Monday, August 25, 2014

बालबालिका बिरामी

बाँके, भाद्र ८ - 
बाँकेका बाढीग्रस्त क्षेत्रका बालबालिका विभिन्न सरुवा रोगको संक्रमणबाट पीडित भएका छन्। उनीहरूमा भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, आँखा पाक्ने र छालाको संक्रमण देखिएको हो। सबैभन्दा बढी अभिभावकसँगै विस्थापित भएर सेल्टरमा बसिरहेका बालबालिका पीडित भएका हुन्। बिरामी भएका बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका विकास कार्यालयले जानकारी लिन थालेको छ।

कचनापुर ६ का विस्थापित करिब सयभन्दा बढी बालबालिका बिरामी भेटिएको महिला तथा बालबालिका कार्यालयका अधिकृत पुष्प रिजालले बताइन्। त्यस्तै, उढरापुरको जनकल्याण माध्यमिक विद्यालय र जनकल्याण प्राथमिक विद्यालयमा विस्थापित भएर आएका बालबालिका पनि बिरामी परेको उनले बताइन्। त्यहाँका बालबालिका बिरामी पाएको खबर पाएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएको छ। त्यस्तै, होलियाका बाढीपीडित स्थानीयका बालबालिका पनि बिरामी परेका छन्। त्यहाँका २ सयभन्दा बढी बिरामीमध्ये ५० भन्दा बढी बालबालिका रहेको स्वास्थ्यकर्मीले बताए। जिल्ला जनस्वास्थ्यको टोली दुई दिन लगाएर बाढीपीडितहरूको स्वास्थ्य परीक्षण गरेको थियो।

'बाढीग्रस्त क्षेत्रमा पुगेर बालबालिकाको अवस्थाबारे बुझिरहेका छौँ। सबैजसो बाढी क्षेत्रका बालबालिका बिरामी भएको पाइयो', बालअधिकार संरक्षण अधिकृत महेश नेपालीले भने, 'स्थानीय प्रशासनको सहयोगमा जिल्ला जनस्वास्थ्यले स्वास्थ्यकर्मीको टोली परिचालन गरेर औषधि उपचार गरिरहेको छ।' त्यस्तै, फत्तेपुर, बनकट्टी, मटेहिया, गंगापुर क्षेत्रका स्थानीयमा पनि सिजनल भाइरलको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्यका महामारी रोग नियन्त्रण शाखाका फोकल पर्सन रामबहादुर चन्दले बाढीले दूषित भएको पानी प्रयोग गरेपछि बाढीग्रस्त क्षेत्रमा रोगको संक्रमण देखिएको बताए। तर, संक्रमण नियन्त्रण उन्मुख रहेको उनको दाबी छ। 

 

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५१

No comments: