Saturday, September 20, 2014

कांग्रेससहित १२ दलको जनजाति ककस बन्यो आइडिया इन्टरनेशनको आर्थिक सहयोग

September 20
काठमाडौं । जातीय पहिचानको मुद्दा स्थापित गर्न भन्दै जानजाति सभासदहरुले संविधानसभाभित्र दबाव समूह ककस बनाएका छन् ।
जनजाति ककस गठनका क्रममा भएका छलफलहरुमा नेपाल आदिवासी जनजाति महासंघले प्रशिक्षक दिएको छ भने गैरसरकारी संस्था आइडिया इन्टरनेशनले आर्थिक सहयोग गरेको छ ।
जनजनति ककसमा हाल कांग्रेससहितका १२ बटा दलका सभासदहरु छन् । एमाले सभासदहरु भने छैनन् । तर, एमाले सभासद पनि ककसमा संलग्न हुने अभियन्ताहरुले बताएका छन् ।
जनजाति ककस गठनका लागि बनाइएको तयारी समितिमा कांग्रेसका सभासद बहादुरसिंह लामा र दिलमान पाखि्रन छन् । ‘ककसभन्दा पनि जनजातिहरुको समूह भनेर बोलाएको थियो, म पनि पुगेको थिएँ’ नुवाकोटका सभासद बहादुर सिंह लामाले अनलाइनखबरसँग भने-‘कांग्रेसबाट दिलमान र मेरो नाम राखियो, मैले पार्टीसँग पनि छलफल गर्छु भनेको छु ।’
संविधानसभा नियमावलीअनुसार नै ककस बनाउन लागेको राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले बताए ।
‘एक्लाएक्लै जातीय पहिचान स्थापित गर्न नसकिने भयो’ थापाले अनलाइनखबरसँग भने-‘सामूहिक रुपमा आफ्नो मुद्दासंविधानमा स्थापित गराउन समूह बनाएका हौं ।’
को को छन् ककसमा
जानजाति ककसमा कांग्रेसका बहादुरसिंह लामा र दिलमान पाख्रिन छन् । एमाओवादीका गणेशमान पुन र श्रीप्रसाद जबेगु, राप्रपाका परशुराम तामाङ, राप्रपा नेपालकी रामदुलारी चौधरी छन् ।
थरुहट पार्टीका गंगा चौधरी, दलित जनजाति पार्टी नेपालकी यशोदा लामा, खम्बुवानका आरके खम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटी रुक्मिणी चौधरी, राष्ट्रिय जनमुक्तिका शिवलाल थापा र संघीय समाजवादीका अशोक राई छन् ।
थारु सभासदको छुट्टै ककस
जनजाति ककस अन्तरगत रहने गरी थारु सभासदहरुको पनि ककस बनेको छ । यसमा भने कांग्रेस र एमाले दुबै दलका सभासद पनि छन् ।
कांग्रेसका तेजुलाल चौधरी, एमालेको नागेन्द्र चौधरी, एमाओवादीका सन्त थारु, फोरमका योगेन्द्र थारु, राप्रपा नेपालकी रामदुलारी थारु र थरुहटीकी रुक्मिणी चौधरी छन् ।
यसको अगुवा भने थरुहट तराई पार्टीका सभासद गोपाल दहित छन् ।

No comments: