Monday, August 25, 2014

बालुवाटारमा एक्कासी किन बिच्किए प्रचण्ड ?-प्रचण्डलाई संयोजक नदिए संविधान बन्दैन : अमरेश

Prachanda-2
मात्रिका पौडेल
९ भदौ, काठमाडौं । शान्ति प्रक्रिया र संविधान निर्माणको एउटा पक्ष एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड बिच्किएपछि संविधानमा सहमति जुटाउने अभियानमा ब्रेक लागेको छ । सोमबार बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा उपस्थित भएका प्रचण्डले केही भन्छन् कि भनेर सबै सभासद उनको मुखतिर हेरिरहेका थिए । तर, प्रचण्ड केहीबेर बसेर निस्किएपछि सभासदहरुको संशय कायमै रहृयो । प्रचण्ड बिच्किए भने भदौ २१ भित्र सहमति हुँदैन र असोजभित्र संविधानको पहिलो मस्यौदा आउँदैन भन्ने उनीहरुलाई थाहा छ । आइतवार बालुवाटारमा भएको बैठकमा चार बुँदे सहमति कांग्रेस र एमालेले पालना नगर्ने भएपछि अध्यक्ष प्रचण्ड अब वार्ता नगर्ने भन्दै बाहिरिएका थिए । त्यसपछि शीर्ष नेताहरुबीच अनौपचारिक संवाद पनि हुन सकेको छैन ।

 प्रचण्ड किन नहुने ? 
 कांग्रेस एमालेले चार बुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेसम्म सहमति जनाएका छन् । तर, त्यसको संयोजक प्रचण्डलाई बनाउन उनीहरु तयार छैनन् । एमाओवादी अध्यक्ष प्रचण्डले उच्चस्तरीय संयन्त्रको स्थायी संयोजक बन्न खोजेका छन् । जसलाई उनी संविधान निर्माणमा आफ्नो ‘ग्राउण्ड’ बनाउन चाहन्छन् । तर, कांग्रेस र एमालेका केही नेताहरुले आफूलाई उडाउने आशयले ‘तो चाहि कुनै हालतमा हुदैन, गए हुन्छ’ भन्ने ढंगबाट प्रस्तुत भएकाले प्रचण्ड बिच्किएको एक नेताले बताए । तर, कांग्रेस र एमालेका नेताहरुले प्रचण्डलाई कुनै हालतमा संयोजक नदिने बरु आलोपालो संयोजक बनाउन भने तयार रहने बताएका छन् । प्रचण्डले संयन्त्रमार्फत आफू अनुकुल संविधान नबने सबै प्रक्रियामा अवरोध गर्ने उनीहरुको आशंका छ । एमाओवादी भने कांग्रेस एमालेको कुरामा सहमत छैन । एमाओवादी स्थायी समिति सदस्य समेत रहेका सभासद शक्ति बस्नेतले अनलाइनखबरसँग भने-यो हाम्रो बटमलाइन हो, यसलाई कांग्रेस एमालेले गम्भिरतापूर्वक लिएनन् भने संविधान नबन्न सक्छ ।  

प्रचण्डलाई किन चाहियो ?
प्रचण्डलाई उच्चस्तरीय संयन्त्रको संयोजकनै किन चाहियो त ? यो प्रश्न अन्य दलले उठाइरहेका छन् । संविधानसभालाई चुनौति दिन अर्को शक्तिसाली संयन्त्रनै प्रचण्डले किन रोजे भन्ने प्रश्न पनि उठेको छ । तर, प्रचण्ड निकटस्थ मानिने एमाओवादी नेता बस्नेत भने प्रचण्डले मागेको भन्दा पनि अहिलेको राजनीति अवस्थाले संयन्त्रको संयोजक प्रचण्ड खोजेको बताउछन् । ‘संविधानसभा भन्दा बाहिर रहेका दलहरुलाई मिलाउनुछ, बिभिन्न जाति जनजाति र सम्प्रदायसँग छलफल गरेर संविधानमा सहमति जुटाउन प्रचण्डलाई त्यसको संयोजक दिनुपर्छ भन्ने हो’ बस्नेतले भने ।  

नत्र संविधान बन्दैन : अमरेश
Amresh KumarAmresh Kumarकांग्रेस र एमालेभित्र पनि प्रचण्डलाई संयोजक बनाइदिए संविधानमा सहमति जुट्छ भने किन नदिने त ? भन्ने बहस सिर्जना भएको छ । कांग्रेस सभासद अमरेशकुमार सिंहले अनलाइनखबरसँग भने-प्रचण्डजीलाई उच्चस्तरीय संयन्त्रको संयोजक नबनाई संविधानमा सहमति जुट्दैन, यो कुरा हाम्रा नेताहरुले बुझेर पनि बुझ पचाएका छन् । दोस्रो संविधानसभा चुनावपछि प्रचण्डले स्पेस नपाएकोले उनलाई संयन्त्रको जिम्मा लगाउदा कांग्रेस एमालेलाईनै फाइदा हुने उनको दावी छ । उनले बोलेको कुरा कांग्रेस महामन्त्री कृष्ण सिटौलाको भावना हो भनिन्छ ।

प्रचण्डको नियत सफा होसः विष्ट
Gokarna Bista Gokarna Bistaनेकपा एमालेका सचिव सचिव समेत रहेका सभासद गोकर्ण विष्ट पनि प्रचण्डलाई संयोजक दिन सकिने बताउछन् । तर, उनको नियत प्रष्ट हुनुपर्ने सचिव विष्टको भनाइ छ । संविधानसभा सचिवालय सिंहदरवारमा भेटिएका विष्टले अनलाइनखबरसँग भने-असल नियतले मागेको हो भने संयन्त्रको संयाजक बनाएर संविधान निर्माणको काम अघि बढाउन हामी उदार बन्नुपर्छ । तर संयन्त्रको संयोजकको नताले भोलि काम कुरा अडय्काउने नियत हो भने त्यसमा झनै गाह्रो पर्ने उनले बताए ।  

प्रचण्ड अर्को शक्तिकेन्द्रः रोहित
narayanman  narayanmanनेपाल मजदूर किसान पार्टीका अध्यक्ष तथा सभासद नारायणमान बिजुक्छे भने प्रचण्डको नियत त्यति सफा नदेखिएको बताउछन् । बिजुक्छेले अनलाइनखबरसँग भने-बाबुरामले संवैधानिक तथा राजनीतिक संवाद समितिको सभापतिको हैसियतले काम गरिरहेका छन्, फेरि प्रचण्डलाई संविधानसभा बाहिर अर्को त्यस्तै शक्तिकेन्द्र किन चाहियो ? बिजुक्छेको प्रश्नमा एमाओवादी नेता बस्नेतको जवाफ छ-बाबुरामजीले संविधानसभा भित्रका शक्तिसँग सहमति जुटाउने हो, जसले यो संविधानसभानै मानेका छैनन् तिनीहरुलाई मिलाउन प्रचण्डको अर्को संयन्त्र चाहिएको हो ।

पर्खिदै कांग्रेस एमाले
 कांग्रेस र एमालेले एमाओवादीले आफूहरुमाथि दबाब बढाउन वार्ता बहिस्कार गरेको आँकलन गर्दै केही दिन हेर्ने नीति लिएका छन् । तर एमाओवादीले भने यसलाई दबाबका रुपमा बुझिए ठूलो भूल हुने चेतावनी दिएको छ । संयन्त्र नबनी अब सहमतिको प्रक्रियामा सहभागी नहुने बस्नेतले बताए ।

No comments: