Saturday, August 30, 2014

तिब्बतमा दुःख छैन नेपालीलाई

August 30

ल्हासा: नेपालमा लोकतान्त्रिक जनआन्दोलन चलिरहेका बेला आठ वर्षअघि काठमाडौँको एक बेकरी क्याफेको काम छाडेर तिब्बत पुग्ने २० नेपालीमध्येका एक हुन्, लमजुङका टुकबहादुर गुरुङ । गुरुङले चिनियाँ कामदारसरह आम्दानी गरेको पाइँदा नेपाली कामदारका लागि तिब्बत एक उपयुक्त गन्तव्य बन्न सक्ने बलियो सम्भावना देखिएको छ । ल्हासास्थित ब्रह्मपुत्र ग्र्याण्ड होटलमा सुरुमै सहायक प्रबन्धकका रूपमा काम पाएका गुरुङ अहिले सोही होटलमा फुड एन्ड बेभरेज म्यानेजर हुनुहुन्छ । गुरुङको मुख्य जिम्मेवारी चीनभन्दा बाहिर खासगरी पश्चिमा मुलुकबाट आउने ग्राहकको खाना व्यवस्थापनमा कुक र वेटरलाई संयोजन गर्नु हो । मासिक सात हजार युआन (करिब रु एक लाख सात हजार) तलब पाउने गुरुङलाई खान बस्न सुविधा पनि छ । सोही होटलका पूर्व व्यवस्थापक चिनियाँ नागरिक छे दोर्जेसँग काठमाडौँमा भएकोे परिचयमार्फत उहाँ चीन आएका हुन् । दोर्जेले काठमाडौँमा होटल म्यानेजमेन्टसम्बन्धी तालिम दिलाउने कार्य गर्दथे । उहाँसँगै आएका २० नेपालीमध्ये अधिकांश चाहिँ सन् २००८ मा तिब्बतमा भएको हिंसात्मक घटनाका कारण असुरक्षा हुने ठान्दै स्वदेश फर्किसकेका छन् । “साहुले हटाएको थिएन, घर बिदामा पठाएको थियो तर साथीहरू फर्केनन्, यहाँ काम गर्दा असन्तुष्ट हुनुपर्ने कारण छैन,” गुरुङले रासससँग भने । कामको खोजीमा खाडीतिर गएर दुःख बिसाउने नेपालीले भन्दा बढी तलब पाएर वर्षमा तीन महिना घर बिदा (नेपाल जान) लिइरहेका ४२ वर्षीय गुरुङ अब आफ्नो छोरालाई तिब्बत ल्याउने तयारीमा छन् । उनका छोराले पनि होटलसम्बन्धी तालिम लिइसक्नु भएको छ । आफूचाहिँ स्वदेश फर्केर चिनियाँ भाषा प्रशिक्षक तथा पर्यटन पथप्रदर्शकको काम गर्ने सोच उनको छ । “तालिम र अनुभव भएमा तिब्बतमा काम गर्न र भनेजति कमाउन समस्या छैन, बरु कामदार प्रवेशाज्ञा पाउनचाहिँ अलि झण्झट छ,” गुरुङले भने । सुरुका दिनमा चिनियाँ र तिब्बती भाषा नजान्ने गुरुङ स्थानीयभाषी कुक र वेटरको सहयोगमा ती दुवै भाषामा दोहोरो कुरा गर्न सक्ने बने । यसका साथै उनले अङ्ग्रेजी तथा हिन्दीभाषी ग्राहकसँग पनि कुरा गर्र्नुपर्छ । मातृभाषा गुरुङ भएका टेकबहादुर नेपाली देख्नेबित्तिकै भने राष्ट्रभाषामा कुरा गर्छन । चिनियाँ र नेपाली जातिगत कला र सङ्ग्रहालयसमेत रहेको सो होटलमा नियमित नेपाली पोसाक (ढाका टोपी र दौरा सुरुवाल) मा देखिने गुरुङलाई नचिने पनि भारतीय र नेपालीले आफ्नै देशबाट आएको होला भन्ने ठानेर नजिकै पुगेर कुरा गर्न थाल्छन् । गत वर्ष यहाँ पुगेका नेपाली सेनाका प्राविधिक महासेनानी बच्चुराम केसीले टेकबहादुरको यो सजावट देखेर प्रशंसा गरेका थिए । आफ्नै भिनाजु शङ्कर गुरुङले चलाएको बानेश्वरस्थित एलिनाज ब्रेकरी छाडेर चीन आएका गुरुङले सुरुका दिनमा एउटै कोठामा १८ जनासम्म पनि सुतेका र स्थानीय भाषा सिक्न पनि गाह्रै भएको अनुभव सुनाए । गुरुङ भन्छन् “नेपाल सरकारले चीन सरकारसँग कुरा गरेर तिब्बतजस्ता सहरमा कोटामा कामदार पठाउन पहल गर्दा राम्रो हुन्छ । अहिले यहाँ काम र बसोवास गर्ने उचित वातावरण छ ।” हाल तिब्बतमा बस्ने नेपालीले वर्षमा एकपटक प्रवेशाज्ञा नवीकरण गराउछन् । लमजुङको गाउँसहरमा जन्मेका गुरुङले तिब्बतमा कमाएको रकमले बेँसीसहरमा नयाँ घर पनि बनाइसकेका छन् । चीनको धार्मिक र ऐतिहासिक सहर ल्हासामा हाल करिब ५०० नेपाली विभिन्न सेवा व्यवसायमा आवद्ध रहेको अनुमान छ । चिनियाँ कम्युनिस्ट पार्टीका ल्हासास्थित तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपसचिव वु यिन्गझीले यहाँ रहेका नेपाली अधिकांश कार्पेट र होटल व्यवसायमा रहेको र उनीहरुको कार्य विश्वसनीय भएको बताए । चीन भ्रमणमा आएको नेपाल, भारत र भुटानका पत्रकार प्रतिनिधिमण्डलसँग कुरा गर्दै उहाँले नेपालसँगको लामो र ऐतिहासिक सम्बन्धका आधारमा यहाँ काम वा भ्रमणमा आउने नेपालीलाई कुनै असुविधा नहोस् भन्नेतर्फ आफू सचेत रहेको बताए । अहिले तिब्बतमा नेपालीले सञ्चालन गरेका नमस्ते, न्यू मण्डला, ल्हासा किचेन, दुनियाँ आदि होटल छन् । चिनियाँ नागरिकसँग विवाह गरेपछि उनीहरूले होटल सञ्चालन गर्न सकेका हुन् । चिनियाँ कर्मचारीका तुलनामा नेपाली कामदारलाई ती होटलले कम सुविधा दिन गरेको पनि गुरुङले बताए । हाल नेपालीले चलाएका तिब्बती होटलमा काम गर्ने नेपालीले न्यूनतम एकहजार दुई सय युआन (१८ हजार नेपाली रुपैयाँ) मासिक तलब पाउँछन् भने सोही पदमा कार्यरत चिनियाँ कर्मचारीले न्यूनतम करिब २४ हजार रुपैयाँ मासिक तलब पाउँछन् । चिनियाँले खोलेको होटल तथा कम्पनीमा एकै प्रकारको तलब दिने गरिएको पाइएको छ । - रासस

No comments: