Tuesday, August 26, 2014

दुई सातामा १६ किलो सुन बरामद

index
सिन्धुपाल्चोक, ९ भदौ
पछिल्लो दुई सातामा चीनको खासाबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको १६ किलो सुनसहित तीन पक्राउ परेका छन् । सुरक्षा निकायले २७ साउनमा ४ किलो सुनसहित दोलखाकी माया शेर्पा, शुक्रबार ८ किलो सुनसहित तातोपानीका साम्देन शेर्पा र सोमबार ४ किलो सुनसहित मनाङ जिल्ला घ्यारुका दोर्जे गुरुङलाई पक्राउ गरेको हो ।
बरामद गरिएको सुनसहित माया र साम्देनलाई तातोपानी भन्सारको गेटमा पक्राउ गरिएको हो । उनीहरूलाई तातोपानी भन्सार कर्मचारी र सशस्त्र प्रहरी भन्सार राजस्व गस्तीले पक्राउ गरेको भन्सारले जनाएको छ । निमित्त भन्सार अधिकृत दयानन्द केसीका अनुसार मायाले ४ किलो सुनलाई दुइटा तिघ्रामा टेपले बाँधेर लुकाइछिपाई ल्याएकी थिइन् । नियमित जाँचका क्रममा उनीमाथि शंका लागेपछि भन्सार कर्मचारी र सशस्त्रको राजस्व गस्तीले नियन्त्रणमा लिई थप खानतलासी गरेको थियो ।
त्यस्तै, नियमित जाँचका क्रममा शुक्रबार शेर्पाको साथबाट लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा सुन बरामद गरिएको हो । उनले तिघ्रा, पिँडौला र शरीरका अन्य भागमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको भन्सार अधिकृत केसीले जानकारी दिए । ‘शेर्पाले जाँचका क्रममा अस्वाभाविक व्यवहार देखाएपछि नियन्त्रणमा लिएर थप खानतलासी गरिएको थियो,’ उनले भने, शेर्पाले चलाखीपूर्ण ढंगले शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा सुन बरामद गरिएको हो ।’ उनले बरामद सुन एक/एक किलोका ८ बिस्कुट भएको बताए ।
सोमबार चीनको तिब्बतस्थित खासाबाट भन्सार छलेर ल्याइएको ४ किलो सुनसहित मनाङ जिल्ला घ्यारुका दोर्जे गुरुङलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धानका लागि सोमबारै ततोपानी भन्सार कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी इन्सपेक्टर जयेश्वर रिमालले जानकारी दिए । भन्सारले तोकेको जरिवाना बुझाउन नसक्दा माया र साम्देनलाई जेल चलान गरिएको छ ।
१७ साउनमा जुरेमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुन तस्करीसमेत बढेको छ । पहिरो गएयता तीनपटक सुन बरामद हुनुले पनि तस्करी बढेको पुष्टि गर्छ । जिल्लामा रहेका सुरक्षा निकायको ध्यान पहिरोतिर केन्द्रित भएकाले तस्करहरूले मौका छोपेको हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।
प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले यतिवेला सुरक्षा निकाय पहिरोले बनेको ताल, विस्थापितलाई राहतलगायतमा व्यस्त रहेकाले तस्करले मौका छोपेको हुन सक्ने अनुमान गरे ।
पहिरो जानुअघि राजमार्गमा रहेका प्रहरी युनिटले सवारीसाधन र यात्रुलाई समेत जाँच गर्ने गर्थे । अहिले सवारी आवागमन नभएको मौकामा तस्करहरू सक्रिय बनेको हुन सक्ने बोहराको भनाइ छ ।
तस्करले सुन तातोपानी भन्सारमा हुने जाँच र सीमा प्रहरीलाई छलेको खण्डमा सीधै राजधानी पुग्छ । राजमार्गमा ओहोरदोहोर गर्नेहरू प्राय: ताल अवलोकन गर्न जानेहरू हुने भएकाले बनदेउ, बलेफी, अधेरी, लामोसाँघुका प्रहरीले जाँच गर्न छाडेका छन् ।

No comments: