Thursday, September 11, 2014

बहुमतीय विधिमा गए बिग्रहको बिउ रोपिन्छ : बाबुराम सम्वाद समितिको प्रतिवेदन संविधानसभामा पेश

September 11
काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका आधारभूत अन्तरवस्तुलाई सहमतिबाटै टुङ्ग्याउनुपर्ने बताएका छन् । संविधानसभाको बैठकमा विहीबार समितिको प्रतिवेदन पेश गर्दै डा. भट्टराईले प्राविधिक र समान्य विषयमा मात्रै बहुमतीय प्रक्रिया अवलम्बन गर्न आग्रह गरे ।

 उनले भने-‘आधारभूत अन्तरवस्तुमा सहमतिको विधि अपनाउन सकेनौं भने देश पूरै विभाजित हुने तथा असन्तुष्टि र बिग्रहको बिउ रोपिने खतरा रहन्छ ।’ एउटा झिल्कोले डडेलो लाग्छ भन्नेतर्फ दलहरु गम्भीर र सचेत हुनुपर्ने डा. भट्टराईले बताए । सम्वाद समितिका सभापति डा.भट्टराईले सहमतिका लागि नाममा माघ ८ भने कटाउन नहुने बताए ।

 माघ ८ लाई लक्ष्मण रेखा भन्दै उनले भने-‘सहमति भन्दैमा अनिश्चित समय छैन । नत्र संविधान बनाइसक्दा युवा कोही पनि बाँकी नरहने र देशमा बुढाबुढीमात्र बाँकी रहने अवस्था आउँछ ।’ भट्टराईले भने- मलाई दबाव आयो सम्वाद समितिका सभापति डा. भट्टराईले आफूमाथि दबाव आइरहेको संविधानसभामा बताए ।

 संविधान बन्ने होइन, किन समय खेल गरिरहेको भन्दै आफूलाई समेत मनोवैज्ञानिक दबाव दिने काम भएको उनले संविधानसभालाई जानकारी गराए । उनका अनुसार सम्वाद समितिले विभिन्न समितिको प्रतिवेदनमा रहेका ३० वटा विवादित विषयमा सहमति गरेको छ ।

मुख्य विवादित विषयमा समेत दलहरुबीच गम्भीर छलफल भएको भन्दै उनले भने-‘प्रेसर कुकर त तातेको छ तर, सिठ्ठी लाग्न बाँकी छ ।’ भट्टराईले टुङ्गो लाग्न बाँकी विषयका लागि केही समय आवश्यक भएको बताएका छन् । सम्वाद समितिले पेश गरेको प्रतिवेदनमाथि संविधानसभामा शुक्रबारबाट छलफल सुरु हुनेछ ।

No comments: