Friday, October 31, 2014

नेपाल फेरि डिभिजिन ३ च्याम्पियन, विश्व वरीयतामा २१ ‌औं

काठमाडौं-‘हामीले जस्तो चाहेका थियौं, अन्त्यमा त्यस्तै नतिजा पायौं।' पुरानो प्रतिद्वन्द्वी युगान्डालाई बिहीबार पराजित गरी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि रक्षा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नागरिकसँग टेलिफोनमा भने। उनको चाहना हो, डिभिजन ३ को विजेता हुँदै डिभिजन २ मा उक्लिने लक्ष्य। यो प्रतियोगिता निम्ति मलेसिया उड्नुअघि नै उनले विजेता शैलीमा भनेका थिए, ‘डिभिजन ३ हाम्रालागि खास गाह्रो होइन, चुनौती डिभिजन २ हो।'
अन्तिम विकेट लिएसँगैं उपाधि जितेपछि नेपाली खेलाडीहरु बाँयाबाट क्रमश आरिफ शेख, अमृत भट्टराई, विनोद भण्डारी, वसन्त रेग्मी र सागर पुन रमाउदैं। तस्बिर : आइसिसी
प्रतियोगिताको पहिलो खेलमै युगान्डासँग पराजित हुनुपरेपछि भने नेपाल नराम्ररी झस्किएको थियो, जसको बदला बिहीबार ६२ रनको विजयसँगै लिएको छ। टस जितेको नेपाल क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओवल मैदानमा २ सय २३ रन जोड्नुअघि ४९.५ ओभरमा अलआउट भएको थियो। जवाफमा आएको युगान्डा ४४.१ ओभरमा १ सय ६१ रनमै रोकियो। 
‘हामीले पहिलो खेल हारेकाले आज युगान्डासँग बदला लिएजस्तो भयो,' प्रशिक्षक दासानायकेले भने, ‘पहिलो खेलमा राम्रो गर्न सकेका थिएनौं, आज राम्रो गर्यौं , यसको श्रेय खेलाडीलाई दिनुपर्छ।' यो विजयसँगै नेपाल विश्व वरियतामा २१ औं स्थानमा उक्लिएको छ।
युगान्डासँगको पहिलो खेल हारे पनि नेपालले राउन्ड रोबिनका बाँकी चार खेल जित्दै डिभिजन २ मा बढुवा पक्का गरेको थियो। नेपालले गत वर्षको मेमा पनि युगान्डालाई ५ विकेटले पराजित गरी डिभिजन ३ को उपाधि जितेको थियो। न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा भने १० टोलीको पुछारका दुई स्थानमा परेपछि नेपाल र युगान्डा फेरि डिभिजन ३ मै झरेका थिए।
नेपाल र युगान्डाले अब जनवरीमा नामिबियामा हुने डिभिजन २ मा घरेलु टोली नामिबियासँगै केन्या, नेदरल्यान्ड्स र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछन्। डिभिजन २ का शीर्ष दुई टोलीले प्रथम श्रेणीको मान्यताप्राप्त आइसिसी अन्तरमहादेशीय कप र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउनेछन्।
‘अब हाम्रो ध्यान डिभिजन २ को उपाधितिर गएको छ, जुन नजिकै आइसकेको पनि छ,' दासानायकेले भने, ‘डिभिजन २ फरक स्तरको हो, हामीले आउँदो दिनमा अझ धेरै मेहनत गर्नुपर्नेछ।'
बिहीबारको खेलमा नेपालका तीन ब्याट्सम्यान सागर पुन, नरेश बुढाएर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका थिए।
नियमित ओपनर सुवास खकुरेल घाइते भएपछि उनको स्थानमा शीर्ष पंक्तिमा सागर खेल्न आएका हुन्। सागरले अर्का ओपनर नरेशसँग १ सय ७ रनको साझेदारी गरी नेपालको विजय आधार तयार पारे। नरेश २७ औं ओभरमा ५१ रन बनाई आउट भएपछि यो साझेदारी टुटेको थियो।
प्रतियोगितामा तेस्रो अर्धशतक बनाएका नरेशले ७२ बल खेली २ चौका र १ छक्का प्रहार गरे। एकदिवसीयमा आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा सागरले ६४ रन जोडे। ९९ बलको इनिङ्समा उनले ५ चौका र १ छक्का प्रहार गरे।
उत्कृष्ट फर्ममा रहेका ज्ञानेन्द्रले ५६ रन बनाए। उनले ६५ बल खेली ५ चौका प्रहार गरेका थिए। ‘माथिल्लो क्रमले रन बनाउन सक्नु हाम्रो सकरात्मक पक्ष रह्यो,' दासानायकेले भने, ‘नरेश, ज्ञानेन्द्र, सुवास र सागर सबैले राम्रो गरे, जबकि अरू समयमा हाम्रो शीर्ष पंक्ति रन बनाउन संघर्ष गर्थ्यो।'
ज्ञानेन्द्र आउट भएसँग नेपालले अन्तिम ६ विकेट १५ रनमै गुमायो। दासानायकेले प्रतियोगितामा नेपालको कमजोरी यसैमा देखे। ‘हामीले प्रतियोगिताभरि राम्रो सुरुआत गरे पनि २ सय ५० रन कटाउन सक्दैन्थ्यौं,' उनले भने, ‘सुवास (ग्रोइन) र शरद भेषावकर (डिहाइड्रसन) नहुँदा पनि फरक पर्योट।' सिंगापुरविरुद्ध मात्र नेपालले (२६३) २ सय ५० भन्दा बढी रन बनाएको थियो।
४४ औं ओभरमा बलिङ गर्न आएका रोजर मुकासाले ६ विकेट लिँदै नेपाली इनिङ्सलाई तहसनहस बनाए। आफ्नो पहिलो ओभरमै विनोद भण्डारीलाई बोल्ड गरेका उनले त्यसपछि ज्ञानेन्द्र, महबुब आलमजस्ता खेलाडीको विकेट लिए। मुकासाले ३.५ ओभरमा २७ रन खर्चे।
मुकासाले ब्याटिङबाट पनि नेपालको हातबाट उपाधि खोस्ने प्रयास गरेका थिए। आठौं ओभरमा घाइते भएका मुकासा ९२ रनमा पाँचौं विकेट झरेपछि फेरि ब्याटिङ गर्न आएका थिए। उनले आक्रामक इनिङ्स खेल्दै युगान्डाको आशा ब्युँत्याएका थिए। मुकासाले ५२ बलमा ५१ रन बनाए। ४ चौका प्रहार गरेका उनले ३ मध्येको २ छक्का वसन्त रेग्मीलाई हानेका थिए।
अन्य खेलाडीबाट राम्रो साथ नपाएका उनलाई ४२ औं ओभरमा भुवन कार्कीले आउट गरी नेपालको विजयलाई औपचारिकतामात्र बाँकी राखे। देब्रेहाते स्पिनर भुवनले ८ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए। वसन्त रेग्मीले २ तथा सोमपाल कामी, शक्ति गौचन र सागर पुनले १–१ विकेट लिए। वसन्तले युगान्डाको अन्तिम विकेटका रूपमा देउसडेडिट मुहुमुजालाई आउट गरी प्रतियोगिता सर्वाधिक १४ विकेटका साथ टुंग्याए।

No comments: