Friday, October 31, 2014

एसएलसी नतिजा ग्रेडिङ प्रणालीमा

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले आगामी वर्षदेखि प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने भएको छ। पहिलो चरणमा ९९ विद्यालयको परीक्षाको नतिजा मात्र ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिनेछ। 
 
यो प्रणालीबाट नतिजा सार्वजनिक भएपछि अहिलेजस्तो विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याइने छैन। विद्यार्थीले पाएको अंकका आधारमा 'क, ख, ग, घ' वा 'ए, बी, सी, डी' मा श्रेणी छुट्ट्याएर प्रमाणपत्र दिइनेछ।  
 
विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) अनुसार परीक्षणका रूपमा गत वर्षदेखि ती ९९ विद्यालयमा प्राविधिक धारको पढाइ सुरु गरिएको हो। ती विद्यालयमा प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि इन्जिनियरिङ, ओभरसियर र अन्य प्राविधिक विषयको पढाइ भइरहेको छ। एसएसआरपीअनुसार माध्यमिक तहमा प्राविधिक र साधारण धारका पढाइ हुन्छन्। 
 
ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक भएपछि अहिलेजस्तो विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण भनेर छुट्ट्याइने छैन। विद्यार्थीले पाएको अंकका आधारमा 'क, ख, ग, घ' वा 'ए, बी, सी, डी' मा श्रेणी छुट्ट्याएर प्रमाणपत्र दिइनेछ।  
पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ प्रणालीमा लैजाने विषयमा अन्तिम निर्णय गरेपछि नतिजा सार्वजनिक गर्ने काम परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ। केन्द्रअन्तर्गतको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेर थप प्राविधिक तयारी गरिरहेको जानकारी केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले दिए। 
 
उनले भने, 'ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्ने निर्णय भइसक्यो। तर यो प्रणालीअन्तर्गत पनि 'ए, बी, सी, डी' अथवा 'क, ख, ग, घ' कुन नामबाट विद्यार्थीलाई प्रमाणपत्र दिँदा व्यावहारिक हुन्छ भन्नेमा विज्ञसँग छलफल जारी छ। ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्न उत्तरपुस्तिका परीक्षक, सम्परीक्षक तथा अन्य काममा संलग्न शिक्षक, कर्मचारीलाई दिनुपर्ने तालिम र परामर्शबारे पनि छलफल भइरहेको छ।' 
 
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्ने विषयमा आफूहरूका तर्फबाट पनि आवश्यक तयारी भइरहेको बताए। प्रत्येक वर्ष एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुनेबित्तिकै ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको तथ्यांक सार्वजनिक भएपछि ग्रेडिङ प्रणालीमा नतिजा निकाल्नुपर्ने बहस हुँदै आएको छ। काठमाडौं, पूर्वाञ्चललगायतका विश्वविद्यालयले ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्दै आएका छन्। 
 
विद्यालय तहको गुणस्तर सुधार तथा संरचना परिवर्तन गर्ने उद्देश्यले सन् २००९ को अन्त्यदेखि एसएसआरपी सुरु गरिएको हो। विदेशी विकास साझेदार निकाय र नेपाल सरकारको संयुक्त लगानीमा यो कार्यक्रम सुरु भएको हो। यो कार्यक्रमअनुसार एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी क्षेत्रीय शिक्षा निर्देशनालयलाइ दिइनेछ। 
 
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड गठन गरेर त्यही बोर्डमार्फत विद्यालय तहको अन्तिम परीक्षाका रूपमा कक्षा १२ को परीक्षा लिइनेछ। शिक्षा ऐन संशोधनमा भएको ढिलाइले एसएसआरपी पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन कठिन भएको शिक्षा मन्त्रालयको भनाइ छ। 

No comments: