Sunday, September 14, 2014

झोलाका निर्देशक भन्छन- ‘निर्माता रोएका बेला अवार्ड लिएर हाँस्न सकिन’ सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड गोपीकृष्णको स्टोरमा

September 13
काठमाडौं । गोपीकृष्ण मुभिजले गरेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ मा यादबकुमार भट्टराई निर्देशित चलचित्र ‘झोला’ ले चार विधामा अवार्ड पायो । नायिका, सह-नायिका, सर्वोत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशक । यी मध्ये नायिका गरिमा पन्त र सह-नायिका लक्ष्मी गिरीले कार्यक्रममै उपस्थित भएर अवार्ड ग्रहण गरे ।
 अन्य दुई विधाको अवार्ड गोपिकृष्ण हलकै एउटा कुनामा थन्किरहेको छ । गोपिकृष्ण मुभिजले निर्देशक भट्टराइसँग सम्पर्क भएको र अवार्ड लिन आउँदै गरेको दाबी गरेको बेला भट्टाराईले त्यस्तै कुनै कुरा नभएको बताए । ‘म अवार्ड लिन जान्न । मसँग अवार्डको विषयमा कुनै कुरा भएको छैन ।’ निर्देशक भट्टराइले अनलाइनखबरसँग भने । नेपालमा निजी क्षेत्रवाट हुँदै आएको कुनै पनि अवार्डले विश्वसनियता आर्जन गर्न नसकेकाले यस्ता अवार्डप्रति आफ्नो आकर्षण नरहेको उनको भनाई छ । ‘हरेक अवार्डका आ-आफ्नै उत्कृष्ट फिल्म, निर्देशक र हिरो हिरोईन छन् । साँच्चै उत्कृष्ट को हुन त ?’ झनै समस्या भएको छ ।’ निर्देशक भट्टराईले भने ।
 उत्कृष्ट को ?
 यसै वर्ष भएको केही अवार्डको कुरा गर्ने हो भने तीन जना निर्देशकले उत्कृष्ट निर्देशकको अवार्ड पाईसकेका छन् । यादब भट्टराई, विकास आचार्य र जोएस पाण्डे विभिन्न शीर्षकका अवार्डमा उत्कृष्ट भईसकेका छन् । यही वर्ष हुन बाँकी अवार्ड कार्यक्रमले अरु सर्वोत्कृष्ट फिल्म र निर्देशक जन्मायो भने आश्चर्य नमाने हुन्छ । नेपालमा फिल्म क्षेत्रमा दिइने कतिपय अवार्ड कलाकारको क्षमता भन्दा पनि उसँग आयोजकको सम्बन्धले बढी प्रभावित हुने गरेको छ ।
 प्रायः अवार्ड बितरकहरु संस्थाले क्षमतावानलाई दिने भन्दा पनि हरेक वर्ष दामासाहीले सबैलाई भाग पुर्‍याउने गरि दिने गरेका छन् । यस्ता ब्यबहारलाई नजिकवाट बुझेका निर्देशक भट्टराई यही परिपाटीले दर्शक समेत अन्यौलमा परेको धारणा राख्छन् । ‘दर्शकलाई नै गार्‍हो छ, कुन संस्थाले दिएको अवार्डको आधारमा कसलाई उत्कृष्ट मान्ने ?’- भट्टराई भन्छन् ।  

हरेक वर्ष डुब्छन एकसय फिल्म
 पछिल्ला केही वर्ष फिल्म निर्माणको संख्या बढे लगत्तै फिल्म बनाएको शीर्षकमा डुब्ने निर्माताहरुको संख्या समेत बढेको छ । फिल्म ब्यापारको सही आँकडा निकाल्ने हो भने वर्षमा सजिलैसँग लगानी उठाउने फिल्मको संख्या ५/६ वटा भन्दा बढी हुँदैन । एकसय भन्दा बढीको लगानी डुबिरहेको छ । चलचित्रकर्मीसँग सम्बन्धित संघसंस्था निर्माता संघ, चलचित्र संघ लगायत थुप्रै संस्था छन् ।

तिनले बेला-बेलामा फिल्मको बजार ठिक छैन भन्छन् तर, बजार ठिक बनाउने विषयमा पटक्कै पहल गर्दैनन् । निर्देशक भट्टराइलाई सबै भन्दा चित्त दुखेको कुरो रहेछ आफ्नै वारेमा झुटो बोल्ने शैलीप्रति । आफ्नो फिल्मले पोष्टर टाँसेको पैसा समेत राम्ररी नउठाएको बेला नाफा भयो भन्नेहरु देख्दा दिक्क लाग्दो रहेछ उनलाई । उनले बनाएको फिल्म ‘झोला’ राम्रो भएको मात्रै हैन ।

धेरै पैसा कमाएको समेत हल्ला चलेको छ । तर, निर्देशक भट्टराइ ती सबै भनाई हावादारी भएको बताउँछन् । आफ्नो फिल्मको निर्माताले अझै केही पैसा तिर्न बाँकी रहेको बताए । ‘यत्रो हिट भनिएको फिल्मका निर्माताले अझै लगानी उठाउन सकेका छैनन् म कसरी हाँसेर अवार्ड उठाउन जाऔ ?’ भट्टराईको प्रश्न छ ।

No comments: