Friday, September 5, 2014

बाघको आक्रमणबाट एक बालिकाको मृत्यु खोलाले बगाएर एकको ज्यान गयो

September 4
काठमाडौं । बेग्ला बेग्लै घटनामा २ बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीमा बाघको आक्रमणमा परी तथा चितवनमा खोलाले बगाएर उनीहरुको ज्यान गएको हो । बाघको आक्रमणबाट गएराति अर्घाखाँचीकी सुजता विकको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका-१० किमडाडा निवासी ५ वर्षकी सुजाताका आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा बाघले आक्रमण गर्दा मृत्युभएको हो । बिहीबार साँझ पौने ७ बजे घरको आँगनमा खेलिरहेको अवस्थामा एक्कासि बाघले झम्टिएको थियो ।

 बाघले झम्टिएको देखेपछि घरका अन्य सदस्य चिच्याएर बाघको फन्दाबाट बालिकालाई फुत्काएका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी बालिकालाई जिल्ला अस्पतालमा लगिएपछि उपचारको सिलसिलामा मृत्युभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

खोलाले बगाएर बालिकाको ज्यान गयो
 यसैबीच चितवनको विकट कोराक नजिकै लोथर खोलाले बगाएर एक बालिकाको मृत्युभएको छ । चितवनको पिप्ले-६ रानीवासकी मोरियम चेपाङको खोलाले बगाएर मृत्युभएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । लोथर खोला तरेर कोराकको थाकलटार जान लागेका बेला स्थानीय सरोज चेपाङकी छोरी ५ वर्षकी मोरियमको खोलाले बगाएर मृत्यु भएको हो । बिहीबार दिउँसो खोलाले बगाएर बेपत्ता भएकी उनको शव राति फेला पारिएको थियो ।

No comments: