Sunday, September 21, 2014

गोलबजार खसी बजारमा ठेकेदारको लुट

September 21
खरिद र बिक्री गर्नेसँग ठेकेदारका केटाहरु धम्क्याएर तीन गुणा बढी कर असुल्छन्, एसपी भन्छन् सिडिओलाई भन्नुस्। सिडिओ भन्छन् म केहि गर्न सक्दिनँ।
जिल्लाको गोलबजारस्थित खसी बजारमा ठेकेदारले लुट मच्चाएको छ। दसैं नजिकिएपछि अहिले खसी बोका खरिद बिक्री बढेको छ। जसको फाइदा ठेकेदारले उठाउन थालेका छन्।
 
गोलबजार असनपुर गाविसमा पर्छ। धमिनि माइस्थान मन्दिरको छेउमै गाविसको कार्यालय छ। मन्दिरकै पर्खालमा आ.ब. ०७१/७२ को बाख्रा खसि बजारको रेट दर उल्लेख गरिएको छ। उक्त रेटदरमा खरिद कर प्रति थान रु. २५ र बिक्री कर प्रति थान रु. २५ उल्लेख भएपनि ठेकेदार लुट मच्चाएका छन्। केहि दिन यतादेखि ठेकेदारले खरिद कर प्रति थान रु. ७५ र विक्री कर प्रति थान रु. ७५ का दरले धम्क्याएर उठाइरहेका छन्।
 
ईलाका प्रहरी कार्यालय सो ठाउँदेखि मात्रै करिब आधा किलोमिटरकै दूरीमा छन्। गाविसको कार्यालय त झन कर उठाउन राखेको काउण्टर अगाडि नै छ। प्रहरी कार्यालय आधा किलोमिटरको दूरीमा भएपनि प्रहरीको गस्ती टोली बाख्रा बजारमै हुन्छ। तरपनि अबैध असुली गर्ने ठेकेदार तर्फ न त गाविस सचिवको ध्यान पुगेको छ, न त प्रहरीको नै।
 
गोलबजारको खसी बजार लोकप्रिय छ। जिल्लाका अधिकांश गाविसका बासिन्दा खसी, बोका र बाख्रा खरिद विक्री गर्न यहाँ आउँछन्। शनिबार र मंगलबजार बजार लाग्छन्। यहाँ एक दिनमा करिब एक हजारभन्दा बढी खसी बोका खरिद बिक्री हुने गरेको स्थानीय बताउँछन्।
 
बडहरा घर बताउने भरत विकेले एउटा खसी खरिद गरेपछि ठेकेदारले आफूसँग रु. ७५ रुपैया कर लिएको बताए। उनले भने, 'केहि दिन अगाडि पनि यही बजारबाट खसी खरिद गरेर लग्दा कर रु. ६० रुपैया तिरेको थिए। आज रु. ७५ रुपैया लियो।'
 
ठेकेदारलाई यसरी किन तीन गुणा बढी कर लिएको भनेर सोध्दा केहि नबोलेको उनले सेतोपाटीसँग भने। कर लिँदा कम्तिमा रसिद दिनुपर्ने भएपनि नदिएको उनले गुनासो गरे।
 
उनले भने, 'मलाई थाहा छ, खरिद कर प्रति थान रु. २५ र विक्री कर प्रति थान रु. २५ मात्र लिनुपर्ने हो। तर के गर्ने? हामीले बोले कुटाइ खानुपर्छ। यसरी लुट मच्चाउनेलाई त प्रशासनले कारबाही गर्नुपर्छ नी?'
 
यस्तै सारश्वरका राजेश महरा पनि खसी खरिद गर्दा रु. ७५ कर तिर्न बाध्य भए। सुरुमा उनले केहि भन्न मानेनन्। तरपछि उनले भने, 'रु. ७५ तिरे। पाँच रुपैया छाड्न भनेपनि छाडेनन्। उल्टै धम्क्याएर उनिहरु बोल्छन्। म केही भन्दिन। अरु मान्छेहरुसँग सोध्नुस्।'
 
खसी बजारको ठेक्का श्रीराम साहले लिएका हुन्। तर उनी आफू बस्दैन्। अन्य केटाहरुलाई काउण्टरमा कर असुल्न राखेका छन्। खसी खरिद विक्री गर्नेहरु किन यसरी तीन गुणा बढी कर लिने गरेको गुनासो गरेपछि उल्टै धम्क्याएर पठाउँछन्।
 
गोलबजारका प्रहरीलाई ठेकेदारले रकम खुवाउने गरेका कारण कारबाही गर्न तयार नभएको स्थानीयको गुनासो छ। नाम उल्लेख नगर्ने सर्तमा एक खसी व्यापारीले भने, 'प्रहरी मिलेको कुरा म नभनेपनि आफै प्रष्ट छ। हेर्नुस् न यहाँ काउण्टर छ। प्रहरी पनि त्यही बसेको छ। तर बढी कर लिने ठेकेदारलाई किन केहि भनिरहेका छैन्। यो दृष्यले नै त प्रहरी मिलेको कुरा पुष्टि हुन्छ। हुँदैन र?'
 
कर असुल्न काउण्टरमा बसेका मध्ये सुरेन्द्र यादबले ठेकेदारले भनेअनुसार खरिद र विक्री गर्नेसँग रु. ७५ का दरले कर उठाउने गरेको स्वीकारे। रु. २५ को दरले कर उठाउने सम्झौता भएको छैन्? भन्ने प्रश्नमा उनले भने, 'त्यो मलाई थाहा छैन्। ठेकेदारसँग कुरा गर्नुहोला।'
 
खुलेयाम लुट मच्चाउनेलाई कारबाही गर्न मिल्दैने र? भनेर सिरहाका प्रहरी प्रमुख तथा एसपी रामकृपाल यादबसँग जिज्ञासा राख्दा उनले भने, 'म त्यहाँका प्रहरीलाई भनिदिन्छु।  तर तपाई एक पटक सिडिओ साहेबसँग कुरा राख्नुस् न।'
 
तर सिरहाका प्रमुख जिल्ला अधिकारी मो. अब्दुल कलामले आफू केहि गर्न नसक्ने बताए। फोनमा उनले भने, 'यो त गाविसको कुरा हो। यसमा म केहि गर्न सक्दिन।'
 
यता गाविस सविच बलीराम यादबले एक बर्षका लागि रु २१ लाख २३ हजारमा खसी बजार ठेक्का लगाएको बताए। उनले भने, 'खरिद गर्ने र विक्री गर्नेसँग रु. २५ को दरले मात्र कर उठाउने सम्झौता भएको छ। बढी कर लिने गरेको सुनासो आएपछि अनुगमन समिति समेत बनेको छ।'
 
बालकृष्ण गौतमको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन भएको सचिव यादबले बताए। उनले भने, 'अनुगमन टोलीले रिपोर्ट दिएपछि मात्र ठेकेदारलाई कारबाही गर्न मिल्छ।' 
 
'कर बढी असुल्ने गरेको व्याप्त गुनासोपछि गएको शुक्रवार ठेकेदारलाई बोलाएर सम्झौता अनुसार मात्र कर उठाउन निर्देशन दिए, सचिव यादबले भने, 'तर पुनः शनिवार बढी कर असुलेको तपाईबाट थाहा पाएँ। अहिले गएर पुनः ठेकेदारलाई बोलाएर भन्छु।'

No comments: