Saturday, August 30, 2014

अफगान गुप्तचर कार्यालयमा तालिवानको आक्रमण

August 30

काबुल । तालिवान लडाकूहरूले शनिबार अफगानिस्तानको पूर्वी नगर जलालाबादस्थित गुप्तचर सेवाको कार्यालयमा आक्रमण गरेको छ । लडाकूले कम्तीमा तीन व्यक्तिको हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । आक्रमण नानगारहर प्रान्तको एनडीएस कार्यालयमा एक गाडीमा बम राखी गरिएको बताइएको छ । लगतै केही लडाकूले उक्त कार्यालयमा आक्रमण गर्न थालेको नानगारहर प्रान्तका प्रशासकका प्रवक्ता अहमद जिया अब्दुलजईले बताए । प्रवक्ताले नानगारहरको राष्ट्रिय सुरक्षा निर्देशनालयले आफ्ना तीन कर्मचारी यस आक्रमणमा मारिएको आफूहरूलाई जानकारी दिएको बताए । लडाकू तथा एनडीएसका कर्मचारीबीच शनिबार बिहानै गोली हानाहान भएको थियो । नानगारहरका सार्वजनिक अस्पतालका प्रमुखले आफूहरूले छ शव प्राप्त भएको जानकारी दिए । चिकित्सक नजिबुल्लाह कमावालले छ शव प्राप्त भएको तथा ४६ घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए । घाइतेमध्ये २६ जनालाई अस्पतालमा भर्ना गरिएको र बाँकीलाई उपचारपछि फकाईएको बताइएको छ । तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले एक इमेल विज्ञप्तिमार्फत उक्त आक्रमणका लागि जिम्मेवारी लिएका छन् । आक्रमणमा एनडीएसका धेरै गुप्तचर मारिएको पनि दाबी गरिएको छ । रासस/एएफपी

No comments: