Saturday, October 18, 2014

फोहोरको थुप्रोमाथी अग्लिएको एन्फा-गणेश थापाले कहाँ–कहाँवाट खाए पैसा ?


‘म भिमसेन थापाको खलक र कमल थापाको भाई हुँ । अन्तर्राष्ट्रिय जगत्मा मलाई नचिन्ने कमै छन् । तपाईहरुको के हैसियत छ मसँग बयान लिने ? बोलाई हाल्नुभयो त्यसैले भेटघाटका लागि मात्रै आएको हुँ । तर याद गर्नुस् कुनै दिन यही समितिमा सदस्य बनेर म पनि आउन सक्छु ।’– गणेश थापा (मिति : ११ भदौ २०७१)Ganesh Thapa Clarification
 सार्वजनिक लेखा समितिमा सुरुआती दिन जवाफ दिने क्रममा यसरी गर्जिएका गणेश थापाको उपस्थितिले केही समय संसदीय मामिला हेर्ने पत्रकारमाझ नै खैलावैला मच्चायो । लामो समय यता संसदीय मामिला हेर्दै आएका एक पत्रकारको टिप्पणी थियो, ‘ गिरिजाप्रसादले नुर गिराएर बयान दिएको समितिमाथि प्रश्न उठाउने गणेश थापा साँच्चै जब्बर रहेछन् । उनी जब्बर छन् भन्ने सुनेको थिएँ, अहिले प्रत्यक्ष देखेँ ।’ गणेश थापासँगको लेखा–समितिको सवाल जवाफ त्यत्तिकै कहाँ टुंगियो र ? थापाकाजी अहिले पनि लेखा–समितिको विरुद्धमा छन् , फरक यत्ति छ, कुनै समय बाघझैँ गर्जने उनी अहिले विरालो जसरी म्याउ गर्न थालेका छन् । ५८ करोड भ्रस्टाचार भएको ठहर गर्दै लेखा समितिले युवा तथा खेलकुद मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएपनि कारबाही प्रक्रिया अघि नबढ्दा शंका–आशंका सुरु भएको छ । तर जोड घटाउका बीच अहिले पनि लेखा–समितिको क्रियाशिलता घटेको छैन् । मन्त्रीले फिफाको कानून देखाएर कारबाहीका लागि अटेर गरेपछि गणेश थापाको पुरानो प्रस्तुती माथ खुवाउने गरी धनराज गुरुङले मन्त्रीमार्फत उनै थापाकाजीलाई जवाफ फर्काए, ‘फोहोरको थुप्रोमाथि अग्लिएको एन्फा हामीलाई हेर्नु छैन ।’ के पुर्वफुटवलर एवं भिमसेन थापाका सन्तान गणेश थापा नेतृत्वमा रहेको ‘एन्फा’ फोहोरकै थुप्रोमाथी अग्लिएको हो त ? लामो समय एन्फा नेतृत्वमा रहेका थापाले कहाँ–कहाँ वाट खाएका थिए पैसा ? यस्तो छ एन्फाभित्रको भ्रष्ट्राचारको फेहरिस्त :

घटना नं १.
गणेश थापाका छोरा गौरव थापाको बैंक खातामा दुईपटक गरी एएफसीका पूर्व अध्यक्ष वीन हमामले एक लाख डलर डिपोजिट गरिदिएका थिए । पिडब्लुसी को रिपोर्टमा उल्लेखित यो घटना बारे एन्फा अध्यक्ष गणेश थापाले व्यक्तिगत ऋण लिएको भनेर पन्छिए । तर एएफसीका पूर्व अध्यक्ष विन हमामले भने सो रकम नेपालका असामायिक निधन भएका बालखेलाडीहरू, पुरानो राष्ट्रिय टीमका खेलाडीहरु र नेपाली एक पत्रकारलाई छात्रावृत्ति र सहयोग वापत उपलब्ध गराएको बताए । गणेश थापालाई आफुले ऋण नदिएको भन्दै थापाको भनाई हमाम स्वयमले खण्डन गरिसकेका छन् । पछि हमामलाई आफुले लिएको सापटी फिर्ता गरेको कुरा सार्वजनिक गरेका थापाले नेपालका खेलाडी र पत्रकारका लागि दिएको भनिएको सो रकम कहाँ लगे ? कसरी फिर्ता दिए स्पष्टरुपमा केही खुलाएका छैनन् ।  

घटना नं २.
यो दोस्रो घटनामा पनि गणेश थापाले विन हमाम सँगै लिए एक लाख पन्ध्र हजार पाउण्ड । सन्डे टाईम्समा प्रकाशित समाचार अनुसार थापाले सो रकम हमामको ‘केम्को कन्स्ट्रक्सन’ कम्पनीसँग लिएका थिए । पछि थापाले सो रकम व्यापारिक प्रयोजनका लागि लिएको भन्दै पत्रकार सम्मेलन गरे । हमामको केम्कोबाट ब्यापारीक प्रयोजनका लागी लिएको पाउण्डले आखिर कहाँ उद्योग खोले गणेश थापाले ?

 घटना नं ३.
फुटवलको जग मजवुद बनाउन भन्दै ‘गोल प्रोजेक्ट’ अन्तर्गत फिफाबाट आएको १८ लाख डलर गणेश थापाले कहिल्यै एन्फाको आधिकारिक खाता मार्फत खर्च गरेनन् । सन् २००१ देखी २०१२ सम्म आएको सो रकम आफ्नो ब्यक्तिगत खाता मार्फत खर्च गरे । एउटा ब्यक्तिको खाताबाट काटिएको चेक फुटवल मैदानमा गयो कि घरखर्च टार्न ?  

घटना नं ४.
धरान, बुटवल र ललितपुरको च्यासलमा निर्मीत फुटवल एकेडेमीको निर्माण देखि सञ्चालन सम्म जे–जती काम भए त्यसको आर्थिक पाटो थापा बाहेक कसैलाई थाहा छैन ? न कार्यसमितीले निर्णय गरेको छ, नत खर्चको विवरण एन्फाको अडिट रिपोर्टमा देखिन्छ । सन् २००१ मा यसरी काम गर्ने सिलसिलामा भएको लेनदेनको कुरा उठ्दा ‘त्यस वापत प्राप्त पचास लाख कमिशन मैले खेलाडी कल्याण कोषमा जम्मा गरें’ भन्ने सार्वजनिक अभिब्यक्ति दिएका थिए ।  

घटना नं ५.
छोरा गौरवको एक लाख डलरकाण्ड खुलासा भएसँगै ‘मैले फुटवलको विकासका लागी ८ करोड बचाई राखेको छु’ भन्ने अभिब्यक्ती दिएका थिए गणेश थापाले । उनकै भनाईमा त्यो आठ करोड विभिन्न प्रतियोगीताहरुबाट गेट टिकेट बापत बचाईएको थियो । साफमा वास्तविक आम्दानी ३ करोड भएको रहेछ । तर एन्फाले अडिट रिपोर्टमा भने आम्दानी ९० लाख मात्रै देखाएर २ करोड १० लाख रकम पच पारिदिएको छ। वास्ताबिक गेट टिकेटको आम्दानी भन्दा कम रकमको हिसाव अडिट रिर्पोटमा देखाउँदै आएका थापाले कता लगे त्यो रकम ?  

घटना नं ६.
नेपालको लीग सञ्चालन गर्नका लागि कतार फुटबल संघले २०११ देखि २०१४ सम्मका लागि हरेक बर्ष दुई लाख डलरका दरले चार वर्षका लागि आठ लाख डलर दिने निर्णय गरेको थियो । एन्फाको अडिट रिपोर्ट अनुसार उक्त रकम मध्ये २ लाख डलर २०६९/७० मा गरी दुई किस्तामा आएको देखिएपनि बाँकी ६ लाखको हिसव–किताव गायव छ । यसबारे वेलायतको सन्डे टाईम्समा विस्तृत समाचार प्रकाशीत भएको थियो ।

 घटना नं ७.
जिल्ला र क्षेत्रिय लेभलका प्रशिक्षकलाई तलव दिन भनेर एएफसीबाट हरेक महिना पन्ध्र हजार डलर आउने गरेको छ । ग्रास रुटमा खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत ६ बर्षदेखि निरन्तर रुपमा सो रकम आईरहेको छ । प्राप्त रकम मध्ये थापाले जिल्लाका प्रशिक्षकलाई मासिक तीन हजारका दरले गत साल सम्म र यस बर्षदेखि पाँच हजारका दरले वितरण गर्न थालेका छन् । यसरी प्राप्त रकम मध्ये मासिक ३ देखि ४ लाखसम्म प्रशिक्षकहरुलाई तलव वापत दिईएपनि मासिक ११ देखि १२ लाख रुपैयाँ गायव हुने गरेको छ । एन्फाको अडिट रिपोर्टमा भने उक्त रकम २०६३ सालमा मात्रै आएको देखाईएको छ भने त्यस पछिका वर्षहरुमा प्राप्त उक्त रकमको अडिट गरेको देखिंदैन । सो प्रोजेक्ट अहिले पनि चालु अवस्थै छ ।  

घटना नं ८.
एन्फाको अहिलेको मुख्य आम्दानीको रुपमा देखिएको छ बैंकवाट प्राप्त ब्याज । ब्याजबाट मात्रै एन्फालाई २०६९ सालमा ७२ लाख र २०७० मा ६८ लाख आम्दानी भएको थियो । त्यत्रो ब्याज पाक्ने साँवा आखिर कुन बैंकमा गुपचुप राखिएको छ ?

 घटना नं ९.
सामाजिक उत्तरदायित्व अन्तर्गत फिफाबाटा प्राप्त हँदै आएको २५ हजार डलर अनुदान रकम एन्फाको खाताबाट ‘साथी’ भन्ने संस्थाको नाममा निकासा हुने गरेको छ । यो कार्यक्रमका लागी फिफावाट अनुदान आउन थालेको ५ बर्ष भैसकेको छ । एन्फाकै खातावाट ‘साथी’ को नाममा निकाशा भएपनि सो रकमको अडिट गरिएको छैन । अनि त्यो त्यो २५ हजार डलरले के काम गर्‍यो भन्नेवार थापा मात्रै जान्दछन् एन्फा कार्यसमितीका कसैलाई थाहा छैन ।  

घटना नं १०.
 एन्फाको १३ औं बार्षिक साधारणसभामा थापाले उद्घोष गरेका थिए ‘हामीले ईलभ अमेरीकन कम्पनीसँग सम्झौता गर्‍यौं’ । सन् २०१२ मा ं इलभ अमेरिकन कम्पनिसँग भएको सम्झौता अनुसार चार लाख पचासहजार डलर एन्फाले पाउने उल्लेख थियो । राष्ट्रिय टीमको लुगा तथा खेल सामाग्री, मुख्य र सहायक विदेशी प्रशिक्षक ६ वर्षका लागि इलभले उपलब्ध गराउँने उल्लेख थियो । संझौता एक वर्षमै भंग भएपनि ईलभले गौरव थापालाई तलब बापत पन्ध्रहजार डलर, खेल सामग्री खरिद गर्न पचहत्तर हजार डलर र प्रशिक्षकहरुको तलब र भत्ता बापत ६५,००० डलर उपलब्ध गराई सकेको छ । तर एन्फाको अडिट रिपोर्टमा सो रकमबारे कतै उल्लेख छैन ।  

घटना नं ११.
एन्फाको आयोजनामा गरिएको घरेलु तथा अन्तराष्ट्रीय प्रतियोगिताहरुमा गेट टिकेटबाट उठेको भन्दा न्युन रकम अडिटमा देखाइएको छ । अखिल नेपाल फुटबल संघको मुख्य आम्दानीको स्रोत भनेको गेटबाटा उठने रकम हो तर त्यहि मुख्य आम्दानी किन न्युन देखिन्छ ? आखिर थापाले कता लगे त, त्यो पैसा ?

No comments: