September 21
नेपाल भारतबीच रहँदै आएको सीमा विवादलाई पुराना नक्सा तथा दस्तावेजका आधारमा टुङ्गो लगाउन विज्ञले सुझाएका छन्।
सीमा कार्य समूहले गरेको पछिल्लो निर्णयले दुई देशबीचको सीमा विवाद अन्त्य गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै विज्ञले प्रमाणका आधारमा निर्णय लिनुपर्नेमा जोड दिएका हुन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठले पटक पटक दुई देशबीच रहँदै आएको सीमा विवाद अन्त्य गर्न छलफल भए पनि विवाद बाँकी रहेका कालापानी, सुस्ता, सन्दकपुर र ठोरीलगायत स्थानलाई पुराना प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने बताए।
काठमाडौँमा सम्पन्न नेपाल भारत सीमा कार्य समूहको बैठकले दुई देशबीचको सिमानामा हराएका सीमास्तम्भको पुनः निर्माण एवम् भत्किएका सीमास्तम्भको मर्मत गर्ने तथा दशगजा क्षेत्रमा अतिक्रमण र आगामी तीन वर्षभित्रमा दुई देशबीचको सीमासम्बन्धी विवादलाई अन्त्य गर्न कार्य विधि तयार गर्ने सहमति भएको थियो।
विभागका प्रवक्ता मधुसूदन अधिकारीले समूहले बनाएको तीनवर्षे कार्ययोजना पूरा गर्न सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि दुई देशका अधिकारीको टोली पठाएर अध्ययन गरिने जानकारी दिए।
सीमा सरोकार नागरिक समितिका अध्यक्ष चेतेन्द्रजङ्ग हिमालीले विवादित स्थानको नक्सा तयार गरेर त्यसलाई सच्याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै पुराना दस्तावेज तथा नक्साका आधारमा विवादको समाधान गर्नुपर्ने बताए।
सन् १९८१ देखि २००७ सम्म नेपाल भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिले २६ वर्ष काम गरेर ९७ प्रतिशत सीमाङ्कन काम सकाएर १८२ सीमा नक्सा तयार गरेको थियो। त्यो समिति खारेज भएको लामो समयपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच सीमा कार्य समूह गठन गरिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका अवसरमा उक्त समूहलाई मान्यता दिइएपछि काठमाडौँमा बसेको बैठकले विवादित स्थानको नक्साङ्कनमा थप काम हुने विश्वास लिइएको हो। रासस
No comments:
Post a Comment