Thursday, August 28, 2014

चीन नेपालसंगको व्यापारिक सम्बन्ध सुदृढ तुल्याउन क्रियाशील : राजदूत वु


28 August

Chinese Ambassador नेपालका लागि चीनका राजदूत वु चुन्ताइले चीन–नेपाल आर्थिक एवम् व्यापारिक सम्बन्ध सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभएको छ । चीन–नेपाल आर्थिक सम्बन्धबारे नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले दुई देशबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध पारस्परिक हित प्रवद्र्धन गर्दै सर्वोत्कृष्ट साझेदारीमा रुपान्तरण भएको बताउनुभयो । नेपालले सामाजिक–आर्थिक क्षेत्रमा क्रमशः प्रगति गर्दै गएको र त्यसमा सक्दो योगदान गर्न चीन प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो – नेपालको निर्यात व्यापार प्रवद्र्धन गर्न चीन सरकारले सातहजार आठसय ३१ उत्पादनलाई ९५ प्रतिशत भन्सार छुट दिएको छ ।’ नेपालमा उत्पादित चिया र हस्तकलाका सामग्री चिनियाँहरूद्वारा अधिक रुचाइका वस्तु भएको र ती उत्पादनको चीनमा निर्यात विस्तार गर्न सकिने प्रशस्त संभावना रहेको उहाँले बताउनुभयो । काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माणमा नेपाल सरकारलाई सघाउन चीन सकारात्मक रहेको जानकारी दिँदै चिनियाँ राजदूतले त्यससम्बन्धमा नेपाल सरकारसँग प्रस्ताव माग गरिएको बताउनुभयो । बेइजिङ र साङ्घाईलाई काठमाडौँसँग प्रत्यक्ष हवाई सम्पर्कबाट जोड्ने प्रयास भइरहेको र त्यस निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा र भैरहवा विमानस्थलको स्तरोन्नति अपरिहार्य भएको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा हालै गएको भीषण पहिरोबाट त्यहाँका स्थानीय जनतामा परेको प्रभावप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गर्दै उहाँले चीन सरकारका तर्फबाट दैवी प्रकोप पीडितलाई खाद्य र औषधिजन्य सहयोग उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत सरकारका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु एक करोड ५५ लाख प्रदान गरिसकेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले हालैको पहिरोले तातोपानी नाका अवरुद्ध भएकाले केरुङबाट व्यापार गर्न उद्यमी–व्यवसायीले चाहेको र त्यस दिशामा आफूहरूलाई सघाउन चिनिया पक्षसँग अनुरोध गर्नुभयो । अघिल्लो वर्ष नेपालले ७१ करोड १० लाख अमेरिकी डलर बराबरको व्यापार घाटा बेहोर्नु परेको जानकारी दिँदै उहाँले त्यसलाई घटाउन पनि चिनियाँ राजदूतको सहयोग आफूहरूले अपेक्षा गरेको बताउनुभयो ।

No comments: