Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Sunday, September 21, 2014

तपाईँहरू सबैजना लिडर!

September 21
लिडर। अर्थात् नेतृत्व कर्ता। यो शब्द सुन्नेबित्तिकै हाम्रो दिमागमा के आउँछ? संसारमा नाम चलेका नेता, सामाजिक काममा लागेर उदाहरणीय काम गरेका व्यक्तिहरू, धेरै फ्यान भएका कलाकार तथा खेलाडीहरू, वैज्ञानिक आदि!तर यदि कसैले नेतृत्वकर्ताको व्याख्याको दायरालाई अहिलेको लागि ग्लोबल हैन लोकल भनेर कायम गर्दियो भने- हाम्रो लागि “लिडर” को हुन्छन्? पक्कै पनि हाम्रा देशका नेता, उद्योगपति, समाजका सम्माननीय व्यक्ति, कलाकार आदि। अझै साँघुरो रूपमा खोजी गर्न थाल्यौं भने हाम्रा आफ्नो गाउँका अगुवासम्मलाई हामी “लिडर” देख्नसक्छौँ होला तर त्यहाँ भन्दा लोकल हुन हामीलाई मुस्किल हुन्छ।
 
तर मैले आज यो लेखबाट- तपाई आफू पनि “लिडर” हो भनेर भनेँ के भन्नुहुन्छ? तपाईँ मात्रै हैन, तपाईँ वरिपरिका सबै मानिस, म, ऊ, उनी, राम, सीता सबै “लिडर” हुन् भनेर भनेँ नि? यसले पनि मोटिभेसनल सेमिनारहरूमा प्रस्तुत हुने जस्तै कुरा पो भन्ने रहेछ भनेर दिक्क मान्नु हुन्छ होला। तर मलाई मेरो एउटा अनुभव बाँड्ने मौका दिनुस्।
 
हिजो मलाई एउटा फोन आयो। चिनेको नम्बर थिएन। काठमाडौँ बाहिरको जस्तो लाग्यो। उठाएँ। उताको मान्छेले भने- ‘सागर सर नमस्कार। म फलानो।'
 
तर मैले उनलाई चिन्न सकिन। अनि उनले नै भने- “तपाईले मलाई अनामनगरमा कम्प्युटर पढाउनु भएको थियो नि।'
 
मैले लगभग ४ बर्ष अनामनगरको एउटा संस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्प्युटर पढाएँ। त्यहाँ त्यो समयमा धेरै जना व्यक्तिहरूले कम्प्युटरको तालिम लिएका थिए। मैले त्यो संस्था छोडेको नै ३ बर्ष हुन लागिसकेको थियो। ती फोन गर्ने व्यक्तिलाई सम्झन सकिन। मैले माफ मागेँ।
 
उनले भने- “केही छैन सर।मैले अहिले भैरहवा बाट कल गरेको। सरलाई कति फोन गर्न खोजेँ पुरानो नम्बरमा लागेन। फेसबुकमा खोज्न खोजेको सरको पुरा नाम नै बिर्से छु। कति प्रयास गरेपछि बल्ल यो नम्बर भेटेँ।'
 
मैले भने-'ओहो, दुख भएछ। म आजकल नया नम्बर बोक्छु। केही अर्जेन्ट थियो कि?'
 
उनले भने-'त्यस्तो अर्जेन्ट केही हैन सर। म एउटा बैकको भैरहवा शाखामा काम गर्छु आजकल। मैले त्यो बेला कम्प्युटर सिक्दा मलाई बैकमा काम गर्न मन छ भनेपछि हजुरले मेरोजब डट कम मा आफैले खाता खोलिदिएर जागिर खोज्न सिकाइदिनु भएको थियो। पछि मैले त्यहीबाट यो बैकमा जागिर खाएँ सर। तपाईलाई धन्यवाद पनि भन्न पाएको थिइन। मलाई बाटो देखाई दिनुभयो, त्यही बाटो हिँडेर मेरो जिन्दगी नै अर्कै भयो।'
 
एक्कासि आएको त्यस्तो फोनले म छक्क परेँ। उनले त्यस्तो महत्वपूर्ण मानेको क्षण मलाई भने सम्झना नै छैन। मैले कति प्रयास गर्दा पनि उनको अनुहारसमेत सम्झन सकेको छैन। त्यो बेला उनलाई कम्प्युटरबाट जागिर खोज्न सिकाउनु एउटा शिक्षकको नाताले मेरो कर्तव्य थियो। त्यसकारण मैले त्यो कुरा सामान्य ठानेँ र बिर्सेँ। उनले भने त्यो घटनालाई जीवन परिवर्तन गर्ने मोड माने र त्यो मोडमा डोर्याउने मलाई गुरु माने। हामी सबैले नै अरूको लागि यस्ता साना काम त कति पल्ट गरेका हुन्छौं। तर मैले जस्तै त्यसलाई सामान्य ठानेर बिर्सिन्छौं पनि। फरक यत्ति हो, ती मान्छेले मलाई मैले गरेको त्यो कामले उनको जीवनमा कसरी परिवर्तन ल्याउन सक्यो भनेर सुनाए अनि मैले गर्व गर्न सकेँ।
 
हाम्रो लागी “लिडर” त्यस्तो लक्ष्य हो जुन हामी भविष्यमा हुने कल्पना गर्छौं। तर हामी वर्तमानको हाम्रो अवस्थालाई “लिडर” मान्न सक्दैनौ। किनभने हामीले गरेको कामको प्रभावको बारे प्रभावित हुने मान्छेले स्वयं आएर नभनेसम्म हामीलाई थाहा नै हुँदैन। फेरि हाम्रो समाजमा धन्यवाद भन्ने चलनै पनि कम छ। यसकारण हामीलाई हाम्रो नेतृत्व भूमिकाका बारेमा अन्योल हुनु स्वाभाविक हो। तर यसो भन्दैमा हामीले गरेको काम हराएर जाँदैन।
 
मैले भन्नु पर्दा मेरा लागि ती अनगिन्ती मान्छे “लिडर” हुन् जसले उकालोमा मेरो व्हिलचियर ठेल्दिन सहयोग गरे जसको कारणले म मेरो गन्तव्य पुग्न सकेँ। गन्तव्य पुग्न सक्नु पनि मेरो जिन्दगी परिवर्तन गर्न मद्दत गर्ने एउटा पाटो हो। मेरो लागि नेपाल आर्मीका ती एकजना सिपाही पनि “लिडर” हुन् जसले पोहोर साल घनघोर वर्षामा मलाई सकुशल घर पुर्‍याइदिए, मलाई सडकमै पानी जमेर बनेका खोलामा डुब्न दिएनन्। तर न ती मान्छेहरूलाई, न ती सिपाहीलाई उनीहरूले मलाई कत्रो गुन लाए भनेर थाहा होला किन भने उनीहरूले त त्यसलाई आफ्नो ड्युटी वा सानो सहयोग सम्झेर भुलिसके होला- मैले मेरो विद्यार्थीलाई मेरोजब डट कम चलाउन सिकाएको कुरा बिर्से जस्तै। मैले उनीहरूलाई गएर यो कुरा भन्न नसकेकाले उनीहरूले “लिडर” भएको अनुभव गर्न नपाएका हुन्, “लिडर” नै नभएका भने हैनन्।
 
हामी “लिडर” भनेको संसार परिवर्तन गर्ने हुनुपर्छ भन्ने सोच्छौँ।तर लिडरसिप सिकाउने एकजना प्रख्यात गुरु ड्रिउ डुडलिले आफ्नो “टेड टक” मा भन्नु भएअनुसार- 'यहाँ संसार भन्ने यस्तो कुनै चिज नै छैन। संसार भन्नु त सात अर्ब मान्छेहरूको सोच, बुझाइ र जिन्दगीहरू को बृहत चौतारी हो। त्यस कारण हामीले कुनै दिन एकजना मान्छेको सोच परिवर्तन गर्न सक्यौं भने, कुनै पनि कुरा उसलाई बुझाउन सक्यौं भने वा उसको जिन्दगीमा केही खुशी ल्याउन सक्यौं भने- बुझ्नुस्, यो संसार कुनै न कुनै रूपमा परिवर्तन भयो ।'
 
तपाईको जीवनमा पनि कसैले नजानेर नै केही मद्दत गरेको छ र त्यो कुराले तपाईको जीवनमा खुशी ल्याएको छ भने उसलाई थाह दिनुस् कि ऊ एउटा “लिडर” हो। पृथ्वी गोलो छ, सबैको पालो आउँछ। तपाईले अरूलाई ऊ नेतृत्वकर्ता हो भनेर बुझाउँदै गर्दा, तपाईले पनि थाहा नपाई मद्दत गरेको कोही मान्छे तपाई सामु पनि आउनेछ- मलाई हिजो आएको कलजस्तो। अनि त्यो बेला तपाईले पनि म जस्तै बुझ्नु हुनेछ, हामी सबै नेतृत्वकर्ता हौं। 'लिडर'रहौं।
तपाईँहरू सबै जना लिडरहरूलाई मेरो साधुवाद!

नेपाल कसैको पेवा होइन, नेपाल हाम्रो डेरा होइन

September 20

दिल निशानी मगर 

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको टुप्पोमा पाइला टेकाए भन्दैमा सगरमाथा शेर्पा र हिलारी समुदायको हुँदैनl अमेरिकी नागरिक नील आर्म्स्ट्रङ सबैभन्दा पहिले चन्द्रमामा ओर्लिए भन्दैमा चन्द्रमा न अमेरिकाको हुन्छ, न आर्म्स्ट्रङ परिवारकोl हामी खस,बाहुन लिम्बु,मगर वा अझ यसो भनौँ चार जात छत्तीस वर्णका बासिन्दा जो जहाँबाट पहिलोपटक वा निकैपछि नेपाल प्रवेश गरे पनि हामी केवल नेपाली हौँl 

 
नेपाल कुनै एक जातको 'पेवा' होइनl नेपाल त बहुजातको एक्ली आमा हुन्l हामीसँग वंशजको आधारमा वा जन्मको आधारमा नेपाली हुनुको अर्को विकल्प देखिँदैनl नेपालमा खुम्बुवान, लिम्बुवान, खसान वा मगराँत हुनु भनेको अवैज्ञानिक कुरा होl युगविपरीत सन्दर्भ होl देश भनेको आमा होl आमालाई भागबन्डा लगाउन किमार्थ मिल्दैनl खै कताबाट झुल्किएका सिके राउतले आमालाई अश्लीलतासँग जोडेर तराईलाई नेपाल होइन भनेछन्l नेपाल पुजनीय 'आमा' हुन्l नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे?
 
यदि हामी सच्चा सपुत हौँ भने आमा समान देशको सीमाना राखिनुपर्दछl हाम्रो छातीमा अखण्ड र सार्वभौम देशको सीमांकन छ कि छैन आफूलाई सोधी हेर्नुपर्छl तित्राको छाती हुनेहरु आमाको अंश खोजेर अल्लग्गै बस्न रहर गर्दछन्l आमाको झुपडीसँग तिनलाई शरम हुन्छl मलाई त यस्तो लाग्छ-नेपाल हाम्रो डेरा होइन घर नै हो, अनि हाम्रो घर नेपाल पुजनीय 'आमा' हो।
 
मेरो देश कुनै क्यालकुलेटरको 'डिस्प्ले' होइन l देशबासीका तमाम अंकगणितीय चाहनाको खातिर जोडघटाउ भागफल गुणनफलको हिसाबकिताब निकाल्न सख्त मनाही छ मेरो देशलाईl थाहा छैन हामी काला ब्यापारीजस्ता नागरिक कतिखेर असल नागरिक बन्न थाल्नेछौँl नेपाली आमाको थुन चुसेर छाती उघारेको एउटा लक्का ठिटो जम्मुकाश्मिरको कुनै पहाडमा छाती थापेर तल्लीन छ महाभारत जोगाउनl यता हाम्रो दसगजाको जंगे पिल्लर उखेलिएको छl
 
हामीलाई हाम्रो जंगे पिल्लर चाहिँदैन? लिम्बुवान भए पुग्छ? हामीलाई हाम्रो आमाको इज्जत चाहिँदैन? मगरात भए पुग्छ? बेलायती महारानी एलिजाबेथ क साम्राज्य जोगाउन बन्दुक र हेल्मेट उचालेर उभिएको कुनै सपुतलाई आफ्नै आमाको ख्याल लाग्छ होला कि लाग्दैन होला मलाई थाहा छैनl मलाई यतिखेर भूपी शेरचनको एउटा कविता याद आउँछ- 'हामी बुद्धु छौँ र वीर छौँ, बुद्धु नभइकन हामी वीर बन्न सक्दैनौँ।'
 
हामीले हाम्रो पहिचान र स्वार्थको लागि आमाको मुटु टुक्र्याउनु हुँदैनl देशलाई काक्राजस्तै चिर्नु महापाप होl हाम्रो पहिचान खोतल्दै गयौं भने हामी बाँदर युगमा पुग्नेछौंl अनि पुच्छर पलाएको हुनेछl हामी ओडारमा बस्नेछौं र मक्करकाँजीको जरा उखालेर पेट भर्ने छौंl हामीसँग सलाईको काँटी हुनेछैनl डल्सिन पत्थरको झिल्को पारेर आगो सल्काउने छौँl हामी नङ काट्ने छैनौँl हामी दाँत माझ्ने छैनौँl चुल्ठो काट्ने छैनौँl हामी रुखका पातहरु गाँसेर आँङ ढाक्ने छौँl मृगका छालाहरु काडेर टोपी बनाउने छौँl मान्छेको प्राचीन परिचय अनि पहिचान भनेको यही हो। यहाँभन्दा पनि अझै टाढाको पहिचान खोज्ने हो भने हामी एककोषीय जीव भइन्छl अमिबा भइन्छl अझ सबैभन्दा टाढाको अन्तिम पहिचान खोज्ने हो भने यो पृथ्वीलाई उचालेर सूर्यसँग गाँस्न पर्छl यो युगमा आफ्नो पहिचान जोगाउन आफ्नै नामको राज्य माग्नु मुर्खता होl 
 
हामी मुलबासीभन्दा अगाडि मुलुकबासी हौँ। हामी गुरुङ, मगर, राई वा खसभन्दा अगाडि नेपाली हौँ। हाम्रो उस्तै आमाको स्तन चुसेर हामी गोर्खाली भएका हौँl पहिचानको अधिकार पाउने बहानामा 'आमा' लाई भागफल लगाउनुभन्दा हामी दुनियाँको गतिसँग परिवर्तन हुन सिकौँl मान्छेको चेतना विवेकशील छ र ऊ परिवर्तन हुन चाहन्छl केवल मुर्खहरु आफ्नो ढिपी कसेर सुतेका हुन्छन्। संसारमा जति पनि मान्छे परिवर्तन भएका छन्, ती विवेकशील छन्l बुद्दु मान्छे परिवर्तन हुन चाहँदैनl केवल पुर्खाको पहिचान बेचेर खान खोज्छl आमालाई डलरमा बेचेर अन्नपानी रुपैयाँमा किन्नेहरु राष्टघाती हुन्l
 
आफ्नो पुर्खाको भजन गाउँदै सानो भुमिमा खुम्चिनु हुँदैनl यो संसारमा के परिवर्तन भएको छैन? जलवायु परिवर्तन भएको छl आँधीका गतिहरु परिवर्तन भएका छन्l सुनामी बग्ने दिशा परिवर्तन भएको छl मान्छेको समुदाय पनि परिवर्तन भएको छl पहिचान ठूलो कुरा होइन, परिवर्तन ठूलो कुरा होl सबैभन्दा ठूलो कुरा परिवर्तन हो। हामी पनि परिवर्तन हुन सिकौँ। युगसुहाउँदो समाज निर्माणको निम्ति आआफ्नो ठाउँबाट पहल गरौँl आफ्नो जातको राज्यमा राजा बन्ने कोशिस नगरौँl
 
म मगर हुँ। मगरातको सानो भुमिमा हामी खुम्चिने हैनl नेपाल नै हाम्रो बनाउने होl हामीजस्तो ठूलो छाती भएको मानिस सानो भुमिमा खुम्चिएर बस्न सक्दैनौँl कम्तीमा पनि म सक्दिनँl म संसारलाई हल्लाउन चाहन्छुl इतिहासको किताबमा लेखियोस् न, मगरले संसार हल्लायो भनेरl
 
मगराती छातीको चौडाइ र लम्बाइ मागेर खाने होइन, पुस्ताको नाम भजाएर आफ्नो छाक टार्ने होइन हामीलेl हामीलाई भुगोलको सानो भुमिमा कैद गर्नु भनेको हाम्रो छाती तित्राको भन्दा पनि सानो हुनु होl भ्यागुताको जस्तै उफ्राइ हुनु होl भ्यागुता खुब उफ्रिन्छl किनभने उसको लागि कुवा आफ्नो राज्य होl आफ्नो इलाका होl तर भ्यागुता उफ्रेर संसारको उज्यालो नजरमा कैद गर्न सक्दैनl
 
हो हामीलाई हामो भाषाको माया छl भेष भुषाको प्यार छl रितिरिवाज को स्थायीत्वको चिन्ता छl यो सब चिन्ता बटुलेर देशको छातीमा आगो बाल्ने काम नगरौँl
 
धर्तीका सबै पहिचान सधैँभरी उस्तै अस्तित्वमा रहन सक्दैनन्l डायानोसर लोप भयोl ऊ लोप हुनु मा ऊ कारक होइनl ऊ लोप हुनु धर्तीको जैविक नियम होl 
के हामी मानिस जीवविज्ञानभन्दा बाहिर छौँ? पुरानो ठाउँमा नयाँ वस्तु वा चिजले स्थान पाउँदैन?
अब केही घलेहरु फेरि बोल्न सक्छन्- हामीलाई दौडन देऊ,हामीलाई राजा हुन देऊ, हाम्रो पहिचान घलेदौड हो। गोर्खा हाम्रो होl हुन पनि हो १७औँ शताब्दीमा लमजुङे राजा यसोब्रम्हका छोरा द्रब्य शाहले सो दौडमा प्रथम भई राजा भएको इतिहास अहिले पनि साक्षी छ।
 
सबैले ऐतिहासिक पृष्ठभूमिको आधारमा अधिकार खोज्ने हो भने मलाई पनि राजा हुन मन छl गोर्खामा तत्काल घले दौडको आयोजना गर्नुपर्छl म भरतबहादुर बिसुरालभन्दा पनि तगडा कुद्छु र गोर्खाको नयाँ राजा बन्छुl अहिले हाम्रो किराँत वंशका पहिचानबादी आन्दोलनकारीको असान्दर्भिक माग भनेकै यही होl उनीहरुलाई लिम्बुको राजा ब्युँताउन परेको छl उनीहरुलाई किरात वंशको झैँ हैकम चलाउनु छl तर तिनलाई थाहा हुन पर्ने हो, परिवर्तनशील संसार डिजिटल भैसकेको छl
 
नेपाल सानो छ। तर हाम्रा माग ठूला छन्। सबैलाई जमिन भाग लगाउनु छ र आफू अझै सानो भएर खुम्चिनु छ। हामीलाई सीमा स्तम्भ हराएकोमा पिर छैन, दौरासुरुवाल लगाउने चलन हराएकोमा पिर छ। मानौँ दौरासुरुवाल रहेमा देश रहन्छ, सीमा रहिरहनु पर्दैन। कस्तो नियति हो यो? देशभन्दा ठूलो एक जोर लुगा। एक थान बाजा। एक थान भाषा। जसरी बुद्ध जन्मेको भारतमा हो भनेर अफवाह फैलँदा सम्पूर्ण नेपालीको खुन उम्लेर आउँछ, त्यसरी नै धरान-धनकुटा किराँतीको हो भन्दा मलाई पनि खुन उम्लेर आँउछ, किनभने भुमि भनेको भगवान पनि हो। भुमि भनेको पुजनीय आमा होl
 
हामी गरिब हुनुको मुख्य कारण-बहुजाति, बहुभाषा र बहुधर्म पनि एक होl यी तीन चिजलाई सही ब्यबस्थापन नगरे दलित, हरुवा, चरुवालाई सामाजिक बन्धनबाट मुक्त गर्न सकिँदैनl अन्य जनजातिमा दम्भ र अहमताको भावना अन्त्य हुँदैनl त्यसैले कुनै पनि जात विशेष प्राथमिकतामा रहनु हुँदैनl पुँजीवादको बिरोधी शक्ति भनेका यिनै तीन दम्भ हुन्l अब यो बहुलाई हटाएर एक बनाउनुपर्दछl देशलाई एक ढिक्का अनि एक मत बनाउनुपर्दछl यस्तो सोचौँ कि- नेपाल चार जात छत्तिस बर्णको फूलबारी होइन, एउटा जातको फूलबारी हो त्यो हो- नेपाली जातिकोl यी सबै जातिको अभिभावक नेपाल आमा हुन्।
 
नेपालमा बहुदलीय प्रजातन्त्र छl चुनाब हुन्छl अहिले त यो रिपब्लिक नेपाल भन्ने पनि आएको छl 'वाक' अधिकार छl समानुपातिक सहभागिताको अवधारणा बिकास भइसकेको छl त्यसकारण बाहुनहरु हामी आजीवन सत्तामा छौँ र जनतातिहरु हामी सत्ताभन्दा बाहिर छौँ भन्नु बेकार होl मेरो देशमा लाखौँ बाहुन राउटेको हैसियतमा छन्l सोही अनुपातमा जनजाति पनि छन्l किनभने मेरो देशमा विकासको मूल फुट्न अझै बाँकी छ।
 
हो, हामी अगाडि बढ्नुपर्छl हाम्रो समुदायको विकास हुनुपर्दछl तर हतारले होइनl अर्कोलाई उछिने महत्वाकांक्षामा सहयात्रीलाई धक्का दिएर, घोच्याएर होइन, आफू उक्लने प्रयासमा अरूको खुट्टा तानेर, अर्कालाई छिर्के हानेर होइनl अर्थात् आफनो महत्वाकाँक्षा पूर्तिका लागि उचित अनुचित सबै हतकण्डा प्रयोग गरेर, बाटो कुबाटो सबैतिर दगुरेर होइनl देश भनेको पूजनीय आमा होl 

Thursday, September 18, 2014

प्रचण्डले खेलेका फलहरु

September 18
राष्ट्रिय सहमतिको नारा कर्णप्रिय लाग्छl यो लोकप्रिय नारालाई एमोओवादी अध्यक्षले आफ्नो राजनीतिको मूलमन्त्र बनाएका छन्l उनले मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा-माओवादीलाई 'राष्ट्रिय सहमति' द्वारा संविधान निर्माण प्रक्रियामा ल्याउनु पर्ने तर्क गरेl यसैकारण, संविधान निर्माणको वैधानिक प्रक्रिया अहिले पनि अवरुद्ध छl
नेकपा-माओवादीले राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलनमा बस्ने निर्णय गर्नु जति आश्चर्यजनक थियो, त्यतिकै आश्चर्यजनक थियो मंगलबार बिहानको उसको निर्णय। अन्तिम अवस्थामा आएर उसले सम्मेलनमा भाग लिएनl
तर, राष्ट्रिय सहमतिद्वारा संविधान निर्माणको वैधानिक प्रक्रियामा ल्याइनुपर्ने नेकपा-माओवादी पार्टीको राजनीतिक दर्शन भने फरक छl राजनीतिक लेनदेनद्वारा संसदीय प्रजातन्त्रमा भाग लिनु उसको सिद्धान्त होइन। न त उसले भन्दै आएको 'जनपक्षीय संबिधान' का कुनै मुद्दा राजनीतिक सम्मेलनले सम्बोधन गर्छl वैद्य पार्टीका लागि संविधानसभा त केवल 'खसीको टाउको झुन्ड्याएर स्यालको मासु बेच्ने ठाउँ' हो, जसले एक निश्चित वर्गको प्रतिनिधित्व र स्वार्थपूर्ति गर्दछl नत्र,वैद्यले पार्टी फुटाउने थिएनन्l न त संविधानसभा निर्वाचन बहिस्कार नै गर्ने थिएl
उसो भए 'जनविद्रोह' भर्सेस 'सशस्त्र-युद्ध' को सैद्धान्तिक गोलचक्करमा फसेको वैद्य माओवादीलाई'राष्ट्रिय सहमति' द्वारा संविधान निर्माण प्रक्रियामा ल्याउनैपर्ने ढिपी किन गर्छन् त प्रचण्ड? यसको कारण हो, राजनीतिक शक्ति आर्जनका लागि वैद्य माओवादीको प्रयोगl उनीहरुलाई लाग्यो बेकामे सम्मेलनमा भाग लिनु भनेको त प्रचण्डलाई शक्तिशाली बनाउनु मात्र होl अनि हटे उनीहरु पहिलेको सम्झौताबाटl
प्रचण्डका 'फलहरु'
राजनीति शक्ति प्राप्तिका लागि खेलिने रणनीतिक खेल होl राजनीतिक खेलमा खेलाडीहरुले आफ्ना अस्त्र र सिपको भरपुर प्रयोग गर्छन्l तर खेलका निश्चित नियमका आधारित खेलिन्छl नियम मिचे'फल' हुन्छ र खेलाडी दण्डको भागिदार हुन्छl नत्र खेल अराजक हुन्छ, फुटबल मैदान युद्ध मैदानमा परिणत हुन्छl
तर खेलमा फल अपवादका रुपमा खेलिँदैन भन्ने होइनl लाभ-हानीको लेखाजोखा गरी फल खेलिन्छl यस्ता फल खेल्न सिपालु छन्, प्रचण्डl उनको राजनीतिक जीवनको उतारचढावमा प्रशस्तै यस्ता फलहरु खेले, लाभ र हानि दुवै प्राप्त गरेl
प्रचण्डले अहिलेको राजनीतिको खेलमा पनि फल खेल्दै छन्l संविधानसभाको लज्जास्पद पराजयसँगै भूमिकाबिहीन बनेका प्रचण्डले अहिले रहेको जनादेशबिरुद्ध मोर्चाबन्दी गरेका छन् भने अर्कोतर्फ उच्चस्तरीय राजनीतिक संयन्त्रको गैरसंवैधानिक माग राखी संसद अबरुद्ध गरेका छन्l अनौपचारिक संयन्त्रले जटिल राजनीतिक प्रक्रिया सहज गर्न सहयोग त गर्छ, यदि सबै पार्टीहरुको सहमति हुन्छ भनेl तर, एक्लै राजनीतिक संयन्त्रको ढोल पिट्नु प्रचण्डलाई सुहाउने कुरा होइनl
प्रचण्डले गरेका दुई मोर्चा न्दीमा पाँचदलीय मोर्चामा माओवादी विचारधारा अँगालेका नेकपा-माओवादीलगायत अन्य कम्युनिस्ट पार्टीहरु छन् भने सातदलीय मोर्चामा मधेसवादी र जातिवादी पार्टीहरुl यी दुई मोर्चाका मागहरु भने अलगअलग छन्l
पहिलो मोर्चाले संविधानसभाबाट जनसंविधान जारी नहुने हुनाले यस प्रक्रियालाई नै भंग गर्न चाहन्छ भने दोस्रोले नेपाललाई जातिवादी र क्षेत्रवादी संघीयतामा जानुपर्ने माग गर्छ, जसका अधिकांशमागहरु पूरा हुनसक्ने स्थिति छैनl के हो त प्रचण्डको उद्देश्य?
पहिलो, राजनीतिमा शक्ति संचयका लागि आफ्ना सम्पूर्ण राजनीतिक अस्त्रको प्रयोग अस्वभाविक पनि होइनl चुनावी हारसँगै तेस्रो ठूलो दलका नेता बन्न पुगेका प्रचण्डका लागि अहिलेको शक्ति सन्तुलनका आधारमा सहमतिद्वारा संविधान निर्माण गर्नु राजनीतिक रुपमा आत्मघाती हुन्छlसंसदीय व्यवस्थामा दोस्रो ठूलो दल हुँदा राजनीतिमा पुनरागमन लगभग निश्चित हुन्छl तर, तेस्रो स्थानमा पुगेको कुनै पनि दल झनै ओरालो लाग्छl पार्टीलाई पुनर्जीवन दिन उनले ठूलै कसरत गर्नु पर्छl
दोस्रो, प्रचण्ड-नेतृत्वको एमाओवादी फुटको संघारमा उभिएको छl आफ्ना योजनाअनुसार सम्पूर्ण कुरा मिल्दै गए संविधान जारी हुनेबित्तिकै उनका प्रतिद्वन्द्वी बाबुराम भट्टराईले नयाँ पार्टीको घोषणा गर्दैछन्l यस अवस्थामा संविधान निर्माणको जस संविधानसभाको प्रमुख समितिका अध्यक्ष भनेका भट्टराईले दिन चाहँदैनन्l संविधान निर्माण जारी भएको अवस्थामा उनको भूमिका बाबुराम भट्टराईको भन्दा माथि हुनुपर्छ भन्ने होl
प्रचण्डका खेलका सीमाहरु
अहिलेको सम्पूर्ण राजनीतिक प्रक्रिया भंग गर्दा उनका लागि राजनीतिमा पुनरागमन हुने सम्भावनाको बाटो खुल्छl तर, यो बाटो उनका लागि पूरै जोखिम पूर्ण छl कांग्रेस-एमालेको गठबन्धनले दुई-तिहाइ बहुमतद्वारा संविधान जारी गर्ने सम्भावना अधिक रहन्छl दोस्रो, केही गरी संविधानसभा भंग भएको दोष पनि उनैलाई जान सक्छl तसर्थ, यस बाटोमा प्रचण्ड हिँड्ने सम्भावना न्यून छl
संविधान जारी गर्ने समय घर्कँदै गर्दा प्रचण्डका विकल्पहरु कम हुँदैछन्l राजनीतिक प्रक्रिया लम्ब्याउन चलेका गोटीहरु पनि खासै काम लागेनन्l उनले फल खेलेर खेल मैदानलाई युद्धमैदानमा परिणत गर्न सक्ने स्थिति देखिँदैनl
उनका लागि सबैभन्दा उत्तम विकल्प नै विगतमा एमाले हिँडेको बाटोमा हिँड्नु होl २०४७ सालको संविधानमा एमालेले झैं, पनि नयाँ संविधानमा आलोचनात्मक समर्थन गर्नु वा नोट अफ डिसेन्ट लेख्नु उनको बाटो होl र, अन्य दलले पनि विघटित संविधानसभाबाट सिक्नु होl राष्ट्रिय सहमतिको मन्त्रलेविगतको संविधानसभा भंग भयोl अब पालो आएको छ, संवैधानिक प्रक्रियाकोl

Sunday, September 14, 2014

न्याय खोज्दै खालि खुट्टै सर्वोच्च आइपुगेकी देहाती महिला

September 14
टेलिकोसाको पातलो धोती। मिस्कट कपडाको क्वाटर बाउले टिसर्ट। धोतीको सप्कोले टाउको र ज्यान ढाकिएको। फुकिढल ज्यान, चाउरिएको सानो अनुहार।
यस्तो पहिरन र रुपरंगमा फतमा खातुन खालि खुट्टा रौतहटको गौरदेखि सर्वोच्च अदालत जान मंगलबार साँझ बस चढेकी थिइन्।
बुधबार एकाबिहानै कलंकी आइपुगेकी फतमालाई सर्वोच्चको ठेगाना पत्तो थिएन। कुनै सार्वजनिक बस चढेर माइतीघर ओर्लिन। तर कहाँ जाने अझै मेसो पाइनन्।
उनको हातमा ठेगानाको नाउँमा आफ्ना वकिल सतीष झाको भिजिटिङ कार्ड थियो। त्यहाँ नम्बर थियो, तर फोन गर्न जान्दिनथिन्।
कसैलाई केही सोध्ने हो भने उनको भाषा बुझ्ने मान्छे थिएनन्।
फतमा माइतीघरको सडकपेटीमा बसेर रुन थालिन्।
वीरगंज घर भएका फैजुल्लाह मियाँ ठकुराई त्यही बाटो हिँडिरहेका थिए। उनी पनि माइतीघर आफ्ना वकिलको ल फर्म जाँदै थिए।
उनैले फतमालाई भोजपुरीमा सोधे, ‘किन रोएको?’
‘मलाई वकिलसँग भेट्नु छ, उसको डेरा कहाँ छ थाहा छैन।’
उनले सबै कुरा बताइन्। अघिल्लो बिहानदेखि उनको मुखमा केही परेको थिएन। फैजुल्लाहले माइतीघरकै एउटा पसलमा लगेर चियाबिस्कुट खुवाए।
फतमाले वकिलको भिजिटिङ कार्ड दिइन्। फैजुल्लाहले फोन गरिदिए र सर्वोच्च अदालतसम्म लगिदिए।
आफ्ना श्रीमानले छोडेर गएको ६ कट्ठा पुख्र्यौली जमिन अर्कैले दाबी गरेपछि १२ वर्ष यता फतमा यसरी अदालतको चक्कर काटिरहेकी छिन्।
...
बुधवार, दिउँसो १२ बजे। सर्वोच्च अदालतको १० नम्बर इजलास। इजलासमा न्यायाधीशबाहेक कर्मचारी, वकिल र सेवाग्राही मात्रै थिए।
त्यहाँअघि नै देखि बसेकी थिइन्, फतमा खातुन।
हातमा सर्वोच्चले नै दिएको तारेखबुक छ, गुलाबी रंगको।
त्यही गुलाबी बुक कर्मचारीलाई देखाएर उनले यो इजलासमा आफ्नो मुद्दा परेको थाहा पाइन्।
उनका आँखाले इजलासमा कसैलाई खोजिरहेका थिए।
न्यायाधीश चोलेन्द्रशमशेर जबरा आइपुगे। फतमाको मुद्दा न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासमा परेको थियो।
अझै पनि फतमाको मन शान्त भएन। आँखा डुलाइरहिन्।
फेरि उनी बाहिर निस्किन।
ढोकैमा उनका वकिलसँगै काम गर्ने अर्का वकिल भेटिए। शैलेन्द्रप्रसाद यादव।
उनलाई देखेर फतमाका आँखाबाट बलिन्द्र आँसु झरे। अघिदेखि नै उनले खोजेको शैलेन्द्रलाई नै रैछ।
भोजपुरी भाषामा उनले शैलेन्द्रलाई यसबेला सम्म किन नआएको भनेर सोधिन्। ‘म कति आत्तिएँ, तिमीहरुको डेरा पनि मलाई थाहा छैन,’ उनले भोजपुरीमै अझ धेरै कुरा भनिन्।
उनी कति आत्तिएकी थिइन् भन्ने उनका आँसु र अनुहारले बताउँथ्यो।
शैलेन्द्रले भने, ‘अरु कसैलाई वारिस राख्नुस्, यस्ती बुढीमान्छे दुःख हुन्छ।’
‘छोराले मुद्दा नलड भन्छन्, म तिनीहरुलाई विश्वास गर्दिन।’
उनी यति भनेर फेरि इजलासमा गइन्, आफ्नो मुद्दाको पालो कुर्न।
उनलाई इजलासमा परेपछि आफ्नो मुद्दामा केही होला कि भन्ने आश थियो। तर उनको मुद्दाको पालो आउँदैन भनिरहेका थिए शैलेन्द्र। यो कुरा उनले फतममालाई राम्ररी बुझाइदिएनन्।
करिब आधा घण्टापछि, फेरि उही इजलास।
उनी इजलास अधिकृतको नजिकै गइन्। फतमाको हातमा नेपाली कागजको एउटा निवेदन र त्यही गुलाबी बुक थियो।
त्यो निवेदनमा वैतनिक वकिल राखिपाउँ भन्ने बेहोरा लेखेको थियो जुन शैलेन्द्रले लेखिदिएका थिए। उनले पैसा तिरेर वकिल राख्न नसक्ने भएकोले सर्वोच्चले दिएको सुविधाका लागि सुझाइदिएका थिए शैलेन्द्रले।
रुँदै रुँदै उनले इजलास अधिकृतलाई भोजपुरीमै आफ्नो मुद्दा हेरिदिन भनिन्।
‘न्यायाधीशलाई देखाउनुस्,’ ती कर्मचारीले हिन्दीमा भने।
इजलासबाटै न्यायाधीश राणाले तल फाँटमा गएर कुरा गर्न भनिदिए।
ती कर्मचारीले आफ्नो पछि आउन भने।
फतमा उनकै पछि लागिन्। सर्वोच्चको तल्लो तलाको दोहोर्‍याइ पाउँ भन्ने शाखाअघि बस्न लगाएर ती कर्मचारी भीडमा कतै बिलाए।
न्यायाधीशले के भने ? किन भने भन्ने थाहै पाइनन्। कतिबेर कुर्न पर्ने हो र अब के गर्न पर्ने पनि थाहा छैन। न भाषा बुझ्छिन्। उनी कुर्सीमा बसिन्।
बिहान उनलाई सहयोग गरेका फैजुल्लाह आइपुगे। उनी नेपाली पनि बुझ्दा रैछन्।
फैजुल्लाहकै सहयोगमा उनले आफ्नो कहानी सुनाइन्।
आफ्ना छोराहरु सानै हुँदा श्रीमानले छोडेर गए। त्यही ६ कट्ठा जमिन खोस्रेर उनले सन्तानलाई हुर्काइन्।
वर्षौँदेखि आफूले पसिनाले भिजाएको जमिन दाबी गरेर छिमेकी इसराइल मैँसुरीले जिल्ला अदालतमा मुद्दा दिए।
जिल्ला अदालत रौतहटले फतमालाई नै जिताएको थियो तर मैसुरी पुनरावेदन अदालत हेटौँडा गए।
हेटौँडा पुनरावेदन अदालतले गएको माघमा उक्त जग्गा मैसुरीको भएको फैसला गरिदियो।
यसपालि फतमाले आफ्नो जमिनमा धान रोप्न पाइनन्। धान रोप्ने बेला उनी हेटौँडा पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा आउनुपर्‍यो।
आफ्नो खेतमा धान रोप्न नपाउनुको तोडले उनी भित्रैदेखि हल्लिएकी छन्।
‘यसपालि खेत रोप्न पनि पाइन, के खाने होला?’ उनका आँखामा फेरि आँसु छल्किए।
आफ्ना छोराहरुले सर्वोच्चमा मुद्दा लड्न नजाऊ भनेर उनलाई सम्झाएका थिए।
‘मेरो श्रीमानले छोडेको जग्गा हो म किन त्यसै छोड्छु र?’ उनले भनिन्।
उनलाई सर्वोच्च अदालतबाट आफूले मुद्दा जित्ने विश्वास छ।
‘म जित्छु,’ ढुक्कैले भनिन्।
यही मुद्दाको लागि उनले जिल्ला देखि सर्वोच्च अदालतसम्म १ लाखभन्दा बढी रकम खर्च गरिसकिन्।
असारमा उनले सर्वोच्च अदालतमा पुनरावेदन दिन आउँदा सतीष झालाई ४ हजार दिएर आफ्नो वकिल नियुक्त गरेकी थिइन््।
‘अब मसँग जग्गा पनि छैन र पैसा पनि छैन त्यो भन्दा धेरै पैसा दिन सक्दिन।’
घरिघरि उनले आफ्नो धोतीको टुप्पोमा पारेको गाँठो फुकाइरहिन्, त्यहाँ उनले केही पैसा राखेकी रैछिन्। त्यो गनिन् र फेरि गाँठो पारिन्।
कमिजमा एउटा खल्ती छ त्यहीँ उनले कागजपत्र र वकिलको भिजिटिङ कार्ड राखेकी छिन्। त्यसलाई पनि बेला छामिरहिन्।
शैलेन्द्र र उनकै लफर्मका अर्का वकिल यता उता डुलिरहेका थिए। तर उनीहरुले सबै कुरा उनलाई सम्झाइबुझाइ गरिदिएनन्।
‘यिनीहरुले त निवेदनहरु लेखिदिने मात्रै हो, वकिल त अर्को छ,’ उनले सतीषकै ल फर्मका वकिलबारे भनिन्। आफूले भर गर्ने वकिललाई त उनले देख्नसम्म पाएकी छैनन्।
नेपाली भाषा बुझ्दिनन्। अदालतमा कहाँ गएर के गर्ने थाहा छैन। वकिल हुन् कि लेखन्दास पनि थाहा छैन।
न्याय पाउने आशले मुटु दरो पारेर तराईको देहातबाट आएकी उनलाई त्यो पनि थाहा छैन, कहिलेसम्म मुद्दा लड्नु पर्ने हो।
फतमाको निवेदन हेर्न पनि न्यायाधीशले भ्याएनन्।
‘आज तपाईँको मुद्दा हेर्ने पालो आएन,’ शैलेन्द्रले ३ बजेतिर भनिदिए।
उनी आफ्नो जमिनका लागि बाँचुन्जेल लड्न तयार छिन्। अर्को पेशी थाम्न उनी फेरि मंसिर ४ गते खालि खुट्टा लिएरै आउने छिन्। सेतोपाटी बाट साभार गरियको

मधेसमा जन्मेका एक नेपाली फिल्मकर्मीको पहाडेहरुलाई प्रश्न

September 14
'आफ्नो भाषणमा मोदीले मधेश शब्द उच्चारण गरेनन्, उल्टो हिमाल, पहाड र तराई मिलेर जानुपर्ने तर्क राखे। उनले पहाडेलाई खुशी पार्ने खालका कुरा गरे। आजको दिनमा मधेशी नेपालबाट अलग हुन खोजेका हुन् भन्ने जो भावना पहाडे मूलका नेपालीमा थियो, त्यो निकै न्यून भएर गएको छ।'
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएलगत्तै सेतोपाटीमा छापिएको अजयभद्र खनालको लेखको अंश हो यो।
 
त्यसो त मोदीले नेपालमा भाषण गर्दा मधेश शब्द प्रयोग नगरेकोमा समाजिक सञ्जालमा निक्कैले 'खुशी' मनाएको देखेको थिएँ। केही पत्रपत्रिकाले पनि यस्तै आशयको समाचार छापे। कनकदाइ (हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित) ले त भारतीय प्रधानमन्त्रीको भ्रमणअघि नै हिन्दुस्तान टाइम्सबाट मधेशीलाई चूप लगाई दिन गुहार मागिसक्नु भएको थियो।
 
तर पनि अजयभद्र खनालका शब्दहरूले मलाई सोचमग्न बनाए। कस्तो समाजमा जन्मिएछ? मनै कुँढिएर आयो!
 
मैले अलिअलि जान्ने भएदेखि नै 'म पनि नेपाली नै हुँ' भनेर पटकपटक पुष्टि गर्नुपरेको छ। 'नेपाली मूलधारको समाज' मा घुलमिल हुन आवश्यक सबै कुरा सिकें, जानेँ र गरेँ पनि। तर छालाको रङ फेर्न सकिनँ।
 
म मेरो मातृभाषा अर्थात् मेरी आमाको भाषा मैथिलीभन्दा निकै राम्रो नेपाली बोल्छु। लेख्न त मैथिलीमा जान्दिन नै भने हुन्छ। नेपालीमा पत्रकारिता गरेको हुँ। नाटक, फिल्म र टिभी सिरिज बनाएको हुँ र बनाउँछु। तर, आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको सामाजिक नवीकरण गरिरहनु पर्ने पीडाले अमेरिकामा पनि छोडेको छैन। कुनै पनि जमघटमा 'भाइको नेपाली त राम्रो रहेछ। छुट्याउनै सकेको थिइन मैले त' भन्ने प्रंशसा पाइएला भन्ने डर लागिरहन्छ। अस्ति भर्खरमात्रै हेटौडामा हुर्केकी, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी, एक जना मित्रकी श्रीमतीले 'मदिशेहरू पनि नेपाली नै हो र?' भन्ने प्रश्न गरिन्! 'म त नेपाल आएर बसेको इन्डियनहरू पो होला भन्ठानेको।' हेटौँडामा हुर्केको व्यक्तिको त्यस्तो ज्ञान देखेर म तीन छक्क परेँ। दोष उनको हो कि, 'नेपालीपन' पढाउने हाम्रो राष्ट्रिय नीतिको,गम्भीर किसिमले अल्मलिएको थिएँ।
 
दक्षिणी सिमाना पारिकाहरूसँग हाम्रो रूपरङ, रहनसहन, संस्कृति र भाषा मिलेकै कारण मधेशीहरूलाई 'भारतीय आप्रवासी' का रूपमा हेर्नेहरूलाई पहाडको सिमाना पारिको जनजीवन, रूपरङ, संस्कृति र भाषा पनि हेर न भन्न मन लाग्छ। मेरो मातृभाषा मैथिलीमात्र होइन, भारतमा नेपाली पनि बोलिन्छ। बोलिने मात्र होइन, नेपाली भाषा पनि भारतीय संविधानमा राष्ट्रभाषाको रूपमा सूचीकृत छ। मेची-महाकाली वारपारको रहनसहन र संस्कृति मधेशकै सीमा वारपार जत्तिकै साझा छ। बिहेको मौसममा सिमाना वारिपारि गर्ने जन्ती पनि उत्तिकै बाक्ला हन्छन्। उत्तरी सीमान्त क्षेत्रका नेपालीहरूको पनि तिब्बतीसँग रूपरङ,रहनसहन, भाषा, धर्ममिल्छ र विहेबारी पनि चल्छ। बसाइँसराइ त मधेशमा भन्दा पहाडमा धेरै होला, किनभने पहाडी सीमा पारकाहरूको अनुहार 'इण्डियनको जस्तो होइन, नेपालीको जस्तो हुन्छ।' यो नागरिकता बाँड्ने प्रशासकहरूको व्यवहारबाट पटकपटक देखिएको कुरा हो।
 
जान्ने-सुन्ने र सबैलाई समानताको आँखाले हेर्छौँ भन्ने पत्रकारहरूबाट पनि प्रसस्त भेदभाव हुन्छ। गीतान्जली थापाहरूले भारतीय राष्ट्रिय पुरस्कार पाउँदा किन पहाडका नेपालीले गर्व मान्नु परेको हो र किन ती कुरा नेपाली मूलधारका ठूला पत्रिकाका लागि महत्वपूर्ण समाचार बनेको हो। मैले कहिल्यै बुझिन। तर मैथिलीभाषी मनोज बाजपेयीले भारतीय राष्ट्रिय पुरस्कार पाउँदा कुनै पनि मधेशीले उसलाई आफ्नो ठानेर नाक फुलाउँछ भन्ने मलाई लाग्दैन। र, कदाचित उनीहरूले 'मैथिलबेटा मनोज बाजपेयी..(को विजयमा हामी समस्त मैथिलहरू गौरवान्वित छौँ)' भनेभने नेपाली सञ्चार माध्यमले कसरी हेर्छन्? म अनुमानसम्म गर्न सक्दिन। एकथरि नेपालीले करोडौँ खर्चेर प्रशान्त तामाङलाई “इण्डियन आइडल” बनाए। भाषाको साइनो उस्तै हो, तर मधेशीहरू अमित पाललाई भोट हाल्न गएनन्। यस्ता धेरै कुराका आधारमा हिसाब गरौँ न, को भारतसित बढी निकट र बढी आश्रित छ? को आफ्नै देशका मानिसहरूलाई भन्दा भारतीयहरूलाई काखी च्याप्छ? अनि यी सबैकुरा हिसाब गरेर कुनै मधेशीले “तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादी कसरी हुन्छ? तिम्रो पहाड चाहिं तिब्बत या भारतमा गाभिने डर नहुने, मेरो मधेश मात्र भारतमा गाभिने डर भइरहने हुन्छ?” भन्यो भने त्यसको जवाफ कोसित हुन्छ?
 
अजयभद्र खनाल अगाडि लेख्छन्, 'माओवादीको बढ्दो प्रभाव रोक्न भारतले नेपालको मधेश क्षेत्रलाई बफरको रुपमा प्रयोग गर्ने नीति लियो। त्यसैले मधेशका माओवादीलाई फुटाउने, मधेशमा नयाँ शक्ति जन्माउने र एक मधेशको अवधारणा अघि बढाउने रणनीति अख्तियार गर्‍यो।'
 
२०६३ को मधेश आन्दोलन भलै लहानमा माओवादी कार्यकर्ताहरूले गरेको हत्या र दुर्व्यहारपछि चर्केको हो, तर त्यो आन्दोलन दिल्लीको डिजाइनमा माओवादीविरूद्ध भएको थिएन भन्ने कुरा खनालहरूलाई थाहा छैन? यदि खोजिनिति गर्ने जाँगर छैन भने, अरूले खोजेर लेखिदिएको किताब पढे राम्रो हो। भर्खरै प्रकाशित प्रशान्त झाको 'ब्याटल्स अफ न्यू रिपब्लिक'मा पनि त्यसको ईतिवृतान्त लगाइएको छ। मार्टिन चौतारीले त्यसअघि नै किताब छापिसकेको छ। पत्रकार सुधीर शर्माले समेत आफ्नो किताब प्रयोगशालामा मधेश आन्दोलनको बारेमा विस्तृतमा लेखेका छन्, 'काठमाडौंका शासकले भेदभावपूर्ण व्यवहार गर्ने गरेकाले मधेशमा दशकौंदेखि सुषुप्त असन्तुष्टि थियो। तराईवासीलाई विभेदमा पारिएको र अवसरबाट बन्चित गरिएको भन्दै आक्रोश व्यक्त गरिएको थियो।' मधेश आन्दोलन जसले 'मधेश' र 'मधेशी' शब्द स्थापित गरायो। र, सरकारलाई संविधानै संशोधन गर्न बाध्य पारेर संघीय शासन प्रणालीको वातावरण सुनिश्चित गर्यो, आन्दोलनपछि सबैभन्दा ठूलो शक्तिको रूपमा देखिएको मधेशी जनअधिकार फोरमकोसमेत योजनबद्धपहलमा भएको थिएन। पत्रकार शर्माले समेत आफ्नो किताबमा यसलाई पुष्टि गरेका छन्। फोरमका नेताहरूले समेतपछि मात्र उथलपुथललाई नेतृत्व दिएका हुन्। भारतीय प्रधानमन्त्रीले 'मधेश' उच्चारण गरे मधेश रहने, नगरे 'मधेश' बिलाएर जाने हुँदैन। न कि, अब कोही मधेशीले आफूलाई 'मड्स्या या मदिसे' भनेको सहने छन। मधेशीले जे मागे पनि, जे गरे पनि, भारतसँग जोडेर हेर्नु भनेको मधेशीहरूप्रतिको अपमान हो। खनालले 'भारतीय रणनीतिमा मधेशको औचित्य लगभग समाप्त भएको छ। त्यसैले उनीहरू अब नेपालबाट अगल हुने डर हरायो' भन्नुको अर्थ भनेको, मधेशी जनता भारतबाट सञ्चालित छन भन्नु हो।
 
मैले 'मधेशी शक्ति' लाई भारतले आफ्नो हितमा पर्‍योग गर्न खोजेकै थिएन भन्ने तर्क गर्न खोजेको कदापि होइन। नेपाली सत्ताको 'चाबी' दिल्लीले प्रयोग गर्दै आएको कुरा कत्तैबाट पनि लुकेको छैन। पत्रकारद्वय सुधीर शर्मा र प्रशान्त झाका किताबहरूले पनि यसमा बेलिविस्तार लगाइसकेका छन्। तर, हामीले बुझ्नुपर्ने के हो भने, त्यो नेपाली सत्ताको चाबी दिल्लीलाई सुम्पने काम मधेशीले गरेको होइन, वर्षौंअघि राणाहरूकै पालादेखि हुन थालेको हो। त्यसलाई शाहहरूले पनि निरन्तरता दिए। दिल्लीलाई 'मालिक'कै रूपमा व्यवहार गर्न थालेको भने कांग्रेस र एमालेका सत्ता लोभी नेताहरूले हो।
 
मधेश आन्दोलन, र लगत्तै पहिलो संविधान सभा चुनाबपछि 'अप्रत्यासित रूपमा' बलियो भएर आएको 'मधेशी शक्ति'लाई पनि दिल्लीले 'भाउ' दिएको र आफ्नो चाहना अनुरूप प्रयोग गर्न खोजेको हो। केही हदसम्म ऊ सफल पनि भयो होला। पत्रकार झाले किताब 'ब्याटल्स अफ न्यू रिपब्लिक'मा फोरम प्रजातान्त्रिकका विजय गच्छदारहरूलाई दिल्लीले लाखौं रूपैँया दिएको समेत उल्लेख गरेका छन। तर दिल्लीले खर्चेको त्यो रूपैंया, तागत र समय मधेशलाई सह्योग गर्नलाई होइन। खनालले भने जस्तै माओवादीलाई 'तह लाउन'लाई थियो। माओवादीका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पदको प्रतिष्पर्धामा रहेका काँग्रेसका नेता रामचन्द्र पौडेललाई भोट हाल्न दिल्लीले लाखौं रूपैंया गच्छेदारहरूलाई दिएर उपेन्द्र यादवको अध्यक्षतामा रहेको फोरम नेपालबाट फुटाएको हो भनेर झाले किटानी साथ नै लेखेका छन्। त्यतिबेला दिल्लीले मधेशको हित चाहन्थ्यो भने उसले मधेशी नेताहरूलाई प्रचण्डलाई भोट हाल्न उकास्थ्यो होला। मधेशी नेताहरूले मागे जस्तो संघीयतामा दिने कुरामा लिखित प्रतिवद्धता माओवादी नेतृत्वले बुझाएको थियो, न कि कांग्रेसीले! खनालले भने जस्तो दिल्लीले 'संविधान बनाउने क्रममा माओवादी र मधेशीबीच एकता' हुन दिएको भए, उनीहरूले संसदबाट जस्तो संविधान पनि पास गराउन सक्थे। संविधानसभामा दलित, मधेशी जनजाति र माओवादीको दुई तिहाई बहुमत थियो। यदि संविधान भोटिङमा गएको भए कांग्रेस र एमालेले हार्ने थिए!
 
त्यसैले मधेशीको सडकबाट उठेको पहिचान र संघीयताको मागलाई मधेशीको देश फुटाएर भारतमा गाभ्ने षड्यन्त्रको रूपमा खनालहरूले बुझ्नु र बुझाउन खोज्नु भनेको, सहनै नसकिने व्यवहार हो। मधेशी जनताले बर्षौंदेखि खेप्तै आएको विभेद र दुर्व्यवहारप्रतिको वेवास्ता हो।
 
खनालकै भाषामा 'चीनको विस्तार रोक्न भारतलाई नयाँ खालको बफर राज्य आवश्यक पर्न गएको छ। त्यसैले नेपालका पहाडे मूलका मानिसलाई खुशी पार्नु मोदीको रणनीतिक उद्देश्य हो।'
 
त्यसो भए अब, पहाडहरू नेपालबाट अलग हुन सक्छन भन्ने डर मधेशीहरूले पाल्ने त?

नेपाली नजान्ने नेपाली हुन सक्छ कि सक्दैन?

एकादेशमा एउटा केटो थियो। उसको जन्म भदौ महिनाको कुनै मंगलबार भएको थियो। पंडितले उसको नाम 'ह' बाट राख्न सुझाए। 'ह'बाट हरि हुन्थ्यो। तर, मावली हजुरबुवाको नाम पनि हरि नै थियो। हजुरबुवा र नातिको नाम एउटै राख्नु त भएन! हरिको पछाडि नारायण थपिदिउँ, उसका बुवाआमाले जुक्ति निकाले! यसरी उसको नाम हरिनारायण रहन गयो।
हरिनारायणका बुवा दुखी साँच्चैकै 'दुखी' नै थिए! ६ महिनाको हुँदै बाउ स्वर्गे भको। आमाले अर्कै बिहे गरेको। ४ कक्षाभन्दा बढी पढ्न नपाएको। आफ्नै भन्ने सडक छेउको ऐलानी जग्गामा फुसको घरबाहेक केही थिएन। छोरो जन्मिएपछि उनी झन् आत्तिए। अवसरको खोजीमा भौँतारिन थाले। उदयपुरको पहाडमा पुगेपछि मात्र उनले सम्भावना भेटे। र, हरिनारायणहरूलाई लिएर पूरै परिवार उतै बसाईं सरे!
हरिनारायणलाई यो नयाँ गाउँ साह्रै मन पर्‍यो। ऊ निक्कै खुशी भयो। यहाँ उसको घर दुईतल्ले थियो। सप्तरीको घरभन्दा कता हो कता ठूलो। स्कुल त झनै ठूलो। चिटिक्कको, काठैकाठले बनेको। खेल्ने ठूलो मैदान। कतैबाट गाडी आएर किच्ने डर पनि नभएको। सबैभन्दा गज्जब त के थियो भने, अब उसले स्कुल जाँदा बस्नका लागि जुटको बोरा बोकेर जानु नपर्ने भयो। स्कुलमा काठका रराम्रा डेक्स बेन्चहरू थिए।
जब हरिनारायण कपिकिताब बोकेर स्कुल गयो, अनि भने ऊ अल्लमल्ल पर्‍यो।
नेपालीका पाठ मैथिलीमा बुझाइदिने उस्का सरहरू त्यहाँ थिएनन। न त उसको भाषा 'बुझ्ने' र ऊसँग खेल्ने सहपाठीहरू नै! हाफटाइममा पनि ऊ धुमधुम्ती बेन्चमै बसिरह्यो। केही बेरपछि, ऊभन्दा पछाडिको बेन्चमा बसेका केही केटा साथीले उसको एक बित्ता लामो टुप्पीमा रूचि देखाए। हरिनारायणले खुशी हुँदै उसकी आमाले उसलाई बाबाधामबाट 'मागेर' ल्याएकाले ठूलो भएर भाकल पूरा गर्न बाबाधाम नजाउन्जेल टुप्पी नकाट्ने कुरो सुनायो। तर पनि उनीहरूले टुप्पी तानीरहे!सहपाठीहरूको चाख टुप्पीको इतिहासमा थिएन, तन्काइमा थियो।
त्यस दिनदेखि, उनीहरू हरेक दिन हरिनारायणको पछाडि बस्ने र टुप्पी तान्ने गर्न थाले। हरिनारायणले मैथिली नेपाली मिसाएर धेरैपटक 'भैया, टुप्पी नतान्नुस, दुखै छ' जस्तो केही भन्यो। तर उनीहरू 'भैया' भन्दै झन् हाँसे। दुखाइले ऊ रोयो। तर टुप्पी तान्ने क्रम रोकिएन।
सरले पढाएको पनि नबुझिने। सहपाठीहरूको त्यस्तो व्यवहार। हरिनारायणले स्कुल जानै छोडिदियो। यो थाहा पाएर बुवा दुखी सारै रिसाए। आफू पढ्न नपाएकोमा दुखी साह्रै दुखित थिए। उनी छोराछोरीलाई धेरै पढाएर डाक्टर इन्जिनियर बनाउन चाहन्थे। त्यसैले नातागोता छरछिमेक सब छोडेर यो 'पहाड'मा पसिना बगाउन आएका थिए। उनले हरिनारायणलाई आफैं स्कुल पुर्‍याउन गए। सहपाठीहरूले हरिनारायणको बाउलाई पनि देखेपछि भने कुरो झन बिग्रियो! उनीहरूले हरिनारायण 'मदिसे' भएको थाहा पाइहाले! त्यसपछि त झन के थियो र!
यदि समयमै ईश्वरा कट्वाल 'उद्दार' गर्न नआएको भए हरिनारायणको जीवन 'हरिबिजोक' नै हुन्थ्यो र हरिनारायणले सुनाउने कथा आज अर्कै हुन्थ्यो। ऊ 'दीपक रौनियार' भनेर चिनिने थिएन।
हरिनारायण भन्ने केटो मै हो। तर यो मेरोमात्र कथा भने होइन।
हामी ०४२/०४३ सालतिर उदयपुर बसाइँ सरेका हौँ। तर शाह राजाहरूले नेपाली मातृभाषा नभएको समाजलाई त्यसको बर्षौंअघि 'बसाइँ' सारिदिएका थिए।
महेन्द्रको पञ्चायतले घोषणा गरेरै, 'एक राष्ट्र, एक भाषा र एक संस्कृति' को नीति जबर्जस्ती लाद्यो।
परिणाम, हामी (नेपाली मातृभाषा नभएकाहरू) आफ्नै देशमा 'बिराना' भयौं। बकुल्लाको बथानमा कागजस्तै। हाम्रो भाषा अरूले बुझेनन्। त्यसैले सायद हाम्रो पहिरन र संस्कृतिका बारेमा पनि हामीले नेपाली भाषीहरूलाई 'बुझाउन' सकेनौ।
'भेले'को अर्थ मैथिलीमा, 'भयो?' हो।
'भैया'को अर्थ, 'दाइ।'
मधेसमा धेरै गर्मी हुन्छ। त्यसैले यहाँ परम्परादेखि नै धोती र लुँगी लाउने चलन छ।
तर यिनै धोती, भेले, भैयाजस्ता भाषा र पहिरनका सामान्य शब्दहरू हामीलाई 'होच्याउने' आम माध्यम बन्दै आएका छन्, बर्षौंदेखि! परिवर्तन नभएको होइन। स्थिति पहिलाभन्दा निक्कै राम्रो भएको छ। तर पनि एकथरि नेपालीको अवचेतन मनमा बसिसकेका ती शब्दहरू, तुरून्तै हटिहाल्नेवाला छैन भन्ने त तपाईंहरूबाट पनि लुकेको छैन।
सेतोपाटीको मेरो अघिल्लो लेखमा (तिम्रो नियत सधैँ राष्ट्रवादी र मेरो नियतचाहिँ विखण्डनवादी?) धेरै प्रतिक्रियाहरू आए। सयौंजना छलफलमा सहभागी हुनुभयो। कत्तिले मेरो लेखमा आधारित रहेर अर्को लेख नै लेख्नु भो। म सार्‍है दंग परेको छु। तपाईंहरूले अरू कुनै उदाहरण दिनै पर्दैन। स्थिति 'पहिलाको जस्तो' छैन भन्ने कुराको यो नै ठूलो उदाहरण हो।
मेरो लेखको प्रतिकृयामा बिहारीकृष्ण श्रेष्ठले अंग्रेजी सेतोपाटीमा प्रकाशन गर्नुभएको आलेखमा पनि (Building Hill Madhesh harmony स्थिति पहिलाको जस्तो नभएको ठोकुवा गर्नुभएको छ जुन कुरासँग म असहमत छैन। तर भाषा विज्ञानको विद्यार्थी बिहारीजी आफ्नो तर्कलाई पुष्टि गर्ने क्रममा उदाहरण दिँदै भन्नु हुन्छ, 'तीन दशकअघि मधेशतिर जाँदा अलिअलि पनि हिन्दी नजानेकोले दोहोरो संवाद गर्न असम्भव नै हुन्थ्यो। तर अहिले स्थितिमा आकाश जमिनको परिवर्तन आइसकेको छ। कुनै पनि मधेशी गाउँमा सहज रूपमा नेपाली भाषामा दोहोरो संवाद गर्न सकिन्छ।'
हामीले खोजेको परिवर्तन यही हो त? नेपाली राम्रो बोल्न सक्ने हुनु नै हो त हामीले खोजेको नयाँ नेपालमा परिवर्तन 'शुद्ध नेपाली' हुनका लागि मजस्तै, अरू धेरै मधेशीले पनि आ-आफ्नो मातृभाषा मैथिली, भोजपुरी, अवधी बिर्सनुपर्ने हो?
म सानो छँदै बसाइँ सरेर पहाड पुगेकोले व्यक्तिगतरूपमा मलाई धेरै 'फाइदा' पुग्यो। मेरो भाइबहिनीलाई पनि त्यो 'फाइदा' भयो। घर, स्कुल, सबैतिर जबर्जस्ती नेपाली बोल्नुपरेकोले मेरो नेपाली 'राम्रो' भयो। नेपालीमै पत्रकारिता गर्न सक्ने भएँ। नेपालीमै नाटक र सिनेमा लेख्न सक्ने भएँ। आज नेपालीमै यो लेख पनि लेख्दैछु। तर मेरो मैथिली मर्‍यो। आफ्नै बाउआमासँग पनि मातृभाषामा बोल्न मलाई 'लाज' लाग्ने भयो! अचेल बुवाले पनि जिस्काउन थाल्नुभएको छ। साह्रै ग्लानि हुन्छ सोच्दा पनि! राज्यको दोष देखाएर म आफ्नो कमजोरीबाट भाग्न खोजेको होइन। पक्कै पनि मेरो दोष हो। तर हुर्काइले व्यक्तिको ज्ञानमा निक्कै ठूलो असर पार्दो रहेछ।
मेरो बुवा दुई भाइ हुनुहुन्थ्यो। उहाँको दाइ, मेरो बडाबाउको तीन भाइ छोरा छन्। उहाँहरू सप्तरी बदगामाबाट हामीसँग उदयपुर सर्नु भएन। तीनमध्ये पहिलो दुई (सुकिन्दर र लक्ष्मण) भाइले ५/६ कक्षासम्म पनि पढ्न सकेनन्। कान्छोले बल्लबल्ल निक्कै वर्ष लगाएर एसएलसी त पास गर्‍यो। त्योभन्दा माथिको पढाइ गर्न सकेन। उनीहरू अझै पनि नेपालीमा आफूलाई 'व्यक्त' गर्न त परको कुरा राम्रोसँग बोल्न पनि सक्दैनन्। त्यसैपनि बोल्नु र व्यक्त गर्न सक्नु दुई फरक कुरा हुन्।
केही दिनअघि सेतोपाटीमा अर्को लेख छापिएको छ, न्याय खोज्दै खालि खुट्टै सर्वोच्च आइपुगेकी देहाती महिला । शोभा शर्माले लेखेको त्यो लेख रौतहटकी फतमा खातुनको बारेमा छ। फतहा न्याय खोज्न काठमाडौं आइन्, तर उनलाई नेपाली भाषा आउँदैन।
अहिले पनि १ सय २५ वटाभन्दा बढी मातृभाषा जिउँदो भएको हाम्रो जस्तो देशमा अरू कत्तिको समस्या होला यस्तो? तपाईं आफैं अनुमान लगाउनुस्! स्कुल पढ्न छोड्ने दर हेर्नुस्। नेपाली मातृभाषा भएकाहरू भन्दा, नेपाली मातृभाषा नभएकाहरूको स्कुल छोड्ने प्रतिशत धेरै माथि छ।
बिहारीकृष्ण श्रेष्ठले भन्नु भएजस्तो, अवश्य पनि नेपाली बोल्नसक्ने मधेशीको संख्या पहिलाभन्दा धेरै बढेको छ। काठमाडौं, ललितपुर, भक्तपुरका नेवारहरूमा पनि नेपाली बोल्न जान्नेको संख्या बढ्दो होला। तर मेरो मैथिली कमजोर भएजस्तै सुविना श्रेष्ठहरू (सहकर्मी सञ्चारकर्मी) को पनि नेवारी (नेपाल भाषा) कमजोर छ। उनलाई पनि त्यसमा ग्लानि हुँदो हो। त्यही चाहेको हो त हामीले नयाँ नेपालमा? आ-आफ्नो मातृभाषामा पढ्न पाउने वातावरण बनाउनु हाम्रो जिम्मेवारी होइन? आ-आफ्नो मातृभाषामा सरकारी सेवा पाउने वातावरण बनाउनु हाम्रो जिम्मेवारी होइन?
नेपाली मातृभाषा भएको बाहुनक्षेत्रीको छोराछोरी र फताह खान जस्तो कसैलाई एउटै जागिरको परीक्षामा राख्यो भने को पास हुन्छ? त्यस्तो वातावरणमा प्रतिस्पर्धा गराउनु अन्याय होइन? राज्यले बर्षौंदेखि गरेको यो भेदभाव होइन?
'महेन्द्रमाला'ले हामीलाई एक अर्काको भाषा, पहिरन र संस्कृतिको सम्मान गर्न सिकाएन भन्ने कुरा अब पनि स्वीकार नगर्ने?
७ बर्षकी ईश्वरा कट्वालले मेरो हविगतको बारेमा आफ्नो बुबालाई नभनिदिएकी भए। उनको बुवाले बिष्ट सरलाई नझपारेको भए। बिष्ट सरले ती केटाहरूलाई सबैको अगाडि मारसँग नकुटेको भए। इश्वरासहितका सहपाठीहरूले नेपाली बुझ्न र बोल्नका लागि मलाई मद्दत नगेको भए। मेरो कथा आज बेग्लै हुने थियो! स्कुल र देशको लागि त म फेल हुने कयौंमध्यको एक मात्र हुने थिएँ। तर मेरो बाउआमाको लागि सर्वस्व! मेरो आफ्नै भविष्यको कुरा त गर्नै परेन।
विगतका गल्ती सच्याउने संविधानसभा हाम्रो लागि एउटा अवसर हो। र, यतिखेर इश्वराहरूको खाँचो छ। 'बिष्ट सर'को कानसम्म 'आवाज' पुर्याउनु अहिलेको आवश्यकता हो।
नेपालको शासन प्रणाली संघीय हुनेमा अब कुनै दुविधा भएन। तर कस्तो संघीयता भन्नेमा अझै पनि विवाद छ। कतिवटा संघ भन्नेमा पनि अझै विवाद छ। मधेशी जनजातिहरूले मागिरहेको पहिचानसहितको संघियता अरू केहीले बुझाउन खोजेजस्तो 'जातीय संघीयता' होइन। यसबारे धेरै बहस भइसकेको छ। म संघीयताको विशेषज्ञ पनि होइन। त्यसैले आजको यो मेरो लेख भाषाको कुरामा केन्द्रित गर्न चाहन्छु।
हुन त भाषाकै बारेमा पनि भाषा विज्ञहरूले समेत थुप्रै आलेखहरू लेखिसक्नुभएको छ। हाम्रै संविधानको प्रावधानमा पनि ०४६ मा प्रजातन्त्रको पुनर्बहालीपछि धेरै सुखद परिवर्तनहरू आइसकेको छ। मातृभाषामै शिक्षाको अधिकार पनि व्यवस्था गरिएको छ। विद्वान सभासदहरूले प्रदेशहरूमा कस्तो भाषा नीति लगाउने भन्नेबारे पनि छलफल गरिरहुनु भएको होला।
तर मैले पढ्न छुटाएँ कि थाहा छैन, नेपाली भाषाको एकाधिकार तोड्ने कुरा चाहिँ मैले कहिँ कतै पढेजस्तो लाग्दैन। मेरो विचारमा, हाम्रो जस्तै बहुभाषिक मुलुक छिमेकी भारतको संविधानमा जस्तै, कम्तीमा अर्को एउटा थप भाषालाई पनि संघीय सरकारको कामकाजी भाषाको रूपमा मान्यता दिन सक्यो भने, नेपाली बोल्ने मात्र 'नेपाली' हुन भन्ने मिथ्यावोध कम गर्न मद्दत गर्न सक्छ।
केही समययता, सामाजिक संजालका भित्ताहरूमा 'म नेपालको नाम परिवर्तनको पक्षमा छु' भन्ने अभियान देखिएको छ।
म नाम परिवर्तनका पक्षधरहरूले गरिरहेको 'नेपाली एउटा जातीय पहिचान हो, राष्ट्रियता होइन' तर्कसँग सहमत छैन। तर यस्तो 'भ्रम' किन परेको छ भन्ने बुझ्न पनि हामीले जरूरी छ। बर्षौंदेखि राष्ट्रिय भाषा (नेपाली) र राष्ट्रियता (नेपाली) लाई राज्य, पत्रपत्रिका र एकथरि नेपालीहरूले मिसाएर बुझ्नु र बुझाउँदै आउनु एउटा प्रमुख कारण हो धेरैलाई नेपाली राष्ट्रियताले सबैलाई साँचो अर्थमा बोकेको छैन भन्ने लागेको। राज्यले एउटा भाषामा मात्र जोड दिएर जुन किसिमको भेदभावहरू सिर्जना गर्‍यो, त्यसले त्यस्तो अनुभव गराएको।
नयाँ संविधानमा देशको नामै परिवर्तन गरिनुपर्छ भन्ने तर्क नेपाल सद्भावना पार्टीकी सरिता गिरीले संविधानसभाको पहिलो श्रृङ्खलामै उठाएकी रहिछिन् भन्ने हामीले थाह पाइसकेका छौं।
यतिबेला उनको विरोध गर्ने या विवाद गरेर बस्ने भन्दा पनि, विगतको गल्ती 'सच्याउने' बेला हो।
धेरैलाई लाग्दो हो, भारतको राष्ट्र भषा हिन्दी हो। अष्ट्रेलियाको राष्ट्र भाषा अंग्रेजी। र, अमेरिकाको त झनै भन्नै परेन, अंग्रेजी नै हो भन्ने लाग्दो हो। तर सत्य त्यस्तो होइन। यो कुनै पनि मुलुकमा राष्ट्र भाषा छैन। भने हामीलाई मात्र किन चाहिन्छ राष्ट्र भाषा? १ सय २५ मध्य एउटालाई मात्र किन काखी च्याप्ने? एउटा देशको लागि त सबै छोराछोरी समान हो, होइन र?
भारतको 'वेस्ट बंगाल'को औपचारिक भाष बंगाली हो। तर बंगालले अंग्रेजी, नेपाली र उर्दुलाई पनि मान्यता दिएको छ। त्यस्तै आसाममा आसामिज औपचारिक भाषा हो। तर त्यहाँ बंगाली र बोडोलाई पनि मान्यता दिइएको छ। झारखण्डमा हिन्दीसँगै सन्थली र बंगालीलाई मान्यता दिइएको छ। यस्तो कुनै राज्य छैन होला, जहाँ एउटा भाषालाई मात्र मान्यता दिइएको होस्। त्यस्तै खालको केही गर्न हाम्रो पनि सम्भव हुन्छ होला नि?
भाषाको संरक्षण गर्ने कानुनमात्र बनाएर पुग्दैन, भाषाको प्रयोग बाध्यताकारी भएन र भाषाको ज्ञानले रोजगारीको अवसर देखिएन भने कसैले पनि थप भाषा सिक्ने छैनन्। कानुन बनाउँदा यो कुराको ध्यान राख्न जरूरी छ। अबको बेलामा पश्चिम तराईमा काम गर्न जाने कर्मचारी, शिक्षक, सुरक्षाकर्मीहरूले नेपालीसँगै भोजपुरी, अवधि र थारू भाषा जान्न जरूरी छ। पूर्वी पहाडमा जानेहरूले लिम्बु र राईको प्रतिनिधि भाषाहरू जान्न एकदमै जरूरी छ। अनि मात्र उसले साँचो अर्थमा सेवा पुर्‍याउन सक्छ। परिवर्तनको आभास हुन सक्छ। भाषा सिक्दा, संस्कृति र मूल्यमान्यता पनि सिकिन्छ। नेपाल भाषा र नेवारको मूल्यमान्यता नै नसिकी कसरी काठमाडौंमा साँचो अर्थमा सेवा गर्न सकिन्छ?
यो सुन्दा सानो लाग्छ। तर ठूलो महत्त्वको कुरा हो। यसले भाषा त मर्नबाट जोगिन्छ नै, आफ्नो भाषाले मान्यता पाउँदा अपनत्व बढाउँछ। समानताको अनुभूति हुन्छ। शिक्षा, सेवा, प्रतिष्पर्धा, सौहार्दता सबैमा मद्दत गर्छ नै।
भारतको संघीय सरकारको कामकाजी भाषा हिन्दी र अंग्रेजी छ। हाम्रो नेपाली र अर्को कुनै एउटा छान्न सकिन्न? पक्कै सकिन्छ।सकियो भने, नेपाली बोल्नेको मात्र नेपाल होइन। हामी सबैको हो भन्ने भावानामा बल पुर्‍याउने छ।
विविधताबीचको एकता बलियो हुन्छ र सौहार्दपुर्ण हुन्छ। सेतो पाटी बाट साभार गरियको

Thursday, September 11, 2014

बिजोग उच्च मध्यामिक बिद्यालयको

September 11
कक्षा १२ मा २५ विद्यार्थी रहेको झापा लखनपुरको वाणी उच्चमाविमा एसएलसीको नियमिततर्फको नतीजा प्रकाशित भएपछि ११ कक्षाको शिक्षा र वाणिज्य संकायमा १० जना विद्यार्थी भर्ना भए। एसएलसी मौका परीक्षाको नतीजापछि अरू १०/१२ जना विद्यार्थी थपिने प्राचार्य तीर्थ थापाको आशा छ। त्यसो हुँदा पनि गत वर्ष जस्तै विद्यार्थीबाट मासिक रु.१२ हजारभन्दा बढी शुल्क नउठ्ने भएकाले उच्चमाविका १० शिक्षकलाई तलब दिन गाह्रो पर्ने उनी बताउँछन्। गत माघदेखि तलब नपाएका शिक्षकलाई तलब दिन मासिक रु.६२ हजार लाग्ने भएकाले दरबन्दी नथपिए उमावि बन्द गर्नुको विकल्प नभएको प्राचार्य थापाको भनाइ छ।
ल्ाखनपुरकै मंगलमय उच्चमाविलाई पनि ५७ जना विद्यार्थीबाट उठ्ने शुल्कले धान्न गाह्रो भएको छ। करारमा राखिएका १२ शिक्षक र तीन कर्मचारीलाई तलब मात्र मासिक रु.६० हजार खर्च लाग्ने बताउने प्राचार्य ओम खनाल शुल्कले एकतिहाइ खर्च मात्र धानेकाले सहयोग र विद्यालयका अरू स्रोतबाट उमावि चलाएको बताउँछन्।

दमकको ढुकुरपानी उच्चमाविको अवस्था पनि फरक देखिंदैन। २०६७ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट स्वीकृति पाएको यो उमाविमा ५३ जना विद्यार्थी मात्र छन्। एक जना विद्यार्थीबाट रु.४०० शुल्क उठाउँदा तिनलाई पढाउने ७ जना शिक्षकको मासिक तलब रु.५३ हजार लाग्नेमा रु.१६ हजार मात्र उठ्छ। यो उमाविले पनि शिक्षकहरूलाई सात महीनादेखि तलब दिन सकेको छैन।
संचालन भएको चार वर्षमा दमक–१९ को सिंहदेवी उच्चमाविलाई रु.४ लाख ऋण लागेको छ। सिंहदेवीले ४६ विद्यार्थीलाई शिक्षा र वाणिज्यतर्फ उच्चमावि पढाइरहेका सात जना शिक्षकलाई मासिक रु.४१ हजार ५०० तलब खुवाउँछ, मासिक शुल्क भने रु.१५ हजार मात्र उठ्छ।
२०५८ मा स्वीकृति पाएको तोपगाछी–७ को शहीद धर्मभक्त उमाविले विद्यार्थी कम भएपछि तीन वर्षअघि मानविकी बन्द गरी वाणिज्य र शिक्षा मात्र पढाएको छ। १२ शिक्षक रहेको यो उमाविको मासिक खर्च रु.१ लाख २५ हजार छ। दुई जनाको दरबन्दीलाई सरकारले दिने रु.४२ हजार १६० र विद्यार्थीबाट उठ्ने शुल्क गरी रु.७५ हजार आम्दानी भए पनि मासिक रु.५० हजार अरू नपुग्ने प्राचार्य काजीमान पौडेल बताउँछन्।
झापाका ६३ उमाविमध्ये २०६६ सालपूर्व खुलेका ३७ वटालाई सरकारले मावि द्वितीयका ७७ दरबन्दी शिक्षकको तलब पठाउँछ। जसलाई विद्यार्थी संख्या हेरी दुईदेखि तीन जनाको दरले बाँडिएको झापाका सहायक जिशिअ उद्धव बिष्ट बताउँछन्। बाँकी २७ उमाविले दरबन्दी पाएका छैनन्।
गोपाल गडतौला, झापा

कम्प्युटर किन्न रु.१ अभियान
पाठ्यक्रमको कम्प्युटर विषय प्रयोगात्मक हिसाबले पढाउन तनहुँको विकट कोटा गाविसको एक विद्यालयले 'एक रुपैयाँ अभियान' चलाएको छ। यो अभियान अनुसार, सदरमुकाम दमौलीबाट एक दिन पैदल हिंडेपछि पुगिने जुनोदय निमावि, छेरङ्गाले अभिभावक र अन्य इच्छुकसँग रु.१ उठाउन थालेको छ।
विद्यालयका प्रधानाध्यापक खड्ग आलेले जिल्ला शिक्षा कार्यालयले कम्प्युटर शिक्षा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएकोले कम्प्युटर किन्न चन्दा उठाइएको बताए। गत वर्षदेखि कम्प्युटर पढाउन थालेको यो विद्यालयका करीब डेढसय विद्यार्थीका लागि यसअघि एउटै कम्प्युटर थिएन। कम्प्युटरका लागि शिक्षा कार्यालयलाई अनुरोध गरे पनि तत्काल दिन नसकिने बताएको आले बताउँछन्।
जिल्ला शिक्षा कार्यालय अन्तर्गतको देवघाट स्रोत केन्द्रले मातहतका सबै मावि तथा निमाविमा कम्प्युटर विषय अनिवार्य गरेर शिक्षकलाई तालीम पनि दिएको छ। बजेट सीमित भएकाले विद्यालयहरूलाई कम्प्युटर भने दिन नसकिएको शिक्षा कार्यालयले जनाएको छ।
प्रधानाध्यापक आलेका अनुसार, विद्यालयले फेसबुक पेज समेत बनाएर एक रुपैयाँ चन्दा माग्न थालेको छ। फेसबुक मार्फत देश–विदेशबाट सकारात्मक जवाफ आएकाले चाँडै नै ब्याङ्क खाता खोल्न लागिएको उनले बताए। तत्काल पाँच वटा कम्प्युटर किन्न रु.३ लाख चाहिने उनी बताउँछन्।
पवन पौडेल, तनहुँ

नारायणगोपालको धर्म सोधिएन ! तारादेवीको जात सोधिएन !

September 11
आजसम्म कसैले सोधेन नारायणगोपालको धर्म के हो । कसैलाई वास्तै भएन कोइलीदेवी, तारा देवी, नातिकाजी, बच्चुकैलाशको जात के हो ? गोपाल योन्जन, अरुणा लामा अनि रञ्जित गजमेर नेपाल वारिका थिए कि पारिका ? यसले स्रोतामा कुनै महत्व राखेन।
 basudev basudev
अहिले हामी जुन राष्ट्रिय गान गाउँदैछौं, यसका संगीतकार अम्बर गुरुङ बुद्ध धर्म मान्छन् । दार्जिलिङमा जन्मिएका यी महान संगीतकारले टर्नबुल हाइस्कुलमा पड्दा बाइबल गाए। ” म त लाली गुरास भएँछु” जस्तो अजम्बरी गीतमा संगीत दिने दिव्य खालिङ क्रिस्चियन थिए ।

यो कुरा कसैका लागि सरोकार भएन । कुन धर्म अपनाउने भन्नेकुरा जसरी व्यक्तिको नैसर्गिक अधिकार हो, त्यसैगरी म यो गीत गाउँदिन भन्नु पनि व्यक्तिको निजी विषय हो। स्वरसम्राट नारायणगोपालले पनि आफुलाई मन नपरेको गीत कतिपटक गीतकारकै अगाडि च्यातिदिएको घटना सुनाएका थिए बरिस्ठ गीतकार कालीप्रसाद रिजालले। कलाले त मान्छेलाई जोड्ने हो, तोड्न हुँदैन ।

 भारत मा हिन्दू – मुस्लिम आन्दोलन भड्किएकै बेला सन १९५३ भारतीय संगीतका महान संगीतकार मोहम्मद रफिले ” मन टडप्त हरी दर्शनको आज” गाएका छन्। बिजुवारा फिल्मका लागि उनले गाएको यो हिन्दू भक्ति संगीतको रचना साकिलले गरेका हुन् भने नौसद ले यसमा संगीत दिएका छन् र यी तीनैजना मुश्लिम हुन्।

 फेरि यी तीनैजनाले सन् १९६० मा फिल्म “कोहिनुर” का लागि “मधुवन मे राधिका नाचे रे” भन्ने हिन्दू भक्ति संगीत तयार पारे, जसमा अर्का मुश्लिम धर्मका अनुयायी मोहम्मद युसुफ खान अर्थात सुपरस्टार दिलिपकुमारले अभिनय गरेका छन्।

 भनिन्छ, यो गीत कम्पोज गर्दा संगीतकार नौसद ले सबै वाद्यवादकलाई पहिरनमा ध्यान दिन भनेका थिए रे। भजन रेकर्ड हुँदा निर्माताले स्टुडियोमा प्रसाद र मिठाइ बाँढ्दा कृष्ण कृष्ण गुन्जिएको थियो। रफीले अरु कैयन हिन्दू भक्ति संगीतमा स्वर दिएका छन्। ६० को दशकमा पनि त्यस्को बिरोध भएन। जाबेद अख्तरले कैयन भजन रचना गरेका छन् ।

अस्कर बिजेता ए आर रहेमानले शिव र दुर्गा मन्त्रमा संगीत दिएका छन्। लताले मुश्लिम प्रार्थना गानदेखि कत्ती कवाली गाएकी छिन्। यसले उनीहरूको प्रसिद्धी घटाएन, बरु बढायो। शारुख खानले मन्दिरको घण्ट बजाउँदै शीर झुकाएर भगवान सामु प्रार्थना गरेको अनि भजनमा अभिनय गरेको दृश्य कति फिल्ममा होलान् ?

के यसले उनको करियर समाप्त गर्‍यो ? यस्ता अनगिन्ति उदाहरण छन् कलाकार सबैका साझा बनेको, सम्प्रदायलाई जोडेको, समाजको हार्दिकता र सहिष्णुता कायम राख्न सहयोगी भूमिका खेलेको। एउटा सामान्य नागरिकले धर्मबारे जथाभावी टिप्पणी गर्दा त ठूलो विवाद हुन्छ भने लोकले मानेका कलाकार व्यक्तिगत जीवनमा जे हुन्, उनको कुरा हो । तर, सार्वजनिक जीवनमै धर्मभिरु बनेर हिँड्न सुहाउँछ ? गीत गाउन्, नगाउन्, धर्म जे मानुन् ।

  तर, अर्काको गीत नै बिगारेर क्रिस्चियनकरण गर्न हुन्छ ? मैले केही दिन अघि इदको अवसरमा ” इद मुवारक ” भनेर मेरा मुश्लिम मित्रहरुलाई शुभकामना दिएँ, मलाई थाहा भएदेखि क्रिश्मसको शुभकामना दिन कहिल्यै छुटाइँन । अस्ति भर्खर हामीले हिन्दू परम्पराअनुसार बुबाको मुख हेर्ने दिन मनायौं । फेरि लगत्तै पछि ” ह्याप्पी फादर्स डे” पनि मनायौं । बहुआयामिक समाजमा बस्दा एक अर्काको अस्तित्व नै नस्वीकार्ने हो भने समाज कति भयावह बन्ला ?
  
अञ्जु पन्तबारे
 शंका छैन, अन्जु पन्त अद्भुत क्षमता भएकी गायिका हुन् । उनले गाएको “न बिर्सें तिमीलाई न पाए तिमीलाई” बोलको गीत सुन्दा मुटुमा कम्पन पैदा गरिदिन्छ । तर, उनले यो पनि सोच्नु पर्ने हो कि उनीजस्तो सार्वजनिक मान्छेको सानो टिप्पणीले समाजमा कत्रो उत्तेजना पैदा गर्छ ?

यो सत्य हो कि सामाजिक सन्जालमा उनको अति निर्दयी र अमानवीय आलोचना भएको छ । तर, अन्जुले यो पनि भुल्नु हुँदैन कि अन्जुलाई उनका तिनै स्रोताले पनि आलोचना गरेका छन्, जसले अन्जुमाथि घरेलु हिंसा भयो भन्दा सहानुभूति राख्थे।

 जसरी पहिले उनले साइ भजनलाई परिवर्तन गरेर प्रभु भजन बनाइन् र त्यससँगै भजन त गाउने तर शब्द फेरेर गाउने उनको बानीको विकास भयो, अब कि त उनले कुनै पनि भजन नगाउन्, होइन भने धर्म फेरेझैं शब्द फेरेर नगाउन्।