डा. रन्जनकुमार दाहाल, इन्जिनियरिङ भूगर्भविद्
डा. रन्जनकुमार दाहाल इन्जिनियरिङ भूगर्भविद् हुन् । त्रिभुवन
विश्व–विद्यालयका सहप्राध्यापक उनी प्रकोप व्यवस्थापनका विज्ञ हुन् ।
त्रिविबाट भूगर्भशास्त्रमा एमएस्सी, जापानको कागावा विश्वविद्यालयबाट
विद्यावारिधि तथा जापानकै इहिमे विश्वविद्यालयबाट पोस्ट डाक्टरेट गरेका
दाहाल सुनकोसीमा उत्पन्न पहिरो र ताल खुलाउन सरकारले गठन गरेको कार्यदलका
सदस्यसमेत हुन् । सुनकोसीको पहिरोलगायत मुलुकभर रहेका पहिरो जोखिम र
न्यूनीकरणका उपायबारे डा. दाहाल यस्तो बताउँछन् :
सुनकोसी पहिरोबारेमा हामीले सन् २००८ मै
अध्ययन गरेका थियौँ । पहिरो यसरी खस्न सक्छ भन्ने पूर्वानुमान गरेका थियौँ ।
गत साल हामीले एसियामा प्रकोप न्यूनीकरणसम्बन्धी सेमिनार गर्दा
सिन्धुपाल्चोकको सुनकोसी क्षेत्रमा विज्ञहरूलाई लगेका थियौँ । ६० जना
विदेशी साथीले साइटमै गएर हेरेका थिए । समस्या छ भनेर भनेका थियौँ ।
हामीले सुनकोसीमा जुन प्रकारको पहिरो
जानसक्ने पूर्वानुमान गरेका थियौँ, त्योभन्दा दोब्बर ठूलो पहिरो गयो ।
कमजोर भएको चट्टान चिप्लिएर तल खस्यो । चट्टान धेरै माथिबाट, धेरै शक्तिका
साथ आयो र एक्कासि आउँदा रिभर भ्यालीमा थिचियो । नदी बग्नेतिर फर्किंदा
दाहिनेपट्टि किनारमा प्रशस्त मात्रामा चट्टान जम्मा भयो । खेतीयोग्य कमलो
जमिन उछिट्टिएर देब्रोपट्टि पहाडै चढ्यो र व्याक भयो । स्पिडमा पहिरो आउँदा
ठूलो बाँध बन्यो । दाहिनेपट्टि भन्दा देब्रेपट्टिको भाग कमजोर छ । तर,
असाध्यै कमजोर होइन । पहिला दाहिनेपट्टि चलाइहालौँ भन्यौँ, पछि अध्ययन गरेर
देब्रेपट्टि पनि खोलौँ भन्यौँ । काम बढेको छ । तर, सामान पुगेको छैन ।
सरकारलाई सामान पुर्याउनुस् भनेका छौँ ।
०००
प्राइमरी च्यानल (पहिला बगिरहेको ठाउँ) ८० मिटर फराकिलोमा बनेको छ । पानी
गइरहेको हुनाले फुट्ने सम्भावना छैन । सेकेन्डरी च्यानल (सेनाले खनेर
बनाएको ठाउँ)बाट पनि ठूलो मात्रामा पानी घटेको छ । ०.४५ वर्गकिलोमिटरको
क्षेत्रमा दुई मिटर पानी घट्नु भनेको खतरा धेरै हदसम्म कम हुनु हो ।
सरकारी कार्यदलको लक्ष्य सानिमा
हाइड्रोलाई बाहिर निकाल्ने र अरनिको राजमार्ग चलाउने हो । प्राइमरी च्यानल
पुरिदिने र सेकेन्डरी च्यानलबाट पानी बगाइदिने । सेकेन्डरी च्यानल २५
मिटरसम्म खोल्न सकिन्छ । मेसिन र अपरेटर भनेजस्तो भयो भने दिनमा दुई
मिटरसम्म घटाउन सकिन्छ ।
अस्थायी ताल सधैँ राख्न सम्भव छैन । अहिले
फुट्नेवाला नभए पनि तालको जोखिम घटिसकेको छैन । त्यहाँ प्राकृतिक रूपमा
ताल बनेको छ । इन्जिनियरिङ भएको छैन । थप अध्ययन अनुसन्धान हुनुपर्छ । तर,
अहिले दुई मिटर पानी घटेकाले समस्या छैन ।
सुनकोसी क्षेत्रमा जुरेकोजस्तो पहिरोको
जोखिम सकिएको छैन । त्यहाँ पटकपटक पहिरो गएको छ । सडकमाथिबाट दुई–चार मिटर
भत्किएर सडक थुनिने गरी आएको पहिलो साधारण पहिरो हैन । भीमकाय पहिरो जाने
सम्भावना अझै छ । जमिनको भिरालोपन हेर्ने हो भने तलाउ परेर बसेको फेदी
भागमा बढी जोखिम हुन्छ । पहिरोकै जोखिमका कारण पनि यस्तो ताल राख्नु हुँदैन
।
ताल यथावत् राखिएको अवस्थामा भोलि
भोटेकोसीको बहाव एकदमै बढेर बाह्रबिसे बजारका लागि जोखिम उत्पन्न गराउन
सक्छ । अहिले पनि बाह्रबिसे बजारको तल्लो लेभलमा पानी छ । यो अवस्थामा ताल
राखिरहन सम्भव छैन । ताल राखिरह्यौँ भने भोटेकोसीले चीनदेखि ल्याउने
गेग्रयानले ताल पुरिदिन्छ ।
त्यो क्षेत्रमा मैले चार–पाँचवटा हिमताल
देखेको छु । खासाभन्दा माथिका हिमताल फुट्न सक्छन् । त्यसलाई हामीले हिमालय
सुनामी नाम दिएका छौँ । ठूलो भूकम्प आए हिमताल फुट्न सक्छ । भोटेकोसीको
माथिल्लो भाग थुनिनसक्छ । सय–दुई सय मिटर नै थुनिनसक्ने ठाउँ छ, त्यहाँ ।
भोटेकोसी क्षेत्र ठुल्ठूलो पहिरो जान सक्ने ठाउँमध्येको एक हो । ठुल्ठूलो
पहिरो जाने ठाउँमा पानीको व्यवस्थापन गरे जोखिमबाट मुक्ति पाउन सकिन्छ ।
सुनकोसीमा अहिले गर्न सकिने काम भनेको
पानीको सतह घटाउने र बाटो सुचारु गर्ने हो । हामीले सरकारलाई तत्काल साधन
लैजान आग्रह गरेका छौँ । सेनाले प्रभावकारी गतिमा काम गरिरहेको छ ।
०००
हामीले हिमालयन ल्यान्डस्लाइड साइन्स (हिमाली पहिरो विज्ञान) भनेर
पहिरोसम्बन्धी अवधारणा अघि सारेका छौँ । विश्वमा यो अवधारणा नितान्त नयाँ
हो । यो अवधारणाअनुरूप नेपालका प्रमुख सडकको अध्ययन थालेका छौँ ।
मुग्लिन–नारायणगढ, काठमाडौं–पोखरा, नौबिसे–हेटौँडा सडकखण्डको अनुसन्धान
गरिसकेका छौँ । अहिले अरनिको राजमार्गको प्रारम्भिक अध्ययन थालेका छौँ ।
बलेफीबाट उत्तरतिरको सडकमा भीमकाय पहिरोको सम्भावना देखिएको छ । कुनै वेला
चट्टान चिप्लिएर बनेका ठाउँमा अहिले बस्ती बनेका छन् ।
पानी परेका वेलामा पहिरो जाने खतरा हुन्छ ।
त्यसका लागि पानीको व्यवस्थापन गर्नुपर्छ । पानी व्यवस्थापन गरे कुनै खतरा
हुँदैन । यसका लागि विकास प्रणालीमा भूगर्भविद्हरूलाई सामेल गराउनुपर्छ ।
मनकामना केबलकार रहेको कुरिनटारबाट एक
किलोमिटर अगाडिको जमिन भासिएको छ । बिजुलीको पोल बांग्गिएको छ । त्यो
ठाउँमा पहिरो विस्तारै मुभ भइरहेको छ । त्यहाँ पानीको व्यवस्थापन गर्न
जरुरी छ ।
हेटौँडाको कालीटारबाट सिमभञ्ज्याङसम्म
पहिरो मुभ भइरहेको छ । टिस्टुङबाट तल पनि ठूलो पहिरोको सम्भावना छ ।
मलेखुबाट मुग्लिनसम्मको बाटोमा ठूला पहिरा जानसक्ने ठाउँ धेरै छन् ।
कृष्णभीर गतिलो उदाहरण हो । कृष्णभीरमा पहिरोको जोखिम घटेको भए पनि जोखिम
पूरै टरिसकेको छैन । धन्न यसपालि त्यो भागमा पानी कम पर्यो र पहिरो गएन ।
त्यहाँ पानीको व्यवस्थापन गर्नुपर्छ । मनकामना केबलकारदेखि मुग्लिनसम्म
पहिरोको ठूलो जोखिम छ । त्यहाँ पहिरो गए त्रिशूली थुनिनसक्छ ।
मुग्लिन–नारायणघाटखण्ड चौडा पारेर चार
लेनको बनाउने काम भइरहेको छ । त्यो खण्डको ६० प्रतिशत ठाउँ पहिरोको जोखिममा
छ । मुग्लिनबाट जुगेडीसम्म सडकखण्डको अध्ययन गर्दा त्यो सडकको भाग भीमकाय
पहिरोमाथि बसेको छ । त्यस्तो ठाउँमा सडक बनाउँदा गाह्रो हुन्छ । विस्तृत
सर्भेपछि जोखिम कम हुने गरी सडक निर्माण गर्नुपर्छ । डुम्रेबाट दमौली जाँदा
केही स्थान पनि पहिरोका हिसाबले जोखिममा छन् ।
०००
पहाडका बस्ती पहाडबीचमा सम्म ठाउँमा छैनन् । चिप्लिएको मास भनिन्छ यसलाई ।
हरेक वर्ष दश सेन्टिमिटरका दरले जमिन चिप्लिँदै गएको छ । चर्किएका ठाउँमा
माटो हालेर खाँदिन्छ र मतलब गरिन्न । हामी संरचना बनाएर जमिनको भौतिक
अवस्था बिगारिदिन्छौँ । सडक खन्छौँ । जथाभावी सडक खन्दा पानी छिर्छ र
विपत्ति निम्तिन्छ । सुनकोसीमा पनि चट्टानका दरारभित्र पानी छिरेपछि ठूलो
पहिरो गएको हो ।
ठाउँठाउँमा धाँजा फाटेको छ । समस्या आएको
ठाउँमा भूगर्भविद्बाट अध्ययन गराउनुपर्छ । हरेक जिल्ला विकास समितिमा एकजना
भूगर्भविद् राख्नुपर्छ । पानीका लागि सस्ताखालका इन्जिनियरिङ नक्साहरू
बन्नसक्छन् । त्यसले ठूलो काम गर्छ । यसरी अध्ययन गर्दा बस्ती जोखिममा
रहेको पाए स्थानान्तरण गराउनुपर्छ ।
कुनै ठाउँमा दुई–तीन वर्ष पानी पर्दैन ।
पाँच–सात वर्षपछि पानी आउँछ र ठूलो पहिरोमा जान्छ । हामीलाई भाग्यले बचाएको
छ । हामीले समग्र देशको डाटाबेस तयार गरिरहेका छौँ । नेपालभरिकै पहिरो
जोखिम रहेका ठाउँको नक्सा बनाइरहेका छौँ । त्यो बनेपछि समग्र जोखिमको एउटा
अवधारणा आउँछ । आगामी माघसम्म केही न केही प्रगति हुन्छ । जलवायु विज्ञान
विभागको डाटा र स्याटलाइटको रियल डाटालाई मिसाएर जोखिम नक्सा बनाउँदै छौँ ।
पूर्वसूचना राख्ने सिस्टम पनि विकास गर्छौं । दिनमा १४४ मिलिमिटर पानी
परेको ठाउँ पहिरोको जोखिम हुन्छ । त्यस्तो क्षेत्रमा साइरन राख्यौँ र एफएम
रेडियोबाट सूचना प्रवाह गर्यौँ भने मानिसको ज्यान बेकारमा नजाने अवस्था
आउँछ ।
कानुनी पाटोको पनि जरुरी छ । विपत्
व्यवस्थापन ऐन बन्नुपर्छ । सरोकारवाला पक्षसँगको सल्लाहमा यसको विधेयक तयार
पारेर संसदमा पेस गरिँदै छ । ऐन आएपछि प्राविधिक समस्या समाधान हुन्छन् ।
एउटा निकाय खडा हुन्छ । म त मन्त्रालय नै बेग्लै चाहिन्छ भनिरहेको छु ।
बेग्लै निकाय र आवश्यक साधनस्रोत उपलब्ध गराउने हो भने प्राकृतिक विपत्का
वेला प्रभावकारी उद्धार गर्न सकिन्छ । तयारीका भनेको चारवटा साइरन र
प्रकोपछि कम्बल होइन । समग्रमा अध्ययन र अनुसन्धानसमेत गर्नुपर्छ । यो पनि
तयारीको महत्त्वपूर्ण पाटो हो । पहिरोको अवस्थालाई समेत अध्ययन विश्लेषण
गरेर भूउपयोग नीति बनाउनुपर्छ । अहिलेको नीतिमा पहिरो उल्लेख छैन । पहिरो
गएको वा जानसक्ने ठाउँमा घर बनाउन पाइँदैन भन्ने कुरा अहिले कहीँ पनि छैन ।
यो स्पष्ट व्यवस्था गरी नीति र ऐन बनाउनुपर्छ ।
०००
विपत्का वेलामा विदेशी सहयोग लिनुपर्छ । हामीले पनि पाकिस्तान, बंगलादेशलाई
विगतमा सहयोग गरेका छौँ । तर, सहयोग प्रणालीगत हुनुपर्छ । सुनकोसीको हकमा
पनि प्रणालीगत हिसाबले नै भारतीय र चिनियाँ विज्ञहरू आए, अध्ययन गरे । कोसी
फुटेर बिहारमा पर्ने असरका सम्बन्धमा भारतीय विज्ञहरूको चासो छ । चीनको
चासोचाहिँ विपत्का वेलामा छिमेकीलाई सहयोग गरौँ न त भन्ने हो ।
फाओ वाङ भन्ने मेरा चिनियाँ मित्रलाई मैले
सुनकोसीमा पहिरो पहिरो आएलगत्तै सम्पर्क गरेँ । इमेल गरेर सबै कुरा बताएँ ।
उहाँले चिनियाँ सरकारी च्यानलसँग कुराकानी गर्नुभयो र आइडिया दिनुभयो ।
ब्लास्टिङ, तल्लो तटीय क्षेत्रको इभ्याकुएसनलगायतबारे उहाँले सल्लाह
दिनुभयो । त्यो मैले गृह मन्त्रालयमा पनि फरवार्ड गरेँ । चिनियाँ मित्रको
सल्लाहले सुनकोसीको पहिरो ड्याम खोल्न हामीलाई ठूलो सहयोग मिल्यो ।
No comments:
Post a Comment