आर्थिक वर्ष २०७०/७१ मा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको तलब ४७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीपछि दोस्रो धेरै तलब बढ्नेमा सुरक्षाकर्मी छन्। उनीहरूको तलब ३४.५ प्रतिशतले बढेको छ।
पछिल्लो १० वर्षमा सबैभन्दा आकर्षक तलब दिने संस्थामा पनि बैंकिङ क्षेत्र अगाडि देखिएको छ। एक दशकको अवधिमा बैंकिङ क्षेत्रको तलब दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको तलब हरेक वर्ष वृद्धि हुँदै गएको बताए। 'कर्मचारीको तलब तथा भत्तामा भएको वृद्धिको कारण बैंकको सञ्चालन खर्च पनि बढ्दै गएको छ', उनले भने, 'अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको तलब सुविधा आकर्षक छ।'
पछिल्लो एक दशकमा प्रत्येक वर्ष नयाँ बैंक तथा वित्तीय संस्थाको स्थापना हुने क्रम बढेको छ। यसका लागि दक्ष जनशक्तिको अभाव रहेको कारण पनि वित्तीय क्षेत्रको तलब आकर्षक ढंगले बढेको हो।
तर, तथ्यांकका अनुसार बैंक तथा वित्तीय संस्थाबाहेक निजी क्षेत्रमा काम गर्ने कम्पनी तथा प्रतिष्ठानका कर्मचारीले विगत दुई वर्षदेखि तलब नबढाएको देखिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब नबढेको तथ्यांक भने विश्वासलाग्दो नभएको बताउँछन्। 'राष्ट्रबैंकको तथ्यांकले दुई वर्षदेखि निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब नबढेको देखाएको छ', उनले भने, 'निजी क्षेत्रका कम्पनीले तलबको सही तथ्यांक नदिएको कारण पनि यस्तो भएको हुन सक्छ।'
राष्ट्रबैंकको तथ्यांकले अन्य क्षेत्रको तुलनामा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब पछिल्लो १० वर्षमा नै अन्त्यन्त न्यून रूपमा बढेको देखाउँछ। राष्ट्रबैंकले आर्थिक वर्ष २०६२/६३ लाई आधार वर्ष मानेर गणना गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ सकिँदा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब जम्मा १११.३ पुगेको छ।
मूल्यवृद्धिअनुसार नै निजी क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरको तलब वृद्धि भएको दाबी महासंघका वरिष्ठ उपाध्यक्ष मुरारकाको छ। राष्ट्रबैंकका अनुसार गत आर्थिक वर्षमा ९.१ प्रतिशतले मूल्यवृद्धि भएको छ भने आर्थिक वर्ष २०६९/७० मा ९.९ प्रतिशत मूल्य वृद्धि भएको थियो।
यस्तै राष्ट्रबैंकको तथ्यांकले अन्य क्षेत्रको तुलनामा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब पछिल्लो १० वर्षमा नै अन्त्यन्त न्यून रूपमा बढेको देखाउँछ। राष्ट्रबैंकले आर्थिक वर्ष २०६२/६३ लाई आधार वर्ष मानेर गणना गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ सकिँदा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब जम्मा १११.३ पुगेको छ।
विगतको एक दशकमा प्रतिवर्ष एक प्रतिशतमा दरले मात्र तलब बढेको देखिन्छ भने मूल्यवृद्धि भने प्रतिबर्ष औसत् ७.५ प्रतिशतको दरले बढेको छ।
यसैगरी तथ्यांकअनुसार गत एक वर्षको अवधिमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरको ज्याला भने ११.२ प्रतिशतले बढेको छ। औद्योगिक क्षेत्रका मजदुरको तलब २१.४ प्रतिशतले बढेको छ।
यसैगरी कृषि क्षेत्रका कामदारको ज्याला ५.२ प्रतिशतले बढेको छ। यस्तै निर्माण क्षेत्रमा काम गर्ने कामदारमा पुरुषको तुलनामा महिला कामदारको ज्याला बढेको देखिन्छ। एक वर्षको अवधिमा पुरुष कामदारको ज्याला १० प्रतिशतले बढेको छ भने महिला कामदारको ज्याला १२ प्रतिशतले बढेको छ।
मुरारकाका अनुसार एक वर्षअगाडिको ज्यालामा औद्योगिक क्षेत्रका मजदुरलाई काममा लगाउन नसकिने हुनाले ज्याला बढाउनु बाध्यता हो। 'तलब बढे पनि राष्ट्रबैंकको तथ्यांकमा नमिलेको हुन सक्छ', उनी भन्छन्।
आर्थिक वर्ष २०७०/७१ मा औसतमा राष्ट्रिय तलब तथा ज्याला भने १३.७ प्रतिशतले बढेको छ। यसमा तलब २५.४ प्रतिशतले बढेको छ भने ज्याला ११.१ प्रतिशतले बढेको छ।
No comments:
Post a Comment