September 5
काठमाडौं । बालुवाटारमा वैद्य माओवादीलाई बोलाएर गोलमेच सम्मेलनमा सहमति जनाएको भोलिपल्टै कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताले शुक्रबार सिंहदरबारमा भेला भएर बाझाबाझ गरेका छन् ।
सार्वपक्षीय राजनीतिक सभा (गोलमेच) नगरुञ्जेल संविधानसभाको कार्यतालिका स्थगन गर्ने कि नगर्ने भन्नेबारे तीन दलबीच विवाद भएको छ ।बिहीबार बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा वैद्य माओवादीको मागअनुसार सार्वपक्षीय राजनीतिक सभा गर्ने सहमति भएको थियो । तर, तीन दलबीचको विवादले राजनीतिक सभा हुने-नहुने फेरि अन्योलमा परेको छ । चार दलीय कार्यदलले काम समेत थाल्न सकेको छैन । चार दलले सभाको कार्यविधि र नयाँ संविधानका अन्तरवस्तुमा सहमति खोज्ने गरी आठ सदस्यीय कार्यदल गठन गरेको थियो ।
गोलमेच नभएसम्म कार्यतालिका रोकौं : माओवादी
गोलमेच सभा नगरेसम्म संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा सहमति हुन नसकेका संविधानका अन्तरवस्तुलाई संविधानसभाको प्रक्रियामा लैजान नहुने सिंहदरवार बैठकमा एमाओवादीले बताएको छ । यसका लागि माघ ८ मा संविधान जारी गर्ने प्रतिवद्धतालाई कायमै राखेर संविधान निर्माण कार्यतालिका संशोधन गर्नु पर्ने उसले बताएको छ । ‘एकातिर वैद्य माओवादीसँग छलफल गर्न गोलमेचको निर्णय गर्ने, अनि अर्कातिर फटाफट कार्यतालिका अनुसार काम गर्ने हो भने यो कार्य अनैतिक हुन्छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने-’हामीले बैठकमा भनेका छौं, वैद्यजीहरुलाई धोका दिन पाइँदैन, गोलमेच सम्मेलन नगरुञ्जेल केही दिनलाई प्रक्रिया स्थगन गर्नैपर्छ ।’
बाबुरामले प्रतिवेदन बुझाउनुपर्छ : कांग्रेस-एमाले
तर, कांग्रेस र एमालेले एमाओवादीको प्रस्ताव अस्वीकार गरेका छन् । गोललमेच सभा हुँदै गर्छ, कार्यतालिका अनुसार प्रक्रियामा जानु पर्ने कांग्रेस र एमाले नेताहरुले बताए । एमाले नेता खरेलले संविधानसभाको प्रक्रियामा लैजाँदामा मतदान सुरु नहुने बताए । सम्वाद समितिले शनिबारै प्रतिवेदन बुझाउनुपर्ने भन्दै खरेलले भने-’सभापतिले नियमावली एवं कार्यतालिका अनुसार काम गर्नुपर्छ, उहाँले शनिबार जसरी पनि संविधानसभालाई आफ्नो प्रतिवेदन बुझाउनैपर्छ ।’ कार्यतालिका संशोधन गर्ने या नगर्ने निर्णयकाे अिधकार सम्वाद समितिको नभर्इ संविधानसभाकाे पूर्ण बैठकले मात्र गर्न सक्ने सत्तारुढ दलका नेताहरूकाे तर्क छ । संविधानका विवादित विषयमध्ये सहमति र असहमतिका विषयलाई लिपिवद्ध गरेर संविधानसभामा पठाउने अन्तिम म्याद भदौ २१ गते साँझ सकिँदैछ ।
संविधानसभा विघटनको प्रस्ताव आए ?
संविधानसभाभित्र गरिने छलफल र गोलमेचको तयारी एकसाथ अघि बढाउन सकिने कांग्रेस र एमालेको तर्क छ । तर, माओवादी र मधेसवादी दलहरुले भने संविधानसभाको प्रक्रियामा लगेपछि गोलमेचलाई टालटुल पार्ने र बहुमतका आधारमा अघि बढ्ने सत्तारुढ दलको तयारी रहेको अाशंका गरेका छन् । एमाले सभासद खरेलले गोलमेचको गोलचक्करमा संविधानसभाई पार्न नहुने बताएका छन् । शुक्रबारको तीन दलीय बैठकमा सहभागी खरेलले अनलाइनखरसँग भने-’गोलमेच सम्मेलनमा वैद्य माओवादीले संविधानसभा विघटनको प्रस्ताव ल्यायो भने के गर्ने ? त्यसैले संविधानसभाको प्रक्रिया पनि अघि बढाउनु पर्छ र गोलमेच सम्मेलन पनि अघि बढ्छ ।’
नैतिक प्रश्न हो : बैद्य माओवादी
सम्वाद समितिले बोलाएको बैठक भएकाले सिंहदवारको छलफलमा बैद्य माओवादी सहभागी थिएन । तर, बैठकमा कार्यतालिका फेर्ने/नफेर्नेबारे चर्काचर्की भएछ नि भन्ने अनलाइनखबरको प्रश्नमा बैद्य माओवादीका सचिव देव गुरुङले यसबारे आफूहरुलाई कुनै सरोकार नरहेको बताए । गुरुङले भने-’हामी कार्यतालिकाका विषयमा यसो गर र उसो गर भन्दैनौं ।’ यद्यपि राष्ट्रिय राजनीतिक सभा गर्न सहमति जनाइसकेपछि संविधानसभाको प्रक्रियालाई पनि जारी राख्दा दुई समानान्तर प्रक्रिया अघि बढ्ने गुरुङले बताए । ‘यस्तो समानान्तर प्रक्रिया अघि बढ्दा कत्तिको नैतिक र सहज हुन्छ, यो संविधानसभामा रहेकै दलहरुले जान्ने कुरा हो’ उनले भने । माओवादी नेता गुरुङले हतार गरेर एकै रातमा गोलमेच सम्मेलन हुन नसक्ने बताए । संविधानसभाको कार्यतालिका रोकेर गोलमेच गर्नुपर्छ भन्ने एमाओवादीकाे अडान भए पनि गुरुङले यसमा आफ्नो दल नरम रहेको संकेत गरे ।
सिंहदरवारमा को-को कडि्कए ?
शुक्रबारको बैठकमा कांग्रेस, एमाले र एमाओवादी नेतावीच निकै चर्काचर्की परेको स्रोतले बतायो । संविधानभसाको कार्यतालिका फेर्नै नहुने भन्दै कडा कुरा गर्नेहरुमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री रामशरण महत र वनमन्त्री महेश आचार्य थिए । त्यसैगरी एमाले सभासद खरेल पनि कडा रुपमा प्रस्तुत भएका थिए । उता एमाओवादीतर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश पनि कडारुपमा प्रस्तुत भएका थिए । कार्यतालिका परिवर्तन नगर्दा वैद्य माओवादीलाई धोका हुने भन्दै श्रेष्ठले बैठकमा आपत्ति जनाएका थिए ।
No comments:
Post a Comment