Tuesday, September 2, 2014

३० रुपैयाँ बोकेर काठमाडौं छिरेका नारायणकाजीको दैनिकी -दिउँसो साझाबसमा सरर, साँझबिहान डेक्ची ड्राइभिङ !


September 2 काठमाडौं । पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दिनभरि के गर्छन् ? यसबारे चियोचर्चो गर्दै अनलाइनखबरको टोली एकाबिहानै ललितपुरको हात्तीवन पुग्दा उनी दुईजना सेक्युरिटी गार्डका साथ ‘मर्निङ वाक’का लागि गेटबाट बाहिरिँदै थिए । साभार:अनलाइनखबरको क्यामेराले ‘पापाराजी’ले जस्तै बिहानदेखि राति अबेरसम्म नारायणकाजीलाई पछ्यायो । यस क्रममा केही रोचक दृश्य र सूचना फेला पार्न अनलाइनखबरकर्मी सुरेश भुसाल र श्रीधर पौडेल सफल भए ।
असीन-पसीन हुँदै मर्निङवाकः
नारायणकाजी बिहान ५ बजे मर्निङवाकका लागि घरबाट निस्कन्छन् । मर्निङवाक नगरेको दिन ज्यानमा फूर्ति नआउने उनको अनुभव छ । उनी सधैं एक घण्टा पसिना चुहिने गरी मर्निङ वाक गर्छन् । साथमा दुईजना सुरक्षाकर्मी हुन्छन् । काठमाडौंमा मर्निङवाकका लागि व्यवस्थित सडक पेटी र पार्क नहुँदा लाखौं मानिसको स्वाथ्यमा खेलवाड भएकोमा श्रेष्ठलाई चित्त बुझेको छैन ।
शारीरिक व्यायामः 
 मर्निङवाकबाट फर्किएपछि श्रेष्ठ सामान्य व्यायाम गर्छन् अनि नुहाउँछन् । ईश्वरमा आस्था नराख्ने भौतिकवादी श्रेष्ठमा ध्यान र योगाले आत्माशुद्वी गर्ने विश्वास छ । उनी पूजापाठ र कर्मकाण्ड गर्दैनन् । तर, आध्यात्मवादका सकारात्मक कुराहरुलाई ग्रहण गर्नुपर्ने श्रेष्ठको विश्वास छ ।
 भित्तामा बुद्धवाणीः
मार्क्सले पूर्वीय दर्शन बुझ्न नपाएका कारण सबै धर्मको विरोध गरेको श्रेष्ठको बुझाइ छ । उनलाई आध्यात्मिक व्यक्तित्वमध्ये सबैभन्दा मनपर्ने बुद्ध हुन् । बुद्वका वाणीहरु आफ्नो निवासको कम्पाउण्डको भित्तामासमेत लेखाएका छन् उनले । पूर्वीय दर्शनमा रहेको ध्यानको महत्वबारे उनी सचेत छन् । ध्यानलाई उनी विज्ञान मान्छन् ।
 घाँटीको थेरापीः
घाँटीको नशामा समस्या आएपछि दुई वर्ष पहिले जापानमा शल्यक्रिया गरेका श्रेष्ठले दुखाइ बढेपछि फिजियोथेरापी गराउने गरेका छन् । घाँटीमा पाता राखेका कारण समस्या भएका कारण श्रेष्ठ अहिले पनि सजिलोसँग दायाँ-बायाँ हेर्न सक्दैनन् । पछिल्लो समय सामान्य उपचार गर्न पनि नेताहरु विदेश जान लागेको देख्दा नारायणकाजीलाई चित्त बुझेको छैन । उनी भन्छन्-’यो घाँटीको पाता निकालेर फालौं र मरौं जस्तो लाग्छ ।’ आफूले स्वदेशमै उपचार गर्ने र यहीँ मर्ने बताए पनि साथीभाइको जोडका कारण जापानमा अप्रेसन गर्न जानुपरेको उनको भनाइ छ ।
 बिहानको खान्कीः 
 कहिल्यै चिया नपिउँने नारायणकाजी बिहान कागती पानीमा मह मिसाएर पिउँछन् । उनलाई कोदो र फापरको रोटी साह्रै मनपर्ने परिकार हो । ब्रेकफास्टमा उनी प्रायः कोदो, फापरको रोटी र कहिलेकाँही पाउरोटी खान्छन् । साथमा एक गिलास दूध पनि । नारायणकाजी बिहानको खानामा दाल, भात र तरकारी भात खान्छन् । उनी साकाहारी हुन् । उनले पाँच चिज कहिलै खाँदैनन्- चिया, कफी, रक्सी, मासु र चुरोट । खानामा उनलाई सधैं साग चाहिन्छ । सकेसम्म उनी घरमै खाना खाएर बाहिर निस्कन्छन् ।  गुन्द्रुक, मस्यौरा र तीतेकरेला उनलाई मनपर्ने परिकार हुन् । उनलाई सबैभन्दा मनपर्ने पोलेको हरियो मकै हो । भूमिगतकालमा तत्कालीन एकताकेन्द्रका महासचिव रहेका बेला उनलाई खोज्न सुराकीहरु मकै पोल्ने ठाउँमा पुगे भने सजिलै पक्राउ पर्ने भन्दै पार्टीका कार्यकर्ताहरुले जिस्क्याउने गरेको श्रेष्ठले बिर्सेका छैनन् ।भाँडा मस्काउने आदतः हालसम्म अविवाहित श्रेष्ठ आफूले खाना खाएका भाँडा आफैं माझ्छन् । तर, पाहुनालाई भने उनले थाल सफा गर्न दिँदैनन् । यद्यपि एक्ला श्रेष्ठलाई साथ दिन सहयोगी जानुका उनको भान्सामा भेटिइन् । खानेकुरामा यस्तो भएन र उस्तो भएन भनेर नारायणकाजी गुनासो गरेको जानुकाले कहिल्यै छैनन् ।
काजीको पढाइः
नारायणकाजी फुर्सद भएसम्म बिहानमा पत्रपत्रिका र पुस्तक अध्ययन गर्छन् । उनलाई साहित्यमा त्यति रुची छैन । उनी विवादास्पद, पोलिटिकल इकोनोमी, सोसियल साइन्स र नेपाल सम्बन्धी कुनै अनुसन्धानसम्बन्धी किताव पाए तत्काल किनेर पढ्छन् । उनलाई आत्मकथा पनि साह्रै मन पर्छ । उनले भर्खर निस्केको पूर्वसेनापति रुक्माङगत कटवालको पुस्तक पनि किनिसकेका छन् । तर, पढ्न भ्याएका छैनन् । कहिलेकाँही एकैपटक १० हजारसम्मको किताव किनेको अनुभव छ उनीसँग । उनी फुर्सद पाउनासाथ पुस्तक पढिहाल्छन् । पछिल्लो समय भेनेजुएलाको क्रान्तिसम्बन्धी पढेको पुस्तकले मन छोएको उनी बताउँछन् । उनी अरु गिफ्टभन्दा पुस्तक पाउँदा बढी खुशी हुन्छन् ।
टाइममा पक्काः
श्रेष्ठको निवासमा भेट्नका लागि प्रायः नेता, कार्यकर्ता आइरहन्छन् । तर, उनी टाइममा पक्का छन् । उनी कसैलाई एक मिनेट बढी कुराउँदैनन् र अरुलाई कुर्दैनन् पनि ।घरमा भेट्न आउने मानिस समयमा आइनपुगे किन समयमा नआउनुभएको भनेर आफै फोन गर्छन् । टाइम नलिई आएका मानिसलाई भेटै दिँदैनन् । उनलाई भेट्न पहिले नै समय निर्धारण गरी र तोकिएकै समयमा पुग्नुपर्छ । अनलाइनखबरको क्यामेराले हेरिरँदा समय नलिई भेट्न आउनेलाई उनी भन्दै थिए, तपाई टाढा (डडेलधुरा) बाट आएकाले भेट्न पाउनुभयो, नभए समय नलिई आउनेलाई फर्काउँथें ।
 घरबस्दा पाइजामाः
 नारायणकाजी प्रायः घरमा बस्दा पाइजामा लगाए पनि पार्टी कार्यालय र बाहिर भेटघाटमा जाँदा सर्ट पाइन्ट नै लगाउन रुचाउँछन् । उनको कपडामा कुनै छनोट छैन । उनलाई ब्राण्डको पनि कुनै मतलव छैन । प्रायः आफु कपडा किन्न जाँदैनन् । सहयोगीहरुले ल्याइदिएको कपडामै चित्त बुझाउँछन् । नारायणकाजी भन्छन्- मलाई जे सजिलो र हल्का लाग्छ, त्यही लगाउँछु ।
 हात्तीवन टु पेरिसडाँडाः
सुरक्षाकर्मी र निजी सवारी साधन त्यागेर सामान्य नागरिक जस्तै सार्वजनिक सवारीमा यात्रा गर्ने नारायणकाजी आफ्नो निवास अगाडिबाट माइक्रो बस चढेर पार्टी कार्यालय पेरिसडाँडा जाने/आउने गर्छन् । ‘मेरो यो आन्दोलन हो । पार्टीमा भ्रष्टीकरण बढ्दै गएका कारण यस्तो आन्दोलन थालेको हुँ,’ उनको भनाइ छ, ‘एकपटक मन्त्री हुँदैमा जीन्दगीभर पुग्ने गरी पैसा र महंगा गाडी कहाँबाट आउँछन् ? मेरो पार्टीले यो कुराको बोध नगरेसम्म मेरो आन्दोलन जारी रहन्छ ।’
कोटेश्वरमा लुरुलुरुः कोटेश्वरमा गाडीबाट ओर्लेर पार्टी कार्यालयसम्म पुग्दा करिव ४/५ जना मान्छेबाट नमस्कार थापे । ‘बधाइ छ हजुर, धेरै राम्रो काम गर्नु भएको छ, यो त सबै पार्टीका नेताले सिक्नु पर्ने हो नि ।’ गाडीमा यात्रुले उनलाई भने । पार्टी कार्यालय पेरिसडाँडामा एक जना पीएसओ सँगै लुरुलुरु हिँडेर पुग्दा कार्यालयको झ्याल र दायाँबायाँ रहेका नेता तथा कार्यकर्ता उनलाई हेर्दै मुसुमुसु हाँसिरहेका भेटिए ।  नेपाल यातायात जिन्दावाद ! पार्टी कार्यालयको मिटिङ सकेपछि नारायणकाजी प्रचण्डनिवास लाजिम्पाटतर्फ लागे । नारायणकाजीले सोधे- यहाँबाट सीधै लाजिम्पाट पुग्ने एउटै गाडी छैन ? उनलाई जवाफ आयो, नेपाल यातायात बालुवाटारसम्म पुग्छ, तर साह्रै भीड हुन्छ ।  भीड नै भए पनि फरक पर्दैन भन्दै श्रेष्ठले नेपाल यातायात चढ्ने निधो गरे । संयोगवस त्यहाँ एउटा सीट खाली रहेछ । उनी त्यही सीटमा बसे । अगाडि ‘महिला’ लेखेको सीटमा पुरुष बसेको र महिला उभिएको देखेपछि तत्काल उनले ती दुईजना पुरुषलाई उठाएर महिलालाई बस्न भने । उनले चालक र सहचालकलाई अबदेखि यस्तो हुन नदिनू भन्दै सम्झाए । बालुवाटार टु लाजिम्पाटः वालुबाटारमा नेपाल यातायातबाट ओर्लेर करिव १० मिनेट हिँडेपछि श्रेष्ठ प्रचण्डनिवास पुगेे । काठमाडौंको बाटोमा सर्वसाधारणले जस्तो समस्या भोग्छन्, पूर्वमन्त्री श्रेष्ठले पनि त्यस्तै भुक्तमान भोगे, कतै हिलो, कतै आहाल । प्रचण्ड निवासमा केही कर्मचारीले अरुलाई सोध्दै थिए, नारायणकाजी हिँडेरै यहाँसम्म आएका हुन् ?  लाजिम्पाटको छतमा एक क्लिकः अध्यक्ष प्रचण्डले अनौपचारिक वार्ताका लागि श्रेष्ठलाई निवासमा बोलाएका रहेछन् । प्रचण्ड निवासमा एमाओवादी नेताहरुको आउने- जाने क्रम चलिरहेको थियो । करिव तीन घण्टापछि ढुकेपछि ‘पापाराजी’हरु प्रचण्डनिवासको छतमै पुगे, जहाँ दुई जनामात्रै गफ गरिरहेका थिए । साझाबसमा जो पनि चढ्दछन्ः प्रचण्डनिवासबाट लुरुलुरु हिँडेर निस्कँदै गर्दा केही नेताले नारायणकाजीलाई गाडीमा घर पुर्‍याइदिने आग्रह गरे । तर, नारायणकाजीले मानेेनन् । उनी लाजिम्पाट चोकबाट लगनखेलसम्म जाने साझा यातायातमा चढे । साझा बसमा केहीबेर उभिएपछि सीट खाली भयो । साझा यातायातमा पनि उनले महिलाको सीटमा बसेका पुरुषलाई उठाउन भ्याए । ‘चेतना नभएका कारण यस्तो भएको हो’ यात्रु, गाडीचालक र सहचालकको लापरवाहीबारे गफिँदै उनी लगनखेल पुगे । हात्तीवन, हरिसिद्धी ! लगनखेलमा साझा बसबाट ओर्लिएर हात्तीवनको माइक्रो चढ्दा त्यहाँ मान्छे बस्ने ठाउँ थिएन, जेनतेन सीट मिल्यो । सहचालक कराइरहेका थिए, एई… हात्तीवन, हरिसिद्धी ! एक्कासी माइक्रोे चालकले अत्तालिँदै खासखुस गरे, ‘यो नारायणकाजी होइन ?’ त्यहाँ बसेका सर्वसाधारणले नारायणकाजी नै भएको बताएपछि तत्काल सहचालकलाई बोलाएर चालकले भने ‘बाबु सीटभन्दा धेरै मान्छे नराख है । र, सबैसँग मीठो बोल है, गाडी भरिएको छ, मान्छे नउभ्याई हिँडिहालौं ।’ तत्काल गाडी हिँड्यो । नारायणकाजी राति ८ बजे निवासमा पुगे । गाडीभित्रै ‘हेल्लो सरकार’ ! नारायणकाजी सार्वजनिक गाडीमा सेलिब्रेटी जस्तै बनिसकेका रहेछन् । गाडीमा उनलाई नचिन्ने मानिस कमै छन् । गाडीको यात्रामा भेट्ने मान्छेले त्यहीँभित्र आफ्ना समस्या राख्ने तथा श्रेष्ठलाई धन्यवाद दिने गर्छन् । नारायणकाजी गाढी चढेको थाहा पाएपछि गाडी स्टाफहरुको सर्वसाधारणलाई गर्ने व्यवहार नै फरक हुन्छ । उनी सबैसँग सजिलै बोल्ने र सर्वसाधारणको गुनासो सुन्ने गर्दारहेछन् । उपप्रधानमन्त्री भैसकेका उनलाई सार्वजनिक गाडीमा देख्दा सर्वसाधारण पनि छक्कै पर्दारहेछन् । नेपाल यातयातमा भेटिएका जनयुद्वकालमा जागिर छोडेका पूर्वप्रहरीले नारायणकाजीलाई गुनासो राख्न पाएकोमा खुसी व्यक्त गरे । उनलाई बधाइ दिने र नमस्कार गर्नेको घुइँचो नै देखियो सार्वजनिक यातायातभित्र ।
 रातिसम्म भीडभाडः
राति ८ बजे घर पुगेका नारायकाजीलाई भेट्न कार्यकर्ताले कुरिरहेका थिए । उनले ड्रेस नफेरी कार्यकर्तालाई भेट्न थाले । खाजा पनि खान भ्याएनन् ।
काजीको डिनरः 
 कार्यकर्ता भेटघाट सकेपछि उनी कपडा फेरेर खाना खान तयार भए । बेलुकाको खानामा उनी मकैको च्याँख्ला, कोदो या फापरको ढिँडो खान बढी रुचाउँछन् । तर, पाहुना भएका बेला उनको भान्सामा भात तरकारी नै पाकेको हुन्छ । बेलुका खाना खाएपछि उनी अध्ययनमा लाग्छन् । जति थकित भए पनि आफूले खाएका भाँडा माझ्ने बानी उनले छाडेका छैनन् ।
 ३० रुपैयाँ बोकेर काठमाडौं: एमाओवादी नेता श्रेष्ठ ३० रुपैयाँ बोकेर गोरखाबाट काठमाडौं छिरेका हुन् । गोरखाको गाउँमा रहेको उनको परिवार शुरुमा धनी किसान वर्गको भए पनि पछि आर्थिक अवस्था खस्केको उनको भनाइ छ । गाउँमा छँदा बाख्रा चराउने गरेको उनी सम्भिmइरहन्छन् । विद्यालय पढुञ्जेल उनको रोल नम्बर एक थियो । नेता नारायणकाजीले अहिले आफ्नो व्यक्तिगत सम्पत्ति नरहेको बताउने गरेका छन् । त्यसो त उनको अपुताली खानका लागि छोराछोरी वा पत्नी पनि छैनन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै एक्ला नेता हुन् ।  
डाक्टर बन्ने रहरः
नारायणकाजीले सुरुमा डाक्टर बन्ने लक्ष लिएका रहेछन् । त्यही भएर उनी त्रिवि शिक्षण अस्पताल अन्तरगतको मेडिकल कलेजमा भर्ना भएछन् । तर, मान्छेको डाक्टरी गर्नुपर्ने व्यक्ति विस्तारै समाजको अप्रेसन गर्ने राजनीतितिर तानिएर भूमिगत बन्न पुगे ।
 मन्त्री हुँदाको कर्म :
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बन्दा आफूले गरेको कामप्रति नारायणकाजीलाई गर्व छ । ०५७ सालमै व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाइसकेको र मन्त्री बन्दा पनि केही नकमाएको उनको दाबी छ । राष्ट्रियतालाई केन्द्रमा राखेर काम गरेको, प्रणाली स्थापनामा जोड दिएको र भ्रष्टाचारविरोधी काम गरेको भन्दै उनी सन्तुष्ट देखिन्छन् ।
पहिले कांग्रेस, पछि कम्युनिष्टः
नारायणकाजी सुरुमा कांग्रेस रहेछन् । कांग्रेसको विद्यार्थी राजनीतिमा काम गर्दागर्दै ०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएपछि कांग्रेस पञ्चायतपरस्त र राजपरस्त भएको भन्दै श्रेष्ठ कम्युनिष्ट पार्टीतर्फ आकषिर्त भएका रहेछन् । वीपीको ‘मेलमिलापको नीति’ श्रेष्ठलाई पटक्कै मन पर्दैन ।
 sister सुसन दम्पतीको साथः
नारायणकाजीको निजी सचिवको भूमिका खेलिरहेकी सुसन कर्माचार्य संस्थापक कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यकी भतिजी हुन् । जापानमा अध्ययन गरेकी सुसनमा व्यवस्थापकीय क्षमता अन्य एमाओवादी नेताका स्वकीय सचिवमा भन्दा अब्बल रहेको बताइन्छ । सुसनका पति लक्ष्मण श्रेष्ठले नारायणकाजीको घरायसी समस्याको व्यवस्थापन गरेका छन् । सुसनले चाँहि उनको अफिसियल कामको ‘म्यानेजमेन्ट’ गर्छिन् । अनलाइनखबरको टोली साँझमा काजीनिवास पुग्दा त्यहाँ सुसन र लक्ष्मण दुबै भेटिए । भिडियो हेर्नलाई यो लिन्क्मा जानुहोस  साभार:अनलाइनखबर

No comments: