Tuesday, September 9, 2014

अवैधानिक बन्दैछ सुशील कोइरालाको कार्यसमिति बैधानिकता सकिएपछि देशभरका कांग्रेस अन्यौलमा

September 9
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भनिएको नेपाली कांग्रेसका सभापति सुशील कोइरालासहित केन्द्रीय कार्य समितिको वैधानिकता असोज ३ गतेबाट सकिँदैछ । कांग्र्रेसका ७१ जिल्ला सभापतिहरुको वैधानिकता सकिएको एक महिना बढी भइसकेको छ ।
susil-koirala
 कांग्रेस केन्द्रीय कार्य समिति बैठक नबसेको करीव आठ महिना भइसकेको छ । प्रत्येक चार वर्षमा हुनुपर्ने जिल्ला अधिवेशन केन्द्रीय कार्य समितिले खुला नगरेपछि ७१ जिल्ला कार्य समितिहरु अघोषित रुपमा भंग भइसकेका छन् । बाँकी चार जिल्ला कार्य समितिको पनि अवधि सकिँदैछ । जिल्ला सभापतिहरुले साउनमै आफ्नो बैधानिकता सकिएपछि केन्द्रीय कार्यालयमा सोधखोज गरे पनि अर्को निर्णय नआएसम्म यथावत काम गर्नु भन्ने निर्देशन मुख्य सचिव ऋषिकेश तिवारीले दिएका छन् ।

 कांग्रेसका जिल्ला कार्य समिति, क्षेत्रीय समिति र गाउँ तथा नगर समितिका पदाधिकारीहरुको चार वर्षे पदावधि समाप्त भएको छ । ‘कि त हाम्रो कार्यकाल थप्ने निर्णय गर्नपर्‍यो, होइन भने अधिवेशन गर भन्नुपर्‍यो, वैधानिकता गुमाएर कसरी काम गर्ने ?’ एक जिल्ला सभापतिले अनलाइनखबरसँग भने ।

 विधानको व्यवस्थाअनुसार जिल्ल्लादेखि तल्लो तहका निकायको अधिवेशन साउन महिनाभित्र गरिसक्नु पर्नेमा केन्द्रीय कार्य समितिकै बैठक नबस्नु लज्जास्पद भएको केन्द्रीय सदस्य शंकर भण्डारी बताउछन् । कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले भने म्याद सकिएका जिल्ला, नगर र गाउँ पदाधिकारीहरुको म्याद चाँडै थपिने र उनीहरुलाई पुरानै हैसियतमा पुनस्र्थापित गर्ने बताए ।

केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको पदावधि पनि असोज ३ गतेबाट समाप्त हुँदैछ । १३ औं महाधिवेशन नहुने निश्चित भइसके पनि केन्द्रीय कार्य समिति लगायत सबै तल्लो निकायका पदाधिकारीहरुको पदावधि थप्न केन्द्रीय समिति बैठक बस्नुपर्छ । केन्द्रीय कमिटी बैठक डाक्नका लागि अर्जुननरसिंह केसीको नेतृत्वमा २६ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर नै गरेर सभापतिलाई बुझाए पनि अहिलेसम्म बैठक बोलाइएको छैन ।

 सभापति कोइरालाले पदाधिकारीहरुसँगको छलफलमा सबै निकायको म्याद एक वर्ष थप्ने र बैशाखसम्म महाधिवेशन गर्ने योजना सुनाएको स्रोतले जनाएको छ । ‘म्याद थप्ने हो भने पनि तत्कालै केन्द्रीय कार्य समिति बैठक बोलाएर निर्णय गराउनुपर्ने हो, यसरी देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका कमिटीहरु अवैधानिक रुपमा राख्नु लाजमर्दो कुरा हो’ महासमिति सदस्य एवम् सभासद रामहरी खतिवडाले भने ।

 संविधानसभा निर्वाचनपछि समानुपातिक सभासदको नाम अनुमोदन गर्न संवैधानिक बाध्यताका कारण केन्द्रीय कार्य समिति बैठक राखेका सभापति कोइरालाले त्यसपछि कहिल्यै बैठक बोलाएका छैनन् । कोइरालाले आफू अमेरिका जानुअघि र केन्द्रीय कार्य समितिको पदावधि सकिनुअघि औपचारिकताका लागि बैठक डाकेर सबै निकायका म्याद एक वर्ष थप्ने निर्णय गराउने भएका छन् । कांग्रेसको विधानमा ‘अधिवेशन गराउन नसक्ने असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने” उल्लेख छ ।  

अन्त पनि उस्तै
कांग्रेस संसदीय दलको कार्य समिति समेत अहिलेसम्म गठन भएको छैन । यसअघि कार्य समिति निर्वाचन कार्यतालिका प्रकाशित भएर पनि स्थगित गरिएको थियो । भातृ संगठनहरु पनि अधिकांश लामो समयदेखि अधिवेशन नगरी तदर्थवादमा चलिरहेको खतिवडाले बताए । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघले अधिवेशनको मिति तोके पनि पटक-पटक स्थगित हुने गरेकाले अझै पनि अधिवेशनमा हुनेमा नेताहरु विश्वस्त छैनन् ।

No comments: