्रिसिजन भ्रमणका लागि अमेरिका जाँदा युनाइटेडको प्रदर्शन निकै उच्च थियो।

आइतबार भने एन्टोनियो भ्यालेन्सियाको क्रसमा हुँवा माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर ज्याक रोडवेलले सन्डरल्यान्डका लागिा ३० औं मिनेटमै बराबरी गोल गरे। सेब लार्सनको कर्नरमा रोडवेलले सन्डरल्यान्डका लागि बराबरी गोल फर्काएका थिए। गत सिजनमा पनि गुस पोयेटको सन्डरल्यान्ड युनाइटेडको टाउको दुखाई बनेको थियो। मे महिनामा ओल्ड ट्राफोर्डमै सन्डरल्यान्डले १–० को जित निकाल्दा युनाइटेडको खराव सिजन सुरु भएको थियो। तर सन्डरल्यान्डका लागि भने रेलिगेसन टार्न त्यो जित निकै महत्वपूर्ण सावित भएको थियो।

‘खेलमा हाम्रो उदेश्य धेरै अवसर सिर्जना गर्ने र तिनलाई गोलमा परिणत गर्ने थियो। तर सफल भइएन,' भान हालले भने, ‘दोस्रो हाफमा हामीले खेल धेरै नियन्त्रणमा लिएका पनि थियौं, तर त्यो अनुपातमा अवसर सिर्जना गर्न सकेनौं। स्वान्सीभन्दा आज हाम्रो खेलमा सुधार थियो। लिग भनेको धेरै लामो प्रतियोगिता हो। त्यसैले म आशावादी छु। यो टिमले जस्तोसुकै सफलता पनि हासिल गर्न सक्छ।'

सन्डरल्यान्डका प्रशिक्षक पोयेटले युनाइटेडजस्तो कठिन विपक्षीसँग एक अंक लिनु पनि सन्तोषजनक नतिजा भएको बताए। ‘हामीले पहिल्यै गोल खायौं। यस्तो खेलमा एक अंक पनि मेरो विचारमा न्यायोचित हो। हामीले गतवर्षभन्दा यसपाली राम्रो सुरआत गरेका छौं। त्यसैले पनि म खुसी छु,' उनले भने।


काठमाडौ, भाद्र ८ - 

नेपाली टिम दुई गोलकिपर मात्र लिएर एएफसी यू-१६ च्याम्पियनसिपको फाइनल चरण खेल्न थाइल्यान्ड जाने भएको छ। एक टिमले बढीमा २३ खेलाडी राख्न पाउँछ। भदौ २१ देखि असोज ४ गतेसम्म बैंककमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने २२ खेलाडी मात्र छनोट गरेको छ। त्यसमा दुई गोलकिपर (रोमन रसाइली र सिर्जन श्रेष्ठ) मात्र छन्। अन्तर्राष्ट्रिय फुटबलमा ३ किपर अनिवार्यजस्तै मानिन्छ। यसबारे यू-१६ का मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, 'दर्ता गर्न ढिलाइ भएकाले तेस्रो गोलकिपर टिममा राख्न सकिएन।'


तेस्रो रोजाइका किपर प्रवीन श्रेष्ठको 'घरायसी' कारण नाम दर्ता गर्न नसकिएको महर्जनले बताए। 'तीन किपर नहुँदा परिस्थितिअनुसार प्रभाव पर्न सक्छ,' उनले भने, 'त्यस्तो परिस्थिति आएमा तेस्रो किपर अरू खेलाडीलाई बनाउनुपर्ने भयो।' आठ वर्षपछि महादेशीय प्रतियोगिताको फाइनल चरणमा फर्केको नेपाली किशोर टिममा डिफेन्स र मिडफिल्ड ८-८ तथा फरवार्ड ४ जना छन्।

कप्तान विमल घर्तीमगरसहित अञ्जन विष्ट, सुनील बल र सुजित गुरुङ फरवार्डमा छन्। डिफेन्समा आकाश थापा, अनन्त तामाङ, दिनेश राजवंशी, अमित तामाङ, सुजन थापा, रूपेश तामाङ, गौरव बुढाथोकी र अनिल राई छनोट भएका छन्। त्यस्तै, मिडफिल्डमा हेमन्त थापामगर, किरण सुनार, विकास थापा, संजोग राई, रवि भण्डारी, तेजेन्द्र पुन, जनोममान लिगल र शिव सुवेदी छन्।

तेजेन्द्र र सुजित टिमका नयाँ अनुहार हुन्। गत वर्ष राजधानीमा भएको एएफसी यू-१६ को छनोटमा रहेका गोलकिपर प्रवीनसहित फरवार्ड सुजन लिम्बू र मिडफिल्डर निशान ढुंगाना यसपल्ट टिममा अटाएनन्। थाई राजधानी बैंककमा एक साता प्रशिक्षण पनि गर्ने भएकाले नेपाली टिमको बिदाइ सोमबार हुँदैछ।

काठमाडौ, भाद्र ८ - 

नेपाल गल्फ संघको आग्रहअनुसार दक्षिण कोरियाली गल्फ संघका अध्यक्ष क्वाङ-सु हुरले १७ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमलाई १० दिने वैदेशिक प्रशिक्षण र लाखौं रुपैयाँको खेल सामग्री व्यवस्था गर्ने भएका छन्। संघका महासचिव टासी घलेका अनुसार नेपाली टिमले कोरियाको नामसोल कन्ट्री क्लबमा भदौ २८ गतेदेखि प्रशिक्षण गर्नेछ। नेपाली टिममा दिनेश प्रजापति, विष्णु शर्मा, टंकबहादुर कार्की र तासी छिरिङ छन्। उनीहरूले कोरिया जानुअघि थाइल्यान्डमा २२ देखि हुने 'थाई एमेच्योर ओपन' खेल्नेछन्। थाइल्यान्डबाटै नेपाली टिम कोरियातर्फ लाग्नेछ।

'नेपालको आग्रहअनुसार क्वाङ-सु प्रशिक्षणको व्यवस्थासँगै लाखौंको खेल सामग्री दिन तयार भएका हुन्,' महासचिव घलेले भने। क्वाङ-सुले चारै खेलाडीलाई 'पिङ'को गल्फ सेट, जर्सी, ग्लोब्सलगायत ४ सय भोल्भिक बल पनि उपलब्ध गराएका छन्। संघका सल्लाहकार किम युनजिनले आइतबारै सामग्री हस्तान्तरण गरे।

'सूर्य नेपाल गल्फ परियोजनामा रहेर तीन वर्षयता ट्रेनिङ गरेका खेलाडीहरू एसियाड खेल्दैछन्', टिम म्यानेजर सीबी भण्डारीले भने, 'अन्तिम तयारी कोरियामै गर्नेछौं।' सूर्य नेपाल युवा गल्फ परियोजनाअन्तर्गत नियमित ट्रेनिङ गरिरहेका गल्फर भदौ १ गतदेखि रोयल नेपाल गल्फ क्लबमा बन्दप्रशिक्षणमा छन्।

बन्दप्रशिक्षणमा २४ खेलाडी

काठमाडौ, भाद्र ८ - 

विश्व क्रिकेट लिग डिभिजन-३ का लागि पहिलो चरणको बन्दप्रशिक्षणमा आइतबार २४ खेलाडी चयन भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काको कप्तानीमा चयन गरेको टिमको प्रशिक्षण बुधबार सुरु हुनेछ। नेपाली टिम दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदमा सहभागी हुनका लागि अहिले प्रशिक्षण लिइरहेको छ। अहिलेका र थप ६ खेलाडीलाई संयुक्त रूपमा प्रशिक्षण दिइने प्रशिक्षक जगत टमाटाले जानकारी दिए।  डिभिजन-३ अक्टोबर २६ देखि नोभेम्बर २ सम्म युगान्डामा हुनेछ।  तर, अहिले अफ्रिकी देशहरूमा देखिएको इबोला भाइरसका कारण युगान्डामा प्रतियोगिता सञ्चालन हुनेमा शंका छ।  

अहिले एसियाडका लागि ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, सोमपाल कामी, महबुब आलम र वसन्त रेग्मीले तयारी गरिरहेका छन्। त्यस्तै, भुवन कार्की, जितेन्द्र मुखिया, प्रदीप ऐरी, रामनरेश गिरी र नरेश बुढाऐर पनि एसियाडको प्रशिक्षणमा छन्। त्यस्तै वैकल्पिकमा राहुल विश्वकर्मा, पुष्प थापा र मन्जित श्रेष्ठ छन्। शरद भने लिग क्रिकेट खेल्न अमेरिकामा छन्। आरिफ शेख, महेश क्षेत्री, अनिल मण्डल, अविनाश कर्ण, अमृत भट्टराई र यज्ञमान कुमाल डिभिजन-३ का लागि प्रारम्भिक टिममा छन्। 

सिर्जन र श्रवणलाई उपाधि

काठमाडौ, भाद्र ८ - 

तेस्रो ताम्राकार आमन्त्रण ब्याडमिन्टनको लेभल 'ए' को उपाधि ताम्राकार समाजका सिर्जन ताम्राकार र श्रवण ताम्राकारको जोडीले जितेको छ। त्यस जोडीले शनिबारको खेलमा बाराही समाजका सुनील बाराही र सुरेश बाराहीको जोडीलाई २१-१४ र २१-१४ ले हरायो। 

विजेता टोलीले दस हजार रुपैयाँ हात पार्‍यो। यस्तै लेभल 'बी' को फाइनलमा ताम्राकार समाजका रामु ताम्राकार र सञ्जय ताम्राकारको जोडीले ताम्राकार समाजकै विजन ताम्राकार र अविन ताम्राकारको जोडीलाई १५-२१, २१-१८ र २१-१७ ले पराजित गरेर पहिलो स्थान हासिल गर्‍यो।

यस्तै पुरुष तीन किमि दौडमा अनुप सिकःमि पहिलो भए भने महिलातर्फ रक्षा ताम्राकार शीर्षस्थानमा रहिन्। जुनियर १.५ किमि दौडमा पुरुषतर्फ दिनेश ताम्राकार तथा महिलातर्फ जिया ताम्राकारले पहिलो स्थान हात पारे। 

पहिलो खेल कुवेतविरुद्ध

काठमाडौ, भाद्र ८ - 

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ। समूह 'बी' मा रहेको नेपालले सेप्टेम्बर २७ मा कुवेत र सेप्टेम्बर २८ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै सेप्टेम्बर २९ मा हुने अन्तिम खेलमा कुवेत र माल्दिभ्स भिड्नेछन्। समूहका शीर्ष दुईमा रहने टिमले क्वाटरफाइनलमा प्रवेश पाउने छन्। त्यस्तै समूह 'ए' मा चीन, मलेसिया र दक्षिण कोरिया छन्। 

एसीसीका टेस्ट र वान-डे मान्यताप्राप्त श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङले सीधै क्वाटरफाइनलमा स्थान पाएका हुन्। नेपालले समूहविजेता भएमा अफगानिस्तान र उपविजेता भएमा क्वाटरफाइनलमा बंगलादेशको सामना गर्नेछ।

फुटबलरको हत्या, अल्जेरियाको लिग स्थगित

फुटबलरको हत्या, अल्जेरियाको लिग स्थगित

28 August डि मारिया म्यानचेष्टर युनाइटेडमा आबद्ध, फ्यानहरुमा नयाँ उत्साह

di maria अर्जेन्टिनी मिड फिलडर एन्जल डि मारियालाई म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्यमा क्लबमा अनुवन्धन गरेको छ । शनिबार बार्नेलीविरुद्ध प्रिमियर लिगमा युनाइटेडको तर्फबाट डेब्यू गर्ने डि मारियाले क्लबसँग पाँच बर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन् ।रियल मड्रिडबाट म्यानचेष्टर युनाइटेडमा आबद्ध हुने क्रममा २६ वर्षीय डि मारियालाई युनाइटेडले ब्रिटिस ट्रान्सफरको कीर्तिमानी रकम ५९.७ मिलियन पाउण्ड खर्चिन तयार भएको थियो | म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भानगालले डि मारिया आफ्नो टोलीको महत्वपूर्ण सदस्य हुने बताउदै उनि विश्वस्तरको खेलाडी भएको बताए । त्यस्तै, डि मारियाले पनि भानगाल शानदार कोच भएको र उनको भिजनबाट आफू प्रभावित रहेको बताए । डि मारिया युनाइटेडमा आबद्ध भएको खबरले युनाइटेड तथा स्वयम् उनका करोडौ फ्यानहरुमा नयाँ उत्साह देखिएको छ | यो खबरले विश्वस्तरमा मात्र नभई युनाइटेडका नेपाली फ्यानहरुमा पनि थप उत्साह जगाएको छ | युनाइटेडले केहि समय अघि गुमाएको आफ्नो गति पुन: लिनेमा क्लबका धेरै फ्यानहरु विश्वस्त रहेका छन् |

No comments: