Showing posts with label देश. Show all posts
Showing posts with label देश. Show all posts

Sunday, September 21, 2014

गोलबजार खसी बजारमा ठेकेदारको लुट

September 21
खरिद र बिक्री गर्नेसँग ठेकेदारका केटाहरु धम्क्याएर तीन गुणा बढी कर असुल्छन्, एसपी भन्छन् सिडिओलाई भन्नुस्। सिडिओ भन्छन् म केहि गर्न सक्दिनँ।
जिल्लाको गोलबजारस्थित खसी बजारमा ठेकेदारले लुट मच्चाएको छ। दसैं नजिकिएपछि अहिले खसी बोका खरिद बिक्री बढेको छ। जसको फाइदा ठेकेदारले उठाउन थालेका छन्।
 
गोलबजार असनपुर गाविसमा पर्छ। धमिनि माइस्थान मन्दिरको छेउमै गाविसको कार्यालय छ। मन्दिरकै पर्खालमा आ.ब. ०७१/७२ को बाख्रा खसि बजारको रेट दर उल्लेख गरिएको छ। उक्त रेटदरमा खरिद कर प्रति थान रु. २५ र बिक्री कर प्रति थान रु. २५ उल्लेख भएपनि ठेकेदार लुट मच्चाएका छन्। केहि दिन यतादेखि ठेकेदारले खरिद कर प्रति थान रु. ७५ र विक्री कर प्रति थान रु. ७५ का दरले धम्क्याएर उठाइरहेका छन्।
 
ईलाका प्रहरी कार्यालय सो ठाउँदेखि मात्रै करिब आधा किलोमिटरकै दूरीमा छन्। गाविसको कार्यालय त झन कर उठाउन राखेको काउण्टर अगाडि नै छ। प्रहरी कार्यालय आधा किलोमिटरको दूरीमा भएपनि प्रहरीको गस्ती टोली बाख्रा बजारमै हुन्छ। तरपनि अबैध असुली गर्ने ठेकेदार तर्फ न त गाविस सचिवको ध्यान पुगेको छ, न त प्रहरीको नै।
 
गोलबजारको खसी बजार लोकप्रिय छ। जिल्लाका अधिकांश गाविसका बासिन्दा खसी, बोका र बाख्रा खरिद विक्री गर्न यहाँ आउँछन्। शनिबार र मंगलबजार बजार लाग्छन्। यहाँ एक दिनमा करिब एक हजारभन्दा बढी खसी बोका खरिद बिक्री हुने गरेको स्थानीय बताउँछन्।
 
बडहरा घर बताउने भरत विकेले एउटा खसी खरिद गरेपछि ठेकेदारले आफूसँग रु. ७५ रुपैया कर लिएको बताए। उनले भने, 'केहि दिन अगाडि पनि यही बजारबाट खसी खरिद गरेर लग्दा कर रु. ६० रुपैया तिरेको थिए। आज रु. ७५ रुपैया लियो।'
 
ठेकेदारलाई यसरी किन तीन गुणा बढी कर लिएको भनेर सोध्दा केहि नबोलेको उनले सेतोपाटीसँग भने। कर लिँदा कम्तिमा रसिद दिनुपर्ने भएपनि नदिएको उनले गुनासो गरे।
 
उनले भने, 'मलाई थाहा छ, खरिद कर प्रति थान रु. २५ र विक्री कर प्रति थान रु. २५ मात्र लिनुपर्ने हो। तर के गर्ने? हामीले बोले कुटाइ खानुपर्छ। यसरी लुट मच्चाउनेलाई त प्रशासनले कारबाही गर्नुपर्छ नी?'
 
यस्तै सारश्वरका राजेश महरा पनि खसी खरिद गर्दा रु. ७५ कर तिर्न बाध्य भए। सुरुमा उनले केहि भन्न मानेनन्। तरपछि उनले भने, 'रु. ७५ तिरे। पाँच रुपैया छाड्न भनेपनि छाडेनन्। उल्टै धम्क्याएर उनिहरु बोल्छन्। म केही भन्दिन। अरु मान्छेहरुसँग सोध्नुस्।'
 
खसी बजारको ठेक्का श्रीराम साहले लिएका हुन्। तर उनी आफू बस्दैन्। अन्य केटाहरुलाई काउण्टरमा कर असुल्न राखेका छन्। खसी खरिद विक्री गर्नेहरु किन यसरी तीन गुणा बढी कर लिने गरेको गुनासो गरेपछि उल्टै धम्क्याएर पठाउँछन्।
 
गोलबजारका प्रहरीलाई ठेकेदारले रकम खुवाउने गरेका कारण कारबाही गर्न तयार नभएको स्थानीयको गुनासो छ। नाम उल्लेख नगर्ने सर्तमा एक खसी व्यापारीले भने, 'प्रहरी मिलेको कुरा म नभनेपनि आफै प्रष्ट छ। हेर्नुस् न यहाँ काउण्टर छ। प्रहरी पनि त्यही बसेको छ। तर बढी कर लिने ठेकेदारलाई किन केहि भनिरहेका छैन्। यो दृष्यले नै त प्रहरी मिलेको कुरा पुष्टि हुन्छ। हुँदैन र?'
 
कर असुल्न काउण्टरमा बसेका मध्ये सुरेन्द्र यादबले ठेकेदारले भनेअनुसार खरिद र विक्री गर्नेसँग रु. ७५ का दरले कर उठाउने गरेको स्वीकारे। रु. २५ को दरले कर उठाउने सम्झौता भएको छैन्? भन्ने प्रश्नमा उनले भने, 'त्यो मलाई थाहा छैन्। ठेकेदारसँग कुरा गर्नुहोला।'
 
खुलेयाम लुट मच्चाउनेलाई कारबाही गर्न मिल्दैने र? भनेर सिरहाका प्रहरी प्रमुख तथा एसपी रामकृपाल यादबसँग जिज्ञासा राख्दा उनले भने, 'म त्यहाँका प्रहरीलाई भनिदिन्छु।  तर तपाई एक पटक सिडिओ साहेबसँग कुरा राख्नुस् न।'
 
तर सिरहाका प्रमुख जिल्ला अधिकारी मो. अब्दुल कलामले आफू केहि गर्न नसक्ने बताए। फोनमा उनले भने, 'यो त गाविसको कुरा हो। यसमा म केहि गर्न सक्दिन।'
 
यता गाविस सविच बलीराम यादबले एक बर्षका लागि रु २१ लाख २३ हजारमा खसी बजार ठेक्का लगाएको बताए। उनले भने, 'खरिद गर्ने र विक्री गर्नेसँग रु. २५ को दरले मात्र कर उठाउने सम्झौता भएको छ। बढी कर लिने गरेको सुनासो आएपछि अनुगमन समिति समेत बनेको छ।'
 
बालकृष्ण गौतमको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन भएको सचिव यादबले बताए। उनले भने, 'अनुगमन टोलीले रिपोर्ट दिएपछि मात्र ठेकेदारलाई कारबाही गर्न मिल्छ।' 
 
'कर बढी असुल्ने गरेको व्याप्त गुनासोपछि गएको शुक्रवार ठेकेदारलाई बोलाएर सम्झौता अनुसार मात्र कर उठाउन निर्देशन दिए, सचिव यादबले भने, 'तर पुनः शनिवार बढी कर असुलेको तपाईबाट थाहा पाएँ। अहिले गएर पुनः ठेकेदारलाई बोलाएर भन्छु।'

सर्वोच्चद्वारा सिके राउतलाई पक्रनु र मुद्दा चलाउनुको कारण माग

September 21
काठमाडौं । सर्वोच्च अदालतले डा. सीके राउतको बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा विशेष अदालतलाईए पनि विपक्षी बनाउँदै थुनामा राख्नुको कारण मागेको छ ।
विपक्षी थप्दै लिखित जवाफ माग भएपछि राउत केही दिन रिहा नहुने भएका छन् । प्रहरीले उनलाई अहिले म्याद थपका लागि विशेष अदालत ल्याएको छ ।न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले विशेष अदालतलाई पनि विपक्षीमा थप्दै कारण देखाउ आदेश जारी गरेको हो । यसअघि भदौं ३० गते न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्दै असोज ३ गते बन्दीलाई सशरीर उपस्थित गराउन भनेको थियो ।
राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि विशेष अदालतले शुक्रबार राउतलाई २ दिन थुनामा राख्न आदेश दिएको थियो ।
राउत अघिल्लो शनिबार मोरङको रंगेलीबाट पक्राउ परेका थिए । उनीविरुद्ध मोरङ प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाइसकेको छ ।

ग्रामीण बस्तीका नागरिकमा मोबाइलको महिमा

September 21
पाल्पा । पालुङ मैनादी गाविस-४ की रुपमता गाहाले १५/२० वर्षअघि भारतमा रहेका श्रीमान्को सन्चोबिसन्चोको खबर पाउने माध्यम चिठीपत्र थियो । हुलाकीले कहिले श्रीमान्को चिठी ल्याइदिने हुन् भन्ने चिन्ता उनीमा रहिरहन्थ्यो ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले मिनेटमै सन्चो बिसन्चोको खबर थाहा पाउन सफल भएकी छन् । मोबाइल सेवाले उनलाई महिनौ कुुर्नुपर्ने चिन्ता छैन । सम्झना आउनेबित्तिकै फोन गरिहाले खबर थाहा हुन्छ ।
मोबाइलमा घन्टी आएपछि ५५ वर्षिय गाहाले हेल्लो भन्दै फोन उठाउँछिन् । मलेसियाबाट कान्छो छारो बोलेको हो सन्चै छस् त्यहाँ मोबाइलमा यसरी नै आफन्तसँग कुराकानी गर्न पाउँदा उनलाई छोरासँग भेटेकैजस्तो अनुभव हुन्छ । दुई/तीन दिनको अन्तरालमा विदेशमा रहेको छोरासँग उनले यसरी नै कुराकानी गरिरहन्छिन् ।
mobile-callसन्चोबिसन्चोदेखि बिरामी हुँदा कुरुवा, मर्दा मलामी, विवाहमा जन्ती, मेलापातमा खेताला र गाउँमा बैठक बस्नका लागि मान्छे जुटाउने काम अहिले मोबाइलबाट नै हुन्छ । घरघरमा खबर गर्न जानुपर्ने बाध्यता अहिले गाउँ घरमा मोबाइल सेवाको प्रयोगसँगै हटेको छ । पहिले सार्वजनिक सञ्चारको रुपमा कटुवाल लगाउने प्रथा अहिले मोबाइलको प्रयोगसँगै हराएर गएको छ । ग्रामीण बस्तीका बासिन्दा मोबाइल सेवाको प्रयोग गर्न थालेपछि आफ्ना काम छिटोछरितो रुपमा सम्पन्न हुन थालेको बताउँछन् ।
गाहालाई बाल्यकालमा मोबाइल देख्ने अवसर मिलेन । अहिले मोबाइलबाट विदेशमा रहेका छोरासँग कुरा गर्न पाउँदा अर्कै संसारमा आएजस्त्ौ लाग्छ । मलेसियामा रहेका छोरासँग मोबाइलमा कुराकानी गरी समय बितेको उहाँलाई पत्तो नै हुँदैन ।
नेपाल टेलिकम पाल्पा शाखाले जिल्लाका प्रायः गाविसमा टेलिकमका टावर जडान गरेपछि गाउँ सहरमा सञ्चारको पहुँच पुगेको छ । सञ्चारको अत्यधिक विकासलेे आफूले चाहेको व्यक्तिसँग मोबाइलबाट कुरा गर्न सकिने भएपछि गाउँले जनता आफूलाई भाग्यमानी ठान्दछन् । मोबाइलसँगै विकासका अन्य पूर्वाधार गाउँगाउँसम्म विस्तार हुँदा अहिले बसाइँसराइका क्रममा पनि कमी आएको छ ।
सञ्चार प्रविधिमा आएको ठूलो विकासलेे जिल्लाका कुनाकन्दरामा बस्ने सर्वसाधारणमा समेत सूचनाको अधिकार सुनिश्चित गर्ने वातावरण तय गरेकोे नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताउँछन् ।
नेपाल टेलिकम पाल्पा शाखाले सञ्चारमा सर्वसाधारणको पहुँच पुर्‍याउने उद्देश्यले जिल्ल्ाामा वारलेस प्रविधिमा आधारित जिएसएम, सिडिएमए मोबाइल एक लाख ७४ हजार ४८८ जनालाई वितरण गरेको जानकारी दिएको छ ।
कार्यालयका अनुसार जिल्लामा पाँच स्थानमा आधारभूत टेलिफोन सेवा ल्यान्डलाइनका जडान गरी तीन हजार १०० ले सुविधा पाएका छन् भने ७४८ जनाले एडिएसएल र वलाइमक्स ६६ जनाले सेवा प्रयोग गरी सञ्चारको सुविधामा पहुँच पुगेको छ ।
निजी कम्पनीले बर्सेनि हजारौँको सङ्ख्यामा सिम, रिम र इन्टरनेट सेवा विस्तारले पनि ग्रामीण क्षेत्रमा सूचना आदनप्रदानमा निकै सहजता ल्याएको पाइन्छ  ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले ग्रामीण क्षेत्रका वृद्धवृद्धा मोबाइलबाट कुराकानी र इन्टरनेटबाट भिडियो कुराकानी गर्न पाउँदा निकै खुसी देखिन्छन् । मोबाइल नहुँदा घरघरमा बोलाउन जानुपर्ने थियो । मोबाइलबाट एकैछिनमा सबै गाउँलेलाई खबर हुन्छ ।
महिनौँ दिनसम्म खबर पाउन मुस्किल हुने कुनाकन्दरामा अहिले मोबाइलको प्रयोगका कारण क्षणभरमै जहाँतहीँको खबर थाहा हुँदा स्थानीय बुढापाकाहरू दङ्ग छन् । छोराबुहारी घर बाहिर काममा जाँदा पनि घरमा बस्ने वृद्धवृद्धाहरु अब मोबाइलमै कुराकानी गर्न र रेडियो सुन्न पाउँदा एक्लो भएको अनुभव नहुने उनीहरु बताउँछन् ।
आफू सानो हुँदा रेडियो नदेखेकाहरुले अहिले हातमा नै मोबाइल प्रयोग गरी कुराकानी गर्ने र मोबाइलबाट नै रेडियो सुन्न पाउँदा उनीहरू हषिर्त पनि बनेका छन् । भुवनपोखरी गाविसका ७५ वषर्ीय रामबहादुर नेपालीको हातमा मोबाइल छ । उहाँलेमात्र होइन, प्रायः गाउँका युवायुवती, वृद्धाको हातमा आजभोलि मोबाइल देखिन्छ । केही काम पर्‍यो त मोबाइलमा नम्बर थिचेर डायल गरिहाल्छन् ।
“गाउँका खबर सहरमा, सहरका खबर गाउँमा पुर्‍याउन सजिलो बनेको छ । पहिला गाउँमा कसैको चिठीपत्र आएमा कसको घरमा पढ्न पठाउने हो भन्ने चिन्ता हुन्थ्यो । पहिला गाउँमा पढेका मान्छे थिएनन् तर, अहिले आएर चिठी लेखाउने समस्या नभएको नेपालीको भनाइ छ । मोबाइल सेवा गाउँमा विस्तार भएसँगै चिठीपत्र पनि लेख्ने पठाउने चलन हराउन थालेको छ । सबैको घरमा मोबाइल छ, पैसा सकियो भने पसलबाट रिचार्ज हुन्छ, चिन्ता गर्ने बेला छैन”, उनले यसरी सञ्चारको विकासको प्रशंसा गरे ।
पाल्पा सोमादीकी हेमकला विक पनि मलेसियामा रहेका छोरासँग मोबाइलमा कुराकानीमा निकै रमाउँछिन् । “हप्ता १५ दिनमा छोरासँग कुराकानी भइरहन्छ । आजकाल फोनमा मात्र कुराकानी हुन्छ । चिठीपत्र लेख्नचाहिँ छाडियो”, विकले भनिन् ।
मोबाइलको बढ्दो प्रयोगका कारण चिठीको प्रयोग निकै कम भएको जिल्ला हुलाक कार्यालय पाल्प्ााका नायब सुब्ब्ाा हरि बस्यालको भनाइ छ । अहिले झन्डै ९० प्रतिशत चिठी हुलाक कार्यालयमा दर्ता हुन छाडेको उनी बताउँछन् । सरकारी कार्यालयका चिठीपत्रमात्र आउने गरेको उनको भनाइ छ ।
दूरसञ्चार कार्यालय पाल्पाले सिम तथा रिम प्रशस्त बाँडेपछि नागरिकको पहँुच सञ्चारमा पुगेको हो । दूरसञ्चार कार्यालय पाल्पाका अनुसार जिल्लाका सबै गाविसलाई नेटवर्क पुग्ने गरी टेलिकमको टावर बिस्तार भएको छ ।
रिमबाट पनि अहिले इन्टरनेटको प्रयोग हुन्छ । नेपाल दूरसञ्चार कार्यालयबाट विवरण हुने सिमबाट एसएमएस सेवा, इ-भिडियो प्रयोग गरी सस्तो मूल्यमा कुराकानी गर्न सकिने भएकाले मानिसहरु यसतर्फ आकषिर्त भएका छन् । अहिले अन्तर्राष्ट्रिय कल पनि धेरै सस्तो भएकाले मोबाइलको प्रयोग बढेको छ ।
स्वदेशमा तथा विदेशमा रहेका छोराछोरीसँग इन्टरनेटमार्फत कुराकानी गर्न सकिने गरी अत्यधिक सुविधा दिएको मानिस इन्टरनेटबाट कुराकानी गर्न आकषिर्त भएको टेलिलिकम पाल्पाका श्रीराम रेग्मीले भन्छिन्, “मानिसहरु छिटो, सजिलोका सूचनाका लागि मोबाइलको प्रयोगमा आकषिर्त बनेका हुन् ।”
नेपाल टेलिकम कार्यालयले मोबाइल तथा इन्टनेट सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन सकेको अवस्थामा सर्वसाधारणलेे सुविधा पाउने छन् ।

योजना बनाउदै रोल्पा

September 21
जिल्ला विकास समिति रोल्पाले आवधिक जिल्ला विकास योजना २०७१/०७२–२०७५/०७६ को अन्तिम मस्यौदा माथि छलफल सुरु गरेको छ।
 
आजसम्म दीर्घकालीन योजना बिना नै गरेका विकास गतिविधि सन्तोष जनक नभएको ठम्याईका साथ पञ्चवर्षीय योजना निर्माण तथा कार्यान्वनमा लागिएको हो।
 
'आवधीक योजना बिना दीर्घकालीन सोच आउँदैन।' मस्यौदाको अन्तीम छलफलको सहजीकरण गर्न आएका उपसचिव रमेश अधिकारीले भने। आवधिक योजनाको मस्यौदालाई आउँदो जिल्ला परिषदबाट पास गराइने छ। 
 
आर्थिक वर्ष २०७२–०७३ बाट यही आवधीक जिल्ला विकास योजना मार्फत रोल्पाले आफनो गतिविधि अगाडि बढाउने छ।
 
विषयगत रुपमा सर्वपच्छीय उपस्थितमा पञ्चवर्षीय योजनाको व्यापक छलफल गरी एक मुस्ट रुपमा तयार गरिएको पञ्चवर्षीय योजना तयारी र सो को कार्यान्वयनले रोल्पाको मुहार फेरीनेमा रोल्पाली आसावादी छन। 
 
आवधिक जिल्ला विकास योजना तर्जुमा गोष्ठी ३ दिन समय चल्ने छ।

अनुपराज र वस्तीलाई प्रतिष्ठा जोगाउने चुनौती

September 21
प्रधान न्यायाधीश दामोदर शर्माको बिरोध बाबजुद सिफारीस
प्रकाश वस्ती सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भएको एक वर्ष पनि नाघेको थिएन। एक दिन प्रधान न्यायाधीश अनुपराज शर्माले वस्तीलाई आफ्नो च्याम्बरमा डाके। वरिष्ठतम् न्यायाधीश रामप्रसाद श्रेष्ठ पनि शर्मासँगै थिए।
 
'स्थायी न्यायाधीश हुनुपर्‍यो,' वस्तीलाई प्रस्ताव आयो। शर्मा, श्रेष्ठमात्र हैन वस्तीलाई सर्वोच्चको स्थायी न्यायाधीश बनाउने पक्षमा न्यायपरिषद् सदस्य मोतीकाजी स्थापित र वासुदेव ढुंगाना पनि थिए।
 
३२ वर्ष वकालत र २१ वर्ष ल क्याम्पस पढाएर सर्वोच्च आएका वस्तीलाई न्यायाधीशको करिअरमा अघि बढ्ने इच्छा त थियो। तैपनि उनी न्यायपरिषद् अध्यक्ष शर्मा र सदस्य श्रेष्ठको प्रस्तावमा उत्साही भएनन्।
 
वस्तीले जवाफ दिए, 'सर्वोच्चमा मेरो रोल नम्वर १६ हो। मलाई स्थायी बनाउँदा कसै न कसैलाई अन्याय हुन्छ। पद्दती पनि बिग्रन्छ। ती पीडितको आँसुले मलाई पोल्छ पनि।' संविधानले सर्वोच्चका स्थायी न्यायाधीशको संख्या १६ मा सिमित गरेको छ। वस्तीलाई स्थायीमा ल्याउँदा रणबहादुर बम, मोहनप्रकाश सिटौला, अवदेश यादव, गिरिषचन्द्र लाल मध्ये कोहि छुट्थे। वस्ती स्थायी भएनन्।
 
केहि सातामा शर्माले अनिवार्य अवकाश पाए। सर्वोच्चमा न्यायाधीश खाली हुँदै गयो। त्यसको चार वर्ष भन्दा लामो अवधिसम्म पनि वस्ती लगायत स्थायी न्यायाधीश भएनन्।
 
वैशाखमा उनी सहित तीन अस्थायी न्यायाधीशलाई गलहत्याइयो। पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी र शर्माले वस्तीहरुको पक्षमा अभिव्यक्ति दिए। अन्यायविरुद्व बोले।
 

सूर्यनाथसँगको इवी साध्न प्रकाश वस्तीलाई गलहत्ती

 
वस्ती पाँच वर्ष अघि नै 'स्थायी हुन नखोजेको' प्रसङ्ग पनि चर्चामा आयो।
 
शर्माले आँखा लगाएको बेला स्थायी भएको भए वस्ती प्रधान न्यायाधीशको रोलमा हुन्थे। बैशाखमा स्थायी भएको भए पनि प्रधान न्यायाधीशको रोल कायमै रहन्थ्यो।
 
प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा अध्यक्ष रहेको न्यायपरिषद्ले वस्तीलाई सिफारिश गरेन। अस्थायी न्यायाधीशको रुपमा पाँच वर्षमा सबैभन्दा धेरै मुद्दा छिनेर लगभग विवादमै नपरेका वस्तीलाई गलहत्याइयो।
 
परिषद्को त्यो निर्णयको व्यापक आलोचना भयो। न्यायपरिषद्का पदेन सदस्य कानून मन्त्री नरहरी आचार्यलाई पछुतो लाग्यो। वस्तीलाई डिनरमै बोलाएर आचार्यले दुख व्यक्त गरे। त्यो औपचारिकता मात्र थिएन। आचार्यले प्रधानमन्त्री सुशील कोइरालालाई पनि यसबारे सूचीत गराए। सभामुख सुवासचन्द्र नेम्वाङ्देखि विपक्षी एमाओवादी नेता प्रचण्डसम्म न्यायमूर्तीलाई नै भएको अन्यायबारे पुरापुर जानकार थिए।
 
त्यसो त सर्वोच्च्को न्यायाधीशको पहिलो नियुक्तिदेखि नै वस्तीप्रति माओवादीको सफ्ट कर्नर रहेको ठानिन्छ। भलै वकालतमा रहँदै पनि वस्ती कुनै पार्टीसँग नजिक हेको ठानिन्थे।
...
 
पाँच महिनामा प्रधान न्यायाधीश सदस्य भएको संवैधानिक परिषद्ले वस्तीलाई मानवअधिकार आयोगको सदस्यमा सिफारिश गरेको छ। संसदीय सुनुवाईको औपचारिकता पुरा भएपछि छ वर्षको लागि यो पदमा नियुक्ति हुनेछ। हेर्नुहोस् समाचारमा-

मानवअधिकार आयोगको वरिष्ठ सदस्यमा प्रकाश वस्ती

 
सेवासुविधाका हिसाबले सर्वोच्चको न्यायाधीश सरहकै भनेपनि आयोग र अदालतको 'स्कोप'मा आकाश जमिन फरक छ। वस्तीलाई भएको अन्यायमा मलमपट्टि गर्न परिषद्ले यो निर्णय गरेको छ। हस्तिनापुरको राज गुमाएकालाई पाँच गाउँ दिएर भए पनि परिषद् पदाधिकारीले निसाफ दिन खोजेका छन्।
 
यो सिफारिशले प्रधानमन्त्री, विपक्षी दलका नेता, सभामुख र सरकारका शक्तिसाली मन्त्रीहरु वस्तीलाई अन्याय भएको महशस गरेको देखिएको छ। वस्तीलाई गरेको सिफारिशको प्रशंसा हुनुले पनि यी शिर्ष ओहोदाहावालाहरुको उपलव्धी हो।     
संवैधानिक परिषद्को बिहिवारको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले वस्तीको नाम प्रस्ताव गर्नेबित्तिकै छ जानाले एकमुखले समर्थन गरे। परिषद् सदस्य प्रधान न्यायाधीशले भने यसमा आपत्ति जनाए। उनले वस्तीलाई नियुक्ति दिन नहुने बताए।
 
'सर्वोच्चको न्यायाधीश त बनाउनु भएन भएन अब यहाँ पनि हुन्न भन्नुहुन्छ,' प्रधानमन्त्रीको समर्थन गर्दै प्रचण्डले भने, 'त्यत्तिको कार्यक्षमता भएका र इमान्दारलाई नियुक्ति दियौ भने हाम्रो पनि इज्जत जोगिन्छ।'
 
परिषद्का एक सदस्यका अनुसार शर्माले तैपनि आनाकानी गरेका थिए। नेम्वाङदेखि  उपप्रधानमन्त्रीसम्म वस्तीको पक्षमा उभिए। शर्माले रोक्न सकेनन्। त्यसअघि नै मानवअधिकारको अध्यक्षको नाममा पूर्व प्रधान न्यायाधीशको अनुपराज शर्माको नाम अनुमोदन भइसकेको थियो।
...
अनुप तीन दशकभन्दा लामो अवधि वकालत गरेर सिँधै सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्। चल्तीका 'कर्पोरेट लयर' शर्मा व्यवसायीक मूल्य मान्यतामा नचुकेका वकिल मध्ये अग्रणी मानिन्छ।
 
साहित्यकार केशवराज पिँडालीका छोरा हुन् शर्मा। पिँडाली प्रधानमन्त्री विपी कोइरालाका स्वकीय सचिव पनि थिए। राजा महेन्द्रले सैनिक 'कु' गरेर जन्माएको पंचायती व्यवस्थामा पिँडाली पनि प्रताडित भए। विपीसँगै प्रवास गए। कलकत्ताबाट प्रकाशित हुने कांग्रेसको मुखपत्र नेपाल आह्वानको सम्पादन पनि गरे। 
 
प्रजातान्त्रिक आन्दोलनसँग अनुपको परिवार नै जोडिएको छ। शैलजा आचार्यहरुसँगै राजा महेन्द्रलाई टुँडिखेलमा कालो पछ्यौरा देखाउनेमा अनुपकी दिदी कुन्दन पनि थिइन्।
 
पिँडाली प्रवासमै रहेका वेला अनुपको लेखपढ भारतमा पनि भयो। त्यो 'एक्स्पोजर'ले पनि यीनको व्यक्तित्वलाई ओजिलो बनाएको छ। बारमा पनि अनुप सधैं प्रजातान्त्रिक खेमासँग रहे।
 
सर्वोच्चको न्यायाधीश भएपछि पनि यीनले सदाचार कायम राखे। राजा ज्ञानेन्द्रले माघ १९ को शाही कदम चालेपछि अदालतले मौलिक हक प्रचलन गराउन महत्वपूर्ण निर्णयहरु गर्‍यो। शाही आयोग खारेजदेखि संचार माध्यमको सेन्सरसिप हटाउनेसम्मका उल्लेख्य फैसलामा अनुपको दमदार रायले काम गर्‍यो। राजाको सत्ताको शक्तिको कुनै पर्बाह नगरि न्याय सम्पादन गर्नेमा मीनबहादुर रायमाझी, अनुप लगायत न्यायाधीशहरु थिए।
 
जनआन्दोलनपछिका एकाध फैसलामा भने यीनलाई 'पपुलिष्ट' हुन खोजेको आरोप पनि लाग्यो। संविधान सभा निर्वाचन ऐनमा कमल थापाहरुलाई चुनावमा भाग लिन नदिने अभिप्रायले एउटा प्रावधान आयो।
 
'रायमाझी आयोगले दोषी ठहर्‍याएकालाई चुनाव लड्न नपाउने' भन्ने प्रावधानविरुद्व सर्वोच्चमा रिट पर्‍यो। अनुप सहितको इजलासमा सुनुवाई भयो। अनुपले यस्तो रोकलाई ठीक भने। वलराम केसी, तपबहादुर मगरहरुले समानता र वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्न नपाइने भनेर राय लेखे। रायमाझी आयोगले दोषी करार गरेको आधारमा चुनावमा लड्न नदिने प्रावधान खारेज भयो।   
 
पाँच वर्षभन्दा बढि सर्वोच्चको न्यायाधीश रहँदा आर्थिक सहित आचरणको अरु मामिलामा अनुप बेदाग नै रहे।
 
तीन महिना चानचुन मात्र प्रधान न्यायाधीश हुन पाए। औपचारिकता र समारोहमा मात्र त्यो समय व्यतित हुन दिएनन्। न्याय निरुपणको दैनिक चापमा मात्र सिमित राखेनन्। 'विकृतीवहिन न्यायपालिका'को परिकल्पना गरे। त्यसका लागि अध्ययन गर्न प्रधान न्यायाधीशको रोलमा रहेकाको एउटा समिति बन्यो। अस्थायी न्यायाधीश वस्ती सबैभन्दा कनिष्ठ सदस्य थिए। राम्रो रिपोर्ट तयार भयो।
 
अनुपको पदचाप उनीपछिका दुई प्रधानन्यायाधीशले पछ्याए। न्यायलयको विकृतीविरुद्व रामप्रसाद श्रेष्ठले जेहाद नै छेडे। खिलराज रेग्मीले पनि खुट्टा कमाएनन् भन्ने मूल्यांकन छ। वर्तमान प्रधान न्यायाधीश दामोदार शर्माको कार्यशैली जगजाहेरै छ।
...
 
अनुप र वस्ती फेरि एउटै निकायमा आइपुगेका छन्। रोल नम्वरमा १ र १६ को फासला छैन, १ र २ छ। दुई जानाको व्यवसायीक चिनजान भएको ३८ वर्ष नाघिसकेको छ। सँगै 'प्र्याक्टिस' गर्दाको संवन्धलाई कानून पत्रिकाले नजिक बनाइदियो। कानूनको सम्पादक मण्डलमा पाँच वर्ष दुवैजाना सँगै रहे।
 
यसपाला मानवअधिकार आयोगमा पाँचै जाना टिम 'वकिल'हरुको बनेको छ। मोहना अन्सारी पहिलो मुश्लिम महिला वकिल हुन्। नेपालगंजकी अन्सारी महिला आयोगकी पूर्व सदस्य पनि हुन्।
 
मानवअधिकारवादी सुदीप पाठक पनि वकिल नै हुन्। उनी यसअघि राजाको सक्रिय शासनकालमा पनि आयोग सदस्य थिए।
 
अर्का गोविन्द शर्मा पौडेल पनि वरिष्ठ अधिवक्ता नै हुन्। पोखरामा राम्रो वकालत चलेका पौडेल कानून संकायको पूर्व सहायक डिन पनि हुन्।
 
पाँचैजानाको टीमलाई मानवअधिकार आयोगलाई प्रभावकारी बनाउने जिम्मेवारी थपिएको छ। संवैधानिक निकाय भनेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग वा महालेखापरिक्षकको जति पनि समाजले यो आयोगको उपस्थिती महसुस गरेको छैन।
 
जबकी अघिल्लो दुई कार्यकाल पूर्व प्रधान न्यायाधीशद्वय नैनबहादुर खत्री र केदारनाथ उपाध्यायले नेतृत्व गरे। दुवै कार्यकालमा पाँचजाना सदस्य मध्ये एक/दुई जानाको मात्र अधिक सक्रियता देखियो। अघिल्लो पहिलो कार्यकालकी इन्दिरा राणा र दोस्रोकी लीला पाठक बागी भएरै पाँच छ वर्ष व्यतित गरे।
 
अरु धेरै सदस्य अवकाश योजना अन्तर्गत आयोगमा आइपुगेका जस्ता देखिन्थे। आयोगका पदाधिकारीहरुको वृत्ति नै वृद्वभत्ता खनेजस्तो भएको थियो। खत्रीको टिमका सुशील प्याकुरेल र उपाध्यायको टीमका गौरी प्रधान सदस्यमात्र पुरापुर सक्रिय थिए। तर उनीहरुले ताली र गाली दुवै खाए।
 
यसपालाको 'टिम'त्यस्तो देखिन्न। धेरै सदस्यहरु सक्रिय र स्वस्थ नै छन्। अनुप र वस्तीलाई व्लड प्रेसर, सुगर, युरिक एसिडसम्म छैन।
 
संसदीय सुनुवाईको जँघार पार गरेपछि आयोगको टिमको परिक्षा सुरु हुन्छ। संसदीय सनुवाई विशेष समितिमा टीमलाई समावेशी नबनाएको भनेर चर्को आलोचना हुने निश्चित छ। एकजाना मुसलमान महिलाबाहेक सबै खसहरु सिफारिश भएका छन्। परिषद् बैठकमा सभामुखले सर्वोच्चका पूर्व न्यायाधीश कमलनारायण दासको नाम प्रस्ताव गरेका पनि थिए। अरु सदस्यले त्यसमा खासै चासो दिएनन्। उपप्रधानमन्त्री गौतमले 'हुन्न' नै भनिदिए।
...
 
अनुप र वस्तीको सार्वजनिक छवी 'अग्लो' छ। पूर्व प्रधान न्यायाधीश वा सर्वोच्चको पूर्व न्यायाधीश भएकाले मात्र उनीहरुको हैसियत बनेको हैन। कार्यक्षमता, इमान र निर्भिक आचरणको योगफल नै उनीहरुको व्यक्तित्व हो। 
 
नाम हुनेले आफ्नो कदको जगेर्ना गर्न नसके बदनाम हुन्छ। नामले स्वभाविक रुपमा दायीत्व पनि सिर्जना गरेको हुन्छ। अनुपराज र वस्तीले त्यसअनुसार 'डेलिभरी' दिन सकेनन्  भने पनि आयोगलाई फरक नपर्ला। पहिला जस्तै दैनिक कामकाज चल्ला।
 
तर अरु सदस्य भन्दा धेरै उँचाईमा रहेका अध्यक्ष सदस्यहरुलाई यो पद चुनौतीपूर्ण नै छ।
 
संस्थाको 'स्ट्रेचर' त्यसको चालक सीटमा बसेको अध्यक्ष र सदस्यदेखि सबै टिमको मेहनतले पनि निर्धारण गर्छ। छिमेकी भारतको मानवअधिकार आयोग पनि उतीसारो प्रभावकारी थिएन। असाध्यै कम 'नोटिस' मा थियो। सन् १९९९ मा त्यसको नेतृत्व पूर्व प्रधान न्यायाधीश जेएस बर्माको काँधमा आयो। भारतको सर्वोच्च अदालतका सम्मानित प्रधान न्यायाधीशले चार वर्षमा त्यो संस्थाको उँचाईलाई ह्वात्तै बढाइदिए। संविधान, एने, कानून र कर्मचारीतन्त्र उही रहँदा पनि कार्यसम्पादनमा ठूलो अन्तर आयो। बर्माले व्यक्तित्वले पनि त्यसको लाभांस पायो।
 
नेपालमा ओहोदामा नरहँदा पनि उत्तिकै सम्मान पाउने थोरै प्रधान न्यायाधीश मध्ये हुन् अनुप। अस्थायीमै कोपभाजनमा परेपनि पूर्व प्रधान न्यायाधीश वा सर्वोच्च्चको धेरै पूर्व न्यायाधीशको भन्दा वस्तीको काया ठूलो छ।
 
राज्यले भरोसा गरे अनुसार यो नवनियुक्त टिमले गरेर देखाको महशुस भयो भने त्यसको जस अनुप र वस्तीले अझ धेरै पाउनेछन्। नत्र उनीहरुले पनि जागिर मात्रै पकाएको आरोप लाग्नेछ।
 
तीन महिना चानचुन प्रधान न्यायाधीश हुन पाएका अनुपले खासै गर्ने मौका पाएनन् भन्ने धारणा अझै पनि न्याय क्षेत्रमा छ। देवानी मुद्दा छिन्न वस्तीको अभाव खट्किएको अहिले नै बेलाबेलामा सुन्न पाइएको छ।
 
छ वर्ष मानवअधिकार आयोगको नेतृत्व गर्दा भने अनुप र वस्तीले यस्तो सहुलियतको सुविधा पाउने छैनन्। आफ्नो प्रतिष्ठा जोगाउनकै लागि पनि गरेर देखाउनुपर्ने अवस्था छ। जागिरेमात्र नहुन उनीहरुलाई ठूलो दवाव छ।

पूर्वराजाको स्वास्थ्य लाभका लागि अस्पतालमा भेला हुन राप्रपा नेपालको उर्दी

September 21
राप्रपा नेपालले हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य लाभको कामना गरेको छ।
शनिबार राति नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजको स्वास्थ्य लाभका लागि राप्रपा नेपालका केन्द्रीसदस्य, सभासद, तथा वरिष्ठ नेताहरूलाई नर्भिक गएर स्वास्थ्य लाभको कामना गर्न पार्टीको केन्द्रीय तहबाट उर्दी भएको राप्रपा नेपालका प्रचार विभाग सदस्य बासु दाहालले बताए।
अहिले शाहको अवस्था स्थिर र सन्तोषजनक रहेको अस्पताल स्रोतले जनाएको छ। शनिबार राति नै अस्पताल ल्याइएका शाहको उपचारका क्रममा कोरोनरी रक्तनलीलाई एन्जियोप्लाष्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको थियो।
शाहको उपचारमा डा. यादवदेव भट्ट र डा. भारत रावतको टोली खटिएको छ। पूर्वरानी कोमलसहित अन्य आफन्तहरु अस्पतालमा उपस्थित भएका छन्।
एन्जियोप्लाष्टी गरेपछि शाहलाई अप्रेसन थियटरबाट अस्पतालको कोरोनरी केयर युनिट (सिसियु) मा राति ११ बजेतिर सारेको अस्पतालले जनाएको छ।
६७ वर्षीय शाहलाई शनिबार राति १० बजेतिर माइल्ड हर्ट एट्याक भएको थियो । 

बेनी–जोमसोम सडकमा भाडादर समायोजन

September 21
धौलागिरी अञ्चलका चारैजिल्ला म्याग्दी,बागलुङ,पर्वत र मुस्ताङका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख,यातायात व्यवसायी र यातायात व्यवस्था कार्यालयका प्रतिनिधिहरुको शुक्रवार बागलुङमा सम्पन्न बैठकले नयाँ भाडादर समायोजन गरेको छ।
 
धौलागिरी यातायात व्यवस्था समितिको बैठकले बेनी–जोमसोम सडकमा संचालन हुने सवारी साधनमा प्रतिव्यक्ति ७५० रुपैयाँ भाडादर कायम गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकवहादुर केसीले जानकारी दिए। यसअघि यातायात व्यवसायीहरुले ८सय रुपैयाँ लिने गरेको थिए।
 
बेनी–जोमसोम सडकखण्डमा बाढि र पहिरोका कारण अहिले दुई ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने वाध्यता यात्रुहरुलाई रहेको छ। समितिले दसैं अघि नै सडक मर्मत गरेर सिधा यातायात संचालन गर्ने जनाएको छ। बेनी–जोमसोम सिधा यातायात संचालन भएपछि विदेशी पर्यटक,तीर्थयात्री र सर्वसाधारणहरु लावान्भित हुनेछन्।

विश्लेषक भन्छन्- राज्यले नै रोजगारीका लागि विदेशिन बाध्य बनाइरहेको छ

September 21
Bishwomvar-Pyakurel
५ असोज, काठमाडौं । युवाहरुले मुलुकभित्रै गरिखान खोजे पनि राज्यको अस्पष्ट नीति तथा अव्यवहारिक संयन्त्रका कारण विदेश पलायन हुन बाध्य बन्ने गरेको अर्थविज्ञ तथा विश्लेषकहरुले बताएका छन् ।
विदेशवाट शिप लिएर मुलुक फर्केका युवाले स्वदेशमै शिपको प्रयोग गर्न खोजेपनि राज्यले उपयुक्त सहयोग गर्ने वातावरण बनाउन नसकेको पनि उनीहरुको तर्क छ ।
राजधानी आज सम्पन्न शान्तिका लागि साझा अभियान कोक्यापले अयोजना गरेको समानतामुलुक समृद्धि नेपालको आर्थिक मार्गचित्र नारासहितको दुई दिने राष्ट्रिय सम्मेलनको समापन समारोहमा उनीहरुले सरकारी संयन्त्रले नै युवाहरुलाई विदेशिन बाध्य बनाईरहेको बताए ।
कार्यक्रममा विश्वम्भर प्याकुरेलले भएका नीति स्पष्ट नभएकाले विदेशवाट र्फकने शिप र वर्ष पिच्छे बजारमा आउने करिव ५ लाख जनशक्ति रोजगार दिन नसकेको बताए ।
‘सरकारले स्वरोजगार कोष स्थापना गरेर रोजगारी श्रृजना गर्न खोजे पनि राजनीतिक दलको प्रभावमा त्यसलाई सही ढंगले सदुपयोग गर्न सकेको छैन’ उनले भने ‘त्यसले गर्दा पनि अधिकाश युवाहरुमा निराशा बन्न पुगेको छ ।’
अर्थविद् तथा योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले सुरक्षा लगानी र उत्पादनमुलुक रोजगारी श्रृजना गर्न नसक्दा बेरोजगारीको समस्या दिन प्रतिदिन आकाशिएको बताए । शान्ति सुरक्षाको प्रत्याभुतिसंगै युवा उद्यमीले सानो लगानीमा उत्पादन गरेका बस्तुलाई प्रशासनिकले संयन्त्रले सहज बजारीकरण गर्न नसकेको बताए ।
‘विदेशमा सरकारले नै उत्पादित बस्तु बजारमा पुर्‍याउन र वितरणमा सहयोग पुर्‍याउन हामी कहा त्यो संयन्त्र छैन’ उनले थपे ‘यसका लागि सहकारी वा सामुहिक संकलन गरेर वितरण गर्न सकिने भएपनि त्यसका लागि आवश्यक नीति छैन ।’
पूर्वअर्थसचिव रामेश्वर खनालले मुलुकको मुलु समस्या नै राजनीतिक अस्थितरता भएको बताए । उनले भने ‘मुुलुकमा अवसर नभएकेा होइन् । आर्थिक विकास र समृद्धिका लागि शुरुमै लगानी पनि चाहिदैन यो प्रमाणित भएको कुरा हो । यसले के देखाउछ भन्दा शुरुमा उचित वातावरण चाहियो ।’
योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले मुलुकमा पैसा भएका व्यक्तिलाई गलत नजरवाट हेर्न मानसिकता हावी रहेको बताए । मुलुकमा विकेन्दि्रकरणको आवश्यकता रहेकोमा जोड दिदै उनले सोचमा समेत परिवर्तन ल्याउन पर्ने बताए । उनले भने ‘पैसा भएका मानिस सबै बदमास हुन्छन भन्ने सोच हावी बनेकेा पाइन्छ । त्यसलै समाजमा न्याय र शान्ति नभएसम्म लगानी र आर्थिक विकासले सही वाटो समाउन सक्दैन ।’
राजनीतिक तथा समाज विश्लेषक श्याम श्रेष्ठले मुलुक संविधान निर्मााणको चरणमा रहेकाले सही नीति निर्माणका लागि दबाव दिने उपयुक्त समय भएको बताए । अहिलेको संविधानसभाले नागरिको मौलिक हकमै गाँस बास कपाससहित आधारभुत शिक्षा स्वास्थ्य र रोजगारीको व्यवस्था गरिएपनि राजनीतिक दल तथा नेताहरुले त्यो लकाउन खोजिरहेको बताए ।
‘एशियामै सबैभन्दा राम्रो मौलिक हकको संविधनमा गरिएपनि त्यसले आफ्नो राजनीतिक भविष्यमा खतरा ल्याउने महशुश गरि दलहरुले संघीयता जस्ता विषय देखाएर संविधान बनाउन खोजिरहेका छैनन् ।’ उनले थपे ‘यी कुरा पहिलो संविधानसभाले नै टुङ्गयाएको हो तर उनीहरु कुरा बाहिर ल्यान किन चाहदैनन् । त्यो बुझ्नु पर्छ र दबाव श्रृजना गर्नुपर्छ ।’
समारोहको समापन गर्दै सम्मेलन आयोजक समितिका संयोजक उषा बरुवालले आगामी आर्थिक नीति बनाउन सम्मेलनवाट आएका विचार र यसवाट बन्ने दस्तावेज मुलुककै लागि मार्ग चित्र बन्ने दावी गरिन् ।

मकाउको भिसामा नेपालीलाई रोक

September 21
वैदेशिक रोजगार विभागको गम्भीर त्रुटिले नेपाली राहदानीबहाक समस्यामा
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानी बाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको खबर आजको कान्तिपुरमा निर्मल श्रेष्ठले खबर लेखेका छन्।
वैदेशिक रोजगार विभागको त्रुटिका कारण त्यहाँ कार्यरत नेपालीहरू चिनियाँ भिसा लिनबाट बञ्चित भएका हुन्। यससँगै श्रम तथा रोजगार मन्त्रालय र विभागको कूटनीतिक अज्ञानतासमेत सार्वजनिक भएको छ।
मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले यसका नाउँमा जारी हुने सरकारी कागजातमा स्पेशल एडमिनिस्ट्रेटिभ रिजन एसएआर पिपुल्स रिपब्लिक अफ चाइना(पीआरसी) छोटकरीमै भएपनि अनिवार्य लेखिनुपर्ने मान्यता छ। तर वैदेशिक रोजगार विभागद्वारा जारी 'वैदेशकि रोजगार अनुमति' स्टिकरमा मुलुकको नाउमा कमाउ मात्र उल्लेख छ। पछिल्लो समय चिनियाँ विदेश मन्त्रालयको कमिस्नर कार्यालयले यस्तो राहदानी बाहकको भिसासम्बन्धी निवेदन अस्वीकार गर्दै आएको छ।

मापदण्ड नपुगेको देबदहलाई सम्बन्धन

September 21
सर्वोच्च अदालतले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएलगत्तै काठमाडौं विश्वविद्यालय (केयु)ले मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएको खबर आजको कारोबारमा छापिएको छ।
मेडिकल कलेज सञ्चालनका लागि न्यूनतम् २० विगा जग्गा, कम्तिमा सय प्राध्यापक, ३ सय सैय्याको अस्पताल चलाउन सक्ने दक्ष जनशक्ति र भौतिक/प्राविधिक पूर्वाधार हुनुपर्छ। जुन देबदहले पूरा गरेको छैन। ऊ नर्सिङ कलेज मात्र हो।
त्रिभुवन विश्वविद्यालयले निश्चित मापदण्डसहित प्रक्रिया पूरा गरेका प्रस्तावित मेडिकल कलेजहरूला मात्र सञ्चालनको अन्तिम स्वीकृति दिँदै आएको छ।
देबदहका प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले यसैवर्षबाट विद्यार्थी भर्ना गर्न पाउने गरी केयुबाट सम्बन्धन पाएको जानकारी दिए।

सार्क राष्ट्रमा पत्रकार र व्यापारीलाई भिसा निःशुल्क

September 21
सार्क राष्ट्रहरूमा पत्रकारलाई भिसा शुल्क नलाग्ने भएको छ। बुधबार सार्क राष्ट्रका अध्यागमन अधिकारीहरूको बैठकले पत्रकार र व्यापारीलाई सबै देशमा भिसा शुल्क नलिने निर्णय गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। अध्यागमन अधिकारीहरूको सहमतिलाई सार्क गृहमन्त्रीस्तरीय बैठकले अनमोदन गरेको छ।
अध्यागमन विभागका महानिर्देशक सुदर्सन ढकालका अनुसार त्यसका लागि सार्क सचिवालयले सफ्टवेयर बनाउेछ। सफ्टवेयर बनाएर सबै देशमा स्टल भएसँगै यो सहमति कार्यान्वयनमा आउनेछ। नेपालले भने यसअघि नै सार्क राष्ट्रका नागरिकलाई ३० दिनको भिसा निःशुल्क दिँदै आएको छ।

एमबिबिएस भर्नामा थप अन्योल

September 21:
भर्ना सिटसम्बन्धी मेडिकल काउन्सिलको निर्णय विवादित भएपछि यस वर्षको एमबिबिएस/बिडिएस भर्नामा अन्योल बढेको छ।
 
कलेजहरुले यसअघि नै भर्ना लिइसकेको बताए पनि स्वास्थ्य मन्त्रालयले काउन्सिल निर्णयबारे छानबिन थाल्दै पूर्वनिर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि भर्ना प्रक्रिया अलमलिएको खबर आजको नागरिकमा दीपक दाहालले लेखेका छन्।
 
काउन्सिलको पूर्ण बैठकले भदौ २७ गते भर्ना सिट तोक्दै कलेजहरुलाई त्यही आधारमा भर्ना लिन भदौ ३१ मा पत्राचार गरेको थियो। अधिकांश सिट पहिल्यै बुक गराइसकेका कलेजहरुले भने उक्त पत्र नपुग्दै विद्यार्थी भर्ना लिइसकेको जनाउ दिएका थिए।
 
मन्त्रालयले काउन्सिल निर्णयमाथि छानबिन गर्न समिति गठन गर्दै असोज २ गते काउन्सिललाई कार्यान्वयन रोक्न पत्राचार गरेको थियो। काउन्सिलले पनि सोही आधारमा शनिबार कलेजहरुका नाममा सार्वजनिक सूचना जारी गर्दै भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ। 
 
एमबिबिएसका लागि काठमाडौं विश्वविद्यालय (केयु) तर्फका अधिकांश कलेजको सिट संख्या यथावत राख्दै त्रिवितर्फका अधिकांशको सिट संख्या घटाउने काउन्सिल निर्णय विवादमा परेको हो। काउन्सिलले त्रिविअन्तर्गतका कलेजमा मापदण्डअनुसार भौतिक पूर्वाधार र फ्याकल्टी (प्राध्यापक संख्या) नरहेको भन्दै तीन महिनाअघि पिजीतर्फको झन्डै ७० प्रतिशत सिट कटौती गरेको थियो। भदौ २७ गतेको बैठकले पूर्वनिर्णय उल्टाउँदै अधिकांश कलेजका एमबिबिएस सिट यथावत राखेको थियो।
 
काउन्सिल निर्णय विवादमा आएपछि मन्त्रालयले सहसचिव केदारबहादुर अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरी काउन्सिलको माइन्युट जफत गरेको थियो। समितिमा मन्त्रालयका चिकित्सक जागेश्वर गौतम र कानुन अधिकृत बाबुकाजी बानियाँलाई तोकिएको थियो। 
 
स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले छानबिन समितिको प्रतिवेदन नआउँदासम्म काउन्सिल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको जानकारी दिए। ‘काउन्सिलकै कतिपय सदस्यले निर्णयमा प्रश्न उठाउनुभयो, कसैको बढाइएको, कसैको
घटाइएको छ,' सचिव श्रेष्ठले भने, ‘यस्तो अवस्थामा मातहतका निकायको कामप्रति चुप लागेर बस्न मिल्दैन।
 
‘मन्त्रीस्तरीय निर्णयअनुसार छानबिन टोली गठन गरी सो टोलीमार्फत विद्यार्थीको सिट संख्या निर्धारणसम्बन्धी भएगरेका कामकारबाही र सोसँग सम्बन्धित सम्पूर्ण कागजातका सम्बन्धमा छानबिन भइरहेकाले छानबिन समाप्त भई प्रतिवेदन नआएसम्म मेडिकल तथा डेन्टल कलेजलाई निर्धारण गरेको सिट संख्या कार्यान्वयन नगर्नू–नगराउनू,' मन्त्रालयले काउन्सिललाई पठाएको पत्रमा उल्लेख छ।
 
काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेलले भने कोटा तोक्ने निर्णय इतिहासमै पहिलोपटक वैज्ञानिक तरिकाले भएको बताए। उनले यो वर्ष पहिलोपटक काउन्सिल र विश्वविद्यालयले संयुक्त टोली पठाएर कलेजहरुको भौतिक र प्राज्ञिक पूर्वाधार अनुगमन गरेको दाबी गरे। ‘यो वर्षजस्तो यथार्थपरक निर्णय पहिला कहिल्यै भएको थिएन, डा. गजुरेलले नागरिकसँग भने, ‘चित्त नबुझेका कलेजको खेल होला, नेपालमा राम्रो काम गर्नेलाई कसैले सहन्न।'
 
भैरहवास्थित युनिभर्सल र पोरखास्थित गण्डकी कलेजका सञ्चालक खुमा अर्यालले काउन्सिलले मन्त्रालयको निर्णयपछि आत्तिएर कलेजका नाममा सूचना जारी गरी ‘चोरले खुट्टा' उचालेको उखान चरितार्थ गरेको आरोप लगाए। ‘सही निर्णय गरेको भन्ने तर डराएर सूचना निकाल्ने,’ उनले भने। 
 
केही महिनाअघि केही पूर्वाधार नपुगेको भन्दै वर्षौंदेखि १५० सिट पाएका कलेजको सिट संख्या कटौतीले काउन्सिल निर्णय पूर्वाग्रही देखिएको बताए।

सरकारी सुविधा लिन आठ कक्षा पास गर्नैपर्ने

काठमाडौं । अबदेखि सरकारी सेवा सुविधा लिन अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण हुनैपर्ने प्रावधान लागू गरिएको छ । आधारभूत तहको शिक्षा उत्तीर्ण नगर्ने व्यक्तिलाई सरकारी सेवासुविधा नदिनुका साथै सरकारी जागिर खानबाट पूर्ण रुपमा बञ्चित गरिने संशोधित ऐनमा उल्लेख गरिएको छ ।
शिक्षा मन्त्रालयले व्यवस्थापिका संसदमा पेस गरेको आठौ शिक्षा ऐन संशोधन विधेयकमा १ बैशाख २०८० पछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारको कुनै सेवामा प्रवेश गर्न नपाउने प्रावधान राखिएको छ । संशोधित ऐनमा विद्यालय तहलाई दुई तहमा उल्लेख गरिने भएको राजधानी दैनिकमा खबर छ । कक्षा १ देखि ८ सम्मलाई आधारभूत र ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह उल्लेख गरिएको छ ।
सरकारले पूर्ण वा आंशिक स्वामित्व, अनुदान, नियन्त्रणमा रहेको कुनै पनि सार्वजनिक संस्थान, स्थानीय निकाय, शैक्षिक प्रतिष्ठान अथवा संगठित सेवामा रोजगारी तथा नियक्ति पाउन ८ कक्षा उत्तीर्ण नभए अयोग्य मानिने संशोधित ऐनमा उल्लेख गरिएको छ ।

चीनसँग रसुवागढी र हिल्सामा नयाँ दुई नाका खुल्ने

September 21
rasuwagadi
५ असोज, काठमाडौ । गृहमन्त्रालयले चीनसँग थप दुई नाका खोल्ने तयारी गरेको छ । रसुवाको रसुवागढी र हुम्लाको हिल्सामा नयाँ नाका खोल्न लागिएको हो ।
रसुवागढीमा १५ असोजबाट अध्यागमन कार्यालय खोल्ने गृह मन्त्रालयको तयारी छ । अध्यागमन विभागका महानिर्देशनक सुदर्शन ढकालका अनुसार कार्यालय खोल्न अन्तिम तयारी भएको छ । हिल्सामा अध्यागमन कार्यालय खोल्ने निर्णय भए पनि केही समय लाग्ने विभागले जनाएको छ, नयाँ पत्रिका दैनिकमा छ ।
रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्राउन सरकारले अध्यागमन कार्यालय खोल्न लागेको हो । चीनसँगको सिमानामा सिन्धुपाल्चोकको तातोपानीमा मात्रा अध्यागमन कार्यालयसहितको नाका छ । रसुवागढी नाका तातोपानी नाकाबाट भन्दा धेरै आयात-निर्यात हुने तथा पर्यटक आगमन बढ्ने अध्यागमन अधिकारीहरुले बताएका छन् ।
‘अब चीनसँगको मुख्य ब्यापारिक नाका बन्न गइरहेकोले अध्यागमन कार्यालय खोल्न लागेको हौं, अध्यागमन विभागका महानिर्देशक ढकालले भने ।
चिनिया पक्षले समेत नाका खुलाउन सहमति जनाएपछि अध्यागमन विभागले कार्यालय खोल्न बजेट मागेको छ ।
सार्क राष्ट्रमा पत्रकारलाई भिसा निःशुल्क
सार्क राष्ट्रहरुमा पत्रकारहरुलाई भिसा शुल्क नलाग्ने भएको छ । बुधवार सार्क राष्ट्रका अध्यागमन अधिकारीहरुको वैठकले पत्रकार तथा ब्यापारीलाई सवै देशमा भिसा शुल्न नलिने निर्णय गरेको हो । अध्यागमन अधिकारीहरुको सहमतिलाई सार्क गृहमन्त्रीस्तरको बैठकले समेत अनुमोदन गरेको छ ।

राउतलाई रिहा नगरे पुनः मधेश आन्दोलन गर्ने

September 21
सुरक्षा घेरामा ‘सिके आन्दोलन’
पक्राउ परेका डा. सीके राउतलाई अबिलम्ब रिहा गर्नुपर्ने माग राखी मधेशी अगुवाहरुले शनिबार सिरहाको लहानमा जुलुस प्रदर्शन गरेको छन्। 
पशुपति आदर्श उच्च माविबाट निकालेको जुलुस नगरको विभिन्न भागमा परिक्रमा गरी लहानस्थित शहिद चौकमा पुगेर कोणसभामा परिणत भयो। कोणसभामा बोल्दै मधेशी अगुवाहरुले भोलिदेखि आन्दोलन सशस्त्र पार्ने चेतावनी दिएका छन्।
मेधशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विष्णु गुप्ताले मधेश विरोधी सरकारले राउतलाई पक्रेर मधेशीमाथि अन्याय गरेको बताए। उनले आक्रोसित हुँदै भने, ‘राउतलाई अबिलम्ब रिहा गर्नुपर्छ। होइन भने भोलिदेखि शसक्त आन्दोलन थाल्छौं।’
यस्तै सद्भावना पार्टीका जिल्ला अध्यक्ष भरतप्रसाद साहले शान्तिपूर्ण आन्दोलनले सरकार नसुने जुनसुकै खालका आन्दोलन गर्न तयार गरेको चेतावनी दिए। उनले ८५ प्रतिशत कर मधेशबाट उठेपनि पहाडीले शासकले मधेशीमाथि दमन गर्ने गरेको बताए। यस्तै रबैया रह्यो भने भोलीको दिनमा मधेशबाट राजश्व उठाउन नदिने उनले चेतावनी दिए।
कोणसभामा बोल्दै यूवा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रामऔतार शर्माले राउतलाई रिहा नगरे पुनः मधेश आन्दोलन गर्ने चेतावनी दिए। 
उनले लहानबाटै माघ ५ गते मधेश आन्दोलन गरेको प्रसँग उल्लेख गर्दै भने, ‘मधेश आन्दोलनमा त ५ जना मात्र शहिद भयो। अबको आन्दोलन भयो भने त्यस्ता सयौं यूवा शहिद हुन तयार छ। म स्वयंम शहिद हुन तयार छु। तर मधेश स्वतन्त्र गरेर छाड्छु।’
कोणसभामा अनिल झा नेतृत्वको सद्भावना पार्टीकी नेतृ आशा पाल, नागरिक समाजका प्रताप यादब लगायतले आ आफ्नो मन्तव्य राखेका थिए। मन्तव्य राख्ने अधिकांशले राउतलाई रिहा नगरे पुनः मधेश आन्दोलन हुने चेतावनी दिएका छन्।
जुलुसको अगाडि पछाडि ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सन्तोष निरौला नेतृत्वको टोलीले घेरा हालेको थियो। जुलुसको अगाडी नेपाल प्रहरीको गाडी र सुरक्षाकर्मी थियो भने पछाडी इन्सपेक्टर निरौला स्वयंम गार्डका साथ थिए। छेउछाउमा समेत सुरक्षाकर्मी तैनाथ देखियो।
इन्सपेक्टर निरौलाले सेतोपाटीसँग भने, ‘आन्दोलनका क्रममा गलत गतिविधि हुने सम्भावना बढी हुन्छ। त्यसैले सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारेका छौं।’

सडक विस्तार कार्यलाई सुधार गर्न निर्देशन

September 21
उपत्यका सडक विस्तार कार्य उत्साहजनक नभएकाले त्यसलाई सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको छ । 
 
यही असोज मसान्तसम्म काठमाडौँ उपत्यकका सडक विस्तार आयोजनाले दुई, डिभिजन सडक कार्यालय काठमाडौँले चार र काठमाडौँ महानगरपालिकाले चार गरी करिब १० किमी सडक कालोपत्रे गर्नुपर्ने र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक चौडा गर्ने एवम् पर्खाल लगाउने कार्य करिब २० किमी गर्नुपर्नेमा काममा उत्साहजनक प्रगति नदेखिएको हो ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा अनुगमनमा गएको टोलीले सिंहदरबार, माइतीघर, बबरमहल, नयाँबानेश्वर, तिनकुने, गौशाला, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, लैनचौर, महाराजगञ्ज, गल्फुटारलगायत स्थानमा आज सडक विस्तारको अनुगमन गरेको थियो । 
 
आगामी मङ्सिर महिनामा काठमाडौँमा हुने दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) सम्मेलनलाई ध्यानमा राखी कात्तिक मसान्तसम्म उपत्यकामा सडक विस्तारको अधिकांश काम सम्पन्न गर्नुपर्ने अवस्थामा निर्माण सामग्री सहज आपूर्ति नभएकाले सडक विस्तार कार्य सुस्त भएको बताइएको छ ।
 
अनुगमनका क्रममा अझै पनि सडक विभाग, महानगरपालिका, विद्युत् प्राधिकरण, दूरसञ्चार एवम् ढल व्यवस्थापनसँग सम्बन्धित निकायको समन्वय हुन नसकेको पाइएको थियो । 
 
अनुगमनमा सचिव सुवेदीले सडकका किनारामा नयाँ खम्बाहरु गाडिसकिएको स्थानबाट तत्काल पुराना खम्बा हटाउने, सडकमा लत्रिएका, अव्यवस्थित एवम् चुडिएका तार अविलम्ब हटाउन निर्देशन दिएका छन्।
 
सार्क सम्मेलन अगावै माइतीघर मण्डलाको मर्मतसम्भार गरी व्यवस्थित र आकर्षक बनाउन, पशुपति क्षेत्रमा सडक विस्तारको कार्य सुस्त गतिमा अगाडि बढेको देखिएकाले सडक विभागले नियमित अनुगमन गरी शीघ्र कार्य सम्पन्न गर्न, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार, नक्साल, गोल्फुटार, नारायणचौर, गोङ्गबु–सामाखुशी, बालाजु चोक, सोह्रखुट्टे, कोटेश्वर तीनकुनेलगायत स्थानमा सडक विस्तार तथा सडक सफा गर्न निर्देशन दिइएको छ । 
 
नेपालमा लामो समयपछि सार्क शिखर सम्मेलन आयोजना हुन लागेकाले उपत्यकालाई एक सुन्दर, स्वच्छ र सहरका रुपमा पाहुनाको स्वागतमा उभ्याउन सबै निकायले कुनै कसर बाँकी नराखी २४ सै घण्टा काम गर्न सचिव सुवेदीले निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 
 
टोलीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख रमेशकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव लक्ष्मण अर्याल, स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीनाथ खनाल, सञ्चार मन्त्रालयका सहसचिव कविराज खनाललगायतको सहभागिता थियो । 

दुई चिनियाँ नागरिक वन कार्यालयमा चलान

September 21
रक्तचन्दनसहित पक्राउ परेका दुई चिनियाँ नागरिकलाई कानुनी प्रक्रियाका लागि जिल्ला वन कार्यालय रसुवामा चलान गरिएको छ।
 
लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार वन कार्यालयमा बुझाइएका चिनियाँ नागरिकहरुमा तासी र लिउटाङ रहेका छन्। उनीहरु गत भदौ २१ गते ६४ केजी रक्तचन्दनसहित रसुवागढी नाकामा पक्राउ परेका थिए। 
 
रक्तचन्दन राखिएको एक चिनियाँ जिपसमेत नियन्त्रणमा रहेको बताइएको छ। ती चिनियाँ नागरिक चढेको मोटर जाँचका क्रममा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र भन्सार कर्मचारीले नियन्त्रणमा लिएको निकुञ्ज कार्यालयले जनाएको छ। रासस

Saturday, September 20, 2014

कुरुलेका बाहुनको ‘क्रान्ति’ यसरी असफल भयो दसैंमा दक्षिणा बहिस्कार गर्ने असफल प्रयास

September 20
काठमाडौं । यस वर्षको बडादसैं सँघारमै आइपुगेको छ । दसैंसँगै गरिब परिवारमा खुशीमात्र होइन, छटपटी पनि सुरु हुन्छ । दसैंको गर्जो कसरी टार्ने, छोराछोरीलाई केले लुगा फर्ने, मीठो मसिनो खानपिनको प्रवन्ध कसरी गर्ने, अनि टीको लगाउन आउने नातेदारलाई दक्षिणा कहाँबाट जुटाउने ? छिमेकी र आफन्तका अगाडि ‘इज्जत’ कसरी धान्ने ?
kurule-7यिनै पिरलोका कारण दसैंलाई कम खर्चिलो बनाउन धनकुटाको कुरुले तेनुपाका ब्राह्मणहरुले दसैंमा टीका लगाउँदा कोसेली र दक्षिणा (पैसा) आदान-प्रदान गर्न नपाउने अभियान चलाएका थिए । यद्यपि उनीहरुको त्यो सुधार अभियान सफल भएन ।
कुरुले तेनुपाको यही डाँडोले पाँचथर र धनकुटालाई एकापसमा जोडेको छ ।
कुरुले तेनुपाको यही डाँडोले पाँचथर र धनकुटालाई एकापसमा जोडेको छ ।
कुरुले तेनुपा धनकुटाको दक्षिणीपूर्वी भागमा तमोर नदीदेखि मुढेबासको लेकसम्म फैलिएको विकट पहाडी गाविस हो । पाँचथरसँग सीमा जोडिएको यो गाविसलाई ब्राह्मणहरु ब्रह्मस्थलोका रुपमा व्याख्या गर्छन् । धुरन्धर पण्डितहरुको बसोबास रहेको यो गाविस अहिले पनि शिक्षामा धनकुटा जिल्लाकै सबैभन्दा अग्रणी मानिन्छ । यही कारण यहाँका मानिसहरुको चेतनास्तर पनि उच्च छ ।
विगतमा लिम्बुवान अन्तरगत चौबीस थुमभित्र पर्ने कुरुले तेनुपामा क्षेत्री, लिम्बु, मगर, तामाङ र दलित समुदायको पनि छासमिस बसोबास पाइन्छ । उनीहरु आपसमा मिलेर बसेका छन् ।
लिम्बु भाषामा पेनेबा भनेको बाहुन हो । ‘पेनेबा’बाटै यो गाउँको नाम तेनुपा बन्न पुगेको कतिपयको विश्लेषण छ ।
धेरैलाई थाहा नभएको रहस्य के छ भने चर्चित गायक भक्तराज आचार्यको पुख्र्यौली थलो पनि धनकुटा जिल्लाको यही कुरुले तेनपा नै हो । भक्तराजलाई लिएर सानैमा उनकी आमा तराई झरेेकाले भक्तराजले यो गाउँमा धेरै समय बिताउन पाएनन् ।
 हिन्दुधर्ममा दृढ आस्था राख्ने डम्बरु पौडेल सुधारवादका पक्षपाती हुन्
हिन्दुधर्ममा दृढ आस्था राख्ने डम्बरु पौडेल सुधारवादका पक्षपाती हुन्
दसैंमा दक्षिणा बहिस्कार किन ?
कुरुले तेनुपाबाट मोरङको केराबारी गाविसमा बसाइँ सरेका डम्बरु पौडेलका अनुसार उनीहरुले टीका लगाउँदा दक्षिणा लेनदेन रोक्ने निर्णय गरेका थिए । तर, त्यो अभियान असफल भयो । त्यसको केही वर्षपछि फेरि त्यस्तो अभियान चल्यो, तैपनि सफल भएन ।
‘अग्निप्रसाद बराल र मलगायत केही व्यक्तिले दसैंमा टीका लगाउन आउनेलाई पैसा दिएनौं,’ पौडेलले पुरानो इतिहास सम्झँदै भने- ‘तर, केही मान्छेले लुकाई-लुुकाई पैसा दिन थालेछन्, दक्षिणा नदिने त हामी केही घरमात्रै पो भएछौं ।’
यो अभियानको महत्व सम्झाउँदै उनले भने, ‘दसैंको टीका मान्यजनका हातबाट आशिर्वादका लागि लगाइन्छ, तर यसमा पैसाको लेनदेनले महत्व पाउँदै आएको छ । गरीवले कसरी पैसा दिएर सक्छ ?’
टीका लगाउने क्रममा पैसाको लेनदेन गर्दा आफन्तवीचमै विभेद हुने भन्दै पैसा हुने र नहुनेवीच भेदभाव बढ्नेे पौडेलको बुझाइ छ ।
दसैंमा पैसाको लेनदेन नगरी टीकामात्रै लगाइनुपर्ने पौडेलको भनाइ छ ।
युवा उमेरमै दसैं सुधार अभियान चलाएका पौडेल अहिले बुढेकालमा पनि जोसिँदै भन्छन्-‘अहिले पनि साथ पाएदेखि दसैंमा दक्षिणा नलिने अभियान फेरि चलाउन म तयार छु ।’
कुरुलेबाट उत्तरतर्फ मनोरम कुम्भकर्ण हिमाल देखिन्छ ।
कुरुलेबाट उत्तरतर्फ मनोरम कुम्भकर्ण हिमाल देखिन्छ ।
पूर्वेली क्षेत्री बाहुनको चलन
पूर्वी नेपालको ब्राह्मण र क्षत्रीय समाजमा दसैंको टीका थाप्न आउने छोरीचेली, भतिजा-भतिजी र भाञ्जा-भाञ्जी एवं ज्वाइँ नाता पर्ने आफन्तलाई टीका लगाएपछि दक्षिणास्वरुप नगद उपलब्ध गराउनुपर्छ ।
यसरी दिइने नगद थोरै हुँदा दातालाई अप्ठ्यारो लाग्ने र धेरै दिँदा खर्चले धान्न नसक्ने समस्याले ब्राह्मण समुदाय ग्रस्त छ ।
पूर्वी नेपालका ब्राहमणहरुमा छोरा वा भतिजाहरुले बुबाआमा वा हजुरबा हजुरआमासँग टीका लगाउँदा टीको लगाइदिने मान्यजनलाई पैसा दिनुपर्ने प्रचलन छ । तर, यो प्रचलन विस्तारै हट्दै गएको छ । यद्यपि चेलीबेटी र भाञ्जाभाञ्जीसँग भने टीकासँगै पैसाको लेनदेन गर्ने प्रचलन भने व्यापक बन्दै गएको छ ।
गरीब समुदायमा यो समस्याले बढी नै सताएपछि कुरुलेका बाहुनहरुले दक्षिणा ले्नदेन नगर्ने अभियान चलाएको पौडेल बताउँछन् ।
दक्षिणाका साथै टीका लगाउन जाने ठाउँमा अनिवार्यरुपमा कोसेली बोक्नुपर्ने चलनले पनि दसैंलाई अनावश्यकरुपमा बोझिलो बनाएको उनी बताउँछन् ।
त्यसो त दसैंमा मावली गएर पैसा कमाउने भन्दै वालबच्चाहरु हौसिने गरेका छन् । तर, यो प्रचलनले विपन्न परिवारका प्रौढहरुलाई पुर्‍याएको सकसबारे वालवालिकाहरु अनभिज्ञ छन् ।
ब्रह्मस्थलो भनिएको कुरुलेमा विभिन्न जातजातिको  राम्रो घुलमिल छ
ब्रह्मस्थलो भनिएको कुरुलेमा विभिन्न जातजातिको राम्रो घुलमिल छ
हलो जोत्ने क्रान्ति
त्यसो त सामान्य खेती किसानी गरेर जीवन बिताइरहेका पौडेलले कुरुले तेनुपामा रहँदा दौरा लगाएर खाना खाने अभियान पनि नचलाएका होइनन् । त्यसो गर्दा पुरानो सोचाइ भएका ब्राह्मणहरुले जात काढ्ने धम्कीसमेत दिएको उनी सम्झन्छन् ।
‘त्यसबेला बाहुनले हलो जोत्न नहुने चलन थियो, हामी युवाहरुले नै यो अभियान चलाएका हौं,’ हिन्दु समुदायमा सुधारवादीे अभियान चलाएका पौडेलले अनलाइनखबरसँग भने ।
कुरुलेको भैंसेमा नागबेली आकारमा बगेको तमोर नदी । यो पानी स्थानीयवासीको उपयोगमा आउन सकेको छैन
कुरुलेको भैंसेमा नागबेली आकारमा बगेको तमोर नदी । यो पानी स्थानीयवासीको उपयोगमा आउन सकेको छैन
रित्तियो कुरुले तेनुपा
भक्तराज आचार्यले बाल्यकालमै छाडेको कुरुले तेनुपा यतिबेला बसाइँ सराइका कारण उजाडिन थालेको छ । खानेपानीका मुहानहरु सुक्दै गएपछि मानिसहरु धमाधम तराई वा अन्यत्र बसाइँ सर्न थालेको पूर्वसभासद हेमराज भण्डारी बताउँछन् ।
एमाओवादीका युवा नेता भण्डारी पनि कुरुले तेनुपामै जन्मिएका हुन् । त्यसो त विश्वभाषा क्याम्पसमा अंग्रेजी विषय पढाउने गणेश बराल र नेपाली कांग्रेसका नेता अरुण सुवेदी पनि धनकुटाको कुरुले तेनुपाकै हुन् ।
गाउँ रित्तो हुन थाले पनि काठमाडौं लगायतका सहरमा छरिएका कुरुले तेनुपाबासीहरु सामाजिक गतिविधिका लागि एकै ठाउँ जमघट हुन छाडेका छैनन् । शहरमा बस्नेहरुले गाउँमा कुनै न कुनै सहयोग प्रदान गर्दै आएका छन् ।
निकै वर्ष अगाडि कुरुले तेनुपाका सुधारवादी बाहुनहरुले चलाएको दसैंमा दक्षिणा नलिने र आशिर्वाद मात्रै थाप्ने अभियान फेरि एकपटक चलाउने पो हो कि ?
समय परिवर्तनशील छ । उहिले गाउँमा यसरी हिँड्ने हुलाकीहरु अचेल तस्वीरमा मात्रै देख्न पाइन्छ ।
समय परिवर्तनशील छ । उहिले गाउँमा यसरी हिँड्ने हुलाकीहरु अचेल तस्वीरमा मात्रै देख्न पाइन्छ ।
(तस्वीर स्राेत :  कुरूले साेसाइटीकाे फेसबुकबाट )