September 20
दिल निशानी मगर
तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको टुप्पोमा पाइला टेकाए भन्दैमा सगरमाथा शेर्पा र हिलारी समुदायको हुँदैनl अमेरिकी नागरिक नील आर्म्स्ट्रङ सबैभन्दा पहिले चन्द्रमामा ओर्लिए भन्दैमा चन्द्रमा न अमेरिकाको हुन्छ, न आर्म्स्ट्रङ परिवारकोl हामी खस,बाहुन लिम्बु,मगर वा अझ यसो भनौँ चार जात छत्तीस वर्णका बासिन्दा जो जहाँबाट पहिलोपटक वा निकैपछि नेपाल प्रवेश गरे पनि हामी केवल नेपाली हौँl
यदि हामी सच्चा सपुत हौँ भने आमा समान देशको सीमाना राखिनुपर्दछl हाम्रो छातीमा अखण्ड र सार्वभौम देशको सीमांकन छ कि छैन आफूलाई सोधी हेर्नुपर्छl तित्राको छाती हुनेहरु आमाको अंश खोजेर अल्लग्गै बस्न रहर गर्दछन्l आमाको झुपडीसँग तिनलाई शरम हुन्छl मलाई त यस्तो लाग्छ-नेपाल हाम्रो डेरा होइन घर नै हो, अनि हाम्रो घर नेपाल पुजनीय 'आमा' हो।
मेरो देश कुनै क्यालकुलेटरको 'डिस्प्ले' होइन l देशबासीका तमाम अंकगणितीय चाहनाको खातिर जोडघटाउ भागफल गुणनफलको हिसाबकिताब निकाल्न सख्त मनाही छ मेरो देशलाईl थाहा छैन हामी काला ब्यापारीजस्ता नागरिक कतिखेर असल नागरिक बन्न थाल्नेछौँl नेपाली आमाको थुन चुसेर छाती उघारेको एउटा लक्का ठिटो जम्मुकाश्मिरको कुनै पहाडमा छाती थापेर तल्लीन छ महाभारत जोगाउनl यता हाम्रो दसगजाको जंगे पिल्लर उखेलिएको छl
हामीलाई हाम्रो जंगे पिल्लर चाहिँदैन? लिम्बुवान भए पुग्छ? हामीलाई हाम्रो आमाको इज्जत चाहिँदैन? मगरात भए पुग्छ? बेलायती महारानी एलिजाबेथ क साम्राज्य जोगाउन बन्दुक र हेल्मेट उचालेर उभिएको कुनै सपुतलाई आफ्नै आमाको ख्याल लाग्छ होला कि लाग्दैन होला मलाई थाहा छैनl मलाई यतिखेर भूपी शेरचनको एउटा कविता याद आउँछ- 'हामी बुद्धु छौँ र वीर छौँ, बुद्धु नभइकन हामी वीर बन्न सक्दैनौँ।'
हामीले हाम्रो पहिचान र स्वार्थको लागि आमाको मुटु टुक्र्याउनु हुँदैनl देशलाई काक्राजस्तै चिर्नु महापाप होl हाम्रो पहिचान खोतल्दै गयौं भने हामी बाँदर युगमा पुग्नेछौंl अनि पुच्छर पलाएको हुनेछl हामी ओडारमा बस्नेछौं र मक्करकाँजीको जरा उखालेर पेट भर्ने छौंl हामीसँग सलाईको काँटी हुनेछैनl डल्सिन पत्थरको झिल्को पारेर आगो सल्काउने छौँl हामी नङ काट्ने छैनौँl हामी दाँत माझ्ने छैनौँl चुल्ठो काट्ने छैनौँl हामी रुखका पातहरु गाँसेर आँङ ढाक्ने छौँl मृगका छालाहरु काडेर टोपी बनाउने छौँl मान्छेको प्राचीन परिचय अनि पहिचान भनेको यही हो। यहाँभन्दा पनि अझै टाढाको पहिचान खोज्ने हो भने हामी एककोषीय जीव भइन्छl अमिबा भइन्छl अझ सबैभन्दा टाढाको अन्तिम पहिचान खोज्ने हो भने यो पृथ्वीलाई उचालेर सूर्यसँग गाँस्न पर्छl यो युगमा आफ्नो पहिचान जोगाउन आफ्नै नामको राज्य माग्नु मुर्खता होl
हामी मुलबासीभन्दा अगाडि मुलुकबासी हौँ। हामी गुरुङ, मगर, राई वा खसभन्दा अगाडि नेपाली हौँ। हाम्रो उस्तै आमाको स्तन चुसेर हामी गोर्खाली भएका हौँl पहिचानको अधिकार पाउने बहानामा 'आमा' लाई भागफल लगाउनुभन्दा हामी दुनियाँको गतिसँग परिवर्तन हुन सिकौँl मान्छेको चेतना विवेकशील छ र ऊ परिवर्तन हुन चाहन्छl केवल मुर्खहरु आफ्नो ढिपी कसेर सुतेका हुन्छन्। संसारमा जति पनि मान्छे परिवर्तन भएका छन्, ती विवेकशील छन्l बुद्दु मान्छे परिवर्तन हुन चाहँदैनl केवल पुर्खाको पहिचान बेचेर खान खोज्छl आमालाई डलरमा बेचेर अन्नपानी रुपैयाँमा किन्नेहरु राष्टघाती हुन्l
आफ्नो पुर्खाको भजन गाउँदै सानो भुमिमा खुम्चिनु हुँदैनl यो संसारमा के परिवर्तन भएको छैन? जलवायु परिवर्तन भएको छl आँधीका गतिहरु परिवर्तन भएका छन्l सुनामी बग्ने दिशा परिवर्तन भएको छl मान्छेको समुदाय पनि परिवर्तन भएको छl पहिचान ठूलो कुरा होइन, परिवर्तन ठूलो कुरा होl सबैभन्दा ठूलो कुरा परिवर्तन हो। हामी पनि परिवर्तन हुन सिकौँ। युगसुहाउँदो समाज निर्माणको निम्ति आआफ्नो ठाउँबाट पहल गरौँl आफ्नो जातको राज्यमा राजा बन्ने कोशिस नगरौँl
म मगर हुँ। मगरातको सानो भुमिमा हामी खुम्चिने हैनl नेपाल नै हाम्रो बनाउने होl हामीजस्तो ठूलो छाती भएको मानिस सानो भुमिमा खुम्चिएर बस्न सक्दैनौँl कम्तीमा पनि म सक्दिनँl म संसारलाई हल्लाउन चाहन्छुl इतिहासको किताबमा लेखियोस् न, मगरले संसार हल्लायो भनेरl
मगराती छातीको चौडाइ र लम्बाइ मागेर खाने होइन, पुस्ताको नाम भजाएर आफ्नो छाक टार्ने होइन हामीलेl हामीलाई भुगोलको सानो भुमिमा कैद गर्नु भनेको हाम्रो छाती तित्राको भन्दा पनि सानो हुनु होl भ्यागुताको जस्तै उफ्राइ हुनु होl भ्यागुता खुब उफ्रिन्छl किनभने उसको लागि कुवा आफ्नो राज्य होl आफ्नो इलाका होl तर भ्यागुता उफ्रेर संसारको उज्यालो नजरमा कैद गर्न सक्दैनl
हो हामीलाई हामो भाषाको माया छl भेष भुषाको प्यार छl रितिरिवाज को स्थायीत्वको चिन्ता छl यो सब चिन्ता बटुलेर देशको छातीमा आगो बाल्ने काम नगरौँl
धर्तीका सबै पहिचान सधैँभरी उस्तै अस्तित्वमा रहन सक्दैनन्l डायानोसर लोप भयोl ऊ लोप हुनु मा ऊ कारक होइनl ऊ लोप हुनु धर्तीको जैविक नियम होl
के हामी मानिस जीवविज्ञानभन्दा बाहिर छौँ? पुरानो ठाउँमा नयाँ वस्तु वा चिजले स्थान पाउँदैन?
अब केही घलेहरु फेरि बोल्न सक्छन्- हामीलाई दौडन देऊ,हामीलाई राजा हुन देऊ, हाम्रो पहिचान घलेदौड हो। गोर्खा हाम्रो होl हुन पनि हो १७औँ शताब्दीमा लमजुङे राजा यसोब्रम्हका छोरा द्रब्य शाहले सो दौडमा प्रथम भई राजा भएको इतिहास अहिले पनि साक्षी छ।
सबैले ऐतिहासिक पृष्ठभूमिको आधारमा अधिकार खोज्ने हो भने मलाई पनि राजा हुन मन छl गोर्खामा तत्काल घले दौडको आयोजना गर्नुपर्छl म भरतबहादुर बिसुरालभन्दा पनि तगडा कुद्छु र गोर्खाको नयाँ राजा बन्छुl अहिले हाम्रो किराँत वंशका पहिचानबादी आन्दोलनकारीको असान्दर्भिक माग भनेकै यही होl उनीहरुलाई लिम्बुको राजा ब्युँताउन परेको छl उनीहरुलाई किरात वंशको झैँ हैकम चलाउनु छl तर तिनलाई थाहा हुन पर्ने हो, परिवर्तनशील संसार डिजिटल भैसकेको छl
नेपाल सानो छ। तर हाम्रा माग ठूला छन्। सबैलाई जमिन भाग लगाउनु छ र आफू अझै सानो भएर खुम्चिनु छ। हामीलाई सीमा स्तम्भ हराएकोमा पिर छैन, दौरासुरुवाल लगाउने चलन हराएकोमा पिर छ। मानौँ दौरासुरुवाल रहेमा देश रहन्छ, सीमा रहिरहनु पर्दैन। कस्तो नियति हो यो? देशभन्दा ठूलो एक जोर लुगा। एक थान बाजा। एक थान भाषा। जसरी बुद्ध जन्मेको भारतमा हो भनेर अफवाह फैलँदा सम्पूर्ण नेपालीको खुन उम्लेर आउँछ, त्यसरी नै धरान-धनकुटा किराँतीको हो भन्दा मलाई पनि खुन उम्लेर आँउछ, किनभने भुमि भनेको भगवान पनि हो। भुमि भनेको पुजनीय आमा होl
हामी गरिब हुनुको मुख्य कारण-बहुजाति, बहुभाषा र बहुधर्म पनि एक होl यी तीन चिजलाई सही ब्यबस्थापन नगरे दलित, हरुवा, चरुवालाई सामाजिक बन्धनबाट मुक्त गर्न सकिँदैनl अन्य जनजातिमा दम्भ र अहमताको भावना अन्त्य हुँदैनl त्यसैले कुनै पनि जात विशेष प्राथमिकतामा रहनु हुँदैनl पुँजीवादको बिरोधी शक्ति भनेका यिनै तीन दम्भ हुन्l अब यो बहुलाई हटाएर एक बनाउनुपर्दछl देशलाई एक ढिक्का अनि एक मत बनाउनुपर्दछl यस्तो सोचौँ कि- नेपाल चार जात छत्तिस बर्णको फूलबारी होइन, एउटा जातको फूलबारी हो त्यो हो- नेपाली जातिकोl यी सबै जातिको अभिभावक नेपाल आमा हुन्।
नेपालमा बहुदलीय प्रजातन्त्र छl चुनाब हुन्छl अहिले त यो रिपब्लिक नेपाल भन्ने पनि आएको छl 'वाक' अधिकार छl समानुपातिक सहभागिताको अवधारणा बिकास भइसकेको छl त्यसकारण बाहुनहरु हामी आजीवन सत्तामा छौँ र जनतातिहरु हामी सत्ताभन्दा बाहिर छौँ भन्नु बेकार होl मेरो देशमा लाखौँ बाहुन राउटेको हैसियतमा छन्l सोही अनुपातमा जनजाति पनि छन्l किनभने मेरो देशमा विकासको मूल फुट्न अझै बाँकी छ।
हो, हामी अगाडि बढ्नुपर्छl हाम्रो समुदायको विकास हुनुपर्दछl तर हतारले होइनl अर्कोलाई उछिने महत्वाकांक्षामा सहयात्रीलाई धक्का दिएर, घोच्याएर होइन, आफू उक्लने प्रयासमा अरूको खुट्टा तानेर, अर्कालाई छिर्के हानेर होइनl अर्थात् आफनो महत्वाकाँक्षा पूर्तिका लागि उचित अनुचित सबै हतकण्डा प्रयोग गरेर, बाटो कुबाटो सबैतिर दगुरेर होइनl देश भनेको पूजनीय आमा होl
No comments:
Post a Comment