Saturday, August 30, 2014

प्रोबायोटेकमा आईएफसीको ४० करोड लगानी

August 30 
 

काठमाडौं : विश्‍व बैंकको निजी क्षेत्रलाई लगानी गर्ने संयन्त्र अन्तर्राष्ट्रिय वित्तीय संस्थान (आईएफसी) ले नेपालको पोल्ट्री फार्मको उत्पादन र कृषकको आम्दानी वृद्धिमा सहयोग पुर्‍याउन प्रोबायोटेक इन्डस्ट्रिजमा ३८ लाख डलर (करिब ४० करोड) लगानी गर्ने भएको छ। प्रोबायोटेक निम्बस होल्डिंसअन्तर्गतको कुखुराको दाना उत्पादन गर्ने भगिनी उद्योग हो। यो लगानीपश्चात् प्रोबायोटेकमा आईएफसीको ३५ प्रतिशत लगानी पुग्छ। बाँकी ६५ प्रतिशत निम्बसकै लगानी हुनेछ। नेपालको कृषि व्यवसायमा आईएफसीको यो पहिलो लगानी हो। आईएफसीले लगानी प्रोबायोटेकले भट्मासको पिठो र प्रशोधित तेलको उत्पादन क्षमता वृद्धिमा प्रयोग गरिने जनाएको छ। यसले आठ हजार कृ षक, खाद्य सप्लायर्स र खाद्य सुरक्षाको स्तरलाई सुधार गर्न सहयोग गर्ने निम्बस होल्डिंसका प्रबन्धनिर्देशक आनन्द बगरियाले जानकारी दिए। आईएफसीमा काम गरेका दक्ष र अनुभवी जनशक्तिले नेपालमा पनि दाना तथा तेल उत्पादनको गुणस्तरमा सुधार आउने पनि उनले बताए। 'आईएफसीको अनुभव, ज्ञान र विज्ञताले कृषि उद्योगको विकासमा सहयोग हुनेछ', उनले भने, 'प्रोबायोटेकको उत्पादनमा वातावरणीय र सामाजिक प्रभावकारितासमेत बढ्छ।' आईएफसीको लगानीपछि किसानको उत्पादकत्व क्षमता एवं आम्दानीमा पनि वृद्धि हुने उनले बताए। सन् २००१ मा स्थापना भएको प्रोबोयोटेकले दाना उत्पादन गर्छ। कम्पनीले स्रोत जुटाएपछि भटमासको मैदा, खानेतेल र दानामा विविधीकरण गरी बजारीकरण गर्ने योजना बनाएको पनि उनले बताए।  

यो लगानीपश्‍चात प्राबायोटेकमा आइएफसीको ३५ प्रतिशत निम्‍बसकै लगानी हुनेछ। नेापलको कृषि व्‍यावसायमा आइएफसीको यो पहिलो लगानी हो।

  प्रोबायोटेकले अहिले शक्ति ब्रान्डमा दाना उत्पादन गर्छ। यो नेपालमा सबैभन्दा बढी खपत हुने दाना हो। आईएसओ ९००१-२००८ गुणस्तर प्रमाणपत्र प्राप्त गरेको प्रोबायोटेकसँग दैनिक तीन सय मेट्रिक टन प्लेट दाना उत्पादन गर्ने क्षमता छ। यो कारखानाबाट उत्पादन भएको दानाले नेपाली बजारको मागको २५ प्रतिशत हिस्सा पूरा गर्ने कम्पनीले दाबी गरेको छ। करिब २० प्रकारका दाना, २० प्रकारका दानासम्बन्धी सप्लिमेन्ट र २० भन्दा बढी केमिकल, भ्याक्सिन र औषधिमा उत्पादन गर्ने प्रोबायोटेकसँग एक पटकमा २५ हजार मेट्रिक टनसम्मको उत्पादन भण्डारण गर्ने क्षमता पनि छ। आईएफसीले प्रोबायोटेकमा लगानी गरेपछि प्लान्ट र कृषिमा पनि रोजगारी बढ्ने अपेक्षा गरिएको छ। यसबाट खाना र पौस्टिक आहारको सुरक्षामा समेत सुधार आउने, आईएफसी एसिया प्यासिफिकका निर्देशक विपुल प्रकाशले बताए। उनले भने, 'हाम्रो लगानीले ब्रोइलर उत्पादनको लागत, पोल्ट्री फार्मका किसान, सरकार र साना व्यापारीलाई समेत फाइदा पुग्नेछ।' आईएफसीले विश्वका विभिन्न देशमा चार अर्ब ५० करोड डलरभन्दा बढी लगानी गरेको छ।

No comments: