Wednesday, August 27, 2014

बढी रकम प्रस्ताव गर्नेलाई हजयात्राको ठेक्का

काठमाडौं, १० भदौ

haj गृह मन्त्रालयअन्तर्गतको हज कमिटीले मक्का मदिना हज गर्न जाने यात्रीका लागि महँगो दररेटको हवाईभाडा बिड गर्ने एयरलाइन्सलाई ठेक्का दिएको छ । यात्रुहरूलाई झन्डै दुई करोड व्ययभार थप्ने यो निर्णय हज कमिटीका पदाधिकारीले आर्थिक चलखेल गर्ने उद्देश्यसहित गरेको स्रोतहरूको दाबी छ ।

आगामी असोजको पहिलो साता एक हजार हजयात्रीलाई मक्का मदिना लैजान र ल्याउन हज कमिटीले गत जुलाईमा टेन्डर आह्वान गरेको थियो । कतार एयरलाइन्सले प्रतिव्यक्ति ९८ हजार र एयर अरबियाले प्रतिव्यक्ति ९० हजारमा टेन्डर बिड गरेका थिए । एयर अरबियाले ९० हजारमा बिड गरे पनि ८० हजार रुपैयाँसम्म झर्न सक्ने जानकारी हज कमिटीलाई बारम्बार गराएको थियो ।

स्रोतहरूका अनुसार हज कमिटीका अध्यक्ष अकबर अली मिकरानीको दबाबमा महँगो दररेट पेस गर्ने कतार एयरलाइन्सलाई ठेक्का दिइएको हो । अब एक हजार तीर्थयात्रीका लागि हवाई खर्च मात्रै प्रतिव्यक्ति ९८ हजारका दरले नौ करोड ८० लाख पर्ने भएको छ । एयर अरबियालाई ठेक्का दिएको भए प्रतिव्यक्ति ८० हजारका दरले ८ करोड मात्रै लाग्ने थियो ।

हज कमिटीले यात्रुहरूबाटै रकम उठाएर मक्का मदिना जान–आउनका लागि आवश्यक व्यवस्थापन गर्ने गरेको छ । स्रोतका अनुसार हज कमिटीले प्रतिहजयात्री दुई लाखका दरले रकम उठाउन थालिसकेको छ । हज कमिटीका लागि सरकारले पनि झन्डै ८० लाख रुपैयाँ छुट्याएको छ । यसअघि हजयात्रीबाट एक लाख रुपैयाँ मात्रै उठाउने गरिन्थ्यो ।

एयर अरबियाकी नेसनल सेल्स म्यानेजर संगीता रौनियारले हज कमिटीले आर्थिक साँठगाँठका आधारमा ठेक्काको निर्णय गरेको आरोप लगाइन् । ‘यसरी चलखेल गरेर ठेक्का दिने भए सार्वजनिक रूपमा टेन्डर आह्वानको नाटक किन गर्नुपर्‍यो ?’ रौनियारले नयाँ पत्रिकासित भनिन्, ‘हामी प्रतिव्यक्ति ८० हजारसम्म गर्न तयार छौँ भनेर हज कमिटीलाई बारम्बार जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन, उल्टो ९८ हजार पेस गर्नेलाई खुसुक्क ठेक्का दिने निर्णय गरियो ।’

हज कमिटीका सदस्यसचिव तथा गृह मन्त्रालयका उपसचिव केशवप्रसाद आचार्यले पनि अध्यक्ष मिकरानीले एकल निर्णयका आधारमा हवाई टिकटको ठेक्का कतार एयरवेजलाई दिएको बताए । ‘अध्यक्षको निर्णयबाट ठेक्का दिइएकाले त्यस सम्बन्धमा मलाई खासै जानकारी छैन,’ सदस्यसचिव आचार्यले भने । अध्यक्ष मिकरानी हजयात्रीलाई मक्का मदिना लैजाने व्यवस्थापन मिलाउन भन्दै केही दिनदेखि साउदी अरबमा छन् ।

No comments: