September 4
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा समाउँदै मुद्धा चलाएपछि विश्वविद्यालयका पदाधिकारीहरुले कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालासँग गुहार मागेका छन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सहित विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री कोइरालासँग हारगुहार गरे । उनीहरुले अख्तियारले प्राज्ञिक क्षेत्रको गरीमा र मर्यादाको सम्मान गर्न नसकेको, बेरुजु र भ्रष्ट्राचारको बारेमा अन्तर समेत नबुझेका अनुसन्धान अधिकृतहरु खटाएर कारबाही गरेको थालेको भन्दै गुनासो गरेका छन् ।
अख्तियारका अनुसन्धान अधिकृतहरुले प्राज्ञहरुको अपमान गरेको आरोप उनीहरुले लगाएका छन् । आफ्ना आर्थिक र प्रशासनिक नियम अनुरुप काम गरेका स्वायत्त संस्थामा पनि निजामति सेवाको जस्तो परिपाटी खोजेर हतास बनाउने गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. पराशर कोइराला र सचिव भोला पोखरेलले नयाँ खुलेका विश्वविद्यालयहरुमा थालिएको छानविनले आयोगबाट आर्थिक सहयोग लिएर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुको जाँगर मरेर बताएका छन् ।
जवाफमा प्रधानमन्त्री कोइरालाले भने विश्वविद्यालय जस्ता शैक्षिक र प्राज्ञिक संस्थाहरुमा आर्थिक अनियमितता र भ्रष्टाचारका समाचार सुन्नुपर्दा निकै पीडा अनुभव भएको बताए ।
आर्थिक अनियमितता र भ्रष्टाचारको मामलामा कसैले कसैलाई बचाउन नसक्ने भन्दै उनले भने-’मैले गल्ती गरे भने म पनि सजायको भागीदार बन्नुपर्छ ।’ प्रधानमन्त्री कोइरालाले प्राज्ञिक क्षेत्रमा आएका अनियमितताका विषयले सबैलाई निराश बनाएको बताएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जनाएका छन् ।
अख्तियारले हालै मध्यपश्चिम विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालयका पदाधिकारीलाई पक्राउ गरि मुद्दा चलाएको छ । त्यस्तै त्रिभुवन विश्व विद्यालयका बिभिन्न १३ ओटा शाखा तथा बिभागमा छापा मारि महत्वपूर्ण कागजपत्रहरु जफत गरेको छ ।
No comments:
Post a Comment