Tuesday, August 26, 2014

भारतले लगायो दार्चुला जाने झोलुंगे पुलमा ताला

26 August 2014 18:29

Nepal-India Boarder Brigeदार्चुलामा भारु एक लाख पाँच हजारसहित सशस्त्र प्रहरी बलले एक भारतीय महिलालाई पक्राउ गरी काठमाडौँ पठाएपछि यहाँको सीमा नाकामा तनाव उत्पन्न भएको छ । भारतीय पक्षले विरोधस्वरुप दार्चुला सदरमुकामको प्रमुख नाका झोलुङ्गे पुलमा तालाबन्दी गरेका छन् ।
शुक्रबार सशस्त्र प्रहरीले सीमामा जाँचका क्रममा भारतको मुनस्यारी क्षेत्रको बौना गाउँकी ४० वर्षीया महिलालाई भारु एक लाख पाँच हजारसहित पक्राउ गरी अनुसन्धानका लागि आन्तरिक राजस्व अनुसन्धान विभाग काठमाडौँ पठाएपछि भारतीय पक्षले सीमामा सशस्त्र प्रहरीले ज्यादति गरेको भन्दै आन्दोलन गरिरहेको छ । महिला पक्राउको विरोधमा व्यापार मण्डल धारचुलाले आज बिहान ८ बजेदेखि सो पुलमा तालाबन्दी गरी नाराबाजी गरिरहेको छ ।
श्रीमान्को उपचारका लागि धारचुला अस्पताल आएको बेला नेपाल घुम्न आउँदा निज महिलालाई पक्राउ गरेर नेपालले सीमामा तनाव उत्पन्न गराएको धारचुला व्यापार मण्डलका अध्यक्ष भुपेन्द्र थापाले बताउनुभयो ।
“रु एक लाख रकमसहित ती ग्रामीण महिला आफ्नो श्रीमान्को उपचारका लागि धारचुला अस्पताल आएकी थिइन्”, अध्यक्ष थापाले भन्नुभयो, “त्यही क्रममा आफन्तलाई भेट्न नेपाल घुम्न आउँदा पक्राउ गरेर नेपालले सीमामा तनाव उत्पन्न गराएको हो ।”
सीमामा रु ५०० र हजारको नोट अवैध मानिने भएकाले सशस्त्र प्रहरीले शुक्रबार उनको साथबाट उक्त परिमाणको भारतीय रुपैयाँसहित बरामद गरी अनुसन्धानका लागि काठमाडौँ पठाएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी नायब उपरीक्षक वीरसिंह साहुले बताउनुभयो ।
सीमा नाका बन्दमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कस्टमको समेत समर्थन रहेको थापाले बताउनुभयो । सीमामा भारतीय रुपैयाँ बरामद गरी महिलामाथि मुद्दा चलाएको विरोधमा भारतीय व्यापारीहरुको आन्दोलनमा आफूहरुको समेत समर्थन रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो । भारतीय पक्षले यसै विषयलाई लिएर सीमावर्ती बजार धारचुला बन्द गराएका छन् ।

No comments: