
९ भदौ, काठमाडौं । गणतन्त्र र धर्म निरपेक्षतासहितको संविधान निर्माणमा कमल थापा नेतृत्वको राप्रपा नेपालले बाधा नपुर्याउने सहमति जनाएको एमाओवादी नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।
Baburam-Bhattarai-1संघीयताको विरोध गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पनि संघीयतासहितको संविधान निर्माणमा बाधा नपुर्याउने सहमति जनाएको डा. भट्टराईले खुलासा गरेका छन् ।
संविधानसभा अन्तरगत राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति समेत रहेका डा. भट्टराईले सोमबार एक कार्यक्रममा थापा र केसीसँग भएको आन्तरिक सहमतिबारे जानकारी दिएका हुन् ।
समितिले सिंहदरबारमा आयोजना गरेको लेखक एवं स्तम्भकारसँगको छलफलमा थापा र केसीसँग भएको सहमतिबारे जानकारी दिँदै भने-’उहाँहरुले संविधान निर्माणमा बाधा गर्दैनौं भन्नुभएको छ, उहाँहरुले आफ्ना लिखित मत यहाँ समितिमा प्रस्तुत गर्नुहुन्छ, त्यसलाई हामीले हाउसमा पठाउँछौं । र, त्यहाँ छलफल गरेर अन्तिममा मतदान गर्न पाउने ढंगले पनि उहाँहरुको मत सुरक्षित गरिन्छ भन्ने तय गरिएको छ ।’
नेता भट्टराईले थापा र केसीसँग्को सहमतिले संविधान निर्माणमा सहमतिको एउटा ढोका खुलेको बताए । उनले भने-’उहाँहरुको मतलाई सुरक्षित राख्दै सहमति गरेर जाने समझदारी बनेको छ, यसले एउटा ढोका खुलेको छ ।’
वैद्य र तीन दलवीच १२ दिन बाँकी
डा. भट्टराईले समितिले भदौ २१ भित्र आफ्नो प्रतिवेदन संविधानसभामा बुझाउनुपर्ने समय सीमा रहेको बताए । तर, थापा र केसीसँग सहमति भइसके पनि मोहन वैद्यसँग सहमति हुन बाँकी रहेको र तीनदलकै वीचमा सहमति जुट्न नसकेको बताए ।
‘अब दुईवटा ठाउँमा अड्किएको छ, एउटा मोहन वैद्यजीहरुले नेतृत्व गरेको पार्टी, जसले संविधानसभाकै बहिस्कार गरेको छ र ऊ यो प्रक्रियामा पनि औपचारिक ढंगले आउन चाहँदैन,’ डा. भट्टराईले भने- ‘सबैभन्दा पेचिलो विषय त तीन प्रमुख दलहरुका वीचमा नै सहमति हुन बाँकी विषयहरु छन् । यी विषयमा अहिलेसम्म ठोस सहमति हुन सकेको छैन । अब बाँकी रहेका ११/१२ दिन हामी यिनै विषयमा केन्दि्रत हुनेछौं ।’
No comments:
Post a Comment