Saturday, September 13, 2014

नेविसंघको महाधिवेशन अनिश्चित समयका लागि स्थगित

September 13
 नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएको छ । नयाँ नेतृत्व चयनको लागि काठमाडौंमा भोलिदेखि गर्ने तयारी भएको सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो । महाधिवेशनमा सहभागी बन्न धेरै प्रतिनिधिहरु काठमाडौं आइसकेका थिए ।
पार्टी पदाधिकारीको परामर्श, निर्देशक समितिको निर्देशनको आधारमा हाललाई महाधिवेशन स्थगित गरिएको संघ प्रवक्त यूपी लामिछानेले जानकारी दिए ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी वैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
चाडै अर्को मिति घोषणा गर्ने तयारी भइरहेको प्रवक्ता लामिछानेले बताए । नेवि संघले एक हप्ता भित्र सबै जिल्ला र क्याम्पस कमिटीका प्रतिनिधिहरुको नामावली पार्टीलाई बुझाउने भएको छ ।
संघका पूर्व केन्द्रीय सदस्य तथा अध्यक्ष प्रत्यासी नयनसिंह महरले देशभरबाट ८५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरु अधिवेशनमा भाग लिन आइसकेपछि बिना कारण महाधिवेशन स्थगित गरिएको भन्दै विरोध जनाए । स्थगित भएको विरोधमा केही प्रतिनिधिकहरुले आज दिउसो पार्टी कार्यालय पुगेर पत्रकार सम्मेलन गर्ने भएका छन् ।
यसअघि तीन पटकसम्म तिमि घोषणा गरेर संघको महाधिवेशन स्थगित भएको थियो । संघको महाधिवेशन २०६३ सालदेखि हुन सकेको छैन् ।
नेवि संघ अध्यक्षको लागि ५ जनाले उम्मेदवारी घोषणा गरेका थिए । महाधिवेशन हुनुअघि जितजंग बस्नेत, नैनसिंह महर, कुन्दन काफ्ले, मनोजमणि आचार्य र केदार कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।
काफ्ले, आचार्य र कार्की पार्टी संस्थापन पक्षका नजिक छन् भने बस्नेत र महर नेता देउवासँग नजिक छन् ।
संस्थापन र देउवा गुटले आफ्नो पक्षबाट एक एक उम्मेदवार मात्रै उठाउन खोजे पनि विवाद उब्जिदै आएको थियो ।

No comments: