काठमाडौं : नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीन क्रिकेट प्रतियोगिताको उपाधि जोगाएको छ। नेपालले बिहीबार मलेसियामा भएको फाइनलमा युगान्डालाई ६२ रनले हरायो। बर्मुडामा भएको अघिल्लो संस्करणको फाइनलमा पनि युगान्डालाई नै हराएर नेपालले पहिलोपटक डिभिजन तीनको उपाधि हात पारेको थियो।
यसपटक राउन्ड रोबिन लिगको पहिलो खेलमै युगान्डाले नेपाललाई हराएको थियो। तर त्यसपछिका चार खेलमा लगातार जित हात पारेर नेपाल डिभिजन दुईमा बढुवा भएको थियो। नेपाल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहेको थियो।
बलिङतर्फ नेपालका स्पिनर प्रभावशाली देखिए। भुवन कार्कीले चार, वसन्त रेग्मीले दुई तथा शक्ति गौचन र सागर पुनले एकएक विकेट लिए। फास्ट बलर सोमपाल कामीले एक विकेट लिए। युगान्डाका प्रारम्भिक ब्याट्सम्यान रोजर मुकासाले ५१ रन जोडे।
आक्रामक प्रदर्शन गरेका मुकासालाई सातौं विकेटका रूपमा भुवन कार्कीले आउट गरेपछि नेपाल उपाधितर्फ अग्रसर भएको थियो। मुकासा आउट हुँदा युगान्डाले ४१.४ ओभरमा एक सय ५१ रन जोडेको थियो। भुवनले ४४ औं ओभरमा दुई विकेट लिए।
भुवनले तेस्रो विकेटका रूपमा फिलिमोन सेलोवालाई व्यक्तिगत चार रनमा रनआउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए। युगान्डाले चौथो विकेटका लागि ३७ रनको साझेदारी गर्दै दबाब बनायो। तर भुवनले आफ्नो पाँचौं र छैटौं ओभरमा विकेट लिएपछि युगान्डा ३०.१ ओभरमा ९२-५ को स्थितीमा पुगेको थियो।
टोलीले २७ रन जोड्दा रिटायर्ट हर्ट भएका मुकासा ३१ औं ओभरमा ब्याटिङ गर्न आएपछि खेल पुन: रोचक बनेको थियो। उनले छैटौं विकेटका लागि फ्रान्क सुबुगासँग ४८ रनको साझेदारी गरे। उनले ५१ बलमा तीन छक्का र चार चौका प्रहार गरे।
यसअघि नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्यो। नेपालले प्राय: खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने गरेको थियो। सागरले ६४, ज्ञानेन्द्रले ५६ र नरेशले ५१ रन जोडे। सुवास खकुरेललाई बाहिर राखेर प्रारम्भिक जोडीका रूपमा सागर र नरेशलाई पठाइएको थियो। यी दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि एक सय सात रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाए। सागर आउट हुँदा नेपालले ३१.१ ओभरमा एक सय ३१ रन जोडेको थियो।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले केही समय टिकेर नेपाललाई चुनौतीपूर्ण योगफलसम्म पुर्याए। ज्ञानेन्द्र पाँचौं विकेटका रूपमा आउट हुँदा नेपालले ४७.२ ओभरमा दुई सय आठ रन जोडेको थियो। अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्। कप्तान पारस खड्का १३, विकेटकिपर विनोद भण्डारी नौ, आरिफ शेख आठ, वसन्त रेग्मी दुई र मेहबुब आलम ६ रन जोडेर आउट भए।
सागरले ९९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे। ज्ञानेन्द्रले ६५ बलमा पाँच चौका हिर्काए। ७३ बल खेलेका नरेशले एक छक्का र दुई चौका प्रहार गरे। युगान्डाका बलर मुकासाले ६ विकेट लिए। प्रतियोगितामा युगान्डाका मुकासा म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज घोषित भए।
नेपालले अब आगामी जनवरीमा नामिबियामा डिभिजन दुई खेल्नेछ। उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित नामिबिया, नेदरल्यान्ड्स, केन्या र क्यानडा सहभागी हुनेछन्। राउन्ड रोबिन लिगमा सञ्चालन हुने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले चार दिवसीय इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्न पाउनेछ।
No comments:
Post a Comment