पेय पदार्थको गोदाममा सिलबन्दी
August 30
काठमाडौं : पेय पदार्थ र पेय पदार्थजन्य वस्तुमा मिसावट गरी बिक्रीवितरण गर्ने व्यापारी सञ्जय सुरेखाको गोदाममा सिलबन्दी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वाणिज्य तथा आपूर्ति व्यवस्था विभागको संयुक्त टोलीले बुधबार साँझ कमलपोखरीस्थित गोदाममा छापा मारी सिलबन्दी गरेको हो।
मिसावट र म्याद गुज्रेका वस्तु बिक्रीवितरणका कारण जनस्वाथ्यमा गम्भीर असर पुगेको सूचनाका आधारमा गोदाममा सिलबन्दी गरिएको हो। गोदाममा कागती, सुन्तला, स्याउ र पेय पदार्थजन्य विभिन्न स्वादका पाउडरको प्याकिङमा लेभलिङ गर्ने तथा म्याद गुज्रने मिति राख्दै गरेको अवस्थामा छापा मारिएको थियो।
संयुक्त टोलीले बजारमा लैजान तयारी अवस्थामा रहेको ड्रिंक्स पाउडरसहित एक हजार एक सय २० कार्टुन सामग्रीमा सिलबन्दी गरेको अख्तियारका एक अधिकारीले बताए। सिलबन्दीपछि थप अनुसन्धानका लागि विभागको जिम्मा लगाइएको छ।
यसैगरी बुधबार नै अख्तियार र राजस्व अनुसन्धान विभागको संयुक्त टोलीले महाबौद्धस्थित रामबाबु श्रेष्ठ र पूर्णदीप खराल सञ्चालक रहेको जुनतारा इन्टरप्राइजेजलगायत नौवटा फर्म तथा गोदाममा पनि छापा मारेको छ। टोलीले अभिलेख प्रयोजनका लागि प्रयोग गरेका कम्प्युटर र कागजात नियन्त्रणमा लिएको छ।
इन्टरप्राइजेजको स्वयम्भू सानो भ:याङस्थित दुईवटा गोदाममा पनि सिलबन्दी गरिएको छ। थप अनुसन्धानका लागि विभागको जिम्मा लगाइएको छ। रेडिमेड तथा अन्य कपडामा कर छली, मालसामान आयातमा कम मूल्यांकन, कृत्रिम अभावलगायतको उजुरीका आधारमा छापा मारिएको हो।
No comments:
Post a Comment