Monday, August 25, 2014

३२ जवान एउटै कोठामा

भक्तपुर, भाद्र ८ - 
भर्‍याङ र त्यसको कुनामा कोचिएर राखेको झोला, जुत्ताको लहर। हेर्दा लाग्छ कहीं बसाइँ जान ठिक्क पारेको झोला हो। तर त्यो झोला बसाइँ जानका लागि ठीक पारेको होइन। महानगरीय ट्राफिक प्रहरी वृत्त सल्लाघारीमा कार्यरत ट्राफिक प्रहरीको कोठामा सामान नअटाएर झोलामा हालेर भर्‍याङको खुट्किलामा राखिएको मात्र हो। सबैको सुरक्षामा खट्ने प्रहरी नै असुरक्षित होलान् भन्ने महसुस कसैले गरेको हुँदैन तर यहाँ एउटै कोठामा ३२ प्रहरी जवान ठेलमठेल गर्दै बस्नुपरेको छ। कार्यालय प्रमुख इन्स्पेक्टरले कार्यालय बारेर सुत्ने कोठा बनाएका छन्। सई र असईको कार्यालय र कोठा एउटै छ। एउटा कोठा रिसेप्सनका लागि छुट्याएको छ। ट्राफिक कार्यालय सल्लाघारीमा ३५ जनाको दरबन्दी छ। तर कार्यालय र आवास गरी ४ वटा मात्र कोठा लिइएको छ। खाना पकाउन बाहिर सानो टहरा बनाइएको छ। 

भवन जीर्ण बनिसकेको छ। सरकारले हाइटेन्सन लाइनको सय मिटर वरपर नक्सापाससमेत रोकेको छ। तर ट्राफिक कार्यालय हाइटेन्सन लाइन ११ हजार भोल्टको तारको मुनि भएकाले छतमा जानसमेत रोक छ। कार्यालयमा सामान राख्ने ठाउँ छैन। 

वाकिटकीबाहेक कम्प्युटर, पि्रन्टर, टेलिफोन केहीको सुविधा छैन। 'कहीं कसैलाई केही भन्नुपर्‍यो भने पनि आफ्नै मोबाइलबाट गर्नुपर्छ,' कार्यालय प्रमुख इन्स्पेक्टर लवकुश थापाले भने।

प्रशासनिक खर्च महानगरीय ट्राफिक प्रहरी महाशाखाले र घरभाडा मासिक ९ हजार रुपैयाँ महानगरीय प्रहरी परिसर भक्तपुरले दिने गरेको कार्यालयले जनायो। महाशाखा अन्तर्गतका कार्यालयहरूमा लेखा शाखा नहुने भएकाले सुविधाहरू कटौती गरेको भए पनि टेलिफोनको व्यवस्था हुनुपर्ने उनीहरू बताउँछन्। 'जहिले हामी अरूको सुरक्षामा खटेका हुन्छौं तर हाम्रो हविगत यस्तो छ,' एक जवानले गुनासो गर्दै भने। 

विभिन्न कारबाही राजस्वबाट उठेका रकमको १५ देखि २५ प्रतिशत प्रोत्साहन भत्ता ट्राफिक प्रहरीलाई प्रदान गर्ने भने पनि अहिलेसम्म उपलब्ध गराएको छैन।

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:२२

No comments: