Sunday, September 21, 2014

राजमार्गका होटलमा मूल्यमा एकरूपता ल्याउन समिति गठन

September 21
चन्द्रपुर नगरपालिकाअन्तर्गत राजमार्ग छेउछाउका होटल तथा लजमा खानालाई पूर्णतः स्वच्छ बनाउने र मूल्यमा एकरूपता ल्याउने उद्देश्यले पहल सुरु गरिएको छ। 
 
चन्द्रनिगाहपुरस्थित होटल हिमालयनको सभाहलमा शनिबार आयोजित अन्तर्क्रिया कार्यक्रमपछि होटल व्यवसायी सङ्घ रौतहटका अध्यक्ष उदयनारायण सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय होटल तथा लज अनुगमन समिति गठन गरिएको थियो।
 
सो समितिको सदस्यमा खड्गबहादुर बम्जन, सुरेन्द्र साह, अच्युत न्यौपाने र सुरेन्द्र श्रेष्ठ रहेका छन्। 
 
खाना तथा होटल एवम् लजको सरसफाइ सम्बन्धमा सो समितिले नियमित अनुगमन गरी सुझाव र सल्लाह दिने तथा आगामी कात्तिक मसान्तसम्ममा चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका होटललाई पूर्ण सरसफाइयुक्त बनाएर स्टिकर प्रदान गर्ने निर्णय भएको अध्यक्ष सापकोटाले जानकारी दिए।
 
सो अन्तर्क्रिया कार्यक्रममा खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय हेटौडाका प्रमुख वेदनाथ गौतम, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी, सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज भट्टराई, उपभोक्ता हित संरक्षण मञ्च जिल्ला सचिव टीका घिमिरेलगायत विभिन्न होटल तथा लजका सञ्चालकहरूको सहभागिता रहेको थियो। 
 
चन्द्रपुर नगरक्षेत्रको पूरै राजमार्ग क्षेत्रमा करिब २०० का हाराहारीमा होटल सञ्चालनमा रहेका छन्। रासस

No comments: