Sunday, September 7, 2014

ज्ञानेन्द्र शाहका दुई विकल्प : ‘रुकमाङगद’ मार्ग या ‘सुबथा’ पथ - किन सक्रिय बन्न खोज्दैछन् पूर्वराजा ?

September 7
संविधान निर्माण प्रक्रियामा राप्रपा नेपालले लिखित असहमति दर्ता गराएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पञ्चायतकालीन चार पूर्वप्रधानमन्त्रीसँग लञ्च मिटिङ गरेका छन् । पूर्वप्रधानमन्त्रीसँग लञ्च बैठक गर्नु अघि पूर्वराजाले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि भेट गरेको सूचना आएको छ ।
gyanendra_ccol
050201_gyanendra_ccol_4a.grid-4x2 पूर्वराजा नागार्जुन र निर्मल निवासमै सीमित रहेर निरस दिनचर्या गुजार्दै आइरहेका छन् । यो अवस्थामा न्यास्रो लागेर पूर्वप्रधानमन्त्रीहरुसँग लञ्च बैठक गरिएको होइन भने पूर्वराजाको सक्रियताका पछाडि केही राजनीतिक अर्थ लुकेको हुन सक्छ । भेटघाटको पृष्ठभूमि पूर्वराजाले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरीलाई नागार्जुनमा बोलाएर सँगै खाना खाएका छन् । यी चार प्रधानमन्त्रीमध्ये शाहीकालका उपाध्यक्ष रहेका गिरी र विष्ट सक्रिय राजतन्त्रका पक्षधर हुन् भने राप्रपाका नेतासमेत रहेका लोकेन्द्रबहादुर चन्द संवैधानिक राजतन्त्रका पक्षपाति हुन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा गणतन्त्रको पक्षमा खुलेर लागिसकेका पुराना राजनीतिज्ञ हुन् ।

पूर्वराजाले गरेको यो भेटघाटको पृष्ठभूमिमा अरु पनि दुईवटा विषय स्मरणीय छन् । राजनीतिक रुपमा यतिबेला नयाँ संविधानको मस्यौदा तयार हुन लागेको छ । राप्रपा नेपालले गणतन्त्रलगायतका विषयमा जनमत संग्रहमा जानुपर्ने लिखित प्रस्ताव दर्ता गराएको छ । काम रोकिएन भने आगामी पाँच महिनाभित्र नयाँ संविधान जारी भएर गणतन्त्र संस्थागत हुन लागेको छ ।

पहिलो सन्दर्भ राजनीतिक छ भने दोस्रो सन्दर्भ प्राविधिक रहेको छ । संवैधानिक राजतन्त्रको पक्ष लिने पूर्वपञ्चहरुवीच एकता छैन । राप्रपा नेपाल एक्लैले संवैधानिक राजतन्त्रको वकालत गरिरहेको छ । तर, कमल थापा र पदमसुन्दर लावतीवीचमै झगडा छ । राप्रपामा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दवीच पार्टी फुट्ला फुट्लाजस्तो भैसकेको छ । थापा गणतन्त्रको पक्षमा छन् भने चन्द र राजेश्वर देवकोटा लगायतले संवैधानिक राजतन्त्रको वकालत गरेका छन् ।

राजतन्त्रलाई संविधानभन्दा माथि राख्नुपर्छ भन्दै आएका तुलसी गिरी एक्ला र भूमिकाविहीन बनेर बसेका छन् । उनी कुनै पार्टीमा आवद्ध छैनन् । राजतन्त्रवादीहरु आपसमै छरिएको र विभाजित अवस्थामा छन् । पूर्वराजाले गणतन्त्रलाई समर्थन गर्दै दलको नेता नबन्ने तर चुप लागेर पनि नबस्ने हो भने सक्रिय हुने एउटै विकल्प छ, रुकमाङगदले जसरी बायोग्राफी लेखेर बस्ने यही फुटका वीचमा लावती, देवकोटा, चन्दलगायतका पूर्वपञ्चहरुले नयाँ राजावादी पार्टी पुनगर्ठन गर्न लागेको चर्चा चलिरहेको छ ।

र, यही पृष्ठभूमिमा पूर्वराजा र पूर्वपञ्चहरुवीच अचानक भेटवार्ता भएको छ । गणतन्त्रमा गइसकेका सूर्यबहादुर थापाले पूर्वराजालाई राजतन्त्र र्फकने वा फर्काउने आश्वासन दिए भनेर अनुमान लगाउन सकिँदैन । तर, अन्य नेताहरुले राजतन्त्रको पक्षमा लविङ गर्ने शक्तिको वैचारिक नेतृत्व गरिदिन पूर्वराजासँग आग्रह गरेको अनुमान लगाउन सकिन्छ । चन्द र लावतीहरुले ज्ञानेन्द्रसँग यसअघि पनि यस्तो आग्रह गर्दै आइरहेकै हुन् ।  

गणतन्त्र स्वीकारेका ज्ञानेन्द्रलाई विवादमा तान्ने प्रयास
पूर्वराजाले राजतन्त्र पुनस्थापनाका लागि आन्दोलनको नेतृत्व गर्ने वस्तुगत अवस्था छैन । कमल थापाले संविधानसभामा प्रस्तुत गरेको प्रस्ताव बहुमतबाट परास्त हुने र गणतन्त्रात्मक संविधान बन्ने प्रायः निश्चित छ । गणतन्त्र जनआन्दोलनको उपलब्धिमात्रै होइन, यसलाई पूर्वराजा ज्ञानेन्द्रले समेत यसअघि स्वीकारिसकेको विषय हो ।

आफैंले स्वीकारेको गणतन्त्रको विरोधमा लाग्नु भनेको पूर्वराजाको अनैतिक कदम ठहरिने छ । यद्यपि राजावादीहरु ज्ञानेन्द्रलाई राजतन्त्र फर्काउने अभियानको नेतृत्व गरिदिउन् भन्ने चाहन्छन् र उनलाई राजनीतिको विवादमा मुछ्न चाहन्छन् । दोस्रो गणतन्त्रवादीहरु स्वेच्छाले नागरिक बनिसकेका पूर्वराजामाथि बारम्बार शंकाको नजरले गर्छन् ।surya-bdr-thapa

दुई विकल्प : ‘रुकमाङगद’ मार्ग या ‘सुबथा’ पथ
 पूर्व राजासँग यतिबेला दुईवटा सहज विकल्पहरु छन् । एउटा विकल्प हो, पूर्वप्रधानसेनापति रुकमाङगद कटवालको मार्गमा लाग्ने । दोस्रो विकल्प हो, सूर्यबहादुर थापाको लाइनमा लाग्ने । सूर्यबहादुर थापाले जस्तै पूर्वराजाले गणतन्त्रमाथि आफूले जनाइसकेको प्रतिवद्धता नफेर्दा उनको हित हुने देखिन्छ । यसरी गणतन्त्रलाई स्वीकार गरिसकेपछि पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोल्दा वा पूर्वपञ्चहरुको एउटै पार्टी बनाएर त्यसको सर्वोच्च नेता बन्न पाउने लोकतान्त्रिक अधिकार उनले गणतन्त्रमा पाउन सक्छन् । यसरी राजनीतिमा आएर उनी नयाँ गणतान्त्रिक संविधान अनुसार राष्ट्रपति वा सरकार प्रमुख बन्न सक्छन् । यो लाइन भनेको सूर्यबहादुर थापाको पथ हो । पूर्वपञ्च सूर्यबहादुरलाई पार्टी खोलेर नेता बन्ने छुट छ भने पूर्वराजा ज्ञानेन्द्रले पनि संविधान र कानूनभित्र रहेर पार्टी चलाउन पाउँछन् । तर, पूर्वपञ्चको लहैलहैमा लागेर आफैंले स्वीकारिसकेको गणतन्त्रको विरोधमा ज्ञानेन्द्रले सक्रियता देखाए भने त्यसमा उनी सफल हुने वस्तुगत स्थिति छैन । नेपलका हिन्दुवादीले अाफ्नाे एजेन्डामा सहयाेग पाउनेे अपेक्षा गरिरहेका बेला* भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकाे गणतन्त्र स्वीकारिसकेका छन् । यो बेलामा ज्ञानेन्द्रले पनि कमल थापा वा तुलसी गिरीको हैन, सूर्यबहादुर थापाको लाइन समाउनु वुद्धिमत्तापूर्ण हुने देखिन्छ । पूर्वराजाले राजतन्त्र फर्काउनेतिर पनि नलाग्ने, गणतन्त्रलाई समर्थन गर्दै दलको नेता पनि नबन्ने तर चुप लागेर पनि नबस्ने हो भने उनीसँग सक्रिय हुने एउटैमात्र विकल्प रहने छ, रुकमाङगद कटवालले जसरी बायोग्राफी लेख्नु । जुन, उनले केही अध्यायसम्म लेखिसकेका पनि छन् । * लेखकाे तात्पर्य स्पष्ट पार्न वाक्यांश थप गरिएको ।

No comments: