Tuesday, August 26, 2014

छब्‍बीस सभासद् मनोनयनबारे एमालेले कानुनविद्‌सँग छलफल गर्ने

काठमाडौं : एमालेले संविधानसभामा सरकारले मनोनीत गर्ने २६ सभासद्मा पार्टीका तर्फबाट सभासद् सिफारिस गर्दा सर्वोच्च अदालतको फैसलाबारे कांग्रेस र एमाओवादीसँग छलफल गरी समान धारणा बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय बल्खुमा मंगलबार अपराह्‍न बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
बैठक सर्वोच्च अदालतको फैसलाबारे कानुनविद्सँग छलफल गरी अघि बढ्ने निष्कर्षमा पुगेको सचिव योगेश भट्टराईले जानकारी दिए । '२६ सभासद् मनोनयन सम्बन्धमा सर्वोच्च अदालतको फैसलाबारे कांग्रेस, एमाले र एमाओवादीको समान बुझाइ हुनुपर्छ', भट्टराईले भने, 'तीनै दलका शीर्षनेताले कानुनविद्सँग छलफल गरेपछि मात्र टुंगोमा पुग्नुपर्छ भन्‍ने भयो।'
बैठकमा एमाले उपाध्यक्ष भीम रावलले संविधानसभाका विषयवस्तुबारे कांग्रेस, एमाओवादीसँगको बैठकमा भएका छलफलबारे जानकारी गराएका थिए। बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी थिए भने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित थिएनन्। पदाधिकारी बैठक बस्नुपूर्व अध्यक्ष ओली पूर्वअध्यक्ष झलनाथ खनालको निवास डल्लु पुगेर छलफल गरेका थिए।

No comments: