Monday, August 25, 2014

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्ममा निर्माण कम्पनी छनोट हुने

भैरहवा, भाद्र ८ - 
आउँदो सेप्टेम्बरसम्ममा गौतम बुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका लागि निर्माण कम्पनीको छनोट गरिने भएको छ। ठेकेदार कम्पनीको छनोटका लागि अन्तिम तयारी भइरहेको जानकारी गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले दिएको छ। 

'ठेकेदार कम्पनी छनोटका लागि हामी अन्तिम चरणमा पुगेका छौं', आयोजना प्रमुख मुरारी भण्डारीले टेलिफोनमा कान्तिपुरसँग भने, 'आउँदो सेप्टेम्बरसम्ममा छनोट गर्ने तयारी भइरहेको छ। उनका अनुसार आयोजना निर्माणका लागि छ वटा अन्तराष्ट्रिय कम्पनीको आर्थिक प्रस्तावमाथि अध्ययन जारी छ। सन् २०१३ नोभेम्बर २३ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आयोजनाले प्राविधिक र आर्थिक प्रस्तावसहितको ग्लोबल टेन्डर आह्वान गरेको थियो। 

जसमध्ये, ५ वटा चिनियाँ र २ वटा स्पेनिस कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए। जुन १४ मा टेन्डर खोलिएपछि २ वटा चाइनिज कम्पनीको प्रस्ताव आयोजनाले अस्वीकृत गरी बाँकीको प्रस्ताव स्वीकृतिका लागि दातृ संस्था एसियाली विकास बैंक -एडीबी) को मुख्य कार्यालयमा पेस गरिएको थियो।

एडीबीले २ वटा चाइनिज कम्पनीको प्रस्ताव अस्वीकृत गरिनुको कारण खोज्दै आयोजनालाई सामान्य कारणले अस्वीकृत गर्न नहुने र ती कम्पनीलाई पनि समावेश गराएमा प्रतिस्पर्धा भई आयोजनाको लागत कम हुने राय दिएको समाचार स्रोतले बताएको छ। आयोजनाले पुनः ती दुई कम्पनीको प्रस्तावसमेत पेस गरेपछि एउटा कम्पनी फेल भएकाले ६ वटा कम्पनीको आर्थिक प्रस्ताव एडीबीको प्रतिनिधिसहितको टिमले अध्ययन जारी राखेको छ। 

'दातृ निकाय एसियाली विकास बैंकको गाइडलाइनअनुरूप आयोजना चल्ने सम्झौता नै छ', भण्डारीले भने, 'नेपाल सरकारबाट स्वीकृति भइसकेपछि पनि एडीबीबाट पनि हुनुपर्छ।' उनले आयोजना ढिलाइ हुनुको अन्य कुनै कारण वा व्यवधान सिर्जना नभएको दाबी गर्दै निरन्तर काम भइरहेको जनाए। यसबारे कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे। 

आयोजनाको प्राविधिक प्रस्ताव पास भएको धेरै समय बितिसक्दा पनि आर्थिक प्रस्ताव पास गरी निर्माण कम्पनीको छनोट गर्नमा ढिलाइ भएको भन्दै स्थानीय सरोकारवालाले लुम्बिनी अञ्चलका सबै सभासद एकै थलोमा उभिएर आयोजनाको पक्षमा तत्काल पहल थाल्न माग गरेका छन्। 

सिद्धार्थनगर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा यस्तो माग भएको हो। आयोजना निर्माणमा विलम्ब हँुदै गएकाले लुम्बिनी क्षेत्रका सभासदहरू पार्टी र दलगत भावना त्यागेर एउटा छुट्टै टेबुल खडा गर्न स्थानीय विजय सागरले आग्रह गरे। 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण शर्माले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चाले लुम्बिनी क्षेत्रमा होटेल लगायतको पर्यटन क्षेत्रमा निजी क्षेत्रले धेरै लगानी बढेको र निर्माण प्रक्रिया ढिलाइ हँुदै गएकाले लगानीको जोखिम बढ्ने बताए। प्रस्तावित विमानस्थल निर्माण स्थल क्षेत्र रुपन्देही-२ का सभासद दीपक बोहरालाई संयोजक रहने गरी दबाब समूह गठन गर्ने निर्णय भएको छ। 

समूहले हाल अभाव रहेको ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति गराउनसमेत सम्बन्धित निकायमा दबाब दिने छ।

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५२

No comments: