Tuesday, August 26, 2014

चिनीको अधिकतम खुद्रा मूल्य तोक्न निर्देशन

chini-photoकाठमाडौं, 10 भदौ
केन्द्रीय अनुगन तथा मूल्यांकन समितिले आसन्न चाडपर्वका लागि  बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न चिनीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरी मूल्य नियन्त्रण गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । समिति मुख्यसचिवको अध्यक्षतामा निर्माण हुन्छ ।
बजारमा हाल चिनीको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । चाडपर्वमा मूल्य बढ्ने प्रवृत्तिलाई रोक्न समितिले वाणिज्य मन्त्रालयलाई सुरुवाती चरणमा एमआरपी तोक्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव शान्तराम सुवेदीले जानकारी दिए ।
‘बजार मूल्य नियन्त्रण गर्न सक्ने गरी तत्काल चिनीको खुद्रा मूल्य तोक्न सोमबारको बैठकले निर्देशन दिएको छ,’ उनले भने । मन्त्रालयले मातहतको साल्ट ट्रेडिङ लिमिटेडसँग सहकार्य गरी चिनीको एमआरपी तोक्नेछ । तर, पछिल्लो २ वर्ष खुला बजारमा खाद्यान्नको एमआरपी तोक्न गाह्रो भएको भन्दै वाणिज्य मन्त्रालयले कुनै पनि खाद्यान्नको एमआरपी तोकेको छैन ।
मन्त्रालयका सहसचिव दीपक सुवेदीले खुला बजारमा एमआरपी तोक्न गाह्रो हुने भएकाले पछिल्लो २ वर्ष नसकिएको जानकारी दिए । ‘चाडपर्वको मुखैमा मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ३ वर्षअघि १४ खाद्यान्नको एमआरपी तोकिए पनि २ वर्षयता सकिएको छैन,’ उनले भने ।
एमआरपी तोक्दा बजारमा सामग्री सस्तिन थाल्ने वा व्यापारीको लागत बढेर महँगिन सक्ने देखिएकाले गाह्रो भएको उनले बताए । यद्यपि, विभिन्न संस्थान परिचालन गरेर चाडपर्वमा मूल्य नियमनका लागि अधिकतम प्रयास गर्ने तयारी भएको उनले बताए ।
‘साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, खाद्य संस्थानलगायतलाई परिचालन गरी दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्ने प्रयास हुँदै छ,’ उनले भने । सरकारले यो वर्ष १ असोजबाट १५ कात्तिकसम्म सहुलियत पसल सञ्चालन गर्ने जानकारी दिइसकेको छ । सहुलियत पसलबाट खाद्यान्न र नुनमा २/२ रुपैयाँ प्रतिकेजी र चिनीमा ५ रुपैयाँ प्रतिकेजी छुट दिने सरकारको तयारी छ ।
सहसचिव सुवेदीका अनुसार १ असोजबाट सुरु हुने सहुलियत पसलमा साल्ट ट्रेडिङले राजधानीमा १० वटा, नेसनल ट्रेडिङ र खाद्य संस्थानले समान ८ वटा पसल सञ्चालन गर्ने तयारी गरेका छन् । दुग्ध विकास संस्थानले समेत यो अवसरमा सहुलियत पसल राख्नेछ ।

No comments: