Saturday, September 13, 2014

पहिरो छल्ने ट्रयाकमा 'पैदल तस्करी'

तातोपानी (सिन्धुपाल्चोक) September 14 सान्जोक तामाङलाई प्रहरीले जाँच गर्दै गर्दा पछिल्लो गाडीबाट ओर्लेर एक पुरुष ६ किलो सुन बोकेर लुसुक्क बाह्रबिसेतिर लागे। सान्जोकको नाडीमा बाँधेको २ किलो सुन बरामद भएपछि त्यसमै भुलेको प्रहरीले अरूलाई जाँच गर्न नभ्याउँदै थप सुन बाह्रबिसे पुगिसकेको थियो। उनी को थिए प्रहरीले हल्लामात्र सुन्यो, यकिन गर्न सकेन। गत साता टेकानपुरको दाबीखोलामा १ लाख १० हजार अमेरिकी डलर लुटियो। चिनियाँले खासा पुर्‍याउन दिएको डलर बोक्ने, लुट्ने र लुटाउने समूहबारे स्थानीय धेरै परिचित छन्। उनीहरू खुलेर भन्छन्, प्रमाणबिना प्रहरीलाई खबर गर्न मिलेन। डलर लुट्ने र लुटाउने समूह अहिले पनि बाह्रबिसेमा क्रियाशील छ। लुटेराकै निकट स्रोत भन्छ, पहिले तस्करीकै अभियोगमा केही समय जेल बसेर निस्केकाले धन्दा चलाएका छन्। उनीहरूलाई राजनीतिक संरक्षण पनि छ।
यी घटना त उदाहरणमात्र हुन्। खासगरी सुनकोसी पहिरोले यातायात अवरुद्ध भएपछि सुन र डलरको तस्करी बढी सहज भएको छ। यातायात बन्द भएपछि गत सातासम्म चार पटकमा १८ किलो सुन बरामद भएको छ। साउनमा मात्र ३८ किलो सुन बरामद भयो। प्रहरीको ध्यान बाढीपहिरोमा केन्द्रीय रहेको मौका छोपेर पैदल यात्रुको भीड तस्करीका लागि उपयुक्त अवसर भएको छ। बाह्रबिसे प्रहरी पोस्ट अगाडिबाटै भीड छिचोलेर सुनकोसी पुगेका मनाङका दोर्जे गुरुङ चार किलो सुनसहित भदौ ९ गते पक्राउ परे। उनलाई बाह्रबिसे प्रहरीले सुनकोसी बजारमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनी टेकानपुरको बाटो हुँदै राजधानी जान लागेका थिए। सुराकीकै आधारमा अघिल्लो दिनदेखि पिछा गरिरहेका थियौं, बाह्रबिसेका प्रहरी निरीक्षक जयश्वर रिमाल भन्छन्, जाँच गर्दागर्दै ऊ भीडबाट फुत्केर सुनकोसी पुगेछ। सुन गइसकेपछि सूचना आएका घटना पनि छन्, निरीक्षक रिमाल भन्छन्, भीडको मौका छोपेर तस्कर सल्बलाएको देखिन्छ। सेक्युरिटीको ध्यान अन्यत्र गएका बेला उनीहरू बढी सक्रिय भए भन्ने तर्कमा बलियो आधार छ, उनले थपे, सुराकी प्रभावकारी नभएसम्म तस्करी रोक्न सकिँदैन। जुत्तामा सुन लुकाएको खबर आउँछ, सयौं यात्रुको जुत्ता खोल्न सम्भव हुँदैन। उनी आफैं शंका गर्छन्, त्यो दिन जुत्तामा सुन आएको सुराकी आए पनि बरामद गर्न सकिएन। पछिल्लो समय सुनको तस्करी बढेपछि प्रहरीले सुराकी प्रणालीलाई बढी सक्रिय बनाएको छ। तर पनि अपेक्षाकृत उपलब्धि देखिएको छैन, अनुसन्धानमा खटिएका प्रहरी नै स्वीकार्छन्। कम्तीमा दैनिक ५० किलो सुन राजधानी भित्रने गर्छ, व्यापारिक क्षेत्रका जानकारले भने, 'अनुहार हेरेर त अनुमान गर्न पनि नसक्नेहरू सुन बोक्छन्।' राजधानी पुर्‍याउनुपर्ने दबाबकै कारण सुनको क्यारिङ सामान्य मान्छेले पाउने गरेका छन्, ती व्यवसायीले भने, यो गिरोह पत्ता लगाउन कठिन छ।
 सुनकोसी पहिरोले ४२ दिनदेखि यातायात अवरुद्ध छ। राजधानी जाने नाका बढेको छ। बाह्रबिसेबाट पहिरो स्थल, सुनकोसी बजार, तौथली वा राम्चे हँुदै लामोसाँघु र खाडिचौर निस्कन पैदल वा ठाउँठाउँमा यातायात साधन प्रयोग गरिन्छ। पहिरोका कारण लामोसाँघुस्थित सशस्त्र चेक पोस्ट हटाएको छ। यातायात सञ्चालन नभएपछि प्रहरीको जाँच फितलो बन्दै गएको छ। हामीले महसुस गरेका छौं, लामोसाँघुस्थित सशस्त्र बलका उपरीक्षक विदुर गुरुङले भने, 'पहिरोको उद्धारमा लागेकाले अन्यत्र ध्यान कम गएको छ।'
बाटोमा ५ सयभन्दा बढी भरिया छन्। कसले के बोक्छ कसरी अनुमान लगाउने प्रहरी अन्योलमा छ। तातोपानी आवतजावत गर्ने पर्यटक र स्थानीयसमेत दैनिक हजारौं यात्रुको भीडबाट तस्कर उम्कन सहज हुन्छ। बाह्रविसे बसोबास गर्दै आएका श्रेष्ठ थरका मध्यस्तकर्ताको सिफारिसमा बोकेको डलर दाबीखोलामा लुटिएको थियो। डलर बोक्नेकै मिलेमतोमा लुटिएको अनुमान छ। उजुरी गर्दा पनि अवैध रूपमा डलरको कारोबार गरेको अभियोगमा थुनामा परिने भय छ, जानकार स्रोत भन्छ, यस्ता धन्दा धेरै हुन्छन् प्रहरीले चालै पाउँदैन। उक्त डलर मालिक चिनियाँ भए पनि उजुरी गर्न आएका छैनन्। प्रहरीले शरीरको विभिन्न भागमा छाम्न थाले पनि नाडीका बाँधेर ल्याउन थालिएको छ। सामान्यतया जाँचका क्रममा हात माथि उठाउन लगाइन्छ, प्रहरी स्रोत भन्छ, यसको फाइदा उठाउँदै तस्करले नयाँ तरिका अपनाएको अनुमान छ। हातमै बाँधेपछि प्रहरीले पनि पत्ता लगाउन सक्दैन भन्ने मानसिकताले यो 'उपाय' रचिएको हुनुपर्छ, प्रनि रिमालले भने।
चिनियाँ भरिया घटे
चिनियाँहरू धमाधम सुनसहित पक्राउ पर्न थालेपछि अहिले नेपालीको सक्रियता बढेको छ। सीमा प्रहरीले चिनियाँलाई डलर र सुन ल्याएको शंकामा शरीर तथा गाडी जाँचमा कडाइ गर्न थालेपछि उनीहरूले पछिल्लो समय नेपाली प्रयोग गर्न थालेका हुन्। साउन ११ गते सीमा क्षेत्रमा २० किलो सुनसहित पक्राउ परेका लिस्तीका दावा लामा थिए। ठूलो परिमाणको सुनसहित नेपाली पक्राउ परेको यो पहिलो हो। तस्करीमा संलग्न अभियोगमा अहिले ८ चिनियाँ थुनामा छन्। विदेशीलाई थुनामा राखेरै अनुसन्धान गर्नुपर्ने कानुनी प्रावधानका कारण पनि पछिल्लो समय उनीहरू डराएको अनुमान प्रहरीको छ।
भरिया नै सुन मालिक
गत मंसिरदेखि अहिलेसम्म सिन्धुपाल्चोक क्षेत्रमा मात्र प्रहरी र भन्सारले पटकपटक गरेर ७७ किलो सुन बरामद गरेको छ। अहिलेसम्म सुन मालिक पक्राउ परेका छैनन्। सुनसँगै ८ जना चिनियाँसहित १६ जना पक्राउ परेका छन्। तर उनीहरू सुन मालिक होइनन्। पक्राउ परेकाहरू सुनको मालिक को हो बताउन तयार छैनन्। हरेकको बयानमा भनिएको हुन्छ, खासाको एक पसलमा अपरिचित मान्छेले काठमाडौं लैजान दिएको। 'पैसाको लोभमा बोकेका मात्र हो, सुन मालिक चिन्दिन।' अनुसन्धान गरिरहेको तातोपानी भन्सारले तयार गरेको हरेक बयानमा सबै अभियुक्तको एउटै भनाइ छ। अनुहार र हाउभाउ हेर्दा पनि सुनसहित पक्राउ परेका भरियामात्र हुन्, भन्सार प्रमुख मिमांस अधिकारी भन्छन्, अरू मान्छे नदेखाउन्जेल त कानुनतः उनीहरू नै मालिक हुन्। यसकै आधारमा मुद्दा चलाएको छ, उनले भने। चिनियाँ नै सुनका खास मालिक हुन्, एक व्यवसायी भन्छन्, नेपालको सीमा क्षेत्रमै व्यापार गर्दै आएका विश्वासिलो व्यक्तिमार्फत सुन क्यारिङ गरिन्छ। क्यारिङ गर्ने त भरियामात्र हुन्। यहाँका व्यवसायीले भूमिगत रूपमा काम गरिरहेका छन्। सुरक्षा स्रोत भन्छ, नाकामा क्रियाशील ठूला व्यवसायीको नाम सुनिएको छ।
सुन पसलबाट तस्करी
मितेरी पुल तर्नेबित्तिकै एक चिनियाँको सुन पसल भेटिन्छ। हेर्दा सुन पसल, कारोबार तस्करी भन्सारका एक कर्मचारीले भने। उक्त पसलका मालिकले सुन तस्करीमा सघाउने गरेको स्रोतको दाबी छ। पसलमा सुनका तयारी गहना राखिएको छ। यसैबीच चिनियाँ अधिकारीले खासा अध्यागमनमा छिट्टै आधुनिक एक्सरे मेसिन राखिने जानकारी दिएको छ। नेपालका भन्सार अधिकारीले सुन तस्करी नरोकिएको जानकारी गराएपछि चिनियाँले यस्तो मौखिक जवाफ दिएका हुन्। अध्यागमनमा राखिने उक्त मेसिनले सुन बोकेको संकेत दिनेछ। छिट्टै मेसिन राख्ने कुरा गरेका छन्, भन्सार प्रमुख अधिकारीले भने।

No comments: