Sunday, September 21, 2014

सीमामा लुटिनु र कुटिनु नेपालीको नियती

September 21
नेपालीहरुको प्रमुख चाड दसैं र तिहार नजिँकदै गर्दा भारतबाट घर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। 
भारतमा नोकरी गरेर घर फर्किदै गर्नेको संख्या बढेसँगै सीमा क्षेत्रमा लुटिने क्रम पनि बढेको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डा चौकीमा नेपालीहरु लुटिने क्रम बढेको छ। 
 
डोटीको सलेनाभूमीराज गाविस वडा नम्वर ७ का चक्रबहादुर बिष्ट अत्तरियामा बस भित्रै लुटिएका छन्। 
 
१५ महिनापछि घर फर्किएका बिष्ट से १ प ८१० नम्वरको बस भित्रै लुटिएका हुन। 
 
उनले झोलामा रहेको २ लाख ३० हजार भारतीय रुपैयाँ र तीन थान मोवाइल लुटिएको बताए। 
 
भदौ ३१ गते धनगढीको बसपार्कस्थित अछाम होटलमा बास बसेका बिष्टले होटल सञ्चालकले नै लुटपाट गर्न लगाएको दावी गरेका छन्। 
 
उनले होटल सञ्चालकको नाममा जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका छन्। 
 
नेपालीहरु चोरी र लुटपाटमा संलग्न गिरोहबाट मात्रै हैन भारतीय सीमा सुरक्षा बल र कष्टम कर्मचारीहरुबाट समेत लुटिने गरेका छन्। 
 
उनीहरुले नेपालीलाई विभिन्न बहानामा लुटपाट र कुटपिट गर्ने गरेका छन्। एक महिना अघि भारतको मंगलपुरबाट फर्किएका बाजुराको ब्रमतोलाका हंश रानाले कञ्चनपुरको गड्डाचौकीमा भारतीय एसएसबीले अनाहकमा दुःख दिएको बताए। 
 
'पहिले त झोलाको सामान चेकजाँच गर्‍यो। केही नभेटे पछि दुर्व्यवहार गर्‍यो' उनले भने–'पैसा दिएपछि मात्रै बल्ल त्यहाँबाट फुत्किन पाए।'
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पछि सीमा क्षेत्रमा नेपालीले ज्यादती भोग्नु पर्ने छैन भन्ने विश्वास गरिएको थियो। तर मोदीको भ्रमणले पनि विगतको निरन्तरतालाई तोड्न सकेन। 
 
वर्षभरी दुःखकष्ठ गरेर कमाएको रकम सीमा क्षेत्रमा लुटिन थालेपछि नेपालीहरु समस्या परेका छन्। कतिपयले त रकम गुमाउने मात्रै हैन कुटपिटको समेत सामना गर्नुपर्ने हुन्छ। 
 
भारतीय सुरक्षाकर्मीले विभिन्न बहानामा लुटपाट र कुटपिट गर्ने गरेका छन्। उनीहरुले मागेको रकम नदिए खल्तीबाटै जबरजस्ती रकम लिने र प्रतिकार गर्न खोजे कुटपिट समेत गर्ने गरेको पीडितहरुको गुनासो छ।
 
सुदूरपश्चिम प्रहरीले दशै र तिहारलाई मध्यनगर गरेर एकीकृत सुरक्षा योजना लागु गरेपछि नेपाली पक्ष भने सचेत बनेको छ। यसअघि भने नेपाल प्रहरी र भन्सारका कर्मचारीहरुले समेत घर फर्किदै गरेकाहरुबाट रकम असुल्ने गरेका थिए। 
'यो वर्ष नेपाल तर्फ भने त्यत्ति गाह्रो छैन' एक व्यक्तिले भने–'पोहोर साल आउँदा त नेपाल तर्फ पनि पैसा तिर्नु परेको थियो।'
 
नेपालीलाई रिक्सा चालकले समेत लुट्ने गरेका छन्। गौरीफन्टाबाट धनगढीस्थित बसपार्कसम्मको भाडा दर ५० रुपैयाँ भएपनि रिक्साचालकले दोव्वर भाडा असुल्ने गरेका छन्। 
 
भारतको पुनाबाट आएका तुलाराम नेपालीले रिक्सा चालकले समेत लुट्ने गरेको गुनासो गरे। 
 
'पहिले ५० रुपैयाँ भनेर रिक्सामा चढाउछन् तर पछि सामानको समेत भाडा जोडेर लिने गरेका छन्' उनले भने–'उनीहरुले भने जति रकम नदिए मान्दैनन्।'
 
सीमामा हुने ज्यादती एक वर्ष मात्रै हैन। यो प्रवृत्ति विगत देखि नै चल्दै आएको छ। भारत र नेपाल पक्षले बेला बेलामा सिमामा हुने ज्यादतीका बारेमा छलफल गर्छन.। भारतीय पक्षले आगामी दिनमा त्यसो नहुने प्रतिवद्धता पनि व्यक्त गर्छ। तर त्यसको पालना भने हुन सकेको पाईदैन। जसका कारण वर्षेनी नेपालीहरुले कुटिनु र लुटिनु पर्ने वाध्यता रहँदै आएको छ।

No comments: