Showing posts with label पत्रपत्रीका. Show all posts
Showing posts with label पत्रपत्रीका. Show all posts

Tuesday, September 2, 2014

कस कसले पाए शिक्षा पत्रकारिता पुस्कार ?


September 2 काठमाडौं ।
 ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७०’ यस पटक ३ जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । शिक्षा पत्रकारिता पुरस्कार छनोट मूलसमितिको बैठकले नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिका दैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) लाई ७५ हजार राशीको पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो । fnj-logo२५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार-२०७० पूर्वाञ्चलबाट ध्रुव सुवेदी (नागरिक दैनिक, भोजपुर), मध्यमाञ्चलबाट संयुक्तरुपमा मकवानपुरका ध्रुव अधिकारी (राजधानी) र सुनील खड्का (रेडियो निकास), उपत्यकाबाट कृष्ण ज्ञवाली (कान्तिपुर, काठमाडौं) र सूर्यप्रसाद पाण्डे (अन्नपूर्ण दैनिक, काठमाडौं) संयुक्त रुपमा, पश्चिमाञ्चलबाट रेखीराम राना (गोरखापत्र, पाल्पा) र कृष्ण मल्ल (पाठशाला मासिक, रुपन्देही) संयुक्त, मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (अन्नपूर्णपोष्ट, बाँके) र सुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (द हिमालयन टाइम्स दैनिक बाजुरा) लाई प्रदान गर्ने निर्णय गरिएको छ । शिक्षा लेखनवृत्तिअन्तर्गत पूर्वाञ्चलबाट अन्नपूर्ण दैनिकका छेटु शेर्पा -संखुवासभा) र सुरेन्द्र भण्डारी (पूर्वाञ्चल दैनिक, झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (नागरिक दैनिक, महोत्तरी), चिना थापा (रेडियो सिन्धुलीगढी, सिन्धुली) र रमा दाहाल (कान्तिपुर टेलिभिजन, काभ्रे) प्रदान गरिने छ । उपत्यकाबाट स्मृती गिरी (इमेज टेलिभिजन, काठमाडौं), रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज, काठमाडौं) र निर्जना शर्मा (रिपब्लिका दैनिक, काठमाडौं) संयुक्त, पश्चिमाञ्चलबाट अमरराज नहर्की (गोरखापत्र, तनहुँ) र गगनशिला खड्का (नयाँपत्रिका, गुल्मी), मध्यपश्चिमबाट जनक केसी (नागरिक, जाजरकोट) र धनवीर दाहाल (नेपाल समाचारपत्र, रुकुम) एवं टेकराज भण्डारी (रेडियो रामारोशन, अछाम) र हर्कबहादुर विक (एभिन्यूज टेलिभिजन, कैलाली) सुदूरपश्चिमाञ्चललाई प्रदान गर्ने निर्णय गरिएको छ । लेखनवृत्तिको राशी १५ हजार रुपियाँ रहेको छ । एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ तर्फ पुर्वाञ्चलबाट त्रियुगा एफएम (उदयपुर) मध्यमाञ्चल- जनकपुर एफएम (जनकपुर), उपत्यका-नेपाल एफएम (ललितपुर), पश्चिमाञ्चल- रेडियो अन्नपूर्ण (कास्की), मध्यपश्चिमाञ्चल (रेडियो कर्णाली आवाज -जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) र सनसेर एफएम (बैतडी) लाई प्रदान गरिएको छ । २० हजार राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो । ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ राजधानी दैनिकलाई प्रदान गरिएको छ भने राष्ट्रिय स्तरका टेलिभिजनतर्फ प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ सगरमाथा टेलिभिजनलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

Monday, September 1, 2014

स्वदेशी उद्योगलाई सहुलियत चाहियो

कृष्णप्रसाद दुलाल (कोषाध्यक्ष, नाडा)सरकारको नारा छ गाडी बढी भयो, तर हाम्रो नारा छ, बाटो कम भयो । हामी यो कुरा एक–दुई वर्षदेखि लगातार सुनाउँदै आएका छौँ । भर्खरै सम्पन्न नाडाको ३७औँ साधारणसभामा अर्थमन्त्रीज्यूले अटोमोबाइल्ससम्बन्धी गाडीको उद्योग खोल्नुहोस् भन्नुभयो । तर, उहाँँको कुरा सुनेर मलाई भित्रभित्रै लाज लाग्यो । उहाँसहित दश अर्थमन्त्रीलाई मैले यी–यी समस्या छन् भनिसकेको छु । यसपटक भन्सार विभाग पनि पुग्यौँ । ५/७ वर्षअगाडि भन्सार विभाग महानिर्देशक कृष्णहरि बास्कोटा हुनुहुन्थ्यो । हामी उहाँकहाँ पनि गयौँ । उहाँले त यो उद्योग नै होइन भन्नुभयो । उहाँलाई विश्वास दिलाउन फोटो, भिडियो रेकर्ड गरेर पनि देखायौँ । भन्सारको प्रज्ञापनपत्र, हामीले तिरेको भ्याटको बिल देखायौँ ।
round table
प्रमाणका रूपमा हामीले सञ्चालन गरिरहेको लुब्रिकेन्ट उद्योग सय रुपैयाँमा किनेको सामान दुई सय ५० को मूल्याङकन भएर बजारमा जाँदैछ । एक सय मजदुर काम गरिरहेका छन् । सयजना कर्मचारी छन् । ७०–८० वटा डिलर छन् । फ्याक्ट्री छ । विराटनगरमा करोडौँ रुपैयाँको राजस्व तिर्छौं । एक सय ५० करोडको कारोबार गर्छौं । यस्तो उद्योग हुँदा–हुँदै विदेशबाट सामान ल्याएर प्याक गर्ने मात्रै हो भन्छ ।
अहिले हामी सरकारलाई यो समस्या नभनौँ । जति सकिन्छ आफैं गरौँ भन्ने अवस्थामा पुगिसकेका छौँ । अर्थमन्त्रीले अस्तिको कार्यक्रममा गाडीको उद्योग खोल्नुपर्छभन्दा संयोगले म उहाँको पछाडि थिएँ । मैले भनेँ, मन्त्रीज्यू गाडीको उद्योग छ त हुलासको, तर खोई त सहयोग गरेको ? बाबुराम भट्टराईले एउटा किनिदिनुभयो अरू कसले किनिदिन्छ र ? गाडी किनिदिनुपर्‍यो नि नेपाली उद्योगको । भन्सार छुट दिनुपर्‍यो सामानमा । आन्तरिक राजस्वमा छुट दिनुपर्‍यो । अन्त: शुल्क छुट दिनुपर्‍यो । अनि न चल्छ ।
अहिले नै हामी नेपालमा पाँच सय करोडको लुब्रिकेन्ट बिक्री गर्न सक्छौँ, कच्चा पदार्थमा मात्र १० प्रतिशत भन्सार छुट गरिदिए । यति कुराको त सुनवाइ हुन्न भने उद्योग खोल्नस् भनेर गफ दिएर हुन्छ । के व्यवसायी भनेको आफ्नो पैसा लगेर डुबाउने मात्रै हो ।
पूर्वअर्थमन्त्री शंकर कोइराला नाडा अटो सोमा आएका वेला भन्नुभयो, यो स्पेयर पार्टस्मा भन्सार साह्रै बढी भयो, घटाउनुपर्छ । तर, बजेट ल्याउँदा त ५ प्रतिशत अन्तशुल्क थपिदिनुभयो । पछि रामशरण महतज्यूकहाँ डेलिगेसन गयौँ, उहाँले अन्तशुल्क त लाग्न नहुने, कसरी लाग्यो भन्नुभयो । तर, विडम्बना बजेट ल्याउँदा थप ५ प्रतिशत अन्तशुक थपिदिनुभयो । ‘ब्रेक सु’जस्तो आवश्यक चिजमा पनि अन्तशुल्क ? यस्तो चिज त सस्तोमा दिनुपर्ने, सकेसम्म सरकारले नि:शुल्कै दिनुपर्ने । समयमा नफेर्दा दुर्घटना भइरहेको हुन्छ । त्यसमा पहिल्यै ४० प्रतिशत भन्सार त छँदै छ थप ५ प्रतिशत अन्तशुल्क पनि थपिदिने ?
नेपाल अटो मोबाइल व्यवसायी भनेपछि गोल्छा, चौधरी, लक्ष्मी ग्रुपजस्ता ठूला घरानाका मात्रै भन्ने सोँच छ । तर, अटो मोबाइल क्षेत्रमा ९५ प्रतिशत त साना व्यवसायी छन् । थ्रेसहोल्डको व्यवस्था अटो मोबाइल व्यवसायमा मात्रै छैन । रिङरोडमा १० लाखको सानो अटो मोबाइल व्यवसाय सुरु गर्‍यो भने पनि भ्याटमा जानैपर्छ ।
यस वर्षको नाडा अटो सोमा अलग्गै ‘नेपाल पेलिभियन’ राखिएको छ । त्यसमा नेपालमा उत्पादन भएको वस्तुलाई नाडाले १० प्रतिशत थप छुट दिँदै पनि छ । नेपालका ६/७ वटा लुब्रिकेन्ट उद्योग सहभागी हुन्छौँ । गोरखकाली टायर र हुलास मोटर बन्द हुने अवस्था भएकाले उहाँहरू त्यहाँ आउने सम्भावना कम भएको छ । हामी जो चलिराखेका छौँ, हाम्रो पनि त्यो अवस्था नआओस् ।
प्लान्टलाई बिस्तारै लोकलाइजेसन गर्ने हो शम्भुप्रसाद दाहाल (सह–कोषाध्यक्ष, नाडा)यातायातका साधनको एसेम्बलिङको ‘कस्ट अफ प्रोडक्सन’ महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले सरकारलाई बुझाउन सकेनौँ । यो हाम्रै कमिकमजोरी हो । जस्तो, भारतमा, बंगलादेशमा, श्रीलंकामा टाटा कम्पनीको फ्याक्ट्री नै खुलेको छ । नेपालमा पनि त्यस्तै काम गर्ने एरिया भइदिएदेखि हामी ठूलाठूला फ्याक्ट्री स्थापना गर्न सक्षम छौँ ।
अहिले हाम्रा प्रोमोटरहरू उभिनुभयो भने ट्रिलियन डलर नेपालमा भित्रिन सक्छ । किनभने त्यति साख छ उहाँहरूको, अन्तर्राष्ट्रिय क्षेत्रमा । हामीले टाटाको एसेम्बलिङ प्लान्ट लाउन पनि खोज्यौँ । तीन वर्षअगाडि हामीले केही पत्रिकामा भन्यौँ पनि । किनभने धेरै उत्साहित थियौँ । अब यो संक्रमणकालको समय भए पनि हामी उद्योग लगाउन सक्छौँ । जस्तोसुकै परिस्थितिलाई पनि आफूअनुकूल बनाउन सकिन्छ भन्ने हामीले सोच्यौँ । त्यहीअनुसार बंगलादेश र भारत गयौँ ।
सुरु गर्ने त एसेम्बलिङबाटै हो । हामीले के पनि बुझाउन सकेनौँ भने हाम्रो अटो व्यवसायमा चोर्न, छलछाम गर्न सम्भव छैन । किनभने पारदर्शी रूपले व्यवसाय गर्नुपर्छ । गरेका पनि छौँ । एसेम्बलिङ प्लान्ट भन्दैमा कोही तर्सिनुपर्नेछैन । किनभने, हामी फेयर काम गर्छौँ । फेयरली इम्पोर्ट गर्छौँ र फेयरली एसेम्बल गर्छौँ । अटो म्यानुफ्याक्चरिङ प्रोसेस फेयरली नै हुन्छ ।
हामीलाई सय बिघाभन्दा बढी जग्गा चाहिएको थियो । हामीले ६० बिघा खोज्यौँ । हामीले स्थानीय व्यक्तिलाई पनि सम्झाउन सक्यौँ । किनभने त्यत्रो ठूलो उद्योगधन्दा स्थापना गर्नु भनेको स्थानीय तहमा ठूलो मात्रामा रोजगार उत्पन्न गर्नु हो । स्थानीयलाई मात्रै होइन, राज्यलाई पनि फाइदा त कति हुन्छ कति । बैंकदेखि रोजगारीसम्म । प्लान्ट स्थापना गरेपछि बिस्तारै लोकलाइजेसन गर्ने हो ।
भारतमा पनि हेर्ने हो भने टाटाको पहिले मर्सिडिजसँग टाइअप थियो । पछि एसेम्बल गर्‍यो । सिकेडी र एसकेडी छ । सिकेडी भनेको पूरै नक डाउन । त्यसमा चाहिँ स्पेयर पार्ट इम्पोर्ट गरेर एसेम्बल गरिन्छ । सेमी नक डाउन भनेको ढिक्का–ढिक्का ल्याएर गर्ने हो । त्यसको प्रोभिजनचाहिँ पहिलेदेखि नै छ । यो कुरा पनि हामीले बुझाउन सकेनौँ ।
हामीलाई धेरै कठिन भो । किनभने घाटा खान कसैले व्यवसाय गर्दैन । यहाँ एसेम्बलिङ प्लान्ट लगाउनु भनेको विदेशमा एक्सपोर्ट गर्नु हो । यहाँ मार्केट छँदै छैन भन्दा पनि हुन्छ ।
तर, त्यो सिलसिलामा अनेक बाधा, अवरोध उत्पन्न भए । हामीले कसैलाई बुझाउनै सकेनौँ । हाम्रो अकर्मण्यता र बुझाउन सक्ने क्षमताको कमीले यो काम हुन सकेन । किनभने रिसोर्सेसको कमी त हामीकहाँ छँदै छैन । देशमा धेरै ठूलो काम गर्न सक्छौँ । अझै पनि गर्न सक्छौँ ।
हामी असाध्यै सकारात्मक छौँ । हामी गर्छौँ किनभने उद्योगधन्दा लाउने भन्ने काम हामीलाई मात्रै चाहिने होइन । यो देशको विकासका लागि एकदमै जरुरी छ । यो हामी गर्छौँ नै । ठाउँठाउँमा कुरा पुगिसकेको पनि छ । आज मैले प्रधानमन्त्रीज्यूको भाषण पनि सुन्दै थिएँ, रेडियोमा । अब परिवर्तनका दिन आए । राम्रा दिन आउँदै छन् भन्नेमा हामी विश्वस्त छौँ ।
भन्सार घट्नुपर्नेमा थप बढ्यो अञ्जन श्रेष्ठ (उपाध्यक्ष, नाडा)नेपालमा सबैभन्दा बढी कर तिर्ने दोस्रो क्षेत्र हो, अटोमोबाइल । त्यत्रो योगदान गर्ने क्षेत्रलाई सरकारले जहिले पनि विलासिताको वस्तुका रूपमा हेर्दै आएको छ । राजस्वमुखी सोचबाट ग्रसित भएर राज्यले यसरी हेर्दै आएको हो ।
यो क्षेत्रलाई वृद्धि र विस्तार हुन नदिइएको हामी अटो व्यवसायीको धारणा छ । यसका लागि हामीले बारम्बार सरकारलाई घच्घच्याएका पनि हौँ । विभिन्न समयमा विभिन्न किसिमका प्रतिबद्धता पनि सरकारका तर्फबाट भएको छ । तर, त्यति हुँदाहुँदै पनि यो क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्रै हेरियो । यसमा केही पनि परिवर्तन भने भएन ।
चार–पाँच वर्षअघिको कुरा हो, अटोमोबाइल क्षेत्रमा विकृति भयो, अन्डरभ्यालुको कुरा भयो भनेर सरकारसँगको पहलमा सहकार्यमा एमआरपी लगाउने व्यवस्था गर्‍यौँ । तत्कालीन अर्थमन्त्रीज्यूलगायत पदाधिकारीहरू, भन्सारका तत्कालीन पदाधिकारीहरू सबैले एमआरपीचाहिँ नि:शुल्क गरौँ भन्नुभयो । त्यसो भयो भने हामी भन्सार घटाइदिन्छौँ र अर्को क्षेत्र अगाडि बढ्न मिल्छ भनेर प्रतिबद्धता जाहेर गर्नुभएको हो । त्यसमा हामीले सहमति जनायौँ । सहकार्य गर्‍यौँ । तर, सरकारका तर्फबाट भन्सार घटाउने काम भएन । बरु उल्टो त्यसको एक वर्षपछि सरकारले भन्सार वृद्धि गरिदियो ।
अर्को कुरा, अब अटोमोबाइल क्षेत्रले कति योगदान गर्छ भन्ने कुराबारे पनि जानकार हुनुपर्छ । राजस्व एउटा पक्ष हो । रोजगारीको कुरा पनि सँगसँगै आउँछ । हामीले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा झन्डै १७ लाख व्यक्तिलाई रोजगार दिइरहेका छौँ । यत्रो रोजगार दिइरहेको क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्छ । आज राज्यले राजस्वसँगै रोगजार पनि हेर्नुपर्छ । रोजगार सिर्जना गरेर काम गर्ने वातावरण बनाइदिएका छौँ, हामीले । यस्तो क्षेत्रलाई विशेष रूपले हेर्नुपर्छ भन्ने हाम्रो माग छ ।
यसमा अर्को समस्या स्पेयर पार्ट्सको पनि छ । नेपाल र भारतबीच खुला सिमाना छ । त्यहाँ चोरी, निकासी–पैठारी हुने विभिन्न समाचार हामीले पढिरहेका छौँ । अनफेयर ट्रेड भइरहेको छ भन्ने समाचार पत्रिकामा पढिरहेका छौँ । अटोमोबाइलको मात्रै होइन, सबै व्यवसायसँग सम्बन्धित सामग्रीको यस्तो अनफेयर ट्रेड भइरहेको छ । यसलाई कम गर्न नाडाले सरकारलाई एउटा सुझाब दिएको थियो । स्पेयर पार्टसको विभिन्न तहको भन्सार दर घटाएर न्यूनतम विन्दुमा राख्न सकियो भने अवैध व्यापार पनि घट्छ । फेयर ट्रेड बढ्छ । यसले जेन्युन पार्टस प्रयोग गर्ने अवस्था आउँछ भनेर सुझाब दिएका थियौँ । तर, सरकारले उल्टो पाँच प्रतिशत अन्त:शुल्क लगाइदियो । यसले फेयर ट्रेड र अनफेयर ट्रेडको ग्याप अझ बढ्दै गइरहेको छ । ग्याप बढेपछि अनफेयर ट्रेड अझ बढ्छ । त्यसैले सरकारलाई हामीले के सुझाब दिन्छौँ भने खुला सीमाका कारण प्रशासनिक सक्रियताबाट मात्रै अनफेयर ट्रेड रोक्न सकिँदैन । भन्सार दर अलि कम गरेर फेयर ट्रेड बढाउन सकिन्छ । त्यस्तो भएपछि स्पेयर पार्ट्सको व्यापार बढ्छ भन्ने कुरा सरकारलाई विश्वास दिलाउन चाहन्छौँ । एमआरपी लागू गरेपछि अझै व्यापार बढ्यो । हाम्रो सुझाबलाई सरकारले सुनिदिनुपर्‍यो ।
सहुलियत पाए रोजगारी र राजस्व बढाउँछौँयातायातको क्षेत्रमा हामी अटो व्यवसायी निमित्त हौँ । मिडियम हौँ । यही अवस्थामा हामीले यो क्षेत्रलाई यति राम्रो अवस्थामा पुर्‍याइदिएका छौँ । त्यसको जस त हामीले पाउनुपर्‍यो नि ।१७ लाखभन्दा बढीलाई रोजगार दिलाउन सफल भएका छौँ । त्यसको जस त पाउनुपर्‍यो नि ।
७५ जिल्लालाई अहिले बाटोले छोएको छ । कालोपत्रे सडकको कुरा गर्ने हो भने धेरै कम छ । त्यो सडक विस्तार भयो भने धेरै यातायातका साधनको आवश्यकता पर्छ । त्यसैले पहिलो कुरा, सरकारले सडक कालोपत्रे गर्नुपर्‍यो । त्यो भयो भने यो क्षेत्रको व्यवसायको आवश्यकता अझ बढ्छ । त्यसले हामीलाई सहुलियत दिनुपर्छ भन्ने हाम्रो कुरा हो । यसबापत् हामी राजस्वमा वृद्धि गराउँछाँै । रोजगारी अझै वृद्धि गर्छौं । १७ लाख मात्रै होइन, त्यहाँभन्दा धेरै बढी रोजगारी सिर्जना गर्छौं । त्यसका लागि हामीले सहुलियत पाउनुपर्छ भनेका हौँ ।
काठमाडौंमा मास ट्रान्सपोटेसन अपरिहार्यसुमनकुमार तिमल्सिन (प्रहरी नायब उपरिक्षक, महानगरीय ट्राफिक प्रहरी महाशाखा)बढि गाडि, साँघुरो सडक, वैज्ञानिक उपकरण र जनशक्तिको कमी झेलीरहेकोछ, सवारी व्यवास्थापनले । म ट्राफिक प्रहरीको अधिकारी हुँदाहुँदै समेत यो कार्यक्रममा समयमा आउन सकिनँ ।
सबै यात्रुले अहिले यस्तै अवस्था भोगेका छन् । सानो उदाहरण दिनुपर्दा भक्तपुरमा लगभग ९ किलो मिटर सडकमा १० जना ट्राफिक खट्दा पुगेको छ । किनकि त्यहां लाइटिङ सिस्टम छ । त्यसले यातायात व्यवस्थापनमा धेरै सहयोग पुगेको छ । सडक राम्रो हुँदा ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुन्छ भन्ने यो एउटा नमुना हो । अव जाउलाखेलदेखि महाराजगञ्जसम्मको नौं किलोमिटरमा करिब सयजना ट्राफिक प्रहरी खटिएका छन् । अझै जनशक्ति थपेर पनि भक्तपुरको जस्तो ट्राफिक व्यवस्थापन गर्न सजिलै सकिन्छजस्तो मलाई लाग्दैन ।
ट्राफिक महाशाखाको तथ्यांकअनुसार अहिले बागमतिमा मात्र दर्ता भएका सवारी साधन७ लाख ५५ हजार ५ सय ४६ छन् । २०५१ साल र २०७० साल अर्थात २० वर्षमा आठ सय ६० प्रतिशत सवारी साधन बढेका छन् । तर,उपत्यकामा सडक एक हजार ५ सय ९४ किलोमिटर मात्र छ । यो अहिले केही फराकिलो भएको छ ।यो राम्रो हो ।
अहिले काठमाडौंमा ९६५ जना ट्राफिक प्रहरी छौं । एउटा ट्राफिक प्रहरीले ७ सय ८० वटा सवारी साधन हेर्नुपर्ने अवस्था छ ।साना सवारी साधनले बढि समस्या सिर्जना गरेको छ । वाहिरि जिल्लामा साना सवारी साधन अटाउने र चल्ने सडक छन् । तर काठमाडौंको हकमा मास ट्रान्सपोटेसन ल्याउनै पर्छ । एउटा ठूलो वसले ३ सय ४५ वर्गफिट क्षेत्रफल ओगट्छ र यसले ५५ जना यात्रु सिटमा र ३० जना उभिएर एकैपटक यात्रा गर्न सक्छन् । एउटा हाईस माइक्रोवसले ८५ वर्गफीट क्षेत्रफल ओगटेर जम्मा १६ जना बोक्न सक्छ । सानोले १२ जना मात्र वोक्छ । एउटा वस वरावर ६ वटा माइक्रो गुड्नुपर्ने अवस्था छ । कारहरुको हकमा १२ लट पुग्न लाग्यो । यसले पनि समस्या पारेको छ । ठूलो बस चलाए इन्धन खपत कम हुन्छ, वातावरण प्रदुशण पनि कम हुन्छ, सवारी साधनको चाप पनि घट्छ । त्यसैले हमी ठूला सवारी साधनको पक्षमा छौं ।
आवश्यकता र विलासिताको मापदण्ड के ?नेत्रप्रसाद शर्मा (साना–ठूला सवारी कार्यालय, बागमतीका निमित्त प्रमुख)विलासिता र आवश्यकताको स्पष्ट मापदण्ड हुँदैन । मेरो लागि आवश्यकताको वस्तु कसैका लागि विलासिताको वस्तु हुन सक्छ । विलासिता र आवश्यकतालाई यसरी छुट्याउने भन्ने स्पष्ट क्याटागोरी छैन।
अटोमोबाइललाई विलासिताको वस्तु भन्ने आधार केही छैन । यो आवश्यकता नै हो । जस्तो, सार्वजनिक सवारीमा पनि सार्वजनिक बस, दिवा बस, रात्रि बस भनेर छुट्याएका छौँ । रात्रि बसको हकमा डिलक्स बसको मापदण्ड छुट्याइएको छ । त्यस आधारले हेर्दा सिटलगायत सुविधामा डिलक्सको मापदण्ड राखिएका छन् । अब यसलाई विलासिता भन्नुभएन ।

अटोमोबाइल व्यवसायचुनौती र सम्भावना

September 1 

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले सबै प्रकारका अटोमोबाइलबारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यसहित दशौँ शृंखलाको रूपमा १८ देखि २३ भदौसम्म नाडा अटो सो–२०१४ सञ्चालन गर्ने भएको छ । कुनै पनि प्रदर्शनी उत्पादक वा व्यापारीको आफ्नो सामानको बिक्री गर्ने वा त्यसको प्रवद्र्धन गर्ने मुख्य माध्यम हो । त्यससँगै उपभोक्ताले पनि धेरै उत्पादक वा बिक्रेताबीच सामानको गुणस्तर र सुविधाबारे जान्ने मौका पाउँछन् ।

nayapatrika round table
यसपालिको सो अहिलेसम्मकै उत्साहप्रद हुने मेला संयोजक शम्भुप्रसाद दाहाल बताउँछन् । सोमा नेपालमा उपलब्ध सबै चारपांग्रे र दुईपांग्रे सवारीसाधनका आयातकर्ता सहभागी हुने दाहालको दाबी छ । मेलामा ६३ प्रदर्शक सहभागी हुँदै छन् ।
यस्ता प्रदर्शनीलाई आर्थिक गतिविधि चलायमान बनाउने औजारका रूपमा चिनिन्छ । यस्ता अटो सोले प्रदर्शनीमा राखिएका सामान किन्न चासो बढ्ने दाहालको दाबी छ ।
नेपालको राजस्व क्षेत्रमा अटोमोबाइल्सले दोस्रो ठूलो योगदान गर्छ । तर, यातायात व्यवसायप्रति सरकार उदासीन रहेको तथा राजस्व उठाउने मेसिनका रूपमा मात्र लिएको भन्दै व्यवसायीले असन्तोष जनाउँदै आएका छन् ।
विलासिताबाट आवश्यक वस्तुका रूपमा परिणत हुँदै गएको सवारीसाधन आयात गर्ने तथा बिक्री गर्ने व्यवसायी र त्यसलाई नियमन गर्ने सरकारी निकायबीच जहिले पनि आरोप–प्रत्यारोप हुने गरेको छ । व्यवसायी भन्सार बढी भएको, त्यसमा अन्त:शुल्कसमेत थपिएको, स्वदेशमा उत्पादन गर्ने विषयमा सरकारले सहयोग नगरेको, सडक र ट्राफिक व्यवस्थापन सहज हुन नसकेको जस्ता आरोप लगाइरहन्छन् । सम्बन्धित सरकारी निकायका प्रतिनिधिको प्रस्टीकरण छ, केही ठूला सवारीसाधनबाहेक अन्यलाई आवश्यक साधन मान्न सकिन्न । विदेशबाट सामान ल्याएर नेपालमा जोडजाड गर्दैमा त्यो कसरी उद्योग हुन्छ ?
सरकार आर्थिक पारदर्शिताको विषयमा व्यवसायीप्रति शंकालु नजरले हेरिरहेको छ । सरकारले स्पेयर पार्टस्मा बढी चोरी, पैठारी हुने गरेको आरोप लगाउँदै आएको छ । व्यवसायी भने अन्त:शुल्क बढेकाले चोरी, पैठारी बढेको स्पष्टोक्ति दिन्छन् । पार्टस्मा अन्त:शुल्क पाँचदेखि ३० प्रतिशतसम्म रहेको भन्दै व्यवसायीले घटाउन माग गरिरहेका छन् । तर, प्रत्येक वर्ष सरकारले कर बढाउने काम मात्र गरेको व्यवसायीको गुनासो छ ।
सरकार गाडी कहाँ बनेको छ, त्यसले वातावरणीय प्रभाव कस्तो पार्छ भन्नेजस्ता विषयले भन्सार बढी भएको भनिरहेको छ । व्यवसायी राज्यले ठूला र सुविधासम्पन्न सार्वजनिक सवारीसाधन चलाउन नसकेको बताउँछन् । सवारीसाधनले वातावरण बिगार्‍यो भन्ने आरोप लगाउँदा व्यवसायी सरकारले इन्धनमा गुणस्तर कायम गर्न नसकेको प्रत्यारोप लगाउँछन् ।
व्यवसायी र सरकारका आआफ्ना तर्कबीच नाडा अटो सो–२०१४ को पूर्वसन्ध्यामा नयाँ पत्रिका दैनिकले नाडाका प्रतिनिधि तथा सरकोकारवाला सरकारी निकायका प्रतिनिधिबीच यो क्षेत्रको समस्या र त्यसका समाधानका विषयमा केन्द्रित रहेर आयोजना गरेको राउन्ड टेबल ।

सोमबारका छापामा मुख्य खबर

September 1 राजधानीबाट 

सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको कार्यालयमा छापा मारेको ४ गाडी कागजपत्र नियन्त्रणमा लिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।नयाँ पत्रिकाले फेरि गोलमेचको कसरत भइरहेको, सुराकी लगाएर वीरेन्द्रको सम्पत्ती खोज्न प्रधानमन्त्रीले लगाएको, एक जनालाई साक्षर बनाउने विद्यार्थीले १० अंक पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।1
राजधानी दैनिकले संविधान निर्माणका विषयमा भदौ २१ भित्र सहमति नभए निर्वाचन प्रक्रिया हुने संकेत भएको, एमालेमा पदाधिकारीको हैसियतका विषयमा विवाद भएको, यसपालीको दसैं १३ दिनको मात्रै रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।4
नागरिक दैनिकले संवैधानिक समितिका सभापतिहरुले विमतीका विषयलाई संविधानसभामै पठाउन सुझाव दिएको, अञ्चल अस्पतालमै विशेषज्ञ डाक्टर पढाइ हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।3
अन्नपूर्ण पोस्टले कर्मचारीलाई तनाव नियन्त्रण गर्न सिकाउन लागिएको, दाहाललाई संयोजक मान्न दुई सर्त रहेको, बाढीपीडित त्रिपालमुनी बसेर दिन काट्दै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।2

Sunday, August 31, 2014

कृष्णभक्तको १६औँ बिलिभ्स्

August 31काठमाडौं

 गायक तथा संगीतकार कृष्णभक्त राईले आफ्नो १६औँ एल्बम ‘बिलिभ्स्’ सार्वजनिक गरेका छन् । उनको एल्बम शनिबार अञ्जु पन्त, राजेशपायल राईलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

album

एल्बममा ह्याप्पी बर्थ डे, विस्तारै मलाई भुल्दै जाऊ, असफल र तृष्णामा बोलका चार गीत छन् ।  हस्त गौतमको शब्द रहेको एल्बमका गीतमा गायक राई स्वयंको संगीत छ ।

सुरु भयो नवीनको पास्ट

August 31 काठमाडौं/निर्देशक नवीन निरौलाले दोस्रो फिल्म पास्टको सुटिङ सुरु गरेका छन् । यसअघि फिंगरप्रिन्ट निर्देशन गरेका उनले सो फिल्म रिलिज नहुँदै पास्ट सुरु गरेका हुन् ।

nabin past

विगतका दिनले भविष्यमा पार्ने असरको विषयमा रहेको पास्टको शुक्रबार शुभमूहर्तसँगै सुटिङ थालिएको छ । निर्देशक नवीनकै स्क्रिप्ट रहेको फिल्मको निर्माता रामकृष्ण थापा हुन् ।

फिल्ममा आनन्द पुन, मोनिका दाहाल, रामचन्द्र अधिकारी, शंकर आचार्य, सत्यकला लामा, तिलकप्रसाद उपाध्याय, प्रकाश कुसारीका साथमा भारतको पुना इन्स्टिच्युटमा अभिनय पढेका विश्वराम खड्का (भेना) र रामकृष्ण थापा प्रमुख भूमिकामा छन्।

निर्देशक निरौलाले फिल्ममा अत्यधिक मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत रहेको बताएका छन् । भरत क्षेत्रीको द्वन्द्व निर्देशन र निम संगीतको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक ललित कटुवाल हुन् । रामेश्वर हुमागाईंको खिचिरहेको फिल्मको सुटिङ दसैँसम्म सकाउने लक्ष्य लिइएको निर्माता थापाले जानकारी दिएका छन् ।

आठ वर्षीय बालकको एक्सन-कट

 August 31

ओके कट । अब क्लोज खिचौँ,’ आठ वर्षीय सौगात विष्टले ४१ वर्षीय सिनेमाटोग्राफर दिव्यराज सुवेदीलाई अर्डर दिँदै भने, ‘लेन्स चेन्ज गर्नूस् ।’

a

अभिनेता गजित विष्टका पुत्र सौगात विगत तीन सातादेखि फिल्म ‘लभ यू बाबा’को निर्देशनमा व्यस्त छन् । बाबुआमाको काखमा लुटपुटिएर निदाउने उमेरमै उनी संसारकै कान्छो फिल्म निर्देशकका रूपमा कृति राख्ने दौडमा लागेका छन् । शुभमूहर्तदेखि नै भादगाउँले टोपी, दौरा सुरुवाल उनको ‘कन्टिन्युटी’ छ । उमेर र कद मात्र सानो, तर उनको सोच, काम र ‘कमान्डिङ’ देख्ने जोकोही पनि चकित पर्छ । ‘यति सानो बच्चा पनि यस्तो तगडा ! आम्मा..’ सौगातको प्रतिभाबाट बेखबरले त जादु नै ठान्छन् ।

‘ल छिटो गरौँ, थर्माकोल खै ?’ ‘डाइरेक्टर साब’ क्लोज सर्ट खिच्ने तयारीमा थिए, ‘मेकअप मिलाऊ त । साइलेन्स, आर्टिस्ट मुडमा । क्यामेरा रेडी हो ?’ सानोसानो कुरामा पनि सौगात आफैं ध्यान दिन्थे । ‘ल एक्सन’ मोनिटरमा हेर्दै उनले अर्डर गरे । सर्टमा थिए बाबु गजित । गजितले डाइलग बोले । ‘डाइरेक्टर छोरा पूर्ण सन्तुष्ट भएनन् । ‘कट, कट’, बाबुलाई सम्झाउँदै उनले भने, ‘अलि मजा आएन । अलि खुलेर गर्नूस् न ।’ अनि बाबु गजितले भने, ‘हस् सर ।’

सुटिङ सेटमा बाबुछोराबीच कलाकार र निर्देशकको औपचारिकता थियो । गजित छोरालाई डाइरेक्टर साब, सर, हजुर, तपाईं भन्थे । उनी मात्र होइन, क्यामेराम्यान, लाइटम्यान, मेकअप, सहायक निर्देशकदेखि लिएर सबैजना सौगातलाई पूर्ण आदरसम्मानका साथ सम्बोधन गर्छन् ।

मैतिदेवीस्थित एक रेस्टुरेन्टमा लभ यू बाबाको उन्नाइसौँ सिन खिचिँदै थियो । सबैजना सौगातको अर्डरमा चल्थे । क्लोज सर्ट ओके भएपछि ‘पिओबी सर्ट’ खिच्ने तयारी भयो । त्यसका लागि सौगातले कलाकार र क्यामेरालाई निर्देशन दिए । ‘ब्याकराउन्ड टेबलमा मान्छे राख्नुपर्‍यो,’ उनले सहायकहरूलाई भने, ‘उनीहरू आ–आफ्नो धुनमा हुन्छन् । केटी उठेर नाच्दै डायलग बोलेपछि सबैले उसलाई हेर्नुपर्‍यो ।’ सिनमा गजित, संगम (गजितकी छोरी) र निश्मा घिमिरे थिए । अघि गजितको क्लोज खिचियो । अब भने निश्माको डाइलग खिच्नुपर्नेछ । निर्देशकको अर्डरबमोजिम तयारी गरियो । सौगातको ‘एक्सन’सँगै निश्मा उठेर नाच्दै डाइलग बोलिन् । तर, निर्देशकलाई चित्त बुझेन । उनले भने, ‘भएन । तपाईंले डाइलग छुटाउनुभयो । डान्स पनि राम्रो भएन । फेरि लगौं ।’ सो सर्ट फेरि खिचियो । तर, यो टेक पनि ओके भएन । पाँचै टेकमा भने निर्देशकको चित्त बुझ्यो । अनि बल्ल भने, ‘ओके कट’ ।

अब के गरौं डाइरेक्टर साब ? क्यामेराम्यान दिव्यराजले सोधे । एक्वेरियम देखाउँदै सौगातले भने, ‘अब मलाई माछाको सर्ट चाहियो ।’ निर्देशकको अर्डरबमोजिम एक्वेरियमको सर्ट खिच्ने तयारी पूरा गरियो । खिचियो पनि । सौगातले ठट्टा गर्दै बाबु गजितलाई भने, ‘देख्नुभयो मैले भनेको थिएँ नि, माछाले एकै टेकमा ओके गर्छ ।’ अब के गरौँ सर ? सहायक निर्देशक र क्यामेराम्यानले सोधे । सौगातले भने, ‘सिन ओभर भयो । अब लोकेसन सिफ्ट ।’

aa

आठ वर्षीय बालकको फिल्म निर्देशन देखेर सबै चकित परेका छन् । ‘उहाँले निकै राम्रो काम गर्नुभएको छ । बच्चा, नयाँ निर्देशक भन्नै मिल्दैन,’ क्यामेराम्यान दिव्यराजले भने, ‘उहाँ स्क्रिप्टमा पूर्ण रूपले भिज्नुभएको छ । सानोसानो कुरा पनि ख्याल गर्नुहुन्छ । ठूलो मान्छे जसरी नै काम गर्नुभएको छ ।’ सौगातलाई निर्देशनसम्बन्धी पर्याप्त ज्ञान भएको उनले बताए । ‘कलाकार, प्राविधिक सबैलाई कमान्ड गर्नुभएको छ । आफूले भनेको भएन भने झ्वाट्टै रिसाउनुहुन्छ । सम्झाएपछि भने मान्नुहुन्छ ।’ दिव्यराजले आफूलाई सौगातसँग काम गर्दा नीलो र गर्वानुभव भएको बताए ।

निर्देशक सौगातले आफ्नो सोचअनुरूपै काम भइरहेको बताए । ‘मैले जसरी निर्देशन गर्छु भन्ने सोँच बनाएको थिएँ, त्यसरी नै गर्न पाएको छु । काम राम्रो भएको छ,’ उनले आफूलाई सबैले सपोर्ट गरेको बताए ।

गजितले बालक छोराको काम र काम गर्ने शैलीदेखि सबैजना प्रभावित भएको बताए । ‘कहिलेकाहीँ त म आफैँ छक्क पर्छु,’ उनले भने, ‘उसको कमान्डिङ, ब्रिफिङ अनि निर्देशन सबै कुरा राम्रो छ । बच्चै भए पनि काममा भने परिपक्वता देखिएको छ ।’

सहनिर्देशक सुमन चापागाईंले सौगातको कामदेखि आफू पनि निकै चकित परिरहेको बताए । ‘यो उमेरमा यत्तिको काम गर्नु धेरै ठूलो कुरा हो,’ उनले भने, ‘निर्देशन क्षमता प्रचुर छ । हामी नै डराइडराइ काम गरिरहेका छौँ ।’ उनले सौगात हरेक सिन, सर्ट, गीत र फाइटमा समेत आफैं बस्ने गरेको बताए ।

aaa

‘हरेक कुरामा निर्देशकले ध्यान दिनुपर्छ,’ ठूलै मान्छेले जसरी सौगातले तर्क दिए, ‘फिल्म निर्देशकको माध्यम हो । त्यसैले गीत, फाइट सबैमा म आफैं बस्ने गरेको छु । भोलि चित्त बुझेन भने के गर्ने ?’ फिल्ममा आफ्नै बाबुसँग भाइको निर्देशनमा काम गर्दा निकै सहज लागेको संगमले बताइन् । ‘फिल्मभित्र म ड्याडीकै छोरीको भूमिकामा छु । भाइको निर्देशनमा काम गर्दा अझ धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएकी छु,’ उनले भाइ सौगातको प्रतिभादेखि आफू पनि जिल खाएको बताइन् ।

अब बढीमा एक सातामा सुटिङ सकिने गजितले जानकारी दिए । उनले फिल्म निर्धारित सेड्युलभन्दा अगाडि नै सकिने लक्षण देखिएको पनि बताए ।

शनिबारका छापामा मुख्य खबरहरु


August 30

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानसभाका २६ सभासदमध्ये १८ जनाको मनोनयन भएको, मनोनयन भएको ४ घन्टामै एक सभासद्को बर्खास्त भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।  

नयाँ पत्रिकाले 1

खेलकुदमा भद्रगोल भएको, ओली फर्किएपछि मात्र उच्चस्तरीय राजनीतिक समिति बन्ने, एमालेमा ओली पक्षका धेरै रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 

राजधानी दैनिकले 2

पीडीएको अन्तिम खाका प्रधानमन्त्रीलाई बुझाएको, सरकारले ७० किसिमका औषधि निःशुल्क दिने, त्रिविका तीन शाखामा फेरि अख्तियारले छापा मारेको खबरलाई प्राथमिकताका साथ छापेको हो ।

 अन्नपूर्ण पोस्टले 3

ट्रिपर गुन्डागर्दीले राजधानी अस्तव्यस्त भएको, तल्लो तटीय सिँचाइ संरचनामा असर नपुर्‍याउने गरी पीडीए हुने, संविधान निर्माण कार्यतालिका फेरि भत्कन लागेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

 नागरिक दैनिकले 4

बाढीपीडित पहिलेको भन्दा दोब्बर भएको, मानवीय क्षति पनि दोब्बर रहेको, चुरे संरक्षण गर्न समिति गठन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 5