Monday, August 25, 2014

काठमाडौ, भाद्र ८ - हत्या अभियोगमा पक्राउ

काठमाडौं (कास)- प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले कवाडीको सामान उठाउने औले भन्ने बाहुनको हत्या गरेको आरोपमा डल्लु बस्ने थ्रीस्टार भनिने रविन महर्जनलाई पक्राउ गरेको हो। महर्जनसहित ४ जनाले आर्थिक लेनदेनको विवादमा कुरा नमिल्दा पूरा नाम, थर र ठेगाना खुल्न नसकेका ती व्यक्तिको रत्नपार्कमा हत्या गरेको प्रहरीले जनाएको छ। 



मन्दिर पहिरोको जोखिममा

ललितपुर (कास)- बुङमतीस्थित कार्यविनायक मन्दिर पहिरोको जोखिममा परेको छ। पश्चिमपट्टि पहिरोले मन्दिरको भित्ता छोइसकेको छ। दक्षिण पश्चिममा करिब २०० फिट जति गहिरो पाखोमा पहिरो गएको छ। करिब ६० रोपनी क्षेत्रफलमध्ये ३० रोपनी जति पहिरोले क्षति पुर्‍याइसकेको छ। 

 बुङमती गाविस सचिव विकेन्द्रकुमार दीप बिसीले मन्दिर क्षेत्रको भू-क्षय नियन्त्रण गर्ने, अतिक्रमणमा परेको वनक्षेत्रका सीमांकन गर्ने र बसपार्कदेखि कार्यविनायक मन्दिरसम्मको बाटो फराकिलो बनाउने प्रस्ताव जिविसमा पठाइसकेको बताए। पुरातत्त्व विभाग दरबार हेरचाह कार्यालयका इन्जिनियर धु्रव अधिकारीले समितिबाट योजना ल्याए आवश्यक सहयोग गर्ने बताए।



समुचित विकासमा जोड

काठमाडौं (कास)- राजधानीमा विभिन्न पेसा व्यवसायमा संलग्न झापालीहरूले झापा साधनस्रोतले सम्पन्न भए पनि समुचित विकास हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले भौतिक पूर्वाधारको विकास र उद्योगमैत्री वातावरण बनाउन सके झापामा स्वदेशीमात्रै नभई विदेशी लगानीसमेत भित्रिन सक्ने दाबीसमेत गरे। 

झापाका अधिकांश सांसदहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले जिल्लामा अदुवा, सुपारी, डेरी, अलैंचीलगायत कृषिजन्य उत्पादनको पर्याप्त सम्भावना भए पनि सबै उत्पादन कम मूल्यमै निर्यात हुँदा फाइदा लिन नसकिएको बताए। काठमाडौं क्रियाशील झापा मारवाडी समाज तथा झापा समाजले शनिबार यहाँ गरेको कार्यक्रममा कांग्रेस नेता तथा सभासद कृष्णप्रसाद सिटौलाले झापाको विकासको सम्भावना समाजले तथ्यसहित उजागर गरेर सरकार तथा राजनीतिक दलहरूको आँखा खोलिदिएको बताए।

 

ह्योल्मो जनजाति राजधानीमा


काठमाडौं (कास)- देशभरि छरिएर रहेको आदिवासी ह्योल्मो समुदाय राजधानीमा भेला भएका छन्। 

ह्योल्मो समुदायको मौलिक भेषभूषा, धर्म, संस्कृति, रीतिथिति, परम्पराको संरक्षण, संवर्द्धन तथा सामाजिक एकताका निम्ति राष्ट्रिय भेलाको आयोजना गरिएको संयोजक किन्जो ओमु ह्योल्मोले बताइन्। ह्योल्मो समुदाय सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये एक हो। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार ह्योल्मोको जनसंख्या १० हजार ७ सय ५२ रहेको छ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले राष्ट्रिय भेलाको उद्घाटन गर्दै राज्यले आदिवासी जनजातिको पहिचान र अस्तित्व बचाउन नीति तथा कार्यक्रमहरू निरन्तर राखेको बताए।

 

हेभी इक्विपमेन्ट संघ गठन

भक्तपुर (कास)- निर्माणसँग सम्बन्धित हेभी सवारी साधन व्यवसायीहरूको भेलाले हेभी इक्विपमेन्ट व्यवसायी संघ गठन गरेको छ। व्यवसायीहरूको भेलाले राजाराम न्हिसुतुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष कृष्णराम गेलाल, सचिव विजयकुमार देउजा, सहसचिव शिवहरि दाहाल र कोषाध्यक्षमा राजेश त्वानावासु छन्।

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:२४

No comments: