September 21
उद्योग मन्त्री महेश बस्नेतले सेवाग्राहीहरुको गुनासाका आधारमा पाँचवटै विकास क्षेत्रमा कम्पनी रजिष्ट्रार कार्यालयका शाखाहरु खोल्ने निर्णय भएको जानकारी दिएका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको स्वागत, भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाललाई जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पाँच/पाँचजना अधिकृत थपेर कार्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएको बताए।
स्वदेशी उद्योगहरुबाट उत्पादित वस्तुलाई प्राथमिकता दिन सक्ने हो भने रुग्ण उद्योगलाई राहत पुग्ने धारणा राख्दै मन्त्री बस्नेतले हेटौँडा कपडा उद्योग सञ्चालन गरेर त्यसबाट उत्पादित कपडाहरु नेपाली सेना, प्रहरी र निजामती कर्मचारीका पोसाकका लागि प्रयोग गरे उद्योग नाफामा चल्न सक्ने विचार व्यक्त गरे।
ठूला परियोजना सञ्चालन गर्दा रोडा, ढुङ्गा र बालुवा चाहिने हुँदा नियमलाई नरम बनाएर भए पनि क्रसर उद्योग स्थायी रुपमै सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो। उनले मितव्ययिता अपनाउने सरकारी नीति अनुरुप आफू पदमा रहुन्जेलसम्म कहिल्यै पनि सरकारी खर्चमा जहाज नचढ्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योग मन्त्रालय माउ मन्त्रालय बन्न नसकेसम्म नीतिगत निर्णय केही गर्न नसक्ने जिकिर गरे।रासस
No comments:
Post a Comment