Tuesday, August 26, 2014

महासंघले कृषि उद्यम प्रवर्द्धन गर्ने

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले कृषिको व्यावसायिकरणका लागि बहस चलाउने भएको छ।

कृषिको व्यवसायीकरणबिना आर्थिक विकास सम्भव नभएको भन्दै यस बारेमा सभासदहरुसँग पनि छलफल चलाउने भएको हो।
सोमबार महासंघमा आयोजित पत्रकार भेटघाटमा कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले यस विषयमा जानकारी दिएकी हुन्। सरकारी निजी साझेदारी अवधारणाअन्तर्गत सञ्चालित एक गाउँ एक उत्पादन (ओभिओपी) तथा एक जिल्ला एक उत्पादन (ओडिओपी)को अवस्था बारे जानकारी दिँदै यसलाई थप २५ जिल्लामा विस्तार गर्ने तयारी भइरहेको उनले बताइन् । महासंघको अगुवाइमा सञ्चालित कार्यक्रम निकै सफल रहेको उनको दाबी छ।
हाल ३२ जिल्लामा सञ्चालित ओभिओपी कार्यक्रमबाट व्यावसायिक उत्पादनसमेत सुरु भइसकेको राणाले जानकारी दिइन्। ‘कतिपय उत्पादन विदेशमा निर्यात हुन थालेको छ,' उनले भनिन।
सरकारको कृषिमा ६ प्रतिशत ब्याजमा कर्जा उपलव्ध गराउने नीतिसँगै नयाँ उत्साह थपिएकोले कृषिमा लगानी विस्तार हुने उनले बताइन्। नीतिगत सुधारमा जोड दिइ कृषि र पर्यटनलाई सयुक्त रुपमा अगाडि बढाउन सके उल्लेख्य मात्रामा विदेशी लगानी पनि भित्रिने उनको भनाइ थियो। कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदीप महर्जनले कृषिको विकल्प नभएको निष्कर्षका साथ अन्य क्षेत्रका लगानीकर्ताले समेत यसामा लगानी गर्न थालेको बताए।
चीनको कम्प्युटर उत्पादक कम्पनी लेनोभोले समेत कृषि क्षेत्रमा हात हालिसकेकोले कृषिलाई मुख्य लगानीको क्षेत्र बनाउनुपर्ने उनको भनाइ थियो।
ओडिओपीले कृषिको व्यावसायिक उत्पादन र बजारीकरणमा जोड दिएको छ भने ओडिओपीले कृषिको औद्योगिकरणअन्तर्गत प्रशोधन केन्द्रको विकास र विस्तारमा जोड दिँदै आएको छ।

No comments: