Monday, August 25, 2014

लाइसेन्स लिनेको भीड व्यवस्थापन गर्नै समस्या

कञ्चनपुर, भाद्र ८ - 
महाकाली अञ्चल यातायात कार्यालयमा ५ दिनदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिनेको भीड लागेको छ। कार्यालयले १६ महिनापछि बुधबारदेखि आवेदन खुला गरेपछि लाइसेन्स लिन चाहनेको भीड लागेको हो।

'कार्यालयमा आवेदन दिनेहरूको भीडले व्यवस्थापन गर्नै समस्या भइरहेको छ,' यातायत कार्यालयका प्रमुख विक्रमबहादुर नेपालीले भने, '५ दिनमा करिब डेढ हजार बढीको आवेदन दर्ता भइसकेको छ।' उनले एकै पटक लिखित परीक्षा लिन सक्ने हल नभएका कारण कसरी परीक्षा सञ्चालन गर्ने भन्ने समस्या भइरहेको बताए। 'मंगलबारदेखि लिखित परीक्षा लिने तयारी भइरहेको छ तर कसरी लिने भन्ने अन्योलमै छौं,' उनले भने।

विगतमा बढीमा डेढ-दुई सयले मात्रै लाइसेन्सका लागि आवेदन दिन्थे। त्यसका लागि महाकाली बस व्यवसायी समितिको हलमा लिखित परीक्षा लिइन्थ्यो। यातायात कार्यालयसँग आफ्नै हल नहुँदा कसरी परीक्षामा सहभागी गराउने भन्ने समस्या देखिएको हो। आइतबार साँझ कार्यालय बिदा हुने समयसम्म पनि लाइसेन्सका लागि आवेदन दिनेको लामै लाइन थियो। सबै जना आवेदन दर्ता गराउन सकिने हो वा होइन भनेर आपसमै विवाद गरिरहेका देखिन्थे। कतिपय त बिहानदेखि लाइनमा लागेका समेत आवेदन दिन नसकेर निराश भई घरतिर लागिरहेका थिए। 

'डेढ-दुई सयको सिफ्ट बनाएर लिखित परीक्षा लिने सोचमा छौं,' कार्यालय प्रमुख नेपालीले भने, '२/३ दिनमा लिखित परीक्षा सकिएपछि ट्रायल परीक्षा लिइनेछ।' उनले ट्रायल लिन पनि ठूलै भीड भएकाले व्यवस्थापन गर्नै समस्या हुन सक्ने बताए। 'लिखित र ट्रायल परीक्षाको व्यवस्थापन गर्नै समस्या देखिएको छ,' उनले भने।

यातायात कार्यालयले नयाँ प्रविधिबाट परीक्षा लिने तयारी सुरु गरेपछि गत वर्ष वैशाखदेखि लाइसेन्स वितरणको काम रोकेको थियो। त्यसयता कैयौंले नयाँ सवारी साधन खरिद गरे पनि लाइसेन्सबिना नै चलाइरहेका छन्। अहिले पनि सबैले लाइसेन्सका लागि आवेदन दिन सकेका छैनन्। उनीहरूले प्रक्रिया बुझेर दोस्रो वा तेस्रो सिफ्टमा आवेदन दिने तयारी गरिरहेका छन्। यातायात कार्यालयले पहिलो चरणमा दुई पांग्रे सवारी साधनको मात्र लाइसेन्स वितरण प्रक्रिया सुरु गरेको हो। 

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:००

No comments: