Tuesday, August 26, 2014

सडक विभाग बनाउँदै खानेपानी भत्काउँदै

k
काठमाडौं, ९ भदौ
कालोपत्रे गरेको डेढ महिना नबित्दै उपत्यकाका ठाउँ–ठाउँका सडक धमाधम भत्काउन थालिएको छ । सडक विभागसहितका निकायले निर्माण सकेका सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खाल्डो खनेर पाइप मर्मत गर्न थालेको हो ।
लैनचौर, पानीपोखरी, शीतलनिवास, महाराजगन्ज, बाँसबारी हुँदै बुढानीलकण्ठ सडकखण्डको ठाउँठाउँमा भत्काइएको छ । सडक विस्तार योजनाअन्तर्गतका यो खण्डमा सडक विभागले डेढ महिनाअघि मात्रै कालेपत्रे सकेको थियो । कालोपत्रे गर्न मात्रै ६७ करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।
कालेपत्रे सडकमा पानी रसाउन थालेपछि सडक विभागकै आग्रहमा भत्काएर पाइपलाइन मर्मत गर्न थालिएको केयुकेएलले जनाएको छ । ‘सडकमा एकाएक पानी रसाउन थालेको पाइयो,’ केयुकेएलका प्रवक्ता मिलन शाक्यले भने, ‘सडक विभागले पानी रसाएको स्थानमा टुटेका पाइप मर्मत गर्न भन्यो । हामीले भत्काएर मर्मतको काम थालेका हौँ ।’
k1
सडक विभागका प्रवक्ता अर्जुनजंग थापाले कालोपत्रे सकेपछि मात्र खानेपानीको पाइपका कारण पानी रसाएको थाहा पाएकाले मर्मत गर्न आग्रह गरिएको बताए । महाराजगन्ज–बुढानीलकण्ठ सडकखण्ड कालोपत्रे गरिएपछि मात्रै पानी रसाएको देखिएको उनको दाबी छ ।
‘सडकमा कालोपत्रे गरेको केही दिनपछि पानी रसाएको देखियो,’ थापाले भने, ‘पाइप कमजोर भएकाले पानी रसाएको भेटिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप मर्मत गर्न सडक खनेको हो ।’
कालोपत्रे गर्नुअघि नै केयुकेएललाई पाइप मर्मत तथा नयाँ पाइप राख्न भनिएको, तर काम नहुँदा अहिले सडक भत्काउनुपरेको विभागको भनाइ छ । ‘पाइप तथा ढल निर्माण गर्ने काम खानेपानी लिमिटेडको हो । सडक निर्माणपूर्व नै हामीले कन्सल्ट गरेका थियौँ,’ सडक विभागका प्रवक्ता थापाले भने, ‘तर त्यतिवेला उहाँहरूको प्रोजेक्ट रहेनछ । अहिले प्रोजेक्ट आएकाले काम हुँदै छ ।’
केयुकेएलका प्रवक्ता शाक्यले निर्माणपूर्व सडक विभागले खानेपानीका पाइप फेर्न भनेको र केही कामसमेत भएको बताए । ‘सडक विस्तारको क्रममा पाइप फेर्न विभागले भन्न त भनेको हो । त्यहीअनुसार केही काम पनि भयो,’ शाक्यले भने, ‘तर सबै ठाउँमा पानी रसाउँछ भन्ने त्यसवेला थाहा भएन । कालोपत्रे भएपछि मात्र थाहा भयो । पाइप कमजोर भएर पनि हुनसक्छ ।’
केयुकेएलले हाल लैनचौर–महाराजगन्ज हुँदै बुढानीलकण्ठसम्म आठ किलोमिटर तीन सय ५० मिटर सडकखण्डको विभिन्न ठाउँमा खानेपानी पाइप मर्मत गर्दै छ । केयुकेएलले बाँसबारीदेखि बुढानीलकण्ठ सडकखण्डको करिब सय–सय मिटरमा खाल्डा खनेको छ । सडकको मध्यभागमा खाल्डो खनेर पाइप मर्मत गरेपछि केही ठाउँमा माटोले पुरिएको छ भने अधिकांश ठाउँका खाल्डा त्यत्तिकै छाडिएका छन् । केही ठाउँमा पाइप मर्मत गरिएपछि पनि पानी रसाउन छाडेको छैन । नपुरी छाडिएका खाल्डामा पानी जमेको अवस्थामा छन् ।
लैनचौरदेखि महाराजगन्जसम्मको सडकखण्डमा भने भर्खर भत्काउन सुरु गरिएको छ । केयुकेएलले सडकको मध्यभागमा खाल्डा खनेपछि सवारी आवागमनमा समेत असर परेको छ । सांग्रिला होटलदेखि पानीपोखरीसम्मको खण्डमा मात्रै सात ठाउँमा ठूला–ठूला खाल्डा खनेर पाइप मर्मत गरिँदै छ ।
k2
अन्त पनि भत्किए
उपत्यकाको सडक विस्तार योजनाअन्तर्गत विस्तारित भित्री सडक ठाउँठाउँमा भत्केका छन् । गुणस्तरहीन कालोपत्रेका कारण धेरै ठाउँमा पाप्रा उप्किएका छन्, केही ठाउँमा खाल्डाखुल्डी परेका छन् ।
डिल्लीबजार–चारखाल–नक्साल भगवतीबहालसम्मको सडकखण्डको अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ । चारखालचोक, कमलपोखरी चोक, नक्साल भगवतीबहाल चोकमा खाल्डाखुल्डी परेर पानी जमेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको ३ नम्बर गेटदेखि शिवपुरी उमाविसम्मको सडकखण्डमा पनि ठाउँठाउँमा कालोपत्रे उप्किएको छ । करिब दुई सय मिटर सडकमा गरिएको कालोपत्रे उप्किएर खाल्डो परेको छ ।
नन्दी रात्रि माध्यमिक विद्यालय अघिल्तिरको सडकखण्डमा पनि कालोपत्रे उप्किएको छ । नागपोखरी–दरबारमार्गखण्डमा ढल नै फुटेको छ । ढल फुट्दा करिब पाँच सय मिटर दुर्गन्धित भएको छ । ढलबाट बगेको पानीका कारण सडक भत्किन सुरु गरेको छ ।
रातोपुल–कमलपोखरी सडकखण्डका विभिन्न ठाउँमा पनि कालोपत्रे उप्किएको छ । ज्ञानेश्वर चोकमा कालोपत्रे उप्किएको छ भने केही ठाउँमा खाल्डा छन् । कालोपुलदेखि नक्साल भगवती मन्दिर जोड्ने सडकखण्डअन्तर्गत गौचरणदेखि नक्साल भगवती मन्दिरसम्मको क्षेत्रमा सबैभन्दा धेरै कालोपत्रे उप्किएको छ ।
कालोपुल–चाबहिल–पशुपति बहुमुखी क्याम्पस हुँदै कालोपुल निस्कने सडकखण्डमा पनि ठाउँठाउँमा कालोपत्रे उप्किएर खाल्डा परेका छन् । चुच्चेपाटीदेखि महांकाल जोड्ने खण्डको विभिन्न ठाउँमा पनि भत्किएर खाल्डाखुल्डी परेका छन् ।

No comments: