Friday, September 12, 2014

महाधिवेशनको टुंगो नभएपनि प्रतिनिधि आउन थाले काठमाडौं

September 12
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि काठमाडौं आउन थालेका छन् । तर, तोकिएको मिति आउन दुई दिन बाँकी रहँदासमेत महाधिवेशन हुने-नहुने अनिश्चित छ ।

 धेरैपटक घोषणा गर्दै स्थगित गरिँदै आएको नेविसंघको महाधिवेशन पछिल्लोपटक २९ देखि ३१ भदौमा काठमाडौंमा गर्नेगरी तोकिएको छ । तर, माउ पार्टी कांग्रेसमा विवाद र व्यवस्थापनको तयारीसमेत नभएकाले महाधिवेशनबारे विद्यार्थी नेताहरु नै अलमलमा परेको नयाँ पत्रिकामा खबर छ ।

 नेविसंघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ । तर, समितिका नेताहरुमा विवाद भएपछि महाधिवेशन अन्योलमा परेको छ । निर्देशन समितिमा डा. प्रकाशशरण महत, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी, बद्री पाण्डेलगायतका नेता सदस्य छन् ।

 निर्देशन समितिका संयोजक सिंहले विवाद थाती राखेर तोकिएकै मितिमा महाधिवेश गर्नुपर्ने अडान राखेका छन् । तर, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले भने केही दिन सारेर व्यवस्थित रुपमा महाधिवेशन गर्नुपर्ने अडान लिएको स्रोतको भनाई छ । यसकारण महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आउन थाले पनि खाना र बासको प्रबन्ध गरिएको छैन् ।

 महाधिवेशन प्रचारप्रसार संयोजक मोतीलाल भण्डारीले तयारी कम भएको बताए । उनले भने-‘प्रतिनिधिहरु काठमाडौं आएर कहाँ बस्ने, खाने भनेर सोधिरहेका छन् । तर, व्यवस्थापनको अझै टुंगो लागेको छैन् । मसँग सम्पर्क भएका साथीहरुलाई आफन्तकोमा बस्न सल्लाह दिएको छु ।’

No comments: