Tuesday, August 26, 2014

सडक र सदन अवरुद्ध पार्ने प्रचण्डको चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका लागि चारबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस र एमाले तयार नभए मंगलबारदेखि व्यवस्थापिका संसद् र सडक अवरुद्ध पार्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री सुशील कोइरालालाई सोमबार उनकै सरकारी निवास बालुवाटारमा भेट गरी दाहालले त्यस्तो चेतावनी दिएका हुन्।
'प्रधानमन्त्रीले पहल गर्छु भन्नुभएको छ। चारबुँदे सहमतिअनुसार नभए हामी मंगलबारदेखि सदन र सडकमा संघर्ष अघि बढाउँछौं', दाहाललाई उद्‌धृत गर्दै स्वकीय सचिव चूडामणि खड्काले भने, 'सबाल उच्चस्तरीय राजनीतिक संयन्त्र बन्छ कि बन्दैन भन्ने होइन, महिला, दलित, जनजाति, मधेसी, मजदुर, किसानलगायत समुदायले अधिकार पाउने कि नपाउने भन्ने हो। कांग्रेस-एमालेले चारबुँदे सहमति कार्यान्वयन नगरे मुलुक गम्भीर दुर्घटनामा पर्छ।'
जबाफमा प्रधानमन्त्री कोइरालाले मंगलबार बिहान सत्ता साझेदार कांग्रेस-एमालेका नेतासँग छलफल गरी सहमति जुटाउन प्रयास गर्ने आश्‍वासन दिएका छन्। 'प्रधानमन्त्रीको विशेष आग्रह र प्रधानमन्त्रीको हैसियतमा उहाँलाई हाम्रो पार्टी अध्यक्षले भेट्नुभएको हो, कांग्रेस सभापतिको हैसियतमा होइन', दाहालका स्वकीय सचिव खड्काले भने।

No comments: